मलाई माधव गुरु अलि अभिमानी लाग्थ्यो । उनले अरुलाई सम्मान गर्दैनन् । आफैंमात्र जान्नेसुन्ने पल्टिन्छन् । के कुरा सुन्नु । यस्तो पनि बेलाबेला लाग्थ्यो । एकदिन मैले बासँग कुरा पनि गरें । बाले भन्नुभयो उप्रेतीहरुका गुरु हुन् । उनले अरुसँग कहाँ झुकेर गर्नुपर्यो होला र ?
![]() |
२०७४ मंसिर ११ मा लिइएको तस्विर |
बेलाबेलामा हाम्रो भेट भइरहन्थ्यो । त्यत्ति धेरै कुरा गर्न मन पनि लाग्दैनथ्यो । पछिल्लो पटक भेट हुँदा उनिसँग सामान्य भन्दा धेरै कुरा भयो । २०७४ साल मंसिर ११ मा एउटा धार्मिक समारोहमा भेट भएथ्यो । बैतेश्वर गाँउपालिकाको ४ नं. वडामा रहेको कालिका माविको संस्थापक प्रअ भएको कुरा मैले विद्यालयले स्वर्ण जयन्ती समारोहमा निकालेको पुस्तबाट थाहा पाएको थिएँ ।
२२ सालमा स्थापना भएको विद्यालयको संस्थापक प्रधानाध्यापक हुनेले कति सालमा प्रवेशिका गरे होलान् । कुरा यसैबाट सुरु भयो ।
“कति सालमा एस एल सि गर्नुभयो ?”
“२०१८ सालमा ”
“दोलखामा त त्यतिबेला कुन विद्यालयले एस एल सि सञ्चालन गर्थ्यो होला र ?”
“काठमाण्डौबाट हो । डिल्लिवजारको विद्यालयबाट ।”
“अनि तत्कालै शिक्षकमा जागिर खानुभयो ।”
“हैन सुरुमा खरिदार भएर काम गरें । नासुमा बढुवा गरेर पश्चिम पठाउने भएपछि घरमा बच्चाहरु सानै भएर जागिर राजिनामा दिएँ ।”
“तपाँइ त नाम्दु गाविसकै पहिलो एसएलसि होला हैन ?”
“हैन ”
उनले एकजना उप्रेतिले आफुभन्दा पहिला एसएलसी पास गरेको बताए ।
“उप्रेतिबाहिर त तपाँइ नै होला नि ”
“त्यो होला ”
“सरकारी जागिरमै बसेको भए त सिडियो हुनुहुन्थ्यो होला ?”
“त्यो भन्दा माथि पनि गइन्थ्यो कि? फाइल बढुवा पनि हुन्थ्यो । आफ्नो योग्यता पनि बढाउँदै लगिन्थ्यो ।”
अरु विषयमा पनि कुराकानीहरु भए । उनले माअोवादीलाई चर्पीमा थुनेर बचाएको पनि सुनाए । उनि कम्युनिष्ट विचारधारा पहिल्यैदेखि मन पराउँथे ।
उनले खरदारको जागिर खाने समयमा मिर्गे गाविसको ६ र २ नं. वडा ठूलोपातल पञ्चायतमा, १, ३, ४, ५, ७ र ८ गैरिमुदी कैलेश्वर पञ्चायत र ९ नं. वडा काभ्रे पञ्चायतमा पर्ने बताएका थिए । यि कुराहरु सुनेपछि मलाइ लागेको थियो रेकर्ड गर्ने गरेर कुरा गर्नुपर्छ। ति कुराहरुले हाम्रो समाजको विकासक्रम नियाल्न सहयोग गर्छन् ।
२०७४ माघ २४ गते घाँस काट्न रुख चढ्दा लड्नुभएको उहाँ सधैंका लागि विदा हुनुभयो । उहाँसँग रहेको ज्ञानपनि उहाँसँगै सिद्धिए। गुरुप्रति हार्दिक श्रद्धान्जली !
No comments:
Post a Comment