केहि वर्ष अगाडीसम्म भीमेश्वर नगरपालिकाको सोक्लाका महिलाहरुको अधिकांश समय घरायसी काममा नै वित्ने गथ्र्यो । घरखर्च गर्नका लागि सानो रकमको आवश्यकता पर्दापनि उनिहरुसंग खर्च गर्ने रकम हुँदैनथ्यो । अहिले उनिहरु झण्डै १२ लाखको लगानीमा सामुहिक बाख्रापालनमा जुटेका छन । सोक्ला चाक्पा सामुहिक वाख्रापालन समूहका सचिव सोम थामीका अनुसार यस सामुहिक बाख्रापालन कार्यक्रममा अधिकांश महिलाहरु आवद्ध रहेका छन । बाख्रापालनका लागि अहिलेसम्म ११ लाख ७८ हजार रुपैंया खर्च भईसकेको छ । यो रकमले आधुनिक खोर निर्माण लगायतका भौतिक संरचनाका काम गरिएको थामीले बताए ।
यस क्षेत्रमा रहेका खाली पाखाहरुमा कबुलियती वन विकास कार्यक्रम लागु भएपछि समूहका सदस्यहरु मिलेर बाख्रापालन सुरु गरेका हुन । समुहले १ सय ओटा भन्दा वढि बाख्रा राख्न मिल्ने आधुनिक खोर समेत निर्माण गरेको छ । यस क्षेत्रमा भएका ५ ओटा कबुलियति वनसमूहको संयुक्त लगानीमा यो फार्म निर्माण गरिएको हो । फर्म निर्माणका लागि विभिन्न सरकारी कार्यालयले पनि सहयोग गरेका छन । सोक्ला चाक्पा सामुहिक वाख्रा पालन समुहकी अध्यक्ष कान्छि तामाङ भन्छिन “गाँउ वरपर रहेको डाँडाहरुमा कबुलियती वन कार्यक्रम लागु भएपछि बाख्रापालन सुरु गरिएको हो । वनमा भुँईघास लगायतका विरुवा रोप्न जिल्लामा रहेका जिल्ला पशुसेवा कार्यालय, जिल्ला वन कार्यालय लगायतका संस्थाले सहयोग गरेका हुन ।” समूहले निर्माण गरेको आधुनिक बाख्रा खोर |
समूहकी सदस्य लक्ष्मि तामाङ गाँउमा कबुलियती वन कार्यक्रम सूरु भएपछि महिलाहरुमा परिवर्तन आएको वताँउछिन । उनले भनिन “गाँउमा अहिले महिलाहरुमा पनि केही गर्न सकिन्छ भन्ने भावनाको विकास भएको छ ।”
जिल्ला वन कार्यालय दोलखाका निमित्त जिल्ला वन अधिकृत रामकुमार भण्डारी समुहले गरिरहेको काम उत्साहजनक भएको वताँउछन । उनले भने “समूहलाई हामीले सुरुदेखि नै कवुलियती वन विकास कार्यक्रम अन्तगर्त विभिन्न सहयोग गरिरहेका छौं । समूहका सदस्यहरु नै विभिन्न योजनाहरु लिएर आउनुभाको छ । यस्ता कुराले गर्दा फार्म दीर्घकालीन रुपमा सञ्चालन हुने आशा लिएका छौं ।”
अहिले नेपालमा एघार अर्बभन्दा धेरै रुपैंयाको मासु विदेशबाट आयात हुने गरेको छ । यस्ता कार्यक्रमहरुमा सबै पक्षको सहयोग हुने हो भने यो अवस्थामा सुधार गर्न सकिन्छ । यसका लागि सबै पक्षको सामुहिक प्रयास आवाश्यक छ ।
यस बारेमा रेडियो नेपालको घटना र विचार कार्यक्रममा प्रसारित रिपोर्ट सुन्नुहोस ।
No comments:
Post a Comment