भर्खरै कानमा परेको खबर अनुसार
शहरको मूख्य चोकमा
जम्मा भएको एक जमातले
मलाई प्रतिगमनकारीको कित्तामा दर्ज गरेको छ
र योजना बनाएको छ
कालो मोसो दलेर शहर परिक्रमा गराउने ।
हिजै हो क्यार,
जीवनभर दूख भोगेका भरियाको
लम्बेतान कथा सुनेको थें ध्यानपुर्वक
त्यसैलाई सुनाएको थें चोकतिर
त्यसैक्रममा भनेको थें
परिवर्तन भनेको टुप्पातिर मात्रै हुने रैछ ।
केहिदिन अघि
चोकैनिरकी भट्टिवाल्नीले
फुकाएकी थिई आफ्ना कथाव्यथाहरु
मेरै सामुन्नेमा आँसुसंगै
कुरै कुरामा भीडसँगै चिया खाँदा
उनको कथा पनि भनिएछ हिजो ।
जमात भन्दै थ्यो रे
सुख छोडेर दुख सुन्ने
सबै प्रतिगमनकारी हुन
अरुलाई सुनाउने झन प्रतिगमनकारी
यसै छोड्न कहाँ हुन्छ र ?
मेरो खोजीमा एक जमात
परिचालित छ शहरभरि
म भेट्नेवित्तिकै जमात बोल्ला
"तपाँईलाई प्रतिगमनकारीका नाममा
मोसो दलिने कार्यक्रम छ
हामीसँगै गएर सहयोग गरिदिनुहुन्छ की ?"
फगतको एउटा मिठो अपेक्षा ।
मोसो के बाट बनाइएको होला ?
एकैछिनपछि मुख धुँदा पखालिएला की ?
जीन्दगीभर वसिरहला
अनुहार पुरै कालो बनाएर ?
प्रतिगमनकारी भएकोमा
मलाई ग्लानी छैन
सभामा केही कुरा राख्न मन छ
तिम्रा विचार नमिल्ने सबैलाई लखेटेर
तिमीले बनाउन खोजेको के ?
मानव समाज की अरु केही ?
................
ए साथीहरु
सुन्ने धैयर्ता छ ?
apawad@hotmail.com
२०७० असार १३
No comments:
Post a Comment