• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

दोलखामा किन हार्‍यो एमाओवादी ?

रमेश खतिवडा
बन्दुक बिसाएको झण्डै डेढ बर्ष पछि भएको पहिलो संविधान सभा निर्वाचन ०६४ मा दोलखा माओवादी भित्र एउटा छुट्टै माहोल थियो। सदरमुकाम चरिकोटको बसपार्क क्षेत्रको एउटा घरमा रहेको कार्यालयमा पूर्णकालिन कार्यकर्ताहरु बस्थे।

सबैलाई कार्यालय भित्रै भात पाक्थ्यो। चुनावमा पार्टीलाई जिताउन उनीहरु कार्यालयमा बसेर प्रत्येक गाउँको योजना बुन्थे। त्यसबेला जिल्ला पार्टी कार्यालयको रौनक हेर्दा लोभलाग्दो देखिन्थ्यो। तर २०७० मा आइपुग्दा उक्त पार्टी कार्यालय दुलही अन्माएर पठाएको बिहे घर जस्तै सुनसान देखियो।

निर्वाचनको तयारीकै सिलसिलामा पनि पार्टी कार्यालय मानिस नबसेको घर जस्तो गतिविधिविहिन र योजनाविहिन थियो। 



रणनीतिक योजनासाथ जिल्ला हेड्क्वार्टर टिम चुनावमा लाग्नुपर्नेमा निर्वाचनको पूर्वसन्ध्यामा पनि टिकट र नेतृत्वको विरासत बोकेर नेता र कार्यकर्ताहरु किचलो र झैझगडमै व्यस्त देखिन्थे। जसको परिणाम एकिकृत माओवादी दोलखामा तेस्रो स्थानको मतमा सिमित रह्यो, जुन उक्त पार्टीका लागि लज्जास्पद हार पनि बन्यो। ०६४ को निर्वाचनमा नेकपा माओवादीका उम्मेदवारहरु देवी खड्काले क्षेत्र नं १ र हेमबहादुर श्रेष्ठले क्षेत्र नं २ मा ठुलो मतान्तरले जितेको हिसावकितव ०७० मा पनि बन्यो र जितको पक्कापक्कीको आकलनले ढुक्क नेताहरु परिणाम पछि मात्र छागाबाट खसेजसरी जिल्लिए। अघिल्लो निर्वाचनमा ८ देखी १० हजारको अन्तरले दुवै क्षेत्र जितेकाले यस पटक उक्त मतान्तरमा आधा नै फरक परे पनि सफलता हात पारिन्छ भन्ने सोचाई नै उक्त पार्टीका निम्ती आत्मघाती बन्यो।

जिल्ला तहका नेता कार्यकर्ता आफ्नै आन्तरिक कारणले निर्वाचनमा पराजय व्यहोर्नुपरेको स्वीकारे पनि दोलखाको सन्दर्भमा एमाओवादी हार्नुको पछाडी केही कारणहरु छन जसलाई पार्टीका नेतृत्वपक्तिं स्वीकार्छन तर पार्टीको केन्द्रिय नेतृत्व निर्वाचन र संविधान सभा नै बहिष्कारको चरणमा पुगेकाले उनिहरु त्यस तर्फ फर्कन चाहदैनन्।

पार्टी नेता कार्यकर्ताहरुका अनुसार ०६४ को निर्वाचनका बेला अग्रमोर्चामा खटेका दर्जनौ कार्यकर्ताहरु कहाँ छन् भन्ने कुरा निर्वाचनको संघारमा आउँदा सम्म पनि पार्टीलाई वास्ता भएन्। जिल्ला पार्टी स्रोतका अनुसार त्यती खेर जिल्ला कार्यालयमा बस्ने ५५ जना पूर्णकालिन कार्यकर्ता मध्ये वाईसिएलका पूर्व जिल्ला अध्यक्ष राम पाण्डे बाहेक कोही पनि जिल्लामा छैनन्। यस्तै चुनाव जितेर गएपछि पार्टीले वास्ता नगरेका कारण एक दर्जन जती त विदेशिए, तिन दर्जन बढी राजधानीमा मजदुरी गर्दैछन्। पार्टीका जिल्ला सदस्य, त्यतीखेर कमाण्ड सम्हालेका एरिया ईन्चार्ज सहित ३० भन्दा बढी कार्यकर्ता राजधानीमा मजदुरी गर्छन्। जनयुद्ध देखी नै पार्टीमा लागेका जिल्ला कमिटि सदस्यहरु बर्जुराम घतानी, बसुन थामी, सहदेव बुढाथोकी सहित एक दर्जन जिल्ला तहका नेता रोजगारीको सिलसिलामा विदेशमा छन्। 

बर्जुराम ताम्सालिङ राज्य समितिका सदस्य समेत हुन्। २०५६ देखी पार्टीमा लागेका सुनखानी गाउँका बर्जुराम आर्थिक स्थिती कमजोर हुँदै गएपछि एक बर्ष अघि खाडी मुलुक गएका थिए। एक जिल्ला स्तरिय नेता आक्रोश पोख्छन् ‘यो पटकको पराजयको जिम्मेवारी ०६४ मा जित्ने सभासदले लिनुपर्छ'। 

यस्तै अघिल्लो निर्वाचनमा जनता जगाउदै हिडेको माओवादी भित्रकै चर्चित मध्येका बोत्ले सांस्कृतिक परिचारका सदस्यहरु समेत अहिले पार्टी सम्पर्कमा छैनन्। जिल्ला नेताहरुका अनुसार उक्त परिवारका नेतृत्वकर्ता मध्येका एक पूर्ण बहादुर बस्नेत राजधानीमा सेक्युरीटी गार्ड छन्। उनी जस्तै सैयौ जुझारु कार्यकर्ताहरु पलायन हुँदा पनि पार्टी गम्भिर बनेन। चुनाव जित्न व्यक्तीको लोकप्रियता, प्रभाव, पैसा र गैर पार्टी सदस्यहरुको बल प्रमुख ठानियो। फलतः चुनावी परिणाम उल्टीयो जुन एमाओवादीले सपनामा पनि चिताएको थिएन्।

यस्तै एमालेको किल्ला मानिएको जिल्लामा एमालेले परिचालन गरेको गैर पार्टी सदस्य युवाहरु रोक्न नसक्नु समेत एमाओवादीको कमजोरी रहेको टिप्पणी कतिपय कार्यकर्ताको छ। १ को तुलनामा २ को चुनाव शान्त रहेकै हो। १ मा कांग्रेस माओवादी दुवैले एमालेले धाँधली गरेको आरोप लगाएपनि त्यसमा दुवै पार्टी अछुतो भने छैनन्। कांग्रेस माओवादीको तुलनामा एमालेले अली बढी स्थानमा गर्‍यो। उसले दुई पार्टीको तुलनामा ठुलो संख्यामा बाहिरबाट युवाहरु उतार्‍यो। कांग्रेस माओवादीले समेत केही बुथहरुमा बल्जफ्ती गरेकै हुन्। अरु दलका कार्यकर्तालाई आउन नदिएर प्रक्रिया सम्वत तरिकाबाट गरिएको केही गाउँहरुको बुथ क्याप्चरबाट सेना, स्थानिय प्रशासन, निर्वाचन अधिकृत सबै बेखबर भए।

‘जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछिको पहिलो निर्वाचनमा बडो साहसका साथ लडेर र जनताले समेत मत दिएर जिताएपछि जनता त के रगत बगाएका साथीहरुले समेत केही पाएनन” एक जिल्ला कमिटि सदस्य भन्छन्। उनी नेता चुनाव जितेर गएपछि कार्यकर्तामा बिचलन र विरक्तपन आएका कारण अधिकांश कार्यकर्ता पलायन भएको बताउछन्।

“चुनाव जितेपछि नेता राजधानी तिर लागे, रगत बगाएका कार्यकर्ता पलायन भए” उनी भन्छन्। जिल्ला नेताहरुका अनुसार निर्वाचन जितेर गएपछि क्षेत्र नं २ का यस अघिका सभासद हेमबहादुर श्रेष्ठ कहिल्यै गाउँ फर्किएनन्। चुनाव अगाडी भीमेश्वर नगरपालिका ३ राम्पामा पुगिदिन आग्रह गर्दा उनी त्यहाँ जान नमानेको प्रसंग दोलखा एमाओवादी भित्र निकै चर्चामा रह्यो। कार्यकर्ताले उक्त वस्तीमा पुगिदिन आग्रह गर्दा उनले चुनाव जितेर गएपछि आफु त्यहाँ कहिल्यै फर्केर नगएका कारणले जान आनाकानी गरेका थिए।

क्षेत्र नं १ की पूर्व सभासद देवी खड्का समेत जनता र कार्यकर्तासगँ जोडिनुको साटो पहुँचवाला, आफन्तको निकट बसेर मात्र काम गरेको आरोप कार्यकर्ताको छ। चुनाव जितेपछि गाउँमा संगठनमा एमाओवादी फिटीक्कै लागेन। कार्यकर्ताहरुलाई सामाजिकिकरण गरिएन। स्थानिय निर्वाचन भयो भने दोलखाको अधिकांश गाउँमा एकिकृत माओवादीका सामाजिक कार्यकर्ता छदैछैनन्।

टिकट बाँडफाडका बखत जिल्ला पार्टी भित्र आन्तरिक विवाद बढ्नु, बैद्य माओवादीको फुट, नेताहरुको बिलाशिता, कार्यकर्तामा नैराश्यता, पार्टीले अंगालेको जातिय नारा लगायतका कारण जनतामा यस पटक एमाओवादीले जित्दैन भन्ने सन्देश शुरु देखी नै गएकाले चुनावी माहोल एमाले कांग्रेसको पक्षमा गएको टिप्पणी गर्छन् दोलखा प्राध्यापक संघका सभापति गोकर्ण पोखरेल।

यस्तै यस पटकको निर्वाचनमा चुनाव परिचालन कमिटि समेत बनेन। आ आफनै ढंगबाट दुवै उम्मेदवार आफुखुसी निर्वाचन प्रचारमा गए। यस्तै यस अघि खटेका एरिया सेक्रेटरीहरु समेत यस पटकको निर्वाचनमा निस्क्रिय रहे। कतिपय त चुनावमा भोट हाल्नै आएनन्। १ सय ७० सदस्यिय जिल्ला कमिटिको पूर्ण बैठक ४ बर्ष यता आज सम्म बस्न सकेको छैन्। एकाता केन्द्र मसालसगँको एकता पछि जिल्ला ईन्चार्ज बनेका नेता कृष्ण भुजेलको कार्यकाल यता अहिले सम्म पूर्ण बैठक बस्न नसकेको कार्यकर्ता बताउछन्। जिल्ला कमिटिका सदस्यहरु मध्ये कति सम्पर्कमा छन या छैनन पार्टी सगँ त्यसको विवरण नै छैन्।

यस पटकको निर्वाचनमा क्षेत्र नं १ मा खड्काले ९ हजार ७८ मत ल्याएर तेस्रो भए भने पहिलो हुने एमालेका पार्वत गुरुङले १६ हजार २ सय ८१ मत ल्याएका थिए। यस्तै क्षेत्र नं २ मा एमाओवादी उम्मेदवार शंकर लामाले एमाले र कांग्रेस  भन्दा पछि पर्दै ८ हजार ७ सय ४९ मत ल्याए भने विजयी एमालेका आनन्द पोखरेलले १४ हजार ७ सय २ मत ल्याए।

एमाओवादीका उम्मेदवार भने निर्वाचन हार्नुको कारण बुथ कब्जा र षड्यन्त्र नै रहेको दावी गर्छन्। आधा दर्जन गाविसहरुमा निर्वाचन धाँधलीपूर्ण भएका कारण चुनाव हारिएको दावी उम्मेदवार बिशाल खड्काको छ। धाँधली र षड्यन्त्रका प्रमाणहरु बोकेरै संविधान सभा अदालतमा मुद्धा दायर गर्ने जाने योजनामा एकिकृत नेकपा माओवादी दोलखा छ।

खतिवडा नागरिक दैनिकका दोलखा सम्बाददाता हुन् । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना