सुरुमा एउटा प्रसङ्ग, कृष्ण गौतम सरकी आमा वित्नुभएको थियो । माघ महिनातिरजस्तो लाग्छ । विश्वास भण्डारी र म भेट्न गयौं । प्रसङ्गबस कुरा निस्कियो । यो जाडोमा दैनिक नुहाउने काम त साह्रै गारो पो हो त । कृष्ण सरले भने सबै कुरा गर्नैपर्छ भन्ने लागेपछि गाह्रो, साँघुरो भन्ने हुँदैन । गर्नैपर्ने भन्ने भएपछि बहाना चल्दैन । गरे पनि हुने नगरे पनि हुने भन्नेमा चैं अप्ठ्यारो हुन्छ ।
कति कुरा गज्जबका हुन्छन् । जोडजाड पारेका भए एउटा किताबको रुप दिन मिल्ने साहित्य मैले पनि लेखें हुँला । एकाकार नबनाएको मात्रै हो । यो काम पनि एउटा फाईदाकै कुरा भयो अहिले । पुस्तकाकार नभएकै कारण मैले समिक्षा गर्न पाएँ । बाबा ! जुन टिपिदिनुस न ! को । दोलखाका साहित्य क्षेत्रका एक हस्ति शंकरलाल श्रेष्ठका कथाहरुको ।
किताब हातमा परेको २० दिन नै पो वितिसकेको थियो कि ! एकै बसाइमा २ घण्टाजतिमा पढेर सकियो । सुरुमा राखेको प्रसङ्ग यिनै जानकारीको बचाउ गर्न लेखिएको हो । सजिलो र अप्ठ्यारोको सीमारेखा त्यसप्रतिको बुझाइ न हो ।
सजिलो र अप्ठ्यारोको मात्र कहाँ हो र सत्य असत्य, साँचो झुट यि सबै सबै कुराको सिमारेखा भनेको नै बुझाई हो । धारणा हो । बुझाइ र धारणा निरपेक्ष बस्तु होइनन् । सापेक्ष हुन् । सापेक्ष भएकै कारण आज आहा भनिएकाहरु समयक्रममा फटाहा हुन पुग्छन् ।
१६ वर्षअगाडि प्रकाशन भएको थियो ‘बाबा ! जून टिपिदिनुस न !’ । त्यसबेलाका परिस्थिति फरक थिए । परिस्थिती अनुसार बुझाइ पनि फरक थिए । कथासंग्रह प्रकाशन हुने बेलामा एक कल फोन गर्न चरिकोट धाउन पथ्र्यो । अहिले हातहातमा मोबाइल छन् । भिडियो कल चल्छ । यसो लाग्छ । त्यो समय हामीले भोगेर त आएका हौं ?
यो समिक्षा लेख्दा दशैं छ । कथासङ्ग्रहको पहिलो कथा पनि दशैंका बारे छ । दशैं शीर्षकको यो कथाले हामी दशैं किन मनाउने भन्ने प्रश्न जरुर उठाउँछ । पढिसकेपछि केहि प्रश्नहरु उठ्छन् । के वालवालिकाले घरको यथार्थता बुझ्दैनन् ? गरीबका लागि दशैं साँच्चै पिडा दिने चाड हो ? त्यो बेला र अहिलेको पनि कुरा गर्दा दशैं हिन्दुहरुको मात्र चाड हो ? यी र यस्ता प्रश्नहरुमा प्रशस्त बहस गर्न सकिन्छ । सत्यको एउटा मात्रै पाटो छ कि बहु पाटा छन् ? यो अर्को बहसको विषय हो । त्यसतर्फ नछिर्दा नै राम्रो हुन्छ ।
दशैंका बारेमा अंग्रेजीमा प्रयोग हुने क्लिसे (Cliché) हाम्रा समाजमा थुप्रै छन् । ‘दशैं हैन दशा’, ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई’ यस्तै यस्तै टुक्काले दशैं हामीले बलपुर्वक कसैका लागि मान्दिएका छौं भन्ने बुझाउँछ । कथाकारले दिन खोजेको सन्देश यहि त पक्कै होइन होला । होइन भने दिन खोजेको सन्देश चाँहि के ?
कथा सङ्ग्रहमा समाजका अलिक ओझेलमा परेका पात्र छन् । समाजमा धेरैले भोगीरहेका तर सतहमा नदेखिने खालका विषयहरु पनि छन् । सन्तानविहिनताको अवस्था त्यस्तै अवस्था हो । अहिले पनि आम बुझाई जनसंख्या वृद्धि भयो भन्ने हो । राज्य जनसंख्या वृद्धि नियन्त्रणको अभियानमा छ । राज्यको अभियानमा दाताहरु र अरुहरु पनि हो मा हो मिलाएर लागेका छन् । तर सन्तानविहिनहरुका बारेमा चासो देखिन्न । ‘अधुरो इच्छा’ र ‘आशाको त्यान्द्रो’ दुई कथामा सन्तानविहिनहरुको कथा छ । ‘त्यो भकुण्डो’ कथाले दिन खोजेको सन्देश÷भन्न खोजेको कुरा बुझिन्न । यसो भएका हुनाले यसलाई राजनीतिक दाउपेचका रुपमा बुझियो भने सहि अर्थ बुझिएला कि ?
वैदेशिक रोजगारीका पिडा पनि समेटिएका छन् सङ्ग्रहमा । ‘विदेशको कल्पना’ रोजगारीको आशामा वर्वाद भएको एउटा परिवारको कथा हो । यसरी धेरै परिवार वर्वाद भएका छन् । हालका दिनमा यो ठूलै समस्या भएको छ समाजमा । ध्यान दिनुपर्नेले दिएका छैनन् । उनिहरुलाई गाउँमा कति पैसा भित्रियो भन्ने हिसाबले ठूलो सन्तुष्टि दिएको होला नै । कोभिडपछि यसका बारेमा कुरा त सुरु भएको छ । कोभिड साम्य होला अनि यो विषय पनि ।
सानो र ठूलो छुट्टयाउने कसी के हो ? इमान हो भने इमानमा उभिएर बाँच्ने कति होलान् ? इमानमा टिकेर अहिले बाँच्न सकिएला कि नसकिएला ? ठूलो मान्छे कथा पढेपछि मथिङ्गलमा घुम्ने प्रश्न यिनै हुन् । राजनीतिमा उपयोगीता मात्र हुँदैन । त्यसले आम जनताको कुरा सुन्छ उनिहरुलाई हेर्छ । यो कथामा जस्तै फगत कल्पना मात्र भएको छ । कथा प्रकाशन हुने बेलातिर थोरै सहि माओवादीमा आश थियो धेरैलाई । त्यो भएन । त्यसपछि २ तिहाइको बलियो सरकारले आश देखायो । त्यो पनि भएन । अव पनि कुनै विषयमा आशाका खेतीहरु होलान नै । आशाले नै त समाज चलायमान छ !
‘उनि त आमा पो रहिछन्’ र ‘पर्दा’मा यौन मनोविज्ञान छ । अनुहार देखेर पग्लिने केटाहरुको कुरा छ । यि कथाहरुमा मात्र हैन अन्य कथाहरुमा पनि अन्तमा हठात् दृश्य परिवर्तन हुन्छन् । डिलैमा पुगेर अचानक लगाइएको ब्रेकले गाडी असन्तुलित हुन्छ । कतिपय अवस्थामा दुर्घटना नै । केहि कथाहरुमा त्यस्तै त्यस्तै अनुभव हुन्छ ।
अन्तमा, कथामा समाज देखिनुपर्छ । त्यसमा कल्पना हुनुपर्छ । सबै भएर पनि तिनले कतै न कतै, केहि न केहि सन्देश पनि पो दिनुपर्ने हो कि ? साहित्यले समाजमा सत्यको वकालत गर्ने कि धेरैले यसै भनेका हुन मैले पनि भन्दिउँ न भन्ने हो ? यि प्रश्नमा घोत्लिनैपर्ने छ । भुमिका पाएपछि त्यसको इमानदारीपुर्वक वहन गर्नुपर्ने थियो नै । वहन भयो÷भएन, यसका बारेमा पनि समिक्षा त होला नै ।
दोलखाली सर्जक पुस्तक समिक्षा पेज २००-२०४
No comments:
Post a Comment