समय । कैले असाध्यै चाँडो सकिने । कैले चैं कहिल्यै नसकिने । साँच्चै त्यस्तै हो कि आफ्नो अवस्था परिवेश । हिजैजस्तो लागेको । भित्तामा १० वटा क्यालेण्डर फेरिइसकेछन् । यसो सम्झिएँ १० वर्ष यसै गएको त्यो घटनामा एक महिना कट्न यी १० वर्षभन्दा धेरै अवधि लागेझैं भएको थियो ।
त्यसबेला भएका धेरै कुरा बिर्सिए होलान् । गम्भीर फौजदारी अपराधपछिको परिवार । परिवार भित्रै आशंका । अझ आशंकामा मलजल गराइदिने धन्दाकर्मीहरू । आवरणमा त उनीहरू राजनीति भन्ने पवित्र कर्ममा थिए । अझै बिर्सनै नसकिने कुरा भनेको यो अवस्थामा … एक शब्द नबोली मौन बस्ने हुत्तिहारा … भनेर लेखिएको सामाजिक सञ्जालको सामग्री ।
अहिले पनि लाग्छ समस्यामा परेको बेला कोही अरूबेला जस्तै सामान्य हुन सक्छ ? शब्दहरू धेरै त थिएनन् । समस्यामा परेका बेला भने तीनले पनि आकाश खसाउन सक्दा रहेछन् ।
आफ्नै उमेरसमूहका दौंतरी । काम पनि ईनेगनेकै कम्पनीमा। कमाई, कम्पनी ठूलो भएरै होला। उनीसँग आफन्त छिमेकीका धेरै कुरा जानकारी थिए। कसैले सिरानीमुनि राखेको उधारो लेखेको कागज, भट्टीपसलमा भएका गफ, घरझगडाका विषय। सप्पै सप्पै।
को घरज्वाँई बस्यो ? कस्को घरमा पीडा पर्दा को रमायो ? यसबाट अझै अघि बढेर उनी स्कृनसर्ट पठाईदिने । त्यसमा लेख्ने कमेन्ट पठाईदिने। अझै मिल्यो भने अर्काको मोबाइल लिएर आफूलाई मन नपर्ने विरूद्ध कमेन्ट लेखिदिने, त्यस्तालाई तुच्छ शब्दमा म्यासेज पनि गरिदिने ! लाईभमा महिलालाई गालीगलौज गर्ने। यस्तो गर्नु हुँदैन भन्नेलाई साईबर जाउ भनेर होच्याउने । साईबर गए आफ्नो कम्पनीको शक्ति प्रयोग गर्ने ।
उनले समय समयमा पार्टी फेरिरहन्थे। कतै अवसर पाईयो भने आफ्नै आँगनको पर्खाल बनाउँथे। पाँच रूपैंया दिँदा खिचेको फोटो पाँच सय रूपैयाँको फ्रेममा सजाएर राख्थे। आफूले कुनै तर्कमा जित्न सकेनन् भने आफू आवद्ध पार्टीका मान्छे परिचालन गरेर घेरावन्दी गर्थे।
अचानोको पिर खुकुरीले कहाँ बुझ्छ र ? अरुलाई खुच्चिङ लेख्ने समयक्रममा आफैं समस्यामा परे । साँच्चै त्यो बेला उनले सामान्य अवस्थामा जस्तै ह्यान त्यान लेख्न भ्याए होलान् ! सके होलान् ! उनीबाट पिडितहरूले १/१ पटक खुच्चिङ भन्दै सञ्जालमा सामाग्री राखेको भए त्यो ४/५ सयभन्दा धेरैको संख्यामा हुन्थ्यो होला। सबैले बदला लिँदैनन्। आफूलाई परेको पीडा सम्झिएर माफी दिन्छन् । त्यै भएर समाज सुन्दर छ !
पछिल्लो समयमा २ जना गायिकाले यस्तै प्रवृति बोकेर तुच्छ कमेन्ट गर्नेका प्रोफाईल सार्वजनिक गर्ने अभियान चलाएका छन्। समिक्षा अधिकारी र एलिना चौहानले सार्वजनिक गरेका प्रोफाईलहरू हेर्दा समाजमा अलिक चल्तापुर्जाहरू नै देखिन्छन्।
समिक्षा अधिकारी जुन अवस्थाबाट अगाडि बढिन त्यसका लागि हामीले प्रोत्साहन गर्नुपर्ने हो । भोली हाम्रा आफ्नै परिवारमा कसैलाई त्यस्तो घटना भइहालेमा हामीले अधिकारीलाई देखाएर पिडितलाई सान्त्वना दिन सक्छौं । पिडामा परेको बेलामा आफैंमात्रै त्यस्तो अवस्थाबाट गुज्रीएजस्तै लाग्छ । त्यस्तो समयसँग जुधेर आएको मानिसलाई फेरि त्यै दिन/क्षण किन सम्झाउनु परेको होला ?
कवि, कलाकार, अभियन्ता लगायत मानिसहरू पनि यसमा संलग्न देखिन्छन् । जसबाट समाजले सिको गर्छ तिनीहरू नै खुच्चिङ भन्न अघि सर्छन्। यिनीहरूलाई परिवारसहितको फोटो राखेर तिम्रो पनि परिवार छ। मेरो जस्तो अवस्था तिमीलाई नै पर्यो भने के गर्छौ भनेर सोध्ने अभियानले विवेक भएकाहरूलाई त पक्कै काम गर्यो ।
विवेक नभएका र आफूमात्रै ठूलाठालु सम्झने र अरूलाई पीडा दिनु अधिकार हो भन्ने मेरा दौंतरीहरू जस्तै को त के आश गर्नु र !
कुनै पनि मानिसको चेतना, विचारशैली उ बाँचेको समाजका व्यवहारहरूले निर्धारण गर्दै जाने हो । हाम्रो नेपाली समाजको आधारभूत चरित्र त खुच्चिङ भन्ने हुँदै होइन । मानिस मरेपछि दाहसंस्कारमा सहभागी भएका दिन सहानुभूति स्वरूप छाक छाड्नुपर्ने, चौतरा पाटी पौवा बनाउने, माग्न आउनेलाई खाली हात फर्काउन नहुने, पाहुनालाई भगवान सम्झने र सोहीअनुसार व्यवहार गर्ने लगायतका परम्परा हेर्दा समाज यस्तो त पक्कै नहुनुपर्ने । तर कुन तत्वले मानिसलाई परपिडक बनाउँदै लगेको छ ?
कहिल्यै कतै नचिनेको मान्छेलाई हामी बास दिन्छौ । त्यस्ता नौला गाउँमा गयौं भने बास पाइन्छ पनि । यात्राहरूमा कहिल्यै नभेटिनेसँग हामी खानेकुरा बाँडेर खान्छौं । दुखसुख साट्न सक्छौं । अर्काको दुखमा रमाउने बानी त यो समाजको हैन नै । कसैको मलामी गइयो भने छाक छाड्ने भन्ने त चलनै जो छ ।
प्रविधिको रफ्तार वृद्धीले अहिले हामी परनिन्दक भैरहेझै लाग्छ । पछिल्ला समयमा सामाजिक सञ्जाल नियाल्दा त्यस्तै देखिन्छ । सामाजिक सञ्जालकै आधारमा धारणा बनाउनु हतारो हुन सक्छ। तर समाजको ठूलो हिस्सा त्यतै भएको र त्यहाँ हुने छलफल बहस नजरअन्दाज गर्न पनि मिल्दैन ।
केही समय अघि गायक दुर्गेश थापाको गित १० करोड भ्युज कटेको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले दुर्गेशलाई बधाइ दिए । दुर्गेशले प्रधानमन्त्री बधाई शेयर गरेर उनलाई धन्यवाद दिए । त्यसपछि एक खालेहरू गालीगलौजमा उत्रिए ।
एउटा गायकलाई प्रधानमन्त्रीले बधाई दिए । गायकले धन्यवाद भने । यसमा गालीगलौजमा उत्रनुपर्ने किन ? हामीले पाएको स्वतन्त्रता यसैका लागि हो ? कसैको प्रगतिमा धन्यवाद भन्न नसक्ने वा भनेको देख्न सुन्न नसक्ने हामी कस्तो बानीव्यहोरा विकास गर्दैछौं ? कसैप्रति सहमत हुन नसकिएला ।
कसैका कुरा मन नपर्ला । त्यसो भन्न पनि हामीले कस्ता शब्दहरूको प्रयोग गर्दैछौं । भिटेनका गितमा प्रयोग हुने शब्दको कमेन्ट हामी हाम्रा परिवार आफन्तहरूसँग बसेर प्रयोग गर्न सक्छौं । सक्दैनौं भने त्यता किन लेख्छौं ।
हामी लोकतान्त्रिक व्यवस्थामा छौं । यसले हरेक मानिसको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक सुनिश्चित गरेको छ । यसो भन्नुको अर्थ स्वतन्त्रता आफैंमा असिमित भने हुँदैन । हुनु हुँदैन । त्यसको सिमा छ नै । त्यो सिमा भनेकै त्यसले अरुलाई नकरात्मक असर गर्नुभएन । अरु पिडामा पर्दा त्यो मनोरञ्जनको विषय होइन हुन सक्दैन ।
यसका बारेमा भएका अनुसन्धानले भने मानिसबिचमा हुने सहानुभूतिको मात्रा घटाउँदै लगेको देखाएका छन् । अन्य मानिसहरू दुखमा परेका बेलामा हामी संवेदनशिल हुँदैनौ भने हामी पनि कैलेकाँही समस्यामा पर्दा अरुले झनै पिडा कोट्याए भने के होला । के हामीलाई कहिल्यै अप्ठ्यारो नपर्ला ? पर्छ भने अरु समस्यामा पर्दा खुच्चिङ नभनौं । सके सहयोग गरौं नसके पिडाचाँही नथपौं ।
सामाजिक सञ्जालले हामीलाई विभिन्न विचारहरू एकै ठाउँबाट बुझ्ने मौका दिएको छ । तर यसको प्रयोगमा ध्यान दिन नसक्दा भने यो धेरैका लागि पिडा दिने माध्यम बन्दै गइरहेको छ । सामाजिक संजाल कस्तो छ? चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरी लेख्छन
“आफूले समाजको लागि, परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने, तर जो काम गर्नेहरू छन् तिनिहरूलाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने, चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ …..
पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन, चरित्र खराव,
देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ….
यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो
चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायक?
ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न?
को चाहन्छ खराब होस , तर भैदिन सक्छ कहिलेकाहि!
को छ यहॉ कमजोरी बिहिन मान्छे ?”
अन्तमा, विदेश जान ठीकठाक परेर घरबाट निस्केका कृष्ण घिसिङ ह्विलचेयरमा थन्किए। २०५९ कार्तिक २८ गते दोलखाको हलहलेमा माओवादी कार्यकर्ताले सर्वसाधारण चढेको बसमा वारूदी सुरूङ विष्फोट गराए। त्यसमा कुनै सुरक्षाकर्मी थिएनन् । ३ जनाको घटनास्थलमै ज्यान गयो। झण्डै २ दर्जन घाईते भए । कृष्ण घिसिङ घाइतेमध्येका एक हुन् ।
त्यो घटनापछि घिसिङ अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि लागिपरेका छन् । अपाङ्गता भएकाहरूलाई कसैले खुच्चिङ भन्दा उनले भन्छन् ‘खुच्चिङ नभन। हामी अपांग भई नै सक्यौं तिमी अपांग हुँदैनौ भन्ने निश्चित छ र? तिमी सम्भावित अपांग हौ।’
उनको कुरा थोरै छ तर यत्ति कुुरा मनमा राख्ने हो भने धेरै कुरा सुध्रिन्छ। यसमा अपांगको ठाउँमा दुख भन्ने राखौं । हामी पनि दूख पाउने सम्भावित मान्छे हौं। खुच्चिङ भन्दा वा लेख्दा ख्याल गरौं, भोलि आफैंलाई परेर अर्काले लेख्दा/भन्दा/व्यवहार गर्दा हामी पचाउन सक्छौं कि सक्दैनौं। समाज राम्रो गज्जब अरू आएर बनाईदिने हैन। तपाईं हामी आफैंले बनाउने हो। कोही दुखमा, अप्ठ्यारोमा पर्दा उसलाई सकिन्छ सहानुभूति दिउँ। सहयोग गरौं। सकिन्न भने पनि खुच्चिङ नभनौं।
यो सामाग्री दीक्षण राष्ट्रीय दैनिकमा २०८२ साउन ६ गते ७:२६ मा खुच्चिङः; आफैंलाई प¥यो भने चैं ! शिर्षकमा प्रकाशित भएको थियो ।
No comments:
Post a Comment