छ महिनाअघि भूकम्पले भत्किएको घरसँगै हाम्रा मनहरु भत्किएका छन् । समाजमा धेरैका परिवार भत्किएका छन् । गरिखाने ठाँउहरु भत्किएका छन् । भत्किएका मनहरु सिलाउने काम चाडपर्वले गर्छन । धेरै नेपालीहरु खुसी हुने चाड दशैं आँगनमा छ । यसमा पनि हामी भत्कि नै रहेका छौ । चाडमा पनि जोडिन नसकेका मनहरु जोडिएलान पो कहिले ?
तराईमा जनताहरु अझै सडकमा आन्दोलन गरिरहेका छन् । तराईका जनताहरु राज्यको दृष्टिमा विभेदमा परेका/पारिएकै हुन । त्यसलाई समाधान गर्नका लागि राज्यले केहि कदमहरु चालेको छ । यद्यपी यो पूर्ण छैन । आन्दोलनका अगुवाहरुले चाडपर्वका अवसरमा आन्दोलन फिर्ता लिनु अत्यन्तै आवाश्यक थियो । यसले आन्दोलनकारीले राखेका जायज मागहरुलाई देशभरको नागरिकको समर्थन प्राप्त हुने थियो । राजनैतिक ईमान्दारिता नभएका सत्तालोलुप दलहरुका कारण दशैंमा हामीले एकै ठाँउमा बसेर दूख समेत साट्न पाएनौ । के मधेसका नेता मधेसीका मात्रै नेता हुन् ? उनिहरुले सबै राज्यका नागरिकको नेता हुने पहल कहिले गर्छन ? चुनावका बेलामा काठमाण्डौबाट राजनितिको र नबुझ्नेलाई उम्मेदवार बनाएर पहाडी जिल्लामा पठाउने अनि हामीलाई पहाडी जनताले छालाको रङ्ग हेरेर मत दिन्छन भन्न मिल्छ?
आन्दोलनमा नागरिक मारिएका छन् । राज्यका निकायहरुमाथि पनि आक्रमण भएको छ । दुवै पक्षको अपराधमाथि गम्भिर छानविन जरुरी छ । सँगै दोषीहरुलाई कानुनी कठघरमा ल्याउनु पनि । राजनैतिक आन्दोलन जनताकै लागि गर्ने हो भने तराईमा पहाडी मुलका नागरिकहरु पनि बस्छन । उनिहरुले तपाँईहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । उनिहरुका आँगनमा पनि चाड आएको छ । उनिहरु पनि चाडमा दूखपिडा भुल्न चाहन्छन् । यसलाई तपाँईहरुले ख्याल गर्नुपर्दैन? अहिले पनि तराईमा विकास सुस्त छ । विकासमा भ्रष्टचार हुनुहुँदैन भन्ने शारदा भुषालहरुले गरेको आन्दोलन तपाँईहरुले सम्भवत थाहा नै पाउनुभएन।
पहाडमा भुँइचालो जाँदा राहत लगेको प्रतिफल खोज्ने बेला यो होईन । आपत परेका बेला कोही मधेसी कोही पहाडी हुन सक्दैन । हुनु हुँदैन पनि । तराईको शितलहर कोशी डुबान लगायतका बेला सबैले सहयोग गरेकै छन् । गरिरहनेछन् । कैयौं वर्ष घर नफर्कने आफन्त पनि चाडको बहानामा घर फर्कन्छन् । यो बेलामा नाका अवरुद्ध गर्ने र आन्दोलन जारी रहने भन्ने तपाँईहरुको निर्णयले हामीले आफन्त गुमाउँदाजस्तै पिडा महशुस गरेका छौं ।
अहिले आन्दोलनको नेतृत्व गरिरहेकाहरुमध्ये धेरै विगतमा यो देशको मन्त्री भएका छन् । उच्च ओहोदामा पुगेका छन् । त्यसबखत मधेसमा समस्या छैन भन्दै अन्तरवार्ता दिने अनि अहिले पुन जनतालाई दुख दिने यो कस्तो बेइमानी हो । देशले कति दशक पछि अन्ततः संविधान पायो । संविधान सबैले चाहेजस्तै आउन सकेन । तर पनि त्यसमा कुनै कुरा फेरबदल नै गर्न नसकिने भन्ने त हैन भन्ने यहाँहरुलाई जानकारी नै होला । यसैलाई आधार बनाएर तपाँईहरुले पहाड र तराई भन्दै मानिसहरुमा विभाजनको कुरा सुरु गर्नुभयो । नयाँ संविधानले नयाँ सुरुवात होला । भूकम्पपिडित देखि लिएर तराईका बन्दपीडितले राहत पाउला भनेर हामी खुशी भयौं। कति धेरै असहजताका बीच पनि हामीले खुसि मनायौं। आन्दोलनमा जतिसुकै मान्छे मारिए पनि, नाकाबन्दीले जतिसुकै असर गरेपनि तपाईंहरुको राजनीतिक करियरलाई यसले कहिल्यै असर पारेन तर हामीलाई शान्तिसाथ गरिखाने स्थान पनि त दिएन. त्यही नागरिकको साथले राजनीति गर्नसक्नुभयो, मन्त्री हुनुभयो तर त्यही नागरिकप्रति तपाईंहरु कहिल्यै जवाफदेही हुनुपरेन है ! उनीहरुको पीडाले तपाईंहरुलाई कहिल्यै छोएन है !
पक्कै पनि मधेसमा राज्यले अन्याय गरेको हो । यो राज्यले अन्याय गरेको क्षेत्र मधेसमात्रै हो र ? राज्यले गरेको भनेको विभेदका लागि हामीले प्रताडित हुनुपर्ने किन ? तपाँईहरु पटकपटक मन्त्री बन्नुभएको छ । संसद बन्नुभएको छ । त्यसले तराईबाट खाडीमा १५, १६ वर्षकै उमेरमा २० वर्षको नागरिकता बनाएर काम गर्न जानेलाई के फरक पारेको छ त? यस्तो गैरजिम्मेवार राजनीति गर्न त संसारमा कसैलाई पनि छुट छैन होला। तैपनि तपाईंहरु हामीलाई किन सधैं दुख दिनुहुन्छ?
अन्तमा राजनीतिमा ईमान भएन भने त्यसले सबैभन्दा हानी आउने पुस्तालाई गर्छ। अधिकार पाईन्छ भन्दै बन्दुक समातेर वर्षौँ लडेकाहरु अहिले विगतमा औपचारिक शिक्षा लिन नपाएको भन्दै नेतृत्वलाई सरापेर रोईरहेका छन् । आफन्त गुमाएकाहरु भित्तामा मृतकको तस्विर हेर्दै रोईरहेका छन्। विगतमा मानिस जिउँदै जलेर मर्थे । अब पनि त्यसै गर्नुपर्छ भन्नु मूर्खता मात्रै हो । त्यसबाट सिक्नुपर्छ र अगाडी बढ्नुपर्छ । समाज गतिशिल छ । सबैले सबैको अस्तित्व स्विकार्नैपर्छ । हामीले खोजेको नयाँ नेपाल भनेको त्यही हो।
apawad@hotmail.com
No comments:
Post a Comment