केही समयअगाडी दोलखामा आफ्नै आफन्तवाट बलात्कृत भएको भन्दै १४ वर्षिया बालिका चरिकोटमा देखा परिन । उनको साथमा उनकी दिदी र दोलखामा दलितको क्षेत्रमा राम्रै वकालत गर्ने राजनितिज्ञ पनि थिए । प्रहरीले मुद्धा दर्ता गर्न मानेन भन्दै उनले पत्रकारहरुसंग गुनासो पोखे । पत्रकार र अधिकारकर्मीको टोली बालिकाको पक्षमा प्रहरीलाई दवाव दिन प्रहरी कार्यालयसम्मै पुग्यो ।
राम्रैसंग बहस भयो प्रहरी कार्यालयमा । प्रहरीले असहयोग गरेको भन्ने सुनेका अधिकारकर्मी तथा पत्रकारको टोली प्रहरीहरुको जवाफ सुनेपछि अचम्ममा प¥यो जव प्रहरीले आफूले गरेका कामका सबै विवरण देखायो । यसपछि यो मुद्धा अदालतसम्म पुग्यो । अदालतमा मुद्धा बहस हुँदा अर्कै रहस्य फेला प¥यो । घटनाहरु सबै काल्पनिक रहेछन । बालिकालाई कसैले सिकाएर यो मुद्धा दर्ता गर्न लगाइएको रहेछ । केहीदिन अभियुक्तहरुलाई नियन्त्रणमा राखेपछि अदालतको आदेशमा अभियुक्तहरु छुटे ।
घटना यहि हो । दोलखाका मानवअधिकारका क्षेत्रमा काम गर्ने एक पत्रकारले लेखे “एक वालिकालाई ...........ले वलात्कार गरे” । यो समाचार दोलखामा लामो समयदेखी काम गरिहेको मानवअधिकारवादी संस्थाको बुलेटिनमा प्रकाशन भएको छ । नेपालमा पत्रकारीता गर्नेहरुलाई सधैंजसो लाग्ने गरेको आरोप हो, नेपालका पत्रकारहरु अभियुक्तलाई अपराधी सरह मानेर व्यवहार गर्छन । नेपालको कानुनलाई मान्ने हो भने अभियोग लाग्दैमा कोही व्यक्ति अपराधी हुँदैन । उसलाई अदालतले दोषी प्रमाणित गरेपछि मात्र उसलाई अपराधी भन्न पाईन्छ । कानुनको अर्को प्रावधान हेर्ने हो भने कानुन बुझेको छैन भनेर कोही पनि उम्कन पाईन्न । अरुले त यति कुरा हेक्का राख्छन भने मानवअधिकारको क्षेत्रमा काम गर्नेहरुले यो कुरा राम्रैसंग बुझेको हुनुपर्ने ! तर यो घटनामा यस्तो देखिएन ।
हुन त अदालतले अभियुक्तलाई सफाई दियो तर भोली कसैले त्यहि पत्रिकाको आडमा उनलाई दोषी भन्यो भने उनले आफ्नो वचाउ कसरी गर्ने ? उनको चाँही मानवअधिकार छ की छैन ? यसबारेमा मानवअधिकारकर्मी (पत्रकार) संवेदनशिल हुने कि नहुने ? आरोप त सबैलाई लाग्न सक्छ । यसैगरी आरोप मात्र लागेकै आधारमा दोषी भन्दै लेख्दै हिँड्ने हो भने अदालतको के काम ? यस्ता क्रियाकलापले अदालतको कामकारवाहीमा असर गर्दैन र ?
यसलाई सामान्य मानविय कमजोरी हो भनेर तर्क गर्न त सकिएला तर बुझ्नुपर्ने कुरा के हो भने पत्रकारले एक लाईन लेखीदिएकै भरमा मानिसलाई ज्युँदै जलाइएको घटना पनि भएको छ विश्वमा । नेपालको सन्दर्भमा पनि एउटा फोटो प्रकाशित हुँदा मानिसहरुले आत्महत्या गरेका छन । पत्रकारहरुका कुरा नै गर्ने हो भने नेपालमा भएका परिवर्तनमा पत्रकारहरु सधै आफ्नो हात भएको दावी गर्छन । यसका कारण पनि पत्रकारहरु जिम्मेवार हुनै पर्छ भन्ने मान्यता राखिएको हो ।
हुन त दोलखामा पत्रकारीता क्षेत्रमा गम्भिर त्रुटि हुन बाँकी नै छ भन्ने पत्रकारहरु पनि नभएका होईनन । त्यो गम्भिर त्रुटि हुनुअघि नै पत्रकारहरु जीम्मेवार भैदिए सबैको भलो हुने थियो ।
apawad@hotmail.com