विष्णु सुवेदी |
तपाँई देश छ भन्नुहुन्छ
तपाँई कानुन छ भन्नुहुन्छ
म त्यही कानुन भएको देश खोजिरहेछु ।
र सोधिरहेछु म
देश भएको भए खोई हाम्रा पाईला राख्ने जमिन
कहाँ छ ?
तपाँई राष्ट्र छ भन्नुहुन्छ
तपाँई राष्ट्रियता छ भन्नुहुन्छ
म त्यही राष्ट्रियता भएको राष्ट्र खोजिरहेछु
र म सोचिरहेछु
राष्ट्रियता भएको भए खोई सिमानाका जङ्गे पिलर
किन हराए ?
तपाँई राजनीति सफा छ भन्नुहुन्छ
तपाँई नीति सफा छ भन्नुहुन्छ
म त्यही सफा राजनीति र नीति खोजिरहेछु
र भनिरहेछु म
नीति र विधि भएको भए खोई यो
अराजकता
किन बढेको छ ?
तपाँई यो देशमा शान्ति छ भन्नुहुन्छ
तपाँई यो देशमा सुरक्षा छ भन्नुहुन्छ
म त्यहि शान्ति र सुरक्षा खोजिरहेछु
र म चिच्याइरहेछु
शान्ति सुरक्षा भएको भए किन जहिल्यै
असुरक्षित छौं हामी ?
किन तपाँईका सुरक्षा जवानहरु
दिन दहाडै पस्छन
वस्तिका घरहरुमा दिउँसै ?
भन्न त तपाँई भन्नुहुन्छ हामी सार्वभौम छौं
तपाँई भन्नुहुन्छ हामी स्वाधिन र स्वतन्त्र छौं
म त्यहि स्वाधिन र स्वतन्त्र सार्वभौम खोजिरहेछु
र त औंला उठाएर बोलिरहेछु
हामी सार्वभौम र स्वतन्त्र भए किन
रातारात
कोसी पारी दौडनुहुन्छ ?
विजय कुमारले भने झैं
“ ठूला भ्रम सत्य साधारण ”
भन्न तपाँई के के भन्नुहुन्छ हुन्छ
आफूलाई
राष्ट्र निर्माता भाग्य निर्माता
अगुवा नेता, कार्यकर्ता !
कुनै नयाँ ब्रह्माण्डको जीवझैं
फरक लाग्नुहुन्छ हाम्रा आँखाहरुमा
भन्नुहुन्छ कुर्लिएर देशमा संविधान छ
भन्नुहुन्छ उर्लिएर देशमा ऐन छ ।
म त्यही संविधान र ऐन पल्टाइरहेछु
तपाँईका मतियार, खुनी हत्याराहरु
बस्ति बस्तिमा छुरा वोकेर निर्धक्क हिंड्छन
खोई अनुभुति भएको व्यवहारमा परिवर्तन
तपाँईले औंठा छाप लगाएका संविधान र ऐनका धारा
कसका निम्ती वनेका हुन ति
म तपाँई शासकलाई सोधिरहेछु
सत्य वोल्छु भन्नुहुन्छ असत्य वोल्नुहून्छ
भनाई र गराई ठ्याक्कै उल्टो गर्नुहुन्छ
तपाँई जे वोल्नुहुन्छ त्यो गर्नुहुन्न
तपाँइृ जे गर्छु भन्नुहुन्छ गर्नुहुन्न
उलटो उल्टो बुझ्नुपर्छ
उल्टो सुन्नुपर्छ हामीले
देश, शासन, विधि, कानुन र सुरक्षा
तपाँई जे भन्नुहुन्छ, त्यो हाम्रा लागि हुँदैन
हाम्रा लागि त साँच्चो अर्थमा
कानुन र संविधान छैन
शानित् र सुरक्षा छैन
हामी सार्वभौम र स्वाधिन छैनौं
हाम्रा लागि त साँच्चो अर्थमा
देश, विधि र शासन छैन
र त लागन थालेको छ अचेल
निर्धन र निमुखाहरुलाई
हामी राष्ट्र विनाका नागरिक
देश विनाका जनता, अपराध विनाका अपराधिक
दूःख छ मलाई तपाँईहरु जस्ताको
देशमा जन्मनु परेकोमा
यति धेरै सोझा मनहरुले भनेको सत्य
कसरी अस्विकार गरौं म
तिनिहरुकै माझमा वसेर
तिनिहरुकै काखमा खेलेर !
राम्पा दोलखा
No comments:
Post a Comment