अरु नेता बोल्दा बोल्दा उनको पालो कुरेर बसेका कार्यकर्ता क्रमिक रुपमा घट्दै गईरहेका थिए । केही राष्ट्रिय सञ्चारगृहका पत्रकार सञ्चारगृहले समाचार हाल्ने समय कटिसकेको भन्दै फर्किसकेका थिए । आफ्नो भाषण सकेर फर्केका एक नेता यो पार्टी भुत मसानको पार्टीजस्तै भयो । जतिखेर पनि भुतपूर्वहरुलाई ठाँउ दिएर वस्छ भन्दै दूखमनाउ गर्दै थिए । दिनभर नै पानी पर्ला पर्ला जस्तो भयो तर परेन ।
स्थानिय नेताहरु तथा राष्ट्रिय स्तरका अरु नेता बोल्दावोल्दै समय धेरै वितिसकेको थियो । ६ बज्नुभन्दा केहि मिनेटमात्र बाँकी हुँदा बल्ल उनको पालो आयो । उनको पालो आएपछि सुरुमा उनले आफ्नो पार्टी नेपाली कांग्रेसको बखान गरे । त्यसपछि कम्युनिष्ट पार्टीहरुको खोईरो खन्न लागे । उनले बेलाबेलामा च्याठ्ठिएर कम्युनिष्टहरुको आलोचना गरे तर कसैले पनि ताली पड्काउने तथा हुटीङ गर्ने गरेनन् ।
तरुण दल दोलखाले चरिकोटमा आयोजना गरेको तरुण युवा भेला तथा प्रशिक्षण कार्यक्रममा देखिएको दृश्य हो यो । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल थिए । कार्यक्रममा वोल्दै पौडेलले नेपालका कम्युनिष्टहरु अझै पार्टीमा रुपान्तरण भईनसकेको वताए । उनले संविधानसभातर्फ संकेत गर्दै आफ्नै सभासदहरुलाई अनुसासनमा राख्न नसक्नेहरु पार्टी हुन नसक्ने जिकिर गरे । कम्युनिष्टहरु अझै कन्फ्युजनमा रहेकाले यिनीहरुले देशका समस्या समाधान गर्न नसक्ने उनको भनाई थियो । उनले कम्युनिष्टहरुमा एमालेले सत्तामा पुगेपछि आफ्ना पक्षहरुको मात्रै काम गर्ने र माओवादीले देशमा अत्याचार गरेको आरोप लगाए । उनले अगाडी भने “एमाले पक्षपाती, एकिकृत माओवादी अत्याचारी पार्टी हो ।”
उनले संविधानसभा विघटन हुनुमा कम्युनिष्टहरुको हात रहेको आरोप लगाए । काँग्रेसले अन्तिमसम्म संविधानसभाको विवाद अन्त गर्नका लागि सबै पहल गरेको तर एमाले तथा माओवादीका सभासदहरु पार्टीभन्दा ककसतर्फ लागेका कारण संविधानसभाका विवादमा निष्कर्षमा पुग्न नसकिएको वताए । उनले भने “कांग्रेसमा पनि जनजाती सभासदहरुका वारेमा केही वहस चलेको थियो तर कम्युनिष्टहरुका जस्तो पार्टी नेतृत्वको लाईनबाहिर कोही पनि थिएनन ।”
उनले आगामी दिनमा कांग्रेसलाई मत दिएर ठुलो पार्टी वनाए मात्र देशले निकास पाउने जिकिर गरे । “नेपालका कम्युनिष्टहरु समस्या जन्माउन मात्र जान्दछन । यिनीहरुसँग समाधान कसरी गर्ने भन्ने दृष्टिकोण नै छैन,” उनको भनाइ थियो । उनले कम्युनिष्टहरुलाई वर्षाको खहरेसँग तुलना गर्दै कम्युनिष्टहरुले भन्ने गरेको परिवर्तन खहरेले वर्षामा गरेको क्षतिसँग तुलना गरे । कांग्रेस भने वसन्त ऋतु जस्तै भएको उनको भनाई थियो ।
No comments:
Post a Comment