अर्जुन अपवाद
सुनुवार जाती नेपालको आफ्नै भाषा, संस्कार र संस्कृति भएको जनजाती समूह हो । चण्डि नाच यस जातीय समुदायको मौलीक साँस्कृतिक नाच हो । दोलखाको हावा गाविसमा सुनुवार जातीको वाक्लो बस्ति छ । सुनुवार जातीको वाक्लो वस्ति भएपनि यस ठाँउमा आजभन्दा पाँच वर्ष अगाडीसम्म चण्डि नाच नाच्न कसैलाई आउन्नथ्यो । पुराना पुस्ताले नयाँ पुस्तामा नाचको कुनै सिप हस्तान्तरण गर्न नसक्दा यो मौलीक परम्परा लोप हुने अवस्थामा पुगिसकेको थियो ।
बैशाख र मंसिर महिनामा नाचिने यो नाच जोगाउन अहिले यस गाँउका स्थानिय कम्मर कसेर लागेका छन । पाँच वर्षदेखी उनीहरुले यो सिप सिक्नका लागि सुनुवार सेवा समाज नामक संस्था स्थापना गरेका छन । यस संस्थाले यस नाचका लागि आवाश्यक पर्ने वाजागाजा लगायतका सामाग्री खरिद गर्ने लगायतका काम गर्ने गर्छ ।
![]() |
चण्डी नाच्दै सुनुवार समुदाय तस्बिर स्रोत कृष्ण सुनुवार |
गुन्यु, चोलीमा सजिएका पटुकामा थैली र खुर्पी सिउरेका टाउकामा चारआनी आठआनी पहिरेका महिलाहरु तथा दौरा सुरुवालमा जाली र कम्बरी लगायका पुरुषहरु जम्मा हुन्छन । ढोल र झ्याम्टा वजाँउदै विचमा नाच्नेहरुले गित सुरु गर्ने र छेउमा गोलो वनाएर हात समाउदै गितका तालमा नाच्ने चण्डि नाचको आफ्नै मौलीक परम्परा हो ।
स्थानिय सुनुवार अगुवा भवानीबहादुर सुनुवार विगतमा गाँउमा चण्डि नाचको चलन नभएको वताँउछन । “धेरै पहिला थियो कि हामीले थाहा पाएर चाँही थिएन । आफ्नै चाडका बारेमा नजान्दा रामेछापका सुनुवारहरुले हामीलाई खिसी नै गरे । त्यसपछि यो संस्कार जसरी पनि सिक्नैपर्छ भन्ने लागेर हामीले केही मानिस त्यहिँ वसेर सिक्यौं ।”
नाचमात्रै हैन परम्परागत पोशाकको प्रयोगमा पनि सुनुवार समुदायको चासो वढ्न थालेको छ । स्थानिय हिरा सुनुवार भन्छिन “सुरुमा त हामी आफ्नै मौलिक पोशाक लगाउने कुरामा सचेत थिएनौं । आजकाल भने गाँउमा हुने विभिन्न कार्यक्रमहरुमा आफ्नै मौलीक पोशाक लगाउने लहर नै चलेको छ ।”
बाढी पहिरोको भय नहोस, घरमा र घरबाहिर रहेका परिवारका सदस्यहरुलाई कुनै पनि समस्या आईनपरोस भन्नका लागि चण्डि नाच नाच्ने गरिन्छ । हावा गाविस ५ कि रजिना सुनुवार भन्छिन “यो नाचमा ढोल झ्याम्टा बजाएर नाच्ने गाउने गरिन्छ । यस पर्वमा सबै नातागोता र आफन्तलाई पनि आमन्त्रण गर्ने गरिन्छ ।”
सुनुवारहरु आफुलाई भारतको समोङ्गडा भन्ने ठाँउबाट नेपाल आएको वताँउछन । स्थानिय सुनुवार अगुवा एवं कांग्रेस नेता खड्गवहादुर सुनुवार भन्छन “हामी भारतको समोङ्गगडा क्षेत्रबाट ४ भाई नेपाल आएको र सिन्धुलीमा भएको हायु एक भाई दोलखाको सुरीमा वसोबास गर्ने सुरेल अर्को भाई भएको कुरा सुनुवार वंशावलीमा उल्लेख छ ।”
मुख्यत चण्डि नाचमा गाईने गितमा मायाप्रेमका गित गाउने गरिन्छ । पछिल्लो समय यस गितमा अधिकार र समानताका कुरा पनि समावेश हुन थालेका छन । स्थानिय जितमाया सुनुवार भन्छिन “हाम्रो जाती अन्य जातजातीभन्दा पछाडी परेको छ । यसमा पनि महिलाको स्थान कमजोर छ । यो गितमा हामी अधिकार खोजीका बारेमा पनि कुरा गर्ने गर्छौ ।”
apawad@hotmail.com
रेडियो शैलुङ्गमा बजेको यसै सम्बन्धी रिपोर्ट सुन्नुहोस
डाउनलोड गर्नुहोस
No comments:
Post a Comment