दोलखामा संविधानसभाको दोश्रो निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरुमध्ये १ तिहाईभन्दा कमले मात्र चुनावमा भएको खर्च विवरण पेश गरेका छन । निर्वाचन आयोगले उम्मेदवारहरुलाई खर्च विवरण बुझाउन दिएको सिमाभित्र १५ जनाले मात्र खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जानकारी दिएको छ ।
निर्वाचन कानुनअनुसार परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले अनिवार्य रुपमा आफुले चुनावी प्रचारप्रसारका क्रममा लागेको खर्च विवरण प्रस्तुत गर्नुपर्ने प्रावधान छ । समयसिमाभित्र विवरण प्रस्तुत गर्नेमा प्रमुख तिन राजनैतिक दल लगायतका राजनैतिक दलका उम्मेदवारहरु रहेका छन । जिल्लामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले चुनावी खर्चको विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय दोलखाका नायब सुब्बा लेख बहादुर बस्नेतले जानकारी दिए ।
दोलखामा क्षेत्र नं. १ मा १६ पार्टीगत तथा स्वतन्त्र ६ जना गरि २२ जनाले उम्मेदवारी दिएकोमा ठूला ३ राजनैतिक दलसहित ६ ओटा पार्टीका उम्मेदवारहरुले मात्र समयसिमाभीत्र खर्च विवरण पेश गरेका छन । यसैगरि क्षेत्र नं. २ मा २१ पार्टीगत तथा स्वतन्त्र ४ जना गरि २५ जनाले उम्मेदवारी दिएकोमा ठूला ३ राजनैतिक दलसहित ९ राजनैतिक दलले मात्र खर्च विवरण पेश गरेका निर्वाचन कार्यालय दोलखाले जानकारी दिएको छ । प्रमूख तिन दलसहित ८ राजनैतिक दलले जिल्लाको दुवै क्षेत्रमा उम्मेदवारी दिएका थिए । समयसिमाभीत्र ६ दलले मात्र दूवै क्षेत्रमा भएको खर्च विवरण प्रस्तुत गरेका छन ।
निर्वाचन कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार जिल्लाको क्षेत्र नं. १ मा विजयी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङ्ग, नेपाली कांग्रेसका जिपछिरिङ लामा, एकिकृत माओवादीका विशाल खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका बल बहादुर केसी भण्डारी, राप्रपा नेपालका मोहन बहादुर लामा र यथार्थवादी पार्टीका नर बहादुर खड्काले आयोगले निर्धारण गरेको समयसिमाभीत्र खर्च विवरण उपलब्ध गराएका छन ।
क्षेत्र नं. २ मा विजयी उम्मेदवार नेकपा एमालेका आनन्द पोखरेल, नेपाली कांग्रेसका तारा वहादुर कोईराला, एकिकृत नेकपा माओवादीका शंकर लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नर बहादुर पाख्रिन, राप्रपा नेपालका कृष्ण कुमार श्रेष्ठ, राष्ट्रिय यथार्थवादी पार्टीका तेज्जेन तामाङ, राष्ट्रिय चुरेभावर पार्टीका राम प्रसाद उपाध्याय, नेपाल परिवार दलका निला कुमार श्रेष्ठ, अखण्ड नेपाल पार्टीका इन्द्र बहादुर रिजालले मात्र चुनावमा आफुले गरेको खर्च विवरण पेश गरेका छन ।
‘पटक पटक समयसिमाभित्र खर्च विवरण कार्यालयमा पेश गर्न ताकेता गरेका हौं । धेरैले बुझाउनुभएन,’ बस्नेतले भने । निर्धारण गरिएको समयसिमाभित्र १५ जनाले मात्र खर्च विवरण पेश गरेपनि कतिपय उम्मेदवारहरुले अझै पनि खर्च विवरण उपलब्ध गराईरहेको उनले जानकारी दिए ।
संघिय समाजवादी पार्टीबाट क्षेत्र नं. १ मा उम्मेदवारी दिएका भक्त बहादुर जिरेल र २ बाट उम्मेदवारी दिएका हेप बहादुर थामीले समय सिमा घर्किसकेपछि हुलाकमार्फत कार्यालयमा खर्च विवरण उपलब्ध गराएका छन ।
उम्मेदवारहरु भने आफुले यस विषयमा जानकारी नै नपाएको बताँउछन । राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टीको तर्फबाट क्षेत्र नं. २ मा उम्मेदवारी दिएका अमृत चौलागाँई आफुले भर्खर मात्र कार्यालयले दिएको पत्र पाएकाले अव छिट्टै कार्यालयमा खर्च बुझाउने जानकारी दिए । निर्वाचन सकिएपछि आफू जिल्लाबाहिर रहेको कारण समयमा खबर नपाएको चौंलागाँईको दाबी छ ।
जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा लेख बहादुर बस्नेत चौलाँगाँईको कुरामा सहमत छैनन । ‘हामीले निर्वाचन सम्पन्न हुनअघि डाकिएका सबै सर्वदलिय बैठकमा खर्च विवरण बुझाउनुपर्ने कुराको जानकारी गराएका हौं,’ बस्नेतले भने ।
आचारसंहितामा भएको प्रावधान सबैका लागि समान रुपमा लागु नगरिने भएको कारण खर्च विवरण नबुझाईएको संघिय समाजवादी पार्टीका उम्मेदवार हेप बहादुर थामीले जानकारी दिए । उनले भने ‘आयोगले तोकेको सिमाभित्र रहेर नै खर्च गरेका छौं । आयोगले तोकेको भन्दा धेरै रकम खर्च गर्नेहरुलाई पनि कुनै कारवाही नभएका कारण खर्च विवरण नबुझाएको हो ।’
निर्वाचन खर्च समयमा पेश नगर्ने उम्मेदवारहरुलाई ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने लगायतका कानुनी कारवाहीको व्यवस्था ऐनमा रहेको छ ।
यसबारे रेडियो शैलुङ्ग दोलखाबाट प्रसारित रिर्पोट सुन्नुहोस
डाउनलोड गर्नुहोस
No comments:
Post a Comment