स्वदेशी लगानीमा निर्माण हुन लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले
दोलखा जिल्लावासीका लागि जारी गर्ने शेयरका बारेमा विवाद बढेको छ । आयोजना
निर्माण भईरहेको लामावगर गाविसको जस्तै आफुहरुले शेयरमा विशेषअधिकार
पाउनुपर्ने छिमेकी गौरिशंकर गाविसका बासिन्दाको मागपछि विवाद बढेको हो ।
आयोजनाको लागि गौरिशंकरबाट बहने रोल्वालिङ खोलाको पानीलाई समेत उपयोग
गरिने तय गरिसकिएको छ । ‘शेयरमा हामीलाई सुनिश्चित गरिएन,’ स्थानिय गोविन्द
आचार्यले भने । उनका अनुसार समान शेयरका लागि जिल्लमा रहेका राजनैतिक
दललाई स्थानिय सरोकार समितिले ज्ञापन पत्र बुझाईसकेको छ । ‘माग पुरा नभए
आन्दोलनमा जानुको विकल्प छैन ।’
यसअघि जिल्ला जलसरोकार समितिले लामावगर गाविसलाई जिल्लाका नाममा
छुट्याइएको शेयरमध्ये ४ प्रतिशत लामावगर गाविसवासिलाई सुनिश्चित गर्ने
निर्णय गरेको थियो । यसअनुसार जिल्लामा शेयर प्राप्त गर्ने नागरिकको
तथ्याङ्क संकलनका लागि जिल्ला विकास समितिले गाविसमा कार्यरत सामाजिक
परिचालकहरुलाई जिम्मेवारी दिएको थियो । निर्धारीत १५ दिनको अवधीमा आधामात्र
तथ्याङ्क संकलन भएका कारण १५ दिनको म्याद बढाइएको जिल्ला विकास समिति
दोलखाका सुचना अधिकृत विक्रम कार्कीले जानकारी दिए । ‘तथ्याङ्क संकलनपछि
मात्रै कति जनाले शेयर प्राप्त गर्छन भन्ने एकिन हुन्छ ।’
नागरिकता लिने बढे
शेयर जारी गर्ने सुचना स्थानिय माध्यमबाट बढेसँगै जिल्ला प्रशासन
कार्यालयमा नागरिकता लिनेको संख्या बढेको छ । सुचना आएपछि नागरिकता र
पासपोर्ट दिनमा ३ सयसम्म जारी हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी
औलख बहादुर आलेले भने । सुचना आउनु अघि १ सय ५०/२ सयको हाराहारीमा नागरिकता
पासपोर्ट जारी हुने गर्दथ्यो ।
विवाह दर्ता र जन्मदर्ता गर्न स्थानीय निकायमा भ्याइनभ्याई
शेयरका जारी हुने भएपछि गाविस तथा नगरपालिकामा विवाह दर्ता र जन्म दर्ता
गराउनेको संख्या पनि ह्वात्तै बढेको छ । भीमेश्वर नगरपाललिकाको स्थानिय
पञ्जिकरण शाखामा भीड बढेको छ । शेयरका लागि तथ्याङ्क संकलन सुरु भएपछि भिड
बढेको नगरपालिकाले जानकारी दिएको छ । ‘पहिले शाखामा एक जना कर्मचारी हुँदा
पनि काम भ्याइएको थियो । अहिले २ जनाले पनि काम भ्याउन मुश्किल परिरहेको
अवस्था छ’, नगरपालिकाका कर्मचारी ज्ञानु खड्काले भने ।
No comments:
Post a Comment