७२ वर्ष पुगेका भीमबहादुर तामाङ बिहानै कोदालो वोकेर उकालो लागे। दुई छोरा
घरमा नभएपछि उनी आफै कुलो खन्न जनश्रमदान गर्न तम्सिएका थिए। गाँउमा
सिचाँई कुलो ल्याउनका लागि उनीजस्तै गाँउभरका महिला वृद्धवृद्धा सबैजनाको
बाक्लो उपस्थिति थियो। पवटी गाँउ विकास समितिमा सिचाई कुलो निर्माणका
क्रममा देखिएको दृश्य हो।
गाँउमा २०५८ सालमा नै कुलो निर्माण भएको थियो। तत्कालिन समयमा १ करोड
रुपैंया खर्च गरेर ५ किलोमिटरको दुरीमा रहेको अँधेरी खोलाबाट पानी गाँउमा
ल्याइएको थियो। त्यसबेलामा सिचाइँको महत्व गाँउमा धेरैले बुझेका थिएनन्।
यसैले गर्दा ३ दिन सञ्चालन भएको सिचाइँ योजना त्यत्तिकै थन्कियो।
२०५५ सालबाट ५ वर्षमा सक्ने योजनाका साथ सञ्चालन भएको यो योजना ३ वर्षमा
सकिएको थियो। तत्कालिन समयमा योजना सक्न मात्रै काम भएका कारण यस्तो अवस्था
आएको नेकपा एमाले गाँउ कमिटी पवटीका अध्यक्ष ललित बस्नेतको भनाई छ। यस
सिचाइँ कुलो सञ्चालनमा ल्याउन सके पवटी गाविसका सबै वडा र शैलुङ्गेश्वर
गाविसका २ वटा वडामा सिचाइँको सुविधा पुग्नेछ। यसले गर्दा पवटीबासीको
आर्थिक स्तर उकासिने उनको भनाई छ।
सरकारले ३ वर्षदेखि उक्त सिचाइँ योजनालाई रातो किताबमा समावेश गरिरहेको छ।
रातो किताबमा समावेश भएको योजनामा पनि कुनै रकम विनियोजन नगर्दा
गाँउलेहरुमा सरकारप्रति आक्रोश जन्मिएको छ। ‘गाँउलेहरुको मात्रै बलबुताले
हुने भए हामी गाँउमा योजना ल्याउने थियौ। तर हाम्रा बुताले यो काम गर्न
नसकिने भयो', स्थानिय युवा सोवित उप्रेतीले भने।
आयोजना सञ्चालन गर्न सके १ हजार ३ सय परिवारको १ हजार ८ सय हेक्टरमा
सिचाइँ सुविधा पुर्याउन सकिने स्थानिय दधिराम शिवाकोटीले जानकारी दिए।
उनका अनुसार अहिले यो कुलो सञ्चालन गर्न भनेर दैनिक २ सय भन्दा बढिले
निशुल्क रुपमा जनश्रमदान गरिरहेका छन। ‘प्राविधिक कामका लागि मात्रै सरकारी
सहयोग पाइए मानविय श्रोत परिचालन गर्न सकिन्थ्यो', उनले भने।
आयोजनालाई सम्पन्न गर्नका लागि सबै दलहरु समेत एक ठाँउमा उभिएका छन। ‘यो
योजना निर्माण भएमा सबै दलमा आस्था राख्ने जनतालाई भलाई हुनेछ', नेपाली
कांग्रेसका गाँउ कमिटी सचिव हरि बहादुर खड्काले भने। उनका अनुसार गाँउमा
सिचाइँ ल्याउन सकिए भईरहेको भन्दा आम्दानी ३, ४ गुणा वढाउन सकिन्छ।
सरकारले गरेको त्यत्ति धेरै लगानी माटोमा मिलेको उनले बताए। रातो किताबमा
परेको योजनामा बजेट विनियोजन नगर्दा स्थानिय जनता मर्कामा परेको नेकपा
एमाले गाँउ कमिटि अध्यक्ष ललित बस्नेतले जानकारी दिए। उनले भने ‘सरकारी
निकायको ध्यान पुगे गाँउको विकासका लागि धेरै समय लाग्ने थिएन।'
No comments:
Post a Comment