कैलेकाँहि यसो लाग्छ। विकास के? कस्तो? कसरी? छलफल हुन बाँकि नै छ कि भइसक्यो? बारीका कान्ला डोजरले लडाउनु विकास कि? १० रुपैंया आय हुने नागरिकको २० रुपैंया आय पुग्नु विकास?
विकास कत्ति भएको छ भन्ने हेर्न धेरै कुर्नै पर्दैन। गुगल अर्थमा पहाड तथा तराइका नदीलाई हेरे पुग्छ। नदिका आसपास ५०/१०० मिटरका फरकमा बाटाहरु खनिएका छन्। गिट्टी, बालुवाका क्रसरहरु स्थापना भएका छन्। नदीहरु वर्षेनी साँघुरा बन्दैछन्। किनारमा वस्ती विकास द्रुत गतिमा अगाडी बढेको छ। यो विकास ५/१० वर्षभीत्रको हो। कत्ति पहाडहरु पनि विकासले खाइदिइसक्यो होला? त्यत्तिले नपुगेर आधारातमा पनि नदितिरै जाने बाटो खन्ने महान काम सुरु भइसक्यो। बाटो विकासका नाममा बालुवाका लागि खनिएको हो। कतिपय स्थानमा त राज्यकै पैसाले ति बाटा खनिएका हुन्। विकासे काम भएका हुन्।
यस्तै यस्तै देख्दा लाग्छ यो भत्कने विकासको दर कहाँसम्म पुग्ला? अहिले हामी अन्ततिर छौं कि यो भर्खरको सुरुवात हो?
बालुवा/नदीकिनारे विकासपछि जनयुद्ध विकासको कुरा। प्रसङ्ग एक कमरेडको, प्रवृत्ति हालको नेतृत्वको। त्यसमा कांग्रेस कम्युनिष्ट वा अरु कुनै दल वा राजनैतिक दर्शन छुट्याउनु मुर्खता हुन जान्छ।
कमरेडले आफ्नो जीवनका उर्जावान झण्डै दर्जन वर्ष जनयुद्धमा विताए। जनयुद्धकै क्रममा घाइते भए। घाइते मात्र हैन अपाङ्ग नै। माओवादी लगायतका आन्दोलनमा संलग्नहरुप्रति मनमा सम्मान छ। किनभने यहाँ एक घण्टा मानिसलाई अरुका लागि दिने समय छैन। जीवनका त्यत्रो धेरै समय आस्थाका आधारमा दिनु सजिलो पक्कै थिएन।
केहि वर्ष अघि गृह मन्त्रालयले जनयुद्धका घाइतेहरुलाई राहत वितरण दिएको एउटा दस्तावेज फेला पर्यो। देशभरिको त के मतलब र? आफ्नै जिल्लाको हेरें। अचम्म लाग्यो। मैले श्रद्धा गर्ने कमरेडले त ४ ओटा नामबाट एक्लैले राहत लिएका रहेछन्। पक्कै पनि राहत रकम कम थियो होला। तर उनले विगतमा राज्यको भ्रष्टता विरुद्धमा ज्यान नै हातमा राखे। ठाउँ पर्दा भने उनि आफैं राज्य ठग्न पछि पर्ने रहेनछन्। उनिमात्रै हैन, यसरी राहत लिने अरु पनि क्रान्तीकारी कमरेडहरु थिए। मन अमिलो अमिलो भो। त्यो देखेपछि केहि समय अगाडी एक कानुन व्यवसायीले भनेको कुरा मेरो मनमा आइरहेको छ 'हामी औकातअनुसारका भ्रष्ट हौं।'
त्यो दस्तावेज पढेको केहि समयपछि द्वन्दका घाइते कृष्णबहादुर तामाङलाई भेटें। द्धन्दसँग कुनै साइनो नभएपनि माओवादीले दोलखाको हलहलेमा पड्काएको बारुदी सुरुङका कारण उनि घाइते भए। विष्फोटपछि उनको कम्मरमुनिको भाग चल्दैन। अरुको सहाराविना चल्न सक्दैनन्। जीवन ह्विलचेयरमा कैद भयो। उनि राहतका लागि दौडिइ रहेका थिए। उनिसँग राहतको बारेमा कुरा हुँदा उनले भने 'जस्को पहुँच छ उस्ले नै राहत पायो। हामीलाई कस्ले हेर्थे र?'
त्यो अल्ली पुरानो कुरा भो। यो प्रसङ्गपछि कम्तिमा आधा दर्जन वर्ष वितिसके। अहिले झन् अवस्था खराब हुँदै गइरहेझैं लाग्छ। समाज परिवर्तनका लागि ज्यान दिन तयार भएका राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु अहिले जसरी पनि कमाउनै पर्छ भन्नेमा पुगिसके। गाउँलेहरुलाई नचाहिएको विकास नेता तथा कार्यकर्तालाई जसरी पनि चाहिएको छ। नेताको कारोबार मिलाउन मध्यरातमा डोजर चल्छ। विहान हुँदा विकास पछाडि पर्ला भन्ने त्रास छ। सामुदायिक सम्पत्तिहरु सकेसम्म उपयोग(?) गर्नेमा नेतृत्वका बिचमा प्रतिष्पर्धा सुरु भएको छ। विष्णु पौडेल उदाहरणमात्रै हुन्। त्यसको प्रतिबिम्ब गाउँ गाउँमा पुगिसकेको छ। नेतृत्व अव समाजलाई हैन आफैंलाई हेर्न लागेको छ। त्यतिमात्रै हैन आफ्नो पहुँच सर्वसाधारणका लागि हैन कि आफ्नै लागि प्रयोग गर्न लागेको छ।
यसो कैलेकाँहि यस्तै गतिविधीहरु हेरेपछि लाग्छ आन्दोलनमा लाग्नेहरुको लक्ष्य यहि थियो? उनिहरुले देखेको परिवर्तन यहि थियो? यस्तै कामका लागि उनिहरु आन्दोलनमा लागेका थिए? सम्बन्धितहरुले जवाफ के दिन्छन् थाहा छैन्। मलाई चैं लाग्छ कि यस्ता प्रश्नको जवाफ नकरात्मक आउनुपर्ने हो ? तर केलाएर हेर्दा आउँदैन। यस्तो पनि हुन्छ र भन्दा भइसक्यो।
अन्तमा, पैसाको बलमा स्वर्ण पदक, प्रधानन्यायाधिसका नक्कली प्रमाणपत्र, प्रधानमन्त्री निवासकै जग्गा किनवेच, मेलम्चीका हाकीमको पानी कम्पनी; यी त ठूलाहरुका र केन्द्रका कुरा भए। गाउँमा साना साना अगुवा पनि अहिले भ्रष्टिकरणको बाटोमा देखिन्छन्। सबै कुरा हेरेपछि लाग्छ भत्कने कहाँसम्मः यत्ति कि अझै? सम्हाल्ला कस्ले? अनि कैले?
No comments:
Post a Comment