ठ्याक्कै १७ वर्ष पुरा भयो । मेरो मामाघरमा सत्यनारायण पुजा थियो त्यो दिन । बेलुकाको ६ बजे काठमाण्डौको एच बि सि एफ एमले समाचार भन्यो बुद्धिमान तामाङको लाश भेटियो सुनखानीको स्याउली जंगलमा ।
पुजाको कार्यक्रम हुँदै थियो । पुजामा संलग्न दिदीहरु छ बजेको समाचार एफ एममा सुन्न एफ एम अलिक टिप्ने ठाँउतिर गए । रेडियो सुन्न पनि गाह्रै पो थियो त । एरियलमा लामो तार झुण्ड्याउन पर्थ्यो । यस्ता समाचार सजिलै बज्ने रेडियो नेपालले दिन्नथ्यो । काठमाण्डुमा खुलेका एफएम गाउँमा मुस्किलले टिप्थ्यो । फर्केर भने राम्रो मान्छे मारेछन् । कसैलाई अझै विश्वास भएन । ६ः३० को कान्तीपुर डायरी सुन्न कान्तिपुर एफएम सुन्न लागे । त्यसले पनि समाचार दियो । सबै हत्या भएकोमा विश्वस्त भए ।
बुद्धिमानसँग मेरो प्रत्यक्ष भेट भएन । तर पनि एक खालको नरमाइलो भने अझै लागेको छ उनको हत्यामा । त्यसको कारण के हुन सक्ला । म बेलाबेला सोच्छु । तर चित्तबुझ्दो जवाफ अझै भेटेको छैन ।
मावल जाने बाटोबाट देखिन्थ्यो बुद्धिमानको घर । ठुलोबुबाले चिनाएका थिए । खोलाको वारी वारी हाम्रो मावल जाने बाटो पर्थ्यो । पारीपट्टी उनको घर थियो । उनको घर देख्दा उनको हत्या किन भो होला भन्ने लाग्थ्यो । त्यहाँबाट अझै अगाडि बढेपछि फुल्पिङमा खिम्ती खोला तर्नुपर्थ्यो । त्यसपछि अलिक उकालो चढेपछि वारीपट्टि देखिन्थ्यो झाँक्रेखोला जलविद्युत आयोजना । यो आयोजना खिम्ती जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका वासिन्दालाई विद्युत सुविधा दिनका लागि निर्माण गरिएको थियो । एकपटक म जाँदा त्यहाँ विस्फोट गरेर आगो लगाइएको थियो । कार्यालय भवनहरु काला काला थिए । त्यसलाई देखाउँदै ठूलोबाबाले भनेका थिए यहि जलविद्युत आयोजनामा गरेको विष्फोटको विरोध गर्दा बुद्धिमान मारिएका रे ।
खेतैखेत पाइपबाट पानी लगेर झाँक्रे खोलामा विजुली निकालिएको थियो । यहाँबाट निकालेको विजुली बुद्धिमानको गाउँ ठूलोपातललगायत दोलखा र रामेछापका खिम्ति प्रभावित गाविसमा वितरण गरिएको थियो । यो पनि हत्याको कारण थियो वा के थियो मलाइ थाहा छैन । बुद्धिमानको लाससँगै छोडिएको पर्चामा भने सुराकी गरेको आरोप लगाइएको थियो । यो कागज फोटो खिचेर एक नेताले आफ्नो वेबसाइटमा राखेका थिए । एमालेका नेताले राखेको यो कागज तत्कालिन एमाले र माओवादीविच चुनावी तालमेल हुने बेलामै वेबसाइटबाट हटाइएको छ । सम्भवत राजनीतिक लेनदेनले त्यसलाई मेट्न वाध्य बनायो होला !
२०६० सालमा चिलंखासम्म गएका थियौ । लघुजलविद्युतका बारेमा बुझ्नका लागि । फर्कँदा सिङ्गटीबाट चरिकोटतर्फ फर्कियौं । सिङ्गटी बजारसम्म सडक पुगेको थिएन । कालिनाग विद्यालयको भवनसम्म पुगेको थियो । नयाँ ठाउँ भएकोले हामी छतमा चढेर फर्कियौं । बाटो एकदमै अप्ठ्यारो थियो । छतबाट खसिन्छ झैं गरेर सवारी कोल्टो पर्दथ्यो ।
स्याउली आइपुगेको कसैले बतायो । मनमा डर लाग्यो । बुद्धिमानको लाश भेटिएको भनेको ठाउँमा सल्लाका बोटहरु ठिङ्ग उभिएका थिए । अलिअलि डर लाग्यो । त्यसपछि बस अगाडि बढ्यो ।
राजनीति सम्भावनाको खेल भनेको त्यत्तिकै होइन । लामो समय तत्कालिन नेकपा एमालेले यस घटनामा माओवादीको चर्को विरोध गर्यो । यस वर्ष साविकका माओवादी र एमालेहरु दुवैले स्मृति सभा मनाए । काठमाण्डौमा भएको स्मृतिसभामा जनयुद्धको नेतृत्व गर्ने प्रचण्डलाई बुद्धिमानकी श्रीमती शान्ती पाख्रिनले सोधिन मैले कहिले न्याय पाउँछु ? प्रचण्डले दोषी देखिए म आफैं कारवाही भोग्न तयार छु भनेर दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यो आलेख कसैलाइ सहि या गलत देखाउन लेखेको हैन । समयक्रममा वुद्धिमान बारेका प्रसङ्ग बिस्मृतिमा जालान भनेर लेखिएको हो । तपाँइले पढ्नुभयो धेरै धेरै आभार !
No comments:
Post a Comment