खलिल जिब्रानको एउटा कथा छ । पागल शिर्षकको । महाकवि देवकोटाको पागल कविताजस्तै । त्यसको मुख्य पात्रले भन्छ, ‘अनुहारमा मखुण्डो हुँदासम्म म सबैको देवता थिएँ । मलाई सबैले पुजा गर्थे । एकदिन अनयास मेरो अनुहारबाट मखुण्डो खस्यो । मेरो अनुहारलाई पहिलोपटक सूर्यका किरणले स्पर्श गरे । त्यसपछि मेरा दुर्दिन सुरु भए । मानिसहरु मलाई राक्षस भनेर लखेट्न लागे । अघिअघि पुजा गर्नेहरुकै आक्रमणबाट जोगिन मैले लुक्नु पर्यो ।’
भर्खरै प्रधानमन्त्री पदबाट निकालिएका केपी ओली र खलिल जिब्रानको कथाको पात्र मलाई उस्तै उस्तै लाग्छ । हिजो उनको भगवान जसरी पुजा गर्नेहरु नै आज उनको चर्को आलोचनामा छन् । उनको अनुहारबाट उत्रिएको मखुण्डो के को हो भन्ने मैले भेउ पाएको छैन ।
केपी प्रधानमन्त्री भए । बालकोटबाट बालुवाटार गए । काजु किसमिस खाए । झण्डै साँढे ३ वर्षको समय अरुलाई खिसिट्युरी गरेर, अपमान गरेर, जनतालाई बेसार पानी खान सिकाएर विताए । कानुनलाई नुन बनाए । खानामा आफ्नो स्वादअनुसार राखेर खान मिल्ने । नागरिक कोरोनामा पिल्सिँदा बालुवाटारमा सारङ्गी बजाएर त्यसकै धुनमा लठ्ठिएर बसे । चिच्याइरहेका नागरिकलाई कुनै एउटा राजाले जस्तै झ्यालबाट खुट्टा देखाइदिए । त्यसै भएर धेरै पढिनेमध्येको एक अनलाईनले लेख्यो ...ओलीको विर्सनलायक ४० महिना !
अझै थपौं ओलीलाई काम गर्न कतैबाट बाधा व्यवधान थिएन । नेकपा हुँदा उनी अल्पमतमा पर्दा उनले त्यो मान्न पर्ने थियो । उनी बहुमत भएको पार्टी उनको नामको कम्पनी हो । त्यसले गरेको संस्थागत निर्णय पनि ओलीको एकल भनेर बुझिन्छ । त्यसमा नीति नियम ओलीले मात्रै मान्नुपर्छ । अरुलाई त्यो नमाने पनि फूलमाला लगाएर पुजा गर्नुपर्छ । उनले उद्घाटन गरिदिएकै कारण माथिल्लो तामाकोसीको जेनेरेटरमा समस्या आयो । धरहरा बनाउनै पर्ने थिएन । बनाए पनि उनले उद्घाटन गरेका कारण त्यो कमजोर छ ।
बाँकी अरु भएका विकास भन्ने जुन ओलीले रटान लगाइरहेका छन् त्यो त ओलीका ठाउँमा एउटा निर्जिव लौरो भएको भए पनि हुन्थ्यो । ओलीले नेपालले थेग्नै नसक्ने/नेपालमा हुनै नसक्ने विकासका गँजडी गफ लगाइदिए । जसले मानिसहरुलाई निराश बनाएर डिप्रेसनतिर लग्यो ।
साँच्चै आजका बहस/तर्क सुन्दा लाग्छ एकमात्र समस्या ओलीमा थियो । ओली गएपछि हामी धेरैले परिकल्पना गरेको रामराज्य हुन्छ । कुरा त्यही हो ? ओली त गए अव हामीले भनेको जस्तै हुन्छ त !
माथी भनेको जस्तै भएको हो ? खै अहिलेका सञ्चारमाध्यम र नेताहरुको कुरा सुन्दा शब्दहरु यिनै नभइ पनि भावार्थ यहि छ । केपी प्रधानमन्त्री भएर मात्रै आजको दुर्दशा भएको हो । केपी नभएका भए हामीले भनेको जस्तै हुन्थ्यो । सम्भवत कोरोनाबाट पनि मानिसहरु मर्ने थिएनन् । यो खेर गएको साँढे ३ वर्षको एकमात्र जिम्मेवार केपी हुन । त्यसैले होला एक मुलधारको सञ्चारमाध्यमका सम्पादकले लेखे बालकोटको बार्दलीमा खुम्चिएको अतिवाद !
कुन कुरा पत्याउने हो । नेताहरुले मञ्चमा उफ्रिएर गरेको भाषण कि ! उनिहरुले चियागफमा व्यक्त गर्ने विचार । १९५० को सम्झौता खारेज गर्ने भनेर चर्को भाषण गर्ने नेताले चियागफमा त्यो त जनताका लागि भन्दिएको मात्रै हो भने भनेर लेखेको आधिकारीक मेल विकिलिक्सले सार्वजनिक गरिदियो । बाहिर जसरी पनि राजा हटाउनुपर्छ भन्नेहरु त्यो त जनताका लागि मात्र कुरा गरेको भनेर दरबारमा विन्ती विसाउँथे भनेर किताबै लेखियो । केपी हिँडेपछि जनताका सुदिन फेरिन्छन भन्ने अहिलेको भाष्यको शंका गर्न त मिल्छ नै होला ? या नयाँ नेपालको यात्रामा हिँडेका हामीलाई यस्तो कुरा गर्ने मान्छे २०६५ सालतिर जस्तै प्रतिगमनकारी हुने हो ? अझ त्यो बेलामा जस्तै प्रतिगामी अनुहारमा कालोमोसो नै पो दलिने हो कि !
२०६५ तिरकै कुरा, अलिकती सम्झना !
जनयुद्ध गरेर आएको शक्ति । संसदिय राजनीति गर्नेहरु पुरै बदनाम भएको बेला । जनताका लागि आफ्नो ज्यानै दाउमा राख्नेहरुले विकास कसो नगर्लान । जनताहरुलाई लाग्यो दिनुपर्ने मत दिए । ठुलो शक्ति बनाइदिए । क्रान्तीकारी कमरेडहरुलाई लाग्यो । प्रतिगमन गर्ने राजसंस्था त गयो । राजसंस्था झल्कने शालिकहरु त छन् । भोली फ्याट्ट मान्छेहरुले शालिक हेरेरै राजा आउ देश बचाउ भन्ने नारा लाइदिए भने ! त्यसपछि देशभर शालिक तोडफोडको महान अभियान सुरु भयो । तोडफोड अभियानको नेतृत्व गर्नेहरुले नै फेरी शालीक मर्मत वा पुननिर्माण गरे । हामीले दुवै काममा ताली ठोक्यौं । शालिक फोड्दा जनताको आक्रोश अनि मर्मत/पुनस्थापना हुँदा इतिहासको सम्मान भनेर !
यो छिनमा एकापट्टी, छिनमै अर्कोपट्टि लाग्ने पिपलपाते चरित्र कसको ? हाम्रो समाजको चरित्र हो कि? नेतृत्वको हो कि? वौद्धिक वर्गको हो ? अहिलेको बहुचर्चित १६७ पाने फैसलाले पनि भनेको छ, समाजभन्दा राम्रो राजनीति हुँदैन; राजनीतिभन्दा राम्रो शासन व्यवस्था हुँदैन । सँगसँगै त्यसले अर्को कुरा पनि भनेको छ समस्या विगतमा जारी भएका संविधानमा थिएन् । समस्या नेतृत्वमा थियो ।
पुस ५ देखी जेठ २८ सम्म आइपुग्दा केपी गलत थिए भन्ने प्रमाणित भयो । विश्वकै उत्कृष्ट संविधान लेखेकोमा गौरव गर्ने नेताहरु अहिले अदालतबाट कसैलाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्नुपर्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री चुन्ने काम मेरो हैन संसदको हो त्यसैले चुन्नुपर्छ भन्न छाडेको अदालत विशुद्द कानुनको वाख्याता भएको छ । आफ्नो दलको नेता हटाएर विपक्षीलाई प्रधानमन्त्री बनाउने पात्र अहिले विधिका रक्षक भएका छन् । सबैका हाइहाइ भएका छन् । साच्चै ति पात्रलाई तिमी नै दलको नेता भएको भए के गर्थ्यौ भनेर सोध्न कसैले आवाश्यक ठानेका छैनौं । पार्टीको अध्यक्ष र संसदिय दलका नेताले पार्टीको बैठक राखेर सोधेको प्रष्टिकरण कुनै नेता विशेषको भएको छ ! यस्तो निर्देशन पार्टीको हुन्छ कि व्यक्तीको । कि ओलीलाई फटाहा देखाएपछि अरुले जे गरे पनि हुने हो ! साच्चै यी लोकतन्त्रका नयाँ नियम मैले नबुझेको नै हुँला । सबैले भनेपछि पनि शंका गर्नु पनि त अपराध नै हो !
ओली तानाशाह भए । बाँकी सबै लोकतान्त्रिक । दलहरुबीचमा एकले अर्कोलाई खराब देखाउन जे पनि भनिदिने चलन छ नेपालमा । त्यसो नभएको भए देउवालाई बुझाएका ४० बुँदा पुरा नभएको भनेर शसस्त्र संघर्षमा होमीएको माओवादी, माओवादी आन्दोलन नियन्त्रण गर्न प्रचण्डको टाउकाको मोल तोक्ने देउवा सँगै बस्न सक्छन् । अहिले त दुई शक्ति मिलेर सरकार के हो अव देखाइदिने अभियान नै सुरु भएको छ । साँच्चै आजको दिन देख्नुपर्ला भनेको भए जनयुद्ध त्यही रुपमा चल्थ्यो होला ?
अहिले ओलीलाई जुन राजनीतिक दलले राक्षस बनाइरहेका छन् । उनिहरुका केही स्वार्थ मिल्नेवित्तिकै उनि फेरी भगवान भैहाल्नेछन् । दलहरुको राजनीतिक स्वार्थको सञ्चारमाध्यम तथा नागरिक समाज साक्षीकिनारा भइदिनु गम्भिर कुरा हो । गम्भिर लाग्नुपर्नेलाई नलागेपछि अरुलाई लागेर के नै हुने हो र ! नत्र ओलीलाई मानसिक उपचारका लागि पाटन लैजानुपर्छ भनेर लिखित निर्णय गर्नेहरुले उनीसँगै बसेर काम गर्दैनथे । आफ्नो स्वार्थ मिल्ने वित्तिकै !
राजनीतिमा सत्ता सबै कुरा हो बाँकी सबै भ्रम हुन भन्ने त भनाइ नै छ । नेताहरुका लागि त्यो सहि नै होला । तर सत्ता राजनीतिमा लेनदेन नभएकाहरु पनि जव मैदानमा कसैलाई हराउनैपर्ने मान्यताका साथ ओर्लन्छन् । त्यसपछि सबै कुरा भताभुंग हुन्छ । नेपालमा अहिले भएको त्यहि हो । यसो भन्दा अहिले तानाशाहको बचाउ गरेको अर्थ लाग्छ/लगाइन्छ । तथ्यमा भन्दा भावनामा बग्ने समाज भएपछि हुने यहि हो । आखिर राजनीति पनि समाज अनुसार नै हुने हो ।
कथाबाट सुरु लेखको कथाबाटै टुङ्ग्याउनी ।
एउटा गाउँमा वर्षमा एकपटक पुरुषार्थ देखाउने मेला लाग्ने रैछ । गाउँको एकजना मेला हेर्न गए । उनलाई मेलामा अरुअरुले गरेको चटक देखेर आफु पनि केहि गरौं भन्ने इच्छा जागेछ । के गर्ने भन्ने धेरैबेर सोचेपछि उनले आफूसँगै लगेको हँसिया निलिदिएछन् । हँसिया निलेपछि उनले पुरस्कार त पाए । पुरस्कार लिएर घर फर्कँदा उनकी आमाले पुरस्कारसहित आएको छोराबाट सबै कुरा सुनेपछि भनिछन् । अहिले तिमी खुसी छौ । खुसीमा धेरै कुरा सोचिन्न । परिणाम पनि । हँसिया त निल्यौ बाबु । यो पेटमै पच्ने चिज त हैन । निस्कने बेलामा तिमीले चाल पाउनेछौ ।
हामी पनि अहिले हँसिया निल्न सकेकोमा असाध्यै खुसी छौं । यो निस्कने बेलामा कसो होला ? २ सय पुरस्कार लिन पचाएको हँसियाले २ लाखै पो खर्च गरिदिने हो कि । नेपालीको पाचन क्षमता गजबकै छ भनिन्छ । पेटमै हँसिया पचि पो हाल्छ कि ! यसै भन्न गारो छ । समय सबैभन्दा बलवान भन्छन् । त्यसै भएर पर्खनुको विकल्प छैन । बाँकी परिणाम त आगामि दिनमा देखिएला नै !
@apawaad
No comments:
Post a Comment