• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

रिसको राजनीतिकरण !

रिसको राजनीतिकरण ! यो २ शब्द फ्याट्ट मनमा आएपछि लाग्यो, कस्ता कस्ता कुरा पनि सोच्न पुगिन्छ ! भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई राजनीतिक जिम्मेवारीमा रहेकाको नेतृत्वमा अपराधीहरुको समूहले कुटपिट गरेको थियो । डाक्टर रामेश कोइराला सो विषयमा एउटा अन्तर्वार्तामा भन्दै थिए 'हाम्रो दुई पुस्ता नै समृद्धिको आस गरेर बितिसकेको छ । आस गरेको छ, आन्दोलन गरेको छ । यसले पो हुन्छ कि वा त्यसले पो गरिहाल्छ कि भनेर नेतृत्व मात्रै होइन, राजनीतिक प्रणाली नै पटक–पटक परिवर्तन गर्दा पनि समृद्धि नदेखेको समाजमा आक्रोश छ, निराशा छ, क्षोभ छ । त्यो आक्रोश, निराशा, क्षोभले कहीँ न कहीँ निकास खोज्छ ।'


उनको कुरा पढ्दै गर्दा मेरा मनमा रिसको राजनीतिकरण भन्ने शब्द आएथ्यो । एकछिन रिसको राजनीतिकरणमा घोत्लिएँ । दुई शब्दबीचमा सम्बन्ध छ कि छ कि झैं लाग्न लाग्यो । सबैचिजमा राजनीति घुस्छ त भनिन्छ नैं । रिसमा राजनीति घुस्यो कि, राजनीतिमा रिस ? त्यसका बारे तल चर्चा गरिनेछ सुरुमा केहि प्रसङ्गहरु


३० वर्षअघि: 'सुनेको प्रसङ्ग'


चुनावको माहोल थियो । गाउँको घरको दोश्रो तल्लामा एउटा पार्टीको बैठक थियो । उम्मेदवार पनि बैठकमा नै थिए । बैठक सकेर तलाबाट ओर्लने क्रममा उनी भर्‍याङ्गमा अल्झेर लडे । सामान्य चोटपटक लाग्यो । भोलीपल्टदेखिका भाषणमा  नेता भन्न लागे `मलाई विपक्षीहरुले आक्रमण गरे ।´ यहि आक्रमण बेचेर उनले चुनाव जिते । 


 २० वर्षअघि: 'भोगेको प्रसङ्ग'


उच्च सुरक्षा व्यवस्था भएको मानिने दरबारमा हत्याकाण्ड भयो । एकथरीले त्यसमा दिपेन्द्रको हात देखे । अर्काथरीले पारसको । दिपेन्द्रको हात हो भनेर सुरुवाती समाचार दिनेमध्येका एक सम्पादकले २ वर्षअघितिर भने `मानिसहरु यत्ति धेरै सडकमा आएका थिए कि, त्यसले के गर्छ भन्ने आकलन गर्न नसकिने अवस्था रह्यो । त्यो साम्य भयो भने बाँकि कुरा हुँदै गर्छ भन्ने मान्यता राखियो र केहि सम्पादकहरुसँग सल्लाह गरेर दिपेन्द्रको हात हो भन्ने एंगल छनौट गरियो । सहि के हो भन्ने कुरा अहिले आयो भने पनि हामी आत्मालोचित हुन्छौं र सहि कुरा छाप्छौं ।´ 


राजनीतिक दलका नेताले चियागफमा भने `घटना कसले गरायो थाहा भएन । तर दलहरुले पारसलाई दोष लगाउँदा त्यसले दलका लागि फाइदा हुन्थ्यो । तर मलाई के लाग्छ भने घटना पारसले नगराएका हुन सक्छन् ।´


१० वर्षअघि: अनुभव गरेको प्रसङ्ग 

गाउँमा पञ्चायत उहि जातले जितेको थियोे । वहुदलपछि गाविस अध्यक्ष पनि उहि जातको भो । नागरिकले मतदान गरेर । नयाँ नेपाल बनाउने अभियानमा नारा आयो आप्रवासी र आदिवासी । शोषक र शाषित । उसका घरमा गएर बनी गर्ने शोषक भो । चुनाव जितेर शासन गर्ने शोषित। कति वर्षदेखि त्यहाँ बसेको जानकारी नभएको मान्छे आप्रवासी भो । २ वर्ष अघि बसाइँ आएको आदिवासी ! गज्जव गज्जवका बहस सुनेपछि लाग्थ्यो यस्ता दिन सधैं होलान् कि? वर्षौं वसिआको ठाउँ त पराई भो। आफ्नो भन्ने ठाउँ चैं कता होला? 


२/३ वर्षअघि: पढेका प्रसङ्ग

माओवादी जनयुद्धको सुरुवात राँकुली चौरबाट भएको थियो । र त्यो कुनै राजनीतिक कार्यक्रम थिएन । गाउँमा लाग्ने परम्परागत जात्रा थियो । एकजना लेखकले लेखेको पढियो । अझ माओवादीका इमानदार नेतामध्ये मानिने अमिक शेरचनका भनाईमा रोल्पाको एउटा ‘जात्रा’मा नेपाली कांग्रेस र हाम्रा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप भयो।नेपाली कांग्रेसका केटीहरूसँग हाम्रा कम्युनिष्ट केटाहरुले गीत गाएपछि उत्पन्न भएको घटनाले पार्टीभित्र निकै ठूलो अन्तर्संघर्ष ल्यायो। 


अव सबैलाई एकै ठाउँमा राखेर घोत्लिऔं । कस्तो देखिन्छ । हाम्रा मान्यताहरु। हामीले बुझेका तथ्यहरु। भएका तथ्यहरु । 


विकास के हो ? यसलाई कति वर्ष समय दिनुपर्छ ? के कुरा पुरा भए विकास हुन्छ ? कम्युनिष्टले शासनसत्ता चलाउँदा विकास हुने हो कि ? कांग्रेसले शासनसत्ता ? राजाले चलाउँदा हुने हो कि ? जनताका छोराले ? बहसहरु जारी छन् । समस्या एकातिर समाधान अर्कातिर भएपछि न बहस सिद्धिन्छन् न विकास हुन्छ । मात्रै रमिता हुन्छ । 


राजनीतिले मात्रै सपना देखाएको छ । सपना कसरी पुरा गर्ने भन्नेमा उ आफैं अलमलमा छ । उसले अरुलाई के कुरा गरोस । त्यसपछि उ तर्किएको छ । इमान नभएपछि उसले समाजमा रिसलाई हतियार बनाएको छ । मानिसहरु नजिक पर्लान । कुरा गर्लान। सत्य पहिल्याउलान् भन्ने बुझेर उ समाजमा विग्रह सिर्जना गरिरहेको छ । हामी आफ्नै दारा किटेर आफ्नै अनुहार विगार्दो छौं । 


राजनीति सबैतिर यस्तै हुन्छ कि यता मात्र हो म जान्दिन । एकजना न्यायाधिसले विदेश जाँदाको कुरा कतै लेखेका थिए । त्यहाँको एकदमै विवादित मानिएको फैसलाका बारेमा उनले अर्का न्यायाधिको टिप्पणी सुन्न चाहेका रहेछन् । जवाफ पाएछन् हामीसँग कुराकानी गर्नका लागि अनेकौं विषयहरु छन् । फैसला भइसकेको विषयमा टिप्पणी गर्न मेरो मर्यादाले दिँदैन । 


रिस व्यक्तिगत विषय हो । हरेक मानिस रिसाउँछ । उसले भनेजस्तो भएन भने । त्यसपछि उसले कुनै काम पनि गर्न सक्ला । यहि रिसका कारण उसले आफ्ना सिमा तथा परिधिहरु पनि निर्माण गर्छ । यसैलाई राजनीतिले उपयोग गरिरहेको छ । बहुदल/निर्दल, पञ्चायत/प्रजातन्त्र, प्रजातन्त्र/गणतन्त्र, एकात्मकता/संघियता यस्तै यस्तै नाममा । 


यसलाई अलिक केलाएर हेरियो भने यि सबै नारा दिनेहरु एकै छन् । हिजो पञ्चायतमा खाइपाइ आएको मान्छे व्यवस्था परिवर्तन हुनेवित्तिकै उग्र क्रान्तिकारी भएको छ । उहि पात्रले उहि परिवेशमा उहि सामर्थ्य अझ घटेको बेला परिवर्तनको छनक दिन सक्दैनथ्यो सकेन । त्यसपछि उमाथि नै औंला उठ्ने भएपछि उसले विभिन्न बहानावाजीहरु खोज्यो । उसले हामीलाई हिजो खत्तमै थियो भनेर त्यसमाथि रिस उठायो । हामी रिसले उफ्रिन थाल्यौं । उसले आफु बसेको आसन अझै बलियो बनायो । हामीमा रिस थियो एकअर्कामा कुस्ती खेलेर बस्यौं । उ अझै बलियो भयो । 


यसलाई पुष्टि गर्न केहि उदाहरण हेरौं । महाकाली सन्धी भएमा नेपालले फाइदै फाइदा पाउँछ भन्नेहरुले अहिले के भन्छन् ? तिनीहरू या सत्तामा छन् । नभए पनि मुलधारको राजनीतिमा ।  फलानो नेता यति भ्रष्टचारी हो भनेर पुस्तकै प्रकाशन गरेकाहरु अहिले उसँगै काँध थापेर हिँड्न किन तयार छन् ? फलानो पार्टी/नेताले रजगज गर्न नपाए नेपाल सकिन्छ भनेर पानाका पाना लेख्न सक्ने विद्धान अहिले कहाँ छन् ? गाउँमा जनतालाई लगेर भारतविरुद्ध बंकर युद्ध गर्ने भनेर बंकर खनाउनेहरु त्यसैबेला यो केहि हैन है भनेर भारतीय गुप्तचर संस्थालाई  किन चिठी लेख्थे ? सबै सबै हेरेपछि मलाई लाग्छ हामीमा रिसका लागि आवाश्यक तर्क प्रमाण भरिदिएर उनीहरु भोज खाइरहेका छन् । त्यो पनि हाम्रो भागमा परेको अन्नको !


अन्तमा, वालुवाटार जग्गामा मुछिएकाहरुको नामलिष्ट हेरेपछि  म चकित परें । त्यसमा समाज परिवर्तनको जिम्मा (ठेक्का ?) पाएका राजनीतिक व्यक्ति, ठूला व्यापारी, उच्च पदस्थ कर्मचारी सबै सबै थिए । सँगसँगै आएको वाइडबडी काण्डमा पनि ठूला दलहरू मुछिएका थिए । यो पढेपछि चिया गफमा मैले एकजना राजनीतिज्ञलाई सोधेको थिएँ । `भद्रगोल मात्रै पो देखिन्छ त ? यो भर्खरैको सुरुवात हो कि अन्तिम अन्तिम ?´ उनले जवाफ फर्काएका थिए । `यो सुरुवात मात्रै हो अर्जुन । अन्तसम्ममा त के के देख्नु पर्नेछ पर्नेछ ।´ उनले भनेकै जस्तो भैराछ, यसैले रिस आजै नसिध्याउँ । भोली पनि रिसाउनु त छँदैछ । 

@apawaad


यो लेख अनलाइनखबरमा रिसको राजनीतिकरण ! शीर्षकमा २०७८ जेठ २५ गते १३:१८ मा प्रकाशित भएको थियो । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना