आज २०७७ साल पौष ११ गते ।
नेपालको संवैधानिक ईतिहासमा एक विशेष दिन । यहि पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संविधान विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गर्यो ।
हिजै हामी डाँडाखर्कमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि जाने तय भएको थियो । कार्यक्रममा तालमेल नमिलेका कारण २ वडाका सबै आयोजना गर्ने योजना सफल भएन । वडा नं. ६ का वडाध्यक्षले त फोन गरेरै असन्तुष्टी जनाए ।
विहानै हामी वडा कार्यालय गयौं । मैले जानुअघि वडासचिव मनिषाजीलाई फोन गरेका थियौं । वडामा हामी पुगेर लाभग्राहीहरुको नाम प्रिन्ट गर्यौं ।
पाखेडाँडाभन्दा पर कात्तिकेमा रहे्को थामीगाउँमा एउटा बालसिकाइ केन्द्र बन्दै रहेछ । उपाध्यक्ष कल्पना भण्डारीको त्यहाँ अनुगमन थियो । वडाध्यक्ष मान बहादुर मगर, वडा सदस्य, वडा कार्यालयका प्राविधिक, प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सँगै थिए ।
हामीले थामीगाउँमै रोजगार उपभोक्ता समिति बनाउने निधो गर्यौं । योजनाहरुको अनुगमन गर्न गएको टोली ६ नं. वडातिर लाग्यो । हामीले त्यहाँ भएका मानिसहरु जम्मा गरेर रोजगार उपभोक्ता समिति गठन गर्यौं ।
काम सकेपछि म र रोशन फर्कियौं । सुँगुरेको महादेव मन्दिरमा पनि हामीले दर्शन गर्यौं । बाटामा फर्कँदा एकजना मगर दिदीले अलैंचीको डाँठबाट गुन्द्री बुन्दै गरेको भेट्यौं । हामीले उनीसँग एकछिन कुराकानी पनि गर्यौं ।
हामी गाडीमा हाँसीमजाकका साथ फर्कँदै थियौं । बुद्धचोक कट्नेवित्तिकै कल्पना म्याडमले भन्नुभयो धेरै ठूलो कुरा भयो नि ? थाहा पाउनुभयो ? भनेर सोधिन । आज नै ओलीको जन्मदिन हो । मैले ख्यालठट्टा गर्दै भनें 'के ओली विते ? कि संसद पुनर्स्थापना भयो ? संसद पुनर्स्थापना भएर के भो त ? ओली छन् भने त खेलीहाल्छन् नि ! अव बालकोटमा गएर घाम तापेर बस्ने हैनन ?'
क्वार्टरमा आएर ल्यापटप खोलेर समाचार हेरें । प्रतिनिधिसभा विघटनका विरुद्द अदालतले फैसला दिएको रहेछ । १५ पेजको संक्षिप्त फैसलासमेत आइसकेको रहेछ । फैसलाले भनेको रहेछ संविधानको धारा ७६(१) मात्र हैन २,३, ४ लगायत सबै पुरा गरेर मात्र जनतामा जान पाइन्छ । नत्र पाइन्न ।
प्रतिनिधिसभा विगठन भएपछि केपी ओली गलत देखाउन भएका प्रयासहरुले सामान्य नैतिकताको समेत ख्याल गरेका छैनन् । पूर्व प्रधानन्यायाधिसले सडकमै संविधानको व्याख्या गरेका छन् । राजनीतिमा राखिने सामान्य शिष्टाचारसमेत तोड्नेहरु हिरो भएका छन् । मुलधारका मिडियाहरु जनयुद्धकालमा माओवादीले चलाएको रेडियो जनगणतन्त्र ९४ मेगाहर्जजस्तै भएका छन् । यसले भोली हामीलाई कति क्षति गर्ने हो ? त्यो भोलीकै दिनले देखाउला नै ।
मैले गरेको राजनीतिक अनुमानहरु धेरै मिल्दैनन् नै । २०७० मा एमालेको प्रचार टिममा रहेर काम गर्दा मलाई माओवादी दोश्रो दल होला भन्ने लागेको थियो । दोलखामा पनि देशमा पनि । मेरो अनुमान हावा भो । माओवादी तेश्रो दल भो ।
कोरोनामा शित्तलीको क्वारेन्टाइन बस्दा फेसबुकमा समाचार हेरेर साथीहरु भन्थे । नेकपा फुट्छ कि क्या हो ? मैले उनीहरुलाई जवाफ दिन्थें 'पहिलो कुरा फुट्दैन । किनभने फुटेर जाने ठाउँ छैन । १५ महिनादेखी रहेको यस्तो ङ्यारङ्यार अझ केही समय चल्छ । त्यसपछि चुनावमा जाँदा सबै मिलेर जान्छन् । फुटी नै हालेछ भने पनि एमाले र माओवादी छुट्टिन्छन् ।'
राजनीतिको आकलन त्यसैमा सामेल हुनेलाई पनि हुन्न होला । सायद आजको दिन आउँछ भन्ने भएको भए जनयुद्ध नै हुन्नथ्यो होला । जनयुद्ध गर्ने माओवादी आज अस्तित्वमा नै छैन । त्यहि भएर लाग्छ राजनीतिमा रमिता हुन्छ ।
अव केहि भोलीका बारे अनुमान गरौ । यो ब्लग आजभन्दा १ वर्षपछि प्रकाशित हुनेछ । कति अनुमान मिले कति मिलेनन् त्यसैका बारेमा अर्को छुट्टै ब्लग लेखौंला ।
अनुमान १ः ओलीले संविधानले भनेको धारा ७६ का बाँकी प्रावधानहरुको परिक्षण गर्नेछन् । यसका लागि उनलाई कांग्रेसको साथ हुनेछ । कांग्रेसलाई नेकपा विवादकै बेलामा चुनावमा जाँदा धेरै फाइदा छ । बाँकी प्रावधान सकिएपछि ओलीले आफूलाई सहि सावित गर्नेछन् ।
अनुमान २ः दाहाल नेपाल समुहले अगुवाइ गरेर सरकार बनाउनेछ । ओलीलाई बदनाम तथा गुमनाम बनाइनेछ ।
अनुमान ३ः ओलीले कांग्रेससँग मिलेर सरकार बनाउनेछन् । सत्ता नभएपछि दाहाल नेपाल समूह कमजोर हुनेछ । ओली फेरी केहि नेतालाई ठेगान लगाएर पुन एकपटक बलियो नेता हुनेछन् ।
अहिलेलाई यत्ति नै । यो कुरा कत्तिको मिल्दोरैछ । अर्को ब्लगमा कुराकानी गरौंला ।
No comments:
Post a Comment