• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

परिवेश, आवेश अनि बंगलादेश

हातमा मोबाइल छ। मोबाइलमा सारा संसार छ। गाउँको परिवार। विदेश भएको भाई। बैंकमा भएको बचत/ऋण। सुरु गरेको लेखको मस्यौदा। मानिसहरुका सिर्जना। उनीहरुका आक्रोस। सबका सब यतै। सबै यतै भएसी म किन उता हुन सक्थें! औंलाले स्कृन तलमाथि गर्दै यसो सोच्छु, मोबाइलमा छैन चाँहि के? फेरी सोच्छु, मैले मोबाइल चलाइरहेको छु कि मोबाइलले मलाई?


गाउँ गाउँमै सिंहदरबार टोलटोलैमा राजा

यिनै राजा पाल्दापाल्दै देशै रित्तियो आज

यिन्ले भन्या लोकतन्त्र त भन्ने मात्रै हो

बोलम भने आफैं छुच्चो बन्ने मात्रै हो।


फेसबुक रिलमा गीतको टुक्रा छ। मनै कुँडिने दृश्य छ। दौडीरहेको स्कृन टक्क रोकिन्छ। ध्यान तान्छ। ४ लाइन गित सुनेपछि पुरै गीत युट्युबमा खोज्छु। युट्युबको कृष्ण शताब्दी युजरबाट २ महिनाअगाडि अपलोड भएको गित २ लाख ३२ हजार पटक हेरिसकिएको रैछ। गीतमा यथार्थ छ। यथार्थभन्दा धेरै त निराशा छ। आक्रोस छ। 


‘साँइलो नरमाइलो’ शीर्षकमा रहेको ८ मिनेट ४ सेकेण्डको यो गीतमा कमेन्ट गर्ने सबैले यथार्थ चित्रण भनेर तारिफ गरेका छन्। सोच्छु, १० वर्षअघि गाउँगाउँमा सिंहदरवारको चर्को वकालत गर्नेहरु आज गीतको प्रतिरोध गर्ने अवस्थामा किन छैनन्? साँच्चै देशमा भएको लोकतन्त्र भन्नका लागि मात्रै छ? बोलेको कसैले सुन्दैन। वा बोले असुरक्षित भइन्छ? हाम्रोमा असल तथा राम्रा काम भएका छैनन्? देशमा बसेर केहि गर्न नसकिने भैसकेकै हो त? त्यत्रो बलिदानीले प्राप्त भएको यो उपलब्धी बेकामे भैसक्यो त?


मानिसमा आक्रोस बढ्दै गएको गठ्ठाघर घटनाले देखाएको छ। गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दियो। सुरुमा धेरैले ट्राफिक प्रहरीले चेकजाँचका लागि रोक्दा घटना भएकाे भने। मृतक मानिसहरुको विवरण नै फरक परेर आयो। मृतक भनिएका मानिसहरु खेतबारीमा काम गर्दै गरेका भेटिए। कसैले आफैं प्रहरीलाई फोन गरेर म ज्युँदै छु भने। 


पछि सार्वजनिक भएको सिसिटिभी दृश्यमा देखियो। दुर्घटना हुनुमा ट्राफिक प्रहरीको कुनै सम्बन्ध छैन। ट्रकले धकेल्दै लगेर स्कुटर किचेको देखिन्छ। स्कुटर सबैभन्दा तिब्र गतिमा गाडी हुँइकिने लेनमा छ। दायाँतिरको अन्तिममा। यसै कुरालाई लिएर ट्राफिक प्रहरीहरु कुटपिटमा परेका छन्। धेरैले ट्राफिक प्रहरीले चेकजाँच नै गर्नुहुन्न भनेर लेख्न लागे। सर्वसाधारण भन्दा पनि मिडियाले नै ट्राफिक प्रहरीले गल्ती गरेको भन्ने कोण(एंगल)बाट समाचार प्रस्तुत गरे।


निमेशभरमै घटनास्थलमा मानिसहरुको भिड जम्मा भयो। घटनास्थलको सुरक्षा गर्ने र मृतकको पहिचान गर्ने भन्दा प्रहरीलाई आफ्नै ज्यान जोगाउन हम्मे हम्मे भयो। धन्न लोत्से घटना दोहोरिन पाएन। 


घटनाले सामान्य क्षतीमै हामीलाई ठूलो पाठ सिकाएको छ। समाजमा रहेको आक्रोस, आवेग तथा रिसले आफ्नो बाटो खोजिरहेको छ। विश्वव्यापी आर्थिक मन्दी तथा अन्य विभिन्न कारणले त्यो आक्रोसको मात्रा बढ्दै गईरहेको छ। समयमै हामीले ध्यान दिन नसके त्यो बंगलादेशकै रुपमा विष्फोट हुन सक्छ।

 

राजनीतिमा विषय (एजेण्डा) आवश्यक छ। त्यो सँगै सिद्धान्त। तर नेपालको सन्दर्भमा भन्दा राजनीतिमा शत्रु आवाश्यक छ। विशेष गरेर कम्युनिष्ट दलहरुमा। दलहरुका महाधिवेशनमा प्रस्तुत कागजात अध्ययन गर्ने हो भने उनिहरुले कहिले आफ्नै देशभित्रका शक्तिलाई शत्रु घोषणा गर्छन। कहिले छिमेकी देशलाई। पछिल्ला दिनहरुमा भने भाषामा सुधार भएको छ। अहिले शत्रु शब्दलाई प्रतिष्पर्धी भन्ने शब्दले प्रतिस्थापन गरेको छ। शत्रुको किटानीले पार्टीहरुका आफ्ना कमजोरी वर्षायाममा कुहिरोले पहाड ढाकेझैं ढाकिदिन्थ्यो। ढाकिदिएकै छ। आफूले गर्नैपर्ने काम पनि शत्रुले गर्न दिएन भनेर कार्यकर्तालाई भनिदिएपछि आफूले जिम्मेवारी लिनु परेन। वास्तवमै सजिलो उपाय थियो राजनीतिमा शत्रु घोषणा। 


नेपालका राजनीतिक दलहरुको शत्रु घोषणा गर्ने रोग अहिले मिडियामा सरेको छ। २०७७ पौष ५ पछि उनिहरुले केपी शर्मा ओलीलाई शत्रु घोषणा गरेर अगाडि बढे। अझ त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि जोडेपछि गज्जबको मसला प्राप्त भइहाल्यो। दुइजना नभए त यो देश फ्याट्ट बन्ने थियो, यिनै २ का कारण बनेन भनेर लामालामा सामाग्री प्रसारण गरिए। ओली तह लाग्ने मामलामा अरु सबै नाजायज गतिविधि पनि जायज देखियो/देखाइयो। 


अहिले मानिसमा बढिरहेको आक्रोसमा मिडियाको मात्रै भूमिका नहोला । सानोठूलो हिस्सा पक्कै छ। गठ्ठाघरकै घटनामा पनि एकखाले मानिसले प्रहरीको कमजोरी अझ भनौं लापरवाही देखिरहेको छ। कुनै पनि मिडियाले प्रहरीमाथीको आक्रमणको निन्दा गरेन। आफूले गलत सुचना फैलाएकोमा माफी मागेन। भीडतन्त्र बढेका दिन उसले पनि आफ्नो काम गर्न सक्नेछैन। त्यो उसले ख्याल गरेन वा गर्न चाहेन। 


विकास हुँदैमा आक्रोसहरुले काम गर्दैनन् भन्ने बहाना मात्रै हो। बंगलादेशमा विकास भैरहेको थियो। गरिबी घटिरहेको थियो। सरकार जनताको मतबाट चुनिएको थियो। आरक्षणको आन्दोलनबाट सुरु भएको विद्रोहले सरकार प्रमुखले देश छाड्नुपर्ने अवस्था सिर्जना गर्‍यो। विदेशमा बसिरहेका व्यक्तिलाई झिकाएर उनकै नेतृत्वमा अन्तरिम सरकार बनाउन पर्‍यो। प्रहरी स्वयंले सुरक्षाको खोजी गर्नुपर्ने परिस्थिति सिर्जना भयो। 


नेपालको परिस्थिति बंगलादेश हुन सक्छ भनेर चिन्ता भैरहेको छ। विश्वव्यापी आर्थिक मन्दि, छिटोछिटो भैरहेका सरकार परिवर्तन, स्थानीय तहसम्म फैलिँदै गरेको कमिसन लगायतका विषयले जनतामा राज्यप्रतिको भरोसा टुटाइरहेको छ। यसले नेतृत्वप्रति अविश्वास वढाएको छ। आक्रोस जन्माएको छ। 


गौरापर्वका अवसरमा टुँडीखेलमा भएको अराजकता यस्तै आक्रोसहरुको चुहावट हो । यसमा सबै दलहरुले गम्भिर भएर चिन्तनमनन गर्नु जरुरी छ। अर्कोलाई भएको हो मलाई त केहि हुन्न भन्नु गम्भिर भुल हुनेछ। आगोले लक्षित गरेकालाई मात्रै खरानी बनाउँदैन।  जसले सल्काएको हो उसैलाई पनि खरानी बनाइदिन्छ।


फेसबुक र युट्युब छाडेर एकछिन जनकपुर। 

जनकपुर। मधेस आन्दोलनको केन्द्र। त्यसै आन्दोलनको जगमा स्थापित भएको संघीय शासन प्रणाली। त्यसै अन्तर्गत बनेको मधेस प्रदेश। मधेस प्रदेशको राजधानी। 


केन्द्रीकृत शासनले जनतालाई सेवा दिन सकेन। संघियताले नागरिकको अपेक्षा समेट्छ भन्नुपर्ने मधेसले। प्रदेशको औचित्य देखाउनपर्ने मधेसले। यहाँ नै शासन व्यवस्थामा आमजनको भरोसा छैन। जनकपुरमा केहि दिनअघि एक सार्वजनिक कार्यक्रममा एक अवकाशप्राप्त प्रहरी भन्दै थिए यहाँका कार्यालयले ६५ प्रतिशत कमिसन माग्छन्।


पत्याउन सकिन। एकजना साथीलाई सोधें। ५० प्रतिशतसम्म कमिसन दिनुपर्ने उनले विना संकोच वताएका थिए। केहि समय अगाडि कोसी प्रदेशमा पालिकाका कर्मचारीले कार्यलयमै भनेको सम्झें। वडाध्यक्षले कमिसनका लोभमा अनावश्यक कार्यक्रमहरु राखेका छन्। आधाभन्दा धेरै कमिसन लिन्छन् । नामै नसुनिएका संस्थालाई काम दिन्छन्। 


फेसबुकमा पत्रकार चन्द्र किशोरको पोष्ट देखेपछि पत्याउन करै लाग्यो। उनले लेखेका छन्। 


#यो_लघुकथा_होईन


मेघ गर्जन भयो। फेरी एक छिनमा झमाझम पानी पर्न थाल्यो।

' दाई एउटा कुरा भनौ ' चिया टेबुलमा आई सकेको थियो।उसले भने - अब पिसी ( percentage)लाई कानूनी मान्यता दि हाल्नु पर्छ। दस प्रतिशत सम्म त स्वाभाविक नै मानिए।

 मैले चियाको चुस्की लिदै सोधे - अनि!

 हातमा उठाएको कप फेरी टेबुलमा राख्दै बताए - "प्रदेशमा तीस त हाकाहाकी नै चल्छ। पालिकाहरूमा फिफ्टी - फिफ्टी जायज जस्तै भो। "

'यो अख्तियार, यो महालेखाहरू त त्यत्रो सक्रिय छ नि ' मैले आश्चर्य मिश्रित जिज्ञासा राखे।

 "यो सबै मेघ गर्जन पछि झमाझम पानी परे जस्तै हो। सबै छ फेरी पनि पिसी ओपन सेक्रेट जस्तै भयो। खुल्लम खुल्ला प्यार है दाई"

'ए  सबैले राज्य दोहनलाई आफ्नो विशेषाधिकार भित्र पर्ने सहुलियतका रूपमा लिए जस्ता देखिए पो ' मेरो कपको चिया चिसिदै रहे।


चन्द्रकिशोरको फेसबुक स्टाटस नजरअन्दाज गर्न मिल्ने होइन/छैन। भ्रष्टचारले समाज थिलथिलो पार्दै लगेकै छ। जे होस जसो होस पैसा भएपछि सबै गज्जब हुने भएकै छ। भ्रष्टचारका बारेमा नियमित निगरानी गरिरहेको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपाल अझै भ्रष्टचार उच्च हुने मुलुकमा पर्ने गरेको देखाउँछ। अघिल्लो वर्ष सन् २०२३ मा १८० देशमध्ये नेपाल १०८ औं स्थानमा छ। ५० अंकभन्दा कम प्राप्त गर्ने देशलाई प्रतिवेदनले बढि भ्रष्टचार हुने देशहरुको सुचीमा राख्ने गरेको छ। यो वर्ष नेपालले ३५ अंक प्राप्त गरेको थियो। २०२२ मा नेपाल अझै पछाडी ११० औं स्थानमा रहेको रहेको थियो। 

 

फेरी फेसबुक!

‘द गोट लाइफ’ चलचित्रको चर्चा अलिक कम कम हुँदै गर्दा हेर्ने कथाको ‘हराएका वर्षहरु’ आयो। गोरखा देखी झापा हुँदै भोजपुर पुगेर हेर्ने कथा टिमले बनाएको यो सामाग्रीले हामीलाई देशकै ऐना देखाइदिएको छ। त्यसका मुख्य पात्र प्रकाश कामका लागि फर्किएर चुम भ्यालीमै जानुपर्ने परिस्थितीमा यो देशका को को जिम्मेवार होलान्? खोजेर पत्ता लगाउनुपर्ने सवाल यहि हो। जन्म दिने बाउ आमा जिउँदै छन्। उनीहरु नेपाली नागरिक हुन्। परिवारका अरु सदस्य पनि छन्। तैपनि कर्मचारीलाई जन्मदर्ता चाहिन्छ। लोकसेवा उतिर्ण भएपछि आफूलाई अब्बल दर्जाको ठान्ने अधिकांश कर्मचारीले अरु सबैलाई चाहार देख्छन्। यो घटनामा प्रधानमन्त्रीले नै चासो दिएका थिए । यसैले प्रकाशले कम सास्तीमै नागरिकता पाए । प्रकाशजस्तै अवस्था भएका धेरैको हालत भने भनिन बाँकी नै छ। एउटा नागरिकताका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने अवस्था राम्रो हो वा के हो भन्न सकिने अवस्था छैन।


लामो समय उच्च पदस्थ कर्मचारी भएर लोकसेवा आयोगको अध्यक्ष समेत भइसकेका उमेश मैनालीले एक अन्तर्वार्तामा भनेका थिए ‘नेता बिग्रेर मात्र कर्मचारीतन्त्र जोगिएको छ। नेता सुध्रिने बित्तिकै सबै आक्रोश कर्मचारीमा आउँछ आउँछ।’ अन्तर्वार्तामा उनि अगाडि थप्छन् ‘सरकारी कार्यालयमा पाइला टेक्न नपरे हुन्थ्यो जस्तो लाग्‍न थालिसक्यो भन्‍ने सही हो। हाम्रो रुखो व्यवहार, रकमी भाषा छ। स्पष्ट जवाफ नदिने चलन छ। आँखा र टाउको हल्लाउने भाषा छ। जनताको करबाट तलब खाएका छौँ, जनताको सेवा गर्नुपर्छ भन्‍ने सेवाभावभन्दा हाकिमी प्रवृत्ति छ। म सर्वसाधारणभन्दा माथि ठूलो हुँ, विशेष वर्ग हुँ भन्‍ने भाव छ। राजनीतिक क्रान्ति भयो, प्रशासनमा सुधारसम्म हुन सकेन।’


नेतृत्वले कति गर्न सक्यो सकेन त्यो बहसको विषय हो। कामै नगरी सुतेर भने पक्कै बसेको छैन। राजनीतिमा अर्कोलाई खराब नभनी आफू असल बनिन्न भन्ने भाष्यले भएका कामको पनि प्रचार नभएकै हो। सबै दलहरुले एकले अर्कोलाई आँखा चिम्लेर खराब भन्ने बानीले पनि हामीलाई केहि भएन भन्ने लागेको हो। नत्र धेरै पर्दैन १० वर्ष यताका परिवर्तनहरु हेर्ने हो भने पनि समाज अगाडि बढिरहेकै छ। केहि न केहि त भैरहेकै छ। 


भर्खरै हामीले स्वदेशी पुँजीबाट माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्‍यौं। विजुली आफूलाई पुर्‍याएर विदेशमा वेच्ने अवस्था सिर्जना भएको छ। नेपालका लगभग सबैतिर राष्ट्रिय प्रसारणको विजुली पुगेको छ। केही वर्षअगाडिसम्म यो अवस्था हाम्रो कल्पनामा पनि थिएन। द्रुतमार्गको काम द्रुत गतिमा भइरहेको छ। धरै गाउँहरुमा सडक सञ्जाल विस्तार भएको छ। विपदका अवस्थामा छिटै र व्यवस्थित राहत तथा पुननिर्माणको काम सम्पन्न भयो। विदेशबाट फर्किएर आएकाहरुले कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायिकरण गरिरहेका छन्। गाउँगाउँमा अव उत्पादनका कार्यक्रम अगाडि बढाउन सडक सञ्जालका कारण सहज हुनेछ। समाजमा सांस्कृतिक अन्तरघुलन कसिलो छ। राज्यका निकायहरुले आफ्नो भूमिका निभाइरहेका छन्। मुलुकका हितका खातिरमा सबै दलहरु एकै ठाउँमा उभिएका छन्/उभिनेछन्।


कर्मचारीतन्त्र र अन्य विभिन्न क्षेत्रमा समावेशी अनुहारहरु देखिन थालेका छन्। भुँइमान्छेहरु ठाउँमा पुगेपछि पक्कै पनि उनिहरुले प्रदान गर्ने सेवामा फरकपन आउनेछ। सुचना र प्रविधिको प्रयोग सेवा प्रवाहमा व्यापक हुँदै गएको छ। नागरिकहरुमा चेतना बढेको छ। गलतमा किन भन्न सक्ने संख्या वर्षेनी बढिरहेको छ। 


अन्तमा, भनिन्छ कालो वादलमा चाँदिको घेरा हुन्छ। समस्याहरु समाधान पक्कै हुनेछन् । एकैपटक हैन क्रमश। तर त्यसभन्दा अगाडि हामीले अलिकति सकरात्मक भने हुनैपर्नेछ। अविश्वासलाई विश्वास र निराशालाई आशामा बदल्नैपर्छ। भनेजति सोचेजति भएन होला तर केहि त भएकै छ। त्यसैले सबै मिलेर आशा जोगाउँ । आशा जोगिए मात्रै सम्भव छ विकास र समृद्धि, अनि प्रगति र उन्नति! लहलहैमा आगो लगाएपछि हात पर्ने त खरानी मात्रै हो!


यो सामाग्री इकागजमा  भदौ २६, २०८१ बुधबार १३:१९ बजे परिवेश, आवेश अनि बंगलादेश शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना