• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गौशालामा देवीः धनुषामा किशोरी !

 गीत-संगीतबाट तिजको माहोल सुरु भएको छ । पछिल्लो समयका एकाध गीतमा नअल्झिने हो भने गीत/संगीत मार्फत् महिलाले आफ्ना वेदना प्रस्तुत गर्नेगर्छन् । महिलाको शालिन विद्रोह गीत संगीत मार्फत प्रस्तुत हुन्छ, भैरहेको छ । महिलामाथि भएका अत्याचारविरुद्ध गीत संगीत मार्फत विरोध गर्न तिजले धेरथोर सहयोग गरेकै छ ।  

नेपालमा महिला हरेक क्षेत्रमा पछाडि पारिएका छन् । जनगणना २०७८ ले महिला अझै पनि शैक्षिक, साामाजिक, आर्थिक लगायतका क्षेत्रमा पछि रहेको प्रष्ट देखिन्छ । पुगनपुग १० प्रतिशत महिलासँग मात्रै आफ्नो नाममा जग्गाजमिन छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेकोमा महिलाको ६९.४ प्रतिशत मात्रै छ । एकतिहाई महिला मात्रै घरमुली छन् । यो असमानताका पछाडि धेरै कारणहरू छन् । त्यसमध्येको एक प्रमुख कारण भनेको महिला स्वयंले महिला विरुद्धका गतिविधिहरूलाई सामान्यीकरण गर्नु हो । अझ प्रष्ट शब्दमा भन्दा त्यस्ता समाजमा अपराध निम्त्याइरहेका घटनालाई अधिकार देख्नु हो । यो आलेख यस्तै दुई प्रसङ्गमा केन्द्रित छ । 

प्रसङ्ग १


राजधानी शहर काठमाण्डौंमा महायज्ञ सञ्चालन भयो । महायज्ञमा प्रवचनको लागि विभिन्न देशबाट वाचक वाचिका निम्त्याइएको थियो । विभिन्न व्यक्तित्वले महायज्ञमा प्रवचन गरे । भारतमा प्रवचन गरेर चर्चामा रहेकी देवी प्रतिभाले पनि प्रवचन दिइन् । 


देवी प्रतिभा प्रवचन गरिवरी भारत फर्किसकेकी छिन् । उनको चर्चा प्रवचन अवधिभर रह्यो । त्यसका धेरै कारण हुन सक्छन् । कसैला‍ई उनले पशुपतिमा प्रवचनमा बोलेरै मानिसहरू आकर्षण गरेको मन परेको थिएन। कसैलाई उनको सुरक्षा सहयोगी सहितको तामझाम मन परेको थिएन । कसैलाई त्यो यज्ञ नै मन परेको छैन । सतहमा जे जे देखिए ती मात्रै पूर्ण होइनन् । पूर्ण कुरा बुझ्न समय चाहिन्छ । समयसँगै त्यसप्रतिको समझ पनि ।


प्रतिभाले प्रवचनमा धेरै प्रसंगमा कुरा गरिन् । राम्रो कुरा फ‌ैलिन समय लाग्छ । नकारात्मक कुरा उत्पातै चाँडो फैलन्छ । यस्तै मध्येको एक सामाजिक सञ्जालमा भाइरल भयो- महिलाले पतिको आदेशलाई लिएर हर कार्य गर्न उपदेश । उनले त्यसमा धर्मशास्त्रको उदाहरण दिएकी थिइन् । उनले प्रवचनका क्रममा भनिन् ।


“...डिभोर्स भन्ने शब्द यो अंग्रेजी वर्ड हो । संस्कृतमा डिभोर्स भन्ने शब्द छैन। शास्त्रमा कहीँ पनि डिभोर्सको उल्लेख भएको छैन । विवाह भइसकेपछि (पति) छोड्न हुँदैन । चाहे पति जस्तोसुकै होस् । पति भित्र एउटा पनि राम्रो गुण छैन । पैसा कमाउँदैन । पति हो भने त पति नै हो । विवाह पश्चात एउटा पतिव्रता धर्मलाई पालन गर्ने नारी आफ्नो पतिको आदेशलाई लिएर हर कार्य गर्नुपर्छ …” 


पक्कै पनि पछिल्ला समयमा नेपालमा सम्बन्धविच्छेदको लहर नै लागेको छ । सर्वोच्च अदालतको आ.व.२०७९-८० को वार्षिक विवरणअनुसार उक्त आ.व.मा देशभरका जिल्ला अदालतमा ३८ हजार ९ सय ८९ सम्वन्धविच्छेदसम्बन्धी मुद्दाहरू रहेकोमा २९ हजार ४ सय ५० मुद्दामा फैसला भयो । 


अघिल्लो आ.व. २०७८-७९ मा यस्ता मुद्दाहरू ३६ हजार ४ सय ७२ रहेकोमा २६ हजार ५ सय ५४ मा फैसला भएको तथ्याङ्क छ । जबकी १० वर्ष अगाडि आ.व. २०६९-७० मा देशभरका जिल्ला अदालतमा ८ हजार ६ सय १५ मुद्दाहरू रहेकोमा ६ हजार ४ सय ७७ मुद्दाहरू फैसला भएका थिए । 


अदालतको तथ्याङ्कले प्रष्ट देखाएको छ पछिल्ला समयमा नेपाली समाजमा पारिवारिक सम्बन्धहरूमा धेरै खुकुलोपन आइसकेको छ । सामाजिक सम्बन्धहरूको रसायन खुकुलो हुँदै जाँदा त्यसका धेरै प्रतिअसरहरू देखिन थालेको सत्य हो । यसकै आधारमा श्रीमान्‌का हर आदेश मान्नुपर्छ भन्नु गलत छ । सम्बन्धहरूको रसायन दरिलो बनाउने काम पुरुष महिला दुवैको हो । यसमा एकले पूरै जिम्मा लिनुपर्छ भन्ने र अर्को निष्फिक्री रहनुपर्छ भन्ने हुँदैन । 

 

जुनसुकै सभ्यता वा धर्मले मानिसको जीवन सरल र सहज बनाउँदै लैजानुपर्छ । विगतमा के अभ्यास थियो भनेर आज त्यसैलाई हुवहु कार्यान्वयन गर्न सकिन्न । गरिनुहुन्न । 


तर्कहरू जतिसुकै सुन्दर भएपनि आज सतिप्रथा अमान्य छ । त्यसैकारण उनले शास्त्रको उदाहरण दिएर भनेकै कुरा पनि अब समाजले पत्याउनेवाला छैन । महिनाभर स्वस्थानी वाचन गरेपनि अब ७ वर्षमै गोमाहरू विवाह गरिदिन कोही अभिभावक तयार छैन । उमेर अन्तरका बारेमा त कानुनले कुनै कुरा बोलेको छैन । यसैले पनि आफ्नो बाउ वा अझ भनौं हजुरबा उमेरका पुरुषसँग पनि विवाह गर्न कतैकतै महिला तयार नै छन् ।


प्रसङ्ग २


विस्तारै विस्तारै तिज फैलन लागेको मधेसमा अहिले धान रोपेपछिको गोडमेल गर्ने समय हो । धेरैजना किसान धानकै मेलोमा व्यस्त छन् । मधेस प्रदेशको राजधानी धनुषाका पालिकाहरूको भ्रमणमा छु । महिला हिंसाका बारेमा पालिकाका अगुवा महिलाहरूसँग छलफल गर्नुछ, कानुनले महिलाको लागि गरेका व्यवस्थाहरूका बारेमा । 


मधेस समग्र देशको तुलनामा हर क्षेत्रमा कमजोर देखिन्छ । सबैभन्दा कम साक्षरता भएको प्रदेश यही हो । यहाँ समग्रमा अझै तीन जनामा एकले पढ्न लेख्न सक्दैनन् । महिलामा २ जनामा १ जनाले । घरेलु हिंसाको अवस्था भयावह छ । नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण २०७९ ले यहाँ २ मा १ महिलाले घरेलु हिंसा व्यहोर्ने तथ्य उल्लेख गरेको छ । 


घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६६ ले आर्थिक यातनाको समेत परिभाषा गरेको छ । सम्पत्तिमाथिको नियन्त्रण र दाइजोको माग गर्नुलाई हिंसा मानेको छ ऐनले । यसकै प्रावधानका बारेमा छलफल हुँदै गर्दा एकजना किशोरीले केही बोल्न खोजिन् । बोल्न इशारा गरेपछि उनले भनिन्, ‘दाइजोको कुरालाई घरेलु हिंसामा राख्न मिल्दैन ।’


उनको विचारमा केटी पक्षले आफूभन्दा सबल केटा खोजेपछि केटापक्षले दाइजो माग्नु सामान्य हो । अझ उनको आशय त अधिकारै हो भन्ने थियो । उनले अगाडि थपेकी थिइन्, केटा आफूभन्दा कम पढेकी केटीसँग विवाह गर्न तयार हुने, कम आर्थिक अवस्था भएकोसँग विवाह गर्न तयार हुने । केटीले आफूभन्दा कम पढेकोसँग विवाह नगर्ने अनि दाइजोको माग त भैहाल्छ नि । 


उमेर हेर्दा १४-१५ । ८-९ कक्षामा पढ्ने विद्यार्थी । जुन विषयका कारण समाज समस्यामै परेको भनेर अध्ययनहरू भएका छन् । त्यसमा पनि किशोरीकै समर्थन !


मधेसबाट चुनिएका सांसदहरू संसदमा दाइजोले समस्या पारेको भनेर कुरा उठाइरहेका छन् । संसदमा केही समयअघि बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी थिइन् । दाइजोका कारण अभिभावकले छोरीहरूको शिक्षामा लगानी नगर्ने गरेको उनको भनाइ थियो । 


अनौपचारिक क्षेत्र सेवा केन्द्रले प्रकाशित गरेको सन् २०२३ मा महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदन अनुसार सन् २०२३ मा देशभरमा दाइजोसँग सम्बन्धित घटनामा ५३ जना महिला पीडित भएका थिए । जसमध्ये ७ महिलाले ज्यान गुमाउनु परेको थियो । धनुषा जिल्लामा ६ महिला दाइजोका कारण हिंसामा परेका छन भने १ जनाको ज्यान गएको छ । प्रतिवेदनले सर्लाही, सप्तरी, धनुषा र कपिलवस्तु जिल्लामा यस्ता घटना धेरै भएको उल्लेख गरेको छ । 


दाइजोको विरोधमा मधेसमा सामाजिक अभियानहरू निरन्तर रूपमा जारी छन् । दाइजोका कारण महिलामाथि हिंसा लगायतका अपराधहरू भैरहेको भनेर समाचारहरू आइरहेका छन् । तर एकजना किशोरी नै दाइजो जरुरी छ भनेर बहस गर्नुमा कुन तत्वले काम गरेको छ ? के संसद तथा अन्य ठाउँमा भैरहेको दाइजो विरोधि वहसको धरातल यथार्थतामा नभई काल्पनिकतामा छ ? वा यो अति सामान्य विषयलाई हामीले अनावश्यक असामान्य बनाइरहेका छौं ?


प्रश्नका जवाफमा घोत्लँदा भने धेरै विषयहरूको गठजोड भएको देखिन्छ । हाम्रा बुझाई तथा दृष्टिकोणहरू हाम्रो सामाजिक परिवेशकै उपज हुन् । सामाजिक परिवेशले सिकाएका कुरा हामीलाई उत्कृष्ट लाग्छन् । स्वाभाविक लाग्छन् । कुनै समय अर्को महिला पतिसँगै चितामा जल्दै गर्दा अर्को महिलाक‍ो तर्क सायदै यस्तै सामान्य हुन्थ्यो होला !


महिलालाई हरेक क्षेत्रमा समान बनाउन राज्यले विभिन्न नीति लिएको छ । ती नीतिको कार्यान्वयन कसरी हुन्छ भन्ने विषयले अवको समाजलाई अगाडि बढाउन प्रयास गर्नेछ । महिलाका पक्षमा घरेलु हिंसा, यौनजन्य दूर्व्यवहार, तेजाबसम्बन्धी आक्रमण, बोक्सीको कसुर, सुरक्षित मातृत्व तथा प्रजनन अधिकारका बारेमा कानुन बनिसकेका छन् । 


कानुनको कार्यान्वयनमा भने सरकार एक्लैको प्रयासले पार लाग्नेवाला छैन । यसमा समाजको भूमिका बुझाइ महत्वपूर्ण छ । अझै त्योभन्दा महत्वपूर्ण त स्वयं महिलाकै बुझाई हो । जबसम्म आफूमाथि भएका अपराधहरूलाई उनीहरूले कसैको अधिकारका रूपमा बुझ्छन् तबसम्म गौशालामा देवीहरू पुरुष हैकमवादको वकालत गरिरहन्छन । मधेसमा किशोरीहरू नै दाइजोको लेनदेनमा संलग्न हुनेछन् । 


अपराध र अधिकार दुई शब्दले विपरीतार्थक अर्थ दिन्छन् । अपराध गरिए दण्ड हुन्छ । अधिकारमा प्रोत्साहन । तर जुन समुदायमा अपराध पनि अधिकार सरह ठान्न थालिन्छ । त्यहाँको अवस्था परिवर्तन गर्न सहज हुन्न। सरल हुन्न। गौशालाका देवीहरू र धनुषाका किशोरीहरूले अधिकार र अपराधमा भिन्नता नदेख्नु समस्या हैन । यो महिलालाई विशुद्ध ‘वस्तु’ देख्ने विकृत पितृसत्ताकै एक सानो उदाहरण मात्रै हो । यसमा पुरुषमात्रै संलग्न छ भनेर बुझ्नु अहिलेको समयको ठूलो भ्रम हो । समस्याको उचित पहिचान नभई गरिने समाधान प्रयासले बिरामीलाई झनै पीडा दिन्छ । हामीले ध्यान दिनुपर्ने यसैमा हो ।


यो सामाग्री अनलाइन खबरमा २०८१ भदौ ३ गते ८:१२ मा गौशालामा देवी, धनुषामा किशोरी शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना