अगामी मंसीर ४ गते हुने संविधान सभा निर्वाचनमा तपाई आफ्नो गाँउ, घर टोलमा पक्कै पनि बिभिन्न रुपरंग र भेषभूषाका अनुहारहरु भोट माग्न आउनेछन् । यसरी आउने उम्मेदवारलाई अरु केही नमाग्नुहोस्, तलका प्रतिबद्धताहरुमा सहमत गराउनुहोस् र एकप्रतिमा लिखित सही गराउनुहोस् । यसका कारण हामीलाई शासन गर्ने नेतृत्व तहमा इमान्दार मानिसहरुको प्रवेश हुनेछ । यसले नयाँ बन्ने संविधान मुलुक र जनताको हितमा हुने तथा देश पनि विकासको गतिमा अगाडी जान सहयोग पुग्नेछ । यसका साथै हामी नेपालीहरुले शान्तिपूर्वक आफ्नो काम गरेर खान पाउँछौ ।
उम्मेदवारले मतदाता सामु गर्नुपर्ने प्रतिबद्धता
- म संविधान सभा बैठक कक्षका माइक भाँच्दिन, कुर्सी तोड्दिन, झ्यालबाट बाहिर फाल्दिन ।
- म संसद/संविधानसभा बैठकमा बजेट मन्तव्य/सरकारी कार्यक्रम रहेको ब्रिफकेश तोडफोड गर्दिन ।
- म आफ्ना सहकर्मी माननीयज्यूहरुमाथि बैठक कक्षमा र कक्ष बाहिर पनि हातपात गर्दिन ।
- म चोरीको गाडीमा नक्कली नम्बरप्लेट राखी प्रयोग गर्दिन ।
- म जुवाखाल÷क्यासिनोमा जान्न, तासजुवा पनि खेल्दिन र नेपालीको बास उठाउने क्यासिनो÷जुवाखालको संरक्षण पनि गर्दिन ।
- म रेडलाइट एरिया वा अन्य यस्ता क्षेत्रमा प्रवेश गरी महिला÷पुरुष यौनकर्मीसँग कुनै कारोबार गर्दिन ।
- म रक्सीले मातेर सडकमा आफ्नो पद, मर्यादा र छातीमा टाँसेको लोगोको आफैं बेइज्जत गर्दिन ।
- म मान्छे बिदेश पठाइदिन्छु भनेर पैसा खाने दलाली काम गर्दिन, प्रहरी आर्मीमा नाम निकालिदिन्छु भनी घुस पनि लिन्न ।
- म संसद सुविधा वापत प्राप्त गरेको कूटनीतिक सुविधाको रातो पासपोर्ट बेचेर अवैध तरीकाले कमाउन लाग्दिन ।
- म मन्त्री भएँ भने कुनै सरकारी कार्यक्रम स्वीकृत गर्दा प्रिपेड घुस माग्दिन ।
- मसँग दोहोरो राहदानी (नेपाली र भारतीय) र परिचय पत्र (भारतीय राशन कार्ड तथा तिब्बती शरणार्थी परिचयपत्र) छैन ।
- म मन्त्री वा अन्य लाभको पद पाइन भने प्रत्येक सिजनमा दल बदल गर्दिन ।
- म आफ्नो पदीय हैसियतको दुरुपयोग गरी सामुदायिक तथा सरकारी वन फाँड्दिन । राज्य शक्तिको दुरुप्रयोग साधन श्रोतको दुरुपयोग गर्दिन ।
- म आफ्नो पदीय हैसियतको ख्यालै नगरी हुक प्रयोग गरी बिद्युत चोरी गर्दिन ।
- म कुनै पनि तहको परीक्षामा सहभागी भएँ भने आफैं परीक्षा दिन्छु, परीक्षा दिन खेताला प्रयोग गर्दिन ।
- म निर्वाचित भए पनि हतियार सहित हिँडडुल गर्दिन र संविधान सभा भवनमा पनि हतियार सहित प्रवेश गर्दिन ।
- म माननीयहरुको लागि पेन्सन दिन बनाइएको÷बनाइने विधेयकमा सही गर्दिन ।
- म कुनै पनि डनको संरक्षण गर्दिन, डनबाट आर्थिक सहयोग लिन्न, डन थुनामा परेको बेलमा जमानी बस्दिन, धरौटी रकम जम्मा गर्न चन्दा माग्न हिँड्दिन र मेरा पार्टीमा भएका डनलाई कानूनी कार्वाहीको लागि प्रहरीलाई सुम्पिन्छु ।
- म मेरै कार्यकर्ता भएपनि अपराध र अपराधाीको संरक्षण गर्दिन ।
- म सरकार बनाउन र भत्काउने खेलमा सांसद खरिद बिक्री गर्न बिदेशीसँग ५० करोड रकम माग्दिन ।
- म पदको दुरुपयोग गरी मानिस अपहरण पनि गर्दिन र फिरौती पनि माग्दिन ।
- म जीँउदी श्रीमती÷जीँउदो श्रीमान्लाई मरेको/मारिएको भन्ने सिफारिस बनाइ द्वन्द्वपीडित वापतको सुविधाको रकम लिन्न ।
- म संविधान बनाउने काम छोडर सरकारलाई अस्थिर बनाउन सरकारविरुद्ध ल्याएको अविस्वासको प्रस्तावमा सही गर्दिन ।
- म ‘ठूला’ नेताको छायाँमा बसी संविधान सभामा आफ्नो विवेक प्रयोग गर्न पनि नपाउने बन्धक संविधान सभा सदस्य बन्दिन ।
- म सरकार बनाउने भत्काउने बेलमा सुरा सुन्दरीको साथमा होटलमा बन्धक बन्दिन र नक्कली बिरामी बनेर सरकारी सुविधा र टिकटमा बिदेश उड्दिन ।
- म संविधान सभा÷संसदमा कुनै विषयमा मतदान हुँदा निर्णय नै हुन नदिने गरी तटस्थ बस्दिन ।
- म कुनै फौजदारी अभियोग लाग्यो भने काठमाडौ उपत्यका भित्रै ‘फरार’ हुन्न साथै अभियोग लागेर थुनामा बसें भने पनि वा ‘फरार’ भएँ भने पनि संसद सचिवालयबाट नियमित भत्ता तथा अन्य सुविधा लिन्न, सुविधाको लागि संसद सचिवालयमा दबाब पनि दिन्न ।
- मैले विगतमा गरेको अपराध वा भोलि पनि कुनै फौजदारी अपराध गरें भने सो वापतको मुद्दामा सँजाय पाएँ भने संसद र सुरक्षाकर्मीकै वरिपरि घुमेर बस्दिन स्वतस्फूर्त जेलमा जान्छु।
- म जिल्ला जाँदा राम्रो र चिल्लो गाडी नभएको निहुँमा प्रमुख जिल्ला अधिकारी तथा अन्य सरकारी कर्मचारीलाई हातपात गर्दिन ।
- म नक्कली बिल बनाएर निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम दुरुपयोग गर्दिन ।
- म आफ्नै मानिस वा आफैं वा आफ्नो पार्टी कार्यकर्ता पर्ला भनेर मस्यौदा भएको राम्रो कानूनको विधेयकको विरोध गर्दिन ।
- म संविधान सभाको सचिवालयको पुस्तकालयका पुस्तक अध्ययन पछि फिर्ता गर्छु ।
- म तोकिएको समयमा संविधान बनाउन सकिएन भने अवैध र जनमतको बिरुद्ध हुनेगरी संविधान सभाको म्याद थप्ने निर्णयमा सही गर्दिन । नैतिकताको आधारमा राजीनामा दिन्छु ।
- म जस्केलाबाट विकास कार्यक्रम आफ्नो गाँउ/निर्वाचन क्षेत्रमा मात्र लैजान्न । आवश्यकता र प्राथमिकताको आधारमा विकास कार्यक्रम बनाउन सहयोग गर्छु ।
- म निर्वाचित भएर गएपछि आफ्नो क्षेत्रलाई बिर्सिन्न । कम्तीमा दुई महिनाको एकपटक आफ्नो निर्वाचन क्षेत्रमा आउँछु ।
- म संविधानसभामा जुन पार्टीबाट निर्वाचित भएको हुँ त्यसै पाटीका लागि मत जाहेर गर्छु । त्यसलाई छोडेर क्षेत्रियता, जातियता, भौगिलिकताका आधारमा गुटवन्दि गर्दिन ।
- म संविधान सभामा कुनै पनि काम नगर्ने तर जनतामा सबै काम गरेको छु भनेर गलत भाषण गर्दिन ।
- म आफ्नो हैसियत विर्सेर विदेशी राष्ट्रका प्रतिनिधिहरुहरुसँग भेटघाट गर्दिन ।
- म निर्वाचनपूर्व जुन पेशामा आवद्ध थिएँ । निर्वाचनपछि पहिलेकै पेशामा फर्कन्छु र श्रमको सम्मान गर्ने समाज निर्माणमा सहभागी हुन्छु ।
...............................
उम्मेदवारको सही
नागरिक अभियान, दोलखा ।
यो सामाग्री दोलखाको हिम्स कलेजका प्रिन्सिपल प्रेमप्रसाद अधिकारीले मस्यौदा गर्नुभएको हो । यो सामाग्री अन्तिम रुप दिनका लागि विभिन्न व्यक्तित्वहरुको सहयोग रहेको छ । तपाँईको पनि कुनै सुझाव तथा सल्लाह भएमा लेख्नुस है!
No comments:
Post a Comment