माओवादी जनयुद्धमा लामो समय काम गरेका रेशमराजस्वराज रिमाल यसपटक जिल्लाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार दिने एकमात्र उम्मेदवार हुन । नाम्दु गाविसमा जन्मिएका उनले जनयुद्धमा छापामार दल सदस्य, स्क्वाड कमाण्डर, राजनैतिक कमिसार, डिसिएम, डिसिएसएम, एरिया कमिटी इञ्चार्ज, दोलखा जिल्ला जनसरकार न्याय विभागको इञ्चार्ज हुँदै २०६० सालसम्म आउँदा जिल्ला सैन्य आयोगको इञ्चार्ज, जिल्ला पार्टी स्कूलिङ् तथा प्रकाशन विभागको इञ्चार्ज तथा नेकपा (माओवादी) दोलखा–सिन्धु जिल्ला सङ्गठन समितिको सेक्रेटरीको जिम्मेवारी वहन गरेका थिए । उनले यस पटक आफ्नो उम्मेदवारी दर्ता गर्दै प्रेस विज्ञप्ति प्रकासन गरि ‘न्यायिक र समुन्नत नयाँ–दोलखा निर्माणको निम्ती सबै प्रकारका खराबीहरूको रुपान्तरणको लागि संघर्षलाई निरन्तरता दिन’ उम्मेदवारी दिएको वताएका थिए ।
यसै क्रममा उनले एकिकृत माओवादीको चुनावी सभामा सम्बोधन गर्न आएका एकिकृत माओवादी अध्यक्ष प्रचण्डसँग पार्टीबाट आफ्नो ज्यानमाथि खतरा भएको भन्दै सुरक्षाको लागि ज्ञापनपत्र बुझाएका थिए। उनले जिल्लाका मतदाताहरुका लागि मत माग्नका लागि घोषणापत्र नै तयार गरेका छन। उनको घोषणापत्रमा आफ्नो चुनावी एजेण्डाभन्दा एकिकृत माओवादी दोलखाका धेरै कमिकमजोरीहरु केलाईएका छन।
घोषणापत्रको पुर्ण पाठ
मितिः २०७० असोज १७ गते ।
आदरणीय बुवा–आमा, दाजुभाई तथा दिदीबहिनीहरू एवम् पत्रकार मित्रहरू !
अहिलेको राजनीतिक स्थितिलाई गम्भीर ढङ्गले विश्लेषण गर्दै सत्ता, भत्ता, झण्डा र गुण्डाबाट सिमान्तकृत तर निरन्तर संघर्ष, स्वाभिमान र वलिदानको मुल निशानीको रुपमा सङ्घर्षरत् उत्पीडित योद्धा, सहिदपरिवार तथा शोषितपिडित जनसमुदायको तर्फबाट आगामी संविधानसभाको चुनावमा स्वतन्त्र माओवादी उमेद्वारको रुपमा दोलखाका दुवै क्षेत्रबाट आफ्नो मनोनयन दर्ता गराएको जानकारी गराउँदछु ।
मेरो उमेद्वारी किन ?
आदरणीय जनसमुदाय एवम् पत्रकार मित्रहरू, यो उमेद्वारी कुनै छुद्र लाभहानी तथा केवल हारजितको मानसिकताबाट प्रेरित एवम् प्रयोग र प्रतिशोधको भावनाबाट उद्धेलित भएर त्यसको प्रतिक्रियास्वरुप दिइएको उमेद्वारी होइन । बरु अहिलेको जर्जर राजनीतिक परिस्थितिमाथि आफ्नो स्वभाविक दायित्वको वहन गरिएको हो । सोचौं तः
विद्यमान राजनैतिक अव्यवस्थालाई व्यवस्थित गरेर चुनावमा जान देशभक्त एवम् क्रान्तिकारी शक्तिहरूले गरेको ठोस् प्रस्तावलाई लत्याएर देशलाई पुनः रक्तपातको भूमरीमा होम्न उनीहरू किन चाहिरहेका छन् ? आज देशभक्त एवम् क्रान्तिकारी शक्तिलाई सदनमा छिर्न रोक्ने प्रयास कस्तो संविधान बनाउन उठाइएको जोखिम हो ? सदनलाई देशप्रतिकूल कुनै कर्मको साक्षी राख्नकै निम्ती उनीहरू यो सब गरिरहेका त छैनन् ? र
प्रायः सबै दलहरूमा उमेद्वारी छनौटमा इतिहाँस मै सर्वाधिक अराजनैतिक विवाद र तोडफोड किन देखा परेको छ ? विवादित क्षेत्रमा निर्णयगर्दा पार्टीको सस्थापनले किन नब्बे प्रतिशत भन्दा बढी क्षेत्रमा देश, पार्टी र जनताको राजनीतिको लागि आँशु, रगत र पसिना बगाएका देशभक्त, प्रगतिशील तथा इमान्दार जनवर्गीय प्रतिनिधि उमेद्वारहरूलाई पाखा लगाएको छ ?
यसले के देखाउँछ भने ‘शक्तिभित्रका शक्तिहरू’ जनताका एजेण्डाहरूलाई तिनका पार्टीबाट र जनतालाई तिनका असली प्रतिनिधिहरूबाट अलग गर्ने र तिनलाई आफूहरूका कर्मको साक्षी बस्न बाध्य बनाउने नियतले कम्मर कसेर लागि परेका छन् । देश भाँडमा गए पनि जाओस् भन्दै सुरु भएको यो काम कुनै झोक्झाक् र लहड–अञ्जानमा भइरहेको छैन । नियोजित छ र यो धेरै चिन्ताजनक ढङ्गले भइरहेको छ । के दलीय उमेद्वारहरूले यो स्थितिको सामना गर्ने विश्वसनीय आधार दिन सक्छन् । यदि यस्तो सम्भव छ भने सोच्न सकिने हो, तर स्थिति गम्भिर छ !
आदरणीय जनसमुदाय,
यो स्थितिमा, मैले सबै प्रकारको आक्रमण र जोखिमलाई मोलेर उमेद्वारी दिनु आफ्नो दायित्व ठानेँ । देशको यो राजनैतिक परिवर्तनको लागि, नयाँ नेपाल निमार्णको सपना बोकेर म र मेरो परिवारबाट राज्यस्तरमा नै सबै भन्दा धेरै बलिदानी भएको छ । १० वर्षे जनयुद्धका आँधीमय वर्षहरूमा एकै परिवारका ४ जना सहभागी हुँदा ३ जनाको बलिदानी सँहदै, घात–प्रतिघातका बिरुद्ध लडाइभित्र लडाई गर्दै, चिहानमाथि सुसेल्दै निरन्तर उडिरहने हूरीचराको रुपमा हामीले विगतमा पनि जनमैत्री अभियान मार्फत सबैप्रकारका अपराधहरूमाथि निरन्तर धावा बोलेर तिनीहरूलाई स्थानहद् गरेको तथ्य तपाईहरूले सायद विर्सनु भएको छैन । बरु न्यायिक र समुन्नत नयाँ–दोलखा निर्माणको निम्ती सबै प्रकारका खराबीहरूको रुपान्तरणको लागि संघर्षलाई निरन्तरता दिनुको विकल्प रहेन । यसै सन्दर्भमा, सचेत दोलखाली जनताले देखावटी तामझाम र क्षणिक लालीपपको प्रलोभनलाई तिरस्कार गर्दै मेरो उमेद्वारीमाथि मतदान गरी विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु ।
रेशम राजश्वराज रिमाल ‘नविन’
सभासद् उमेद्वार,
दोलखा क्षेत्र नं. १ र २
जनपक्षीय माओवादी उमेद्वार
रेशम राजश्वराज रिमाल ‘क.नविन’: एक परिचय
आदरणीय दोलखावासी बुवा–आमा, दाजुभाई तथा दिदीबहिनीहरू !
राजनैतिक व्यक्तिहरू र तिनको जीवनले सामाजमा सकारात्मक योगदान वा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । तिनको जीवन र चिन्तन प्रणालीका सबै यथार्थताहरूलाई जस्ताको तस्तै बुझ्न पाउनु सबैको हक हो । त्यसैले, हामीले यस संविधान सभाको चुनावको लागि स्वतन्त्र माओवादी उमेद्वारको रुपमा दोलखा जिल्लाको दुवै क्षेत्रबाट उमेद्वारी दिनु भएका रेशम राजश्वराज रिमाल (क. नविन)को राजनीतिक जीवनसँग सम्बन्धित विषयहरू तपाईहरूलाई जानकारी गराउन चाहन्छौं:
२०३६ जेठ २४ गते दोलखाको नाम्दू गाविस वडा नं. ५ मार्वुमा जन्मनु भएका नविनका बुबा रजन रिमाल तथा आमा धनकुमारी रिमाल हुनुहुन्छ । स्थानीय कालिका माविबाट प्राथमिक शिक्षा, वैत्यश्वर उमाविबाट, माध्यमिक शिक्षा, पाटन संयुक्त क्याम्पसबाट प्रविणता प्रमाणपत्र तथा रत्नराज्य क्याम्पसबाट स्नातक अध्ययन गरेका नविन विद्यालय तहको अध्ययन गर्दा एमाले निकट अनेरास्ववियूमा आवद्ध एवम् क्रियाशील हुनुहुन्थ्यो । २०५२ मा माओवादी युद्धको घोषणा भएपछि माओवादी सम्वद्ध अनेरास्ववियू (क्रान्तिकारी)मा आवद्धभई पाटन संयुक्त क्याम्पसको व्यवस्थापन सङ्कायको अध्यक्षको जिम्मेवारी वहन गर्नुभएको थियो ।
काठमाडौंबाट दोलखा र पूर्वका जिल्लाहरूमा ग्रिनेट, लगायतका युद्धसामग्रीहरू ओसारपसार गर्ने जिम्मेवारी एक्सपोज हुन थालेपछि २०५५ सालमा आफ्नो गाउँ फर्की जेठा दाजु राजश्वराज रिमाल (सहीद क.हेमन्त)सँगै सामाजिक वैधानिक संगठन देउराली क्लबका १८ जना युवाको तर्फबाट नाम्दू गाउ परिषद्मा सार्वजनिक घोषणा गर्दै सशस्त्र संघर्षमा भूमिगत हुनुभयो ।
नविनले सशस्त्र सङ्घर्षको दौरानमा दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ओखलढुङ्गा, सोलुखुम्बु, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाहरूमा सङ्गठक एवम् जनयोद्धाको रुपमा जिम्मेवारी वहन गर्नुभयो । त्यसक्रममा, छापामार दल सदस्य, स्क्वाड कमाण्डर, राजनैतिक कमिसार, डिसिएम, डिसिएसएम, एरिया कमिटी इञ्चार्ज, दोलखा जिल्ला जनसरकार न्याय विभागको इञ्चार्ज हुँदै २०६० सालसम्म आउँदा जिल्ला सैन्य आयोगको इञ्चार्ज, जिल्ला पार्टी स्कूलिङ् तथा प्रकाशन विभागको इञ्चार्ज तथा नेकपा (माओवादी) दोलखा–सिन्धु जिल्ला सङ्गठन समितिको सेक्रेटरीको जिम्मेवारी वहन गर्नु भएको थियो ।
नेकपा (माओवादी)को तत्कालिन सोलु–ओखलढुङ्गा जिल्ला सचिवालय सदस्य तथा एरिया सेक्रेटरी रहनुभएका जेठा दाजु राजश्वराज रिमाल (क.हेमन्त) लाई ०५७ मंशिर १ गते ओखलढुङ्गा जिल्लाको रगनीमा तत्कालिन शाही सेनाले कब्जामा लिएर गोलीहानी हत्या ग¥यो । २०५९ साउन १८ गते दोलखाको बोथ्लेमा तत्कालिन शाही सेनाले गरेको १४ जनाको सामूहिक हत्याकाण्डमा पार्टी जिल्ला सङ्गठन समितिको सदस्य उहाँको श्रीमति लक्ष्मी पराजुली (क. निरजला)लाई कब्जामा लिएर हत्या ग¥यो । जनयुद्धको क्रममा आफ्नो परिवारका २ जना सदस्य (जेठा दाजु र श्रीमति) को बलिदानी ब्यहोरिसकेका क.नविन क्रान्तिकारीहरूको तर्फबाट हिंसा कम हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यसको लागि क्रान्तिकारीहरूमा नरिवल–स्वभाव विकास गर्नुपर्ने उहाँको जोड थियो । जिल्लामा स्वभाव र शैलीका हिसावले बयर–माओवादी र नरिवल–माओवादी रहेको उहाँको बुझाई थियो । (बयरः अर्थात बहिरको पातलो आवरण कोमल, सुन्दर र मिठासले ढाकिएको तर भित्रचाँही पूरै हाडले भरिएको । नरिवलः अर्थात बाहिरको पातलो आवरण खस्रो हाडले ढाकेको तर भित्रचाँही मिठो र नकुहिने रसिलो फल भएको ।)
उहाँले बयर–प्रवृत्तिका विरुद्ध आन्तरिक एवम् सार्वजनिक भण्डाफोर गर्नुभयो । फस्कु, ठूलोपातल र च्यामा घटनाको सन्दर्भमा भएको गल्तीलाई भावी दिनमा रोक्नको लागि कसैमाथि गम्भिर कारबाही गर्नुपुर्व आयोग बनाएर अनुसन्धान गराउनुपर्ने मान्यता पार्टी सङ्गठनमा अघि सार्नु भएको थियो ।
कारबाहीको लागि सार्वजनिक रुपमै लिखित घोषणा भई गिरफ्तारिमा परेका सिन्धुपाल्चोकका मेघनाथ पौड्याललाई आफू सेक्रेटरी भएपछि उहाँले सिधै कारवाही गर्नुभएन ! बरु, तत्कालिन जिल्ला पार्टी सदस्य केशर राजश्वराज रिमाल (क.विपिन)को संयोजकत्वमा तत्कालिन जिल्ला सैन्य कमाण्डर क.प्रशान्त समेतलाई सहभागी गराई ५ सदस्यीय अनुसन्धान आयोग गठन गर्नुभयो । आयोगले सबै बयानहरूलाई रेकर्ड ग¥यो र जिल्ला पार्टी हेडक्वार्टरलाई प्रतिवेदन पेश ग¥यो । क. नविनले पार्टीको तत्कालिन नीति बमोजिम तथ्यहरूको विश्लेषण गरेर निज पौडेललाई सफाया गर्नै पर्ने कारण नभएको निश्कर्ष निकाल्नु भएको थियो । त्यसपछि, अधिकारकर्मी बद्रीकुमार चौलागाईको समन्वयमा होम पाठक, चिरञ्जिवी मास्के, उद्धव पोखरेल, दिपशंकर चौलागाईं, शशी न्यौपाने लगायतका पत्रकार एवम् मानवअधिकारकर्मीहरू माझ निज पौडेल तथा उनीसँग आयोगले लिएको बयान र प्रतिवेदनलाई सार्वजनिक गर्नुभएको थियो । तत्पश्चात लगत्तै निज पौडेललाई छापामार दस्ताको सुरक्षामा उनकै परिवार समक्ष सकुशल रिहा गरीएको थियो । यो यस्तो सुरुवात थियो, जसले हेलचेक्र्याँइ र अन्यायपूर्ण तवरले हुनसक्ने रक्तपातलाई रोक्न सक्थ्यो ।
केही दिन पछि २०६० को मंशिर १८ गते तत्कालिन शाही सेनाको टोलीले राती क. नविन लगायत सुतेको सेल्टरमा रहस्यमय ढङ्गले घेरा हाली छापामारेका थियो । भित्रैबाट कुनै गडबडी भइरहेको अन्दाज गरिरहेका नविनलाई गाँउ जनसरकारका प्रमुखले खतराको सुचना पुष्टि गरेपछि उहाँले आफ्नो टिमलाई उक्त सेल्टरबाट रातको २ बजे सकुशल मुभ गराउनु भएको थियो । जबकि गाँउको बीचमा रहेको सो घरलाई सेनाले ३ बजे घेराबन्दी गरेको थियो भने ५ बजे नविनको नामलिँदै त्यही घरमात्रै छापा मारेको थियो ।
तर, त्यसको भोलिपल्टै सेनाको सोही टोलीले जिल्ला पार्टी सदस्य तथा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य केशर राजश्वराज रिमाल (नविनका माइला दाजु क.विपिन) र जिल्ला कार्यालय टिमका सदस्य क. उर्जालाई सेनाले कब्जामा लिएर हत्या गरेको थियो ।
असाध्यै पेचीलो बनेको परिस्थितिमा उक्त हत्याकाण्डपछि नविनले २०६० माघ २ गते एक सार्वजनिक विज्ञप्ति प्रकाशित गर्दै क्रान्तिको वैचारिक स्पिरिट प्रति प्रतिबद्धतासहित तत्कालिन स्थितिमा जनयुद्धका सम्पूर्ण क्रियाकलापबाट बाहिर रहने घोषणा गर्नुभएको थियो । उक्त घोषणालाई उहाँले अन्तरसङ्घर्षको जारी तर भिन्न रुप भन्नुभएको थियो । त्यसबेला नविनले जिल्लाको सबै आर्थिक हिसाब किताव र वस्तुस्थितिको सम्पूर्ण विवरण दोलखा सिन्धुपाल्चोक हेर्ने तत्कालिन केन्द्रीय सदस्यलाई बुझाउनु भएको थियो । उहाँ आफूले युद्ध परित्याग गर्दा आफ्नो मातहतमा भएको लगभग ५० लाख रकम हिसाब बुझाएर, त्यस मध्ये आफ्नो तात्कालिन न्युनतम् व्यवस्थापनको लागि (पार्टीलाई फिर्ता गर्ने लिखित प्रतिबद्धतासहित) २ लाख ३० हजार रुपैया लिएर पछि उक्त रकम २०६३ साल असार १५ गते राती पोखराको रामबजार स्थित आफ्नै सेल्टरमा पार्टी सङ्गठनका प्रतिनिधिहरूसँग आफ्नो पूर्वघोषित प्रतिबद्धता बमोजिम नै हिसाब हस्तान्तरण गरी ब्याज सहित चुक्ता गर्नु भएको थियो । जसमा नविनको आफ्नै नाममा रहेको ग ३ प ४५४५को नयाँ यामाहा क्रक्स बाइक १ थान, पेन्टीयम ४ कम्युटर १ थान, फोटोकपि मेशिन १ तथा प्रिन्टर १ थान, युपियस १ थान सामान दिई हिसाब फरोफारो भएको थियो । उक्त बाइक (२०६३ असारको तेस्रो साता) उदयपुर जिल्ला लेखानी गाविस वडा नं. ९ स्थायी ठेगाना भएका सन्तोश राईको नाममा गण्डकी अञ्चल यातायात कार्यालयमा पास समेत गरिएको थियो ।
नविनको यो कठोर आर्थिक अनुशासनबाट पार्टीभित्रका केही व्यक्तिहरू अँत्तालिए । किनकी उनीहरूलाई राम्ररी थाहा थियो कि एउटा अनुशासनले अर्को अनियमिततामाथि सँधैभरी साहसिक धावा बोल्ने सामथ्र्य राख्छ । त्यसपछि उनीहरू नविनले सामानको विल भर्पाइ पेश गर्नुपर्ने तर्क गर्न थाले । नविनले आफ्नो कार्यकाल पछिको, विशेषगरी शान्ति प्रक्रियामा आएपछिको जिल्ला पार्टीको सबै हिसाब किताब सार्वजनिक गर्न चुनौति दिनुभएको थियो । तर, शान्तिप्रक्रियामा आएपछि ति व्यक्तिहरू कसरी अवैधानिक आर्थिक चलखेल र अनैतिक धन्दाहरूमा लागे भन्ने सबैका सामु स्पष्ट नै छ ।
पछिल्लो चरणमा नविनले माओवादी पार्टीभित्रै मौलाउँदै गएको वर्ग उत्थान र वर्ग उत्पीडनको विरुद्ध माक्र्सवादी अध्ययन केन्द्र र जनमैत्री अभियानमा सामेल भएर जोडदार सङ्घर्ष छेड्नु भएको थियो ।
— चुनाव प्रचार प्रसार समिति, दोलखा ।
दोलखामा माओवादीभित्रको वर्गउत्थान विरुद्धको सङ्घर्षमा
जनपक्षीय माओवादी उम्मेद्वार
रेशम राजश्वराज रिमाल ‘क.नविन’को सहभागिताः
माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीका तल्ला पङ्तीहरू सम्ममा पार्टीभित्रै वर्गउत्थान र वर्गउत्पीडन देखा प¥यो । अन्य केही राजनीतिक दलहरूमा जस्तै गरी विभिन्न माध्यमहरूबाट सेवन भएको दलाल पूँजी मार्फत वर्गउत्थान मौलाएको थियो ।
यार्सागुम्वा, जडिवुटी, रक्तचन्दन लगायतका केही वनपैदावरको गुपचुप पैठारी निकासीमा सम्लग्नता; बैंकहरूलाई घरजग्गामा लगानी गर्न प्रोत्साहन र नियमन खुकुलो बनाएर मौलाएको घरजग्गा कारोबारमा व्यक्तिगत, समूहगत तथा संस्थागत दलालीमा संलग्नता; राज्यका विभिन्न निकायहरूमा कामकाजी भनसुनबाट प्राप्त हुने घुस–बक्सिस; व्यापारी तथा उद्योगीहरूसँग साँठगाँठ एवम् असुल–उपरबाट प्राप्त हुने रकम; कहिलेकाँही मजदुर आन्दोलनको बैठान गराउँदा मालिकहरूसँगको सम्झौतामा प्राप्तहुने रकम; विभिन्न विकासे आयोजना तथा ठेक्कापट्टाबाट असुल हुने सेवा सहजिकरण शुल्क; गैरकानुनी तथा कालो स्रोतमाथिको हस्तक्षेपबाट हुने असुली आदि दलाल पूँजीको अर्थराजनीतिका केही स्रोतहरू हुन् । यीनै स्रोतहरूको परिचालनमा माइण्ड र मशल्स परिचालन गरेर रकम आर्जन गर्न सक्ने सिमित व्यक्तिहरू सक्षम र सामथ्र्यवान भए । समधर्मी आकर्षणको नियम अनुसार तिनीहरूले विभिन्न शक्तिकेन्द्रलाई आकर्षित गर्नसके । स्रोत र साधनबाट ‘सम्पन्न’ बने ।
सिद्धान्तप्रतिको आस्था र सङ्गठनप्रतिको निष्ठाका साथ इमान, जमान, लगन र स्वाभिमानको आधारमा क्रियाशिल सदस्यहरू, योद्धा, कार्यकर्ता एवम् सहीद परिवारहरूलाई बर्ज गर्ने अनि आर्जित सम्पत्ति तथा भौतिक उत्प्रेरणाबाट समाजमा तडकभडकले ‘पहूँच’ प्रदर्शन गर्ने र सङ्गठनमा नियन्त्रण कायम गर्ने प्रवृत्तिबाट दोलखाको पार्टी सङ्गठन पनि अछुतो रहेन ।
दोलखामा वर्गउत्थानवादीहरूको एक डफ्फा समाज र पार्टीकै एक अर्को तप्कामाथि मनोवैज्ञानिक दवाव र नियन्त्रण कायम गर्न कम्युनिष्ट आदर्श विपरित राजनीतिक कामकै शिलशिलाभित्र बलप्रयोगको दुरुपयोग ग¥यो । त्यस्ता केही प्रतिनिधि घटना र तिनले छोड्ने सम्भावी असरहरूको बारेमा बेलैमा अन्दाज गर्न र त्यस्ता रबैयालाई बेलैमा रोक्न, भण्डाफोर गर्न नसक्दा ती क्रियाकलापले अन्ततः वर्गउत्थानलाई नै जन्मायो । तत्कालिन नेतृत्वको निरन्तर उद्धारवादी कमजोरीले पनि वर्गउत्थानवादी डफ्फाले प्रश्रय पाइरह्यो । दोलखामा वर्गउत्थानवादी डफ्फा तयार पार्ने केही प्रतिनिधी घटनाहरू यस प्रकार छनः
संविधानसभाको चुनावमा बाह्य बलको प्रयोगः
अन्य दलहरूको रबैयालाई देखाएर चुनाव जसरी पनि जित्नुपर्छ भन्ने नाममा उक्त डफ्फाको नेतृत्वमा पहिलो संविधान सभाको चुनावमा ब्यापक मात्रामा बाह्य बलको प्रयोग भयो । प्रतिरोधको कम्युनिष्ट आदर्शलाई आत्मसाथ गरेर आएको, जनयुद्धको अनुभव भएको, विचार र राजनीतिबाट प्रशिक्षित एवम् जनसमर्पित युवाशक्ति पार्टीमै थियो । तथापि उक्त डफ्फाले किन अराजनैतिक बलमा विश्वास ग¥यो ? पँुजी आर्जनको लागि विगतदेखि प्रयोग गरिएको तथा पछिको लागि पनि आवश्यक रहेको गुण्डाहरूसँगको आफ्नो सम्बन्धलाई राजनैतिक रङ्गदिई आवश्यकीय देखाउन तथा सङ्गठनभित्र त्यस्तो महशुस गराउन, सङ्गठनभित्र तथा बाहिर व्यक्तिगत खतरा महशुस गराई लाईन सङ्घर्षलाई मनोवैज्ञनिक हिसावले प्रभावित पार्न वा आन्तरिक विपक्षीलाई हतोत्साहित गर्न, दलालपूँजीका स्रोतहरूलाई आकर्षित गर्न वा प्रभावित पार्न । ‘विचार, कार्यक्रम, प्रेम र आदतले होइन; प्रलोभन र त्रास फैल्याएर मान्छेहरूमाथि दीगो प्रभुत्व कायम गर’ भन्ने मेकियावेलि सिद्धान्तमा आधारित यो प्रयोग अन्ततोगत्वा दोलखामा माओवादी पार्टीभित्र वर्गउत्थानलाई संस्थागत गर्ने एउटा कडी बन्न पुग्यो ।
यस्तो प्रयोगको बिरुद्ध रेशम राजश्वराज रिमाल क. नविनले त्यसबेलादेखि नै निरन्तर आवाज उठाउनु भयो । उहाँले पार्टीसँग संस्थागत तवरले उक्त कमजोरीको समिक्षा गरियोस् तथा त्यसका भावी असरहरूबाट पार्टीलाई बचाइयोस् भन्ने माग गर्नु भएको थियो । तर कुनै पनि बैठकले त्यस्तो समिक्षा गरेको पाइएन । परिणामतः इमान्दार तथा मेहनेतकस पार्टी कार्यकर्ताहरू त्यसको शिकार बने । कतिपयले यो प्रवृत्तिसँग आत्मसमर्पण गरे भने कतिपयमा राजनैतिक उदासिनता छायो, तर अधिकांश भने संघर्षरत नै छन् ।
राजनैतिक तथा प्रशासनिक व्यक्तित्वमाथि साङ्घातिक आक्रमणः
एमाले सम्बद्ध जिल्ला स्तरीय वामपन्थी नेता शिव भण्डारीमाथिको हातपात तथा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको तोडफोड र उनीमाथिको हमलामा राजनैतिक कारण भन्दापनि बढी माथि उल्लिखित मेकियाबेली मान्यता हावी भएको थियो ।
नया“ फड्को प्रकरण:
कमाएको धनलाई कसरी वैध बनाउने ? फेरि त्यसलाई कसरी राजनैतिक व्यापारमा लगानी गर्ने भन्ने सवाल पार्टीभित्र गुपचुपमा धनी बन्दै गएका मान्छेलाई हुने चिन्ताको विषय हो । तसर्थ, उनीहरूले पार्टीको मातहतमा रकेको सञ्चार क्षेत्रलाई गुपचुपमा आफ्नो र आफ्ना मान्छेहरूको नाममा नामसारी गर्ने अनि कमाएको धनलाई पनि त्यसैमा लगानी गर्ने र नाफा देखाउने योजना बनाए । यसले प्रचार, पैसा र राजनीति तीनै क्षेत्रमा आफ्नो पकड कायम राख्न सकिने ठाने ।
यसको लागि बुद्धिजीवी सङ्गठन प्रकाशक रहेको जिल्ला पार्टीको मुखपत्रको रुपमा स्थापित नयाँ फड्को पत्रिकालाई पहिलो शिकार बनाए । बुद्धिजिवी सङ्गठनका तत्कालिन जिल्ला अध्यक्षको सहिछाप ल्याप्चे धरी किर्र्ते गरेर थप कागजातलाई नोटरी पब्लिकबाट अवैध तरिकाले प्रमाणित गराई कम्पनी रजिष्ट्रारको कार्यलयमा ८०२८७ दर्ता नम्बर रहेको फड्को पब्लिकेशन प्रा.लि. दर्ता गरे । सिमित व्यक्तिहरूको मिलेमतोमा गुपचुप र अवैधरुपमा दर्ता गरिएको उक्त निजी कम्पनीमा सहीद परिवार समाजको नाम र स्वामित्वमा सहयोग तथा चन्दा उठाएर स्थापित गरिएको हाम्रो रेडियो (एफ एम)को पनि स्वामित्व परिवर्तन गराउने, पार्टीको लाइन र निकट शक्तिकेन्द्रहरूको सहयोग लिएर त्यसै अन्तरगत अर्को एक टेलिभिजन च्यानल स्थापित गर्ने तथा कागजी प्रक्रिया मिलाएर ती सबैलाई एउटै सञ्चार गृहको स्वामित्वमा ल्याउने गुरुयोजना बुझेपछि रेशम राजश्वराज रिमाल ‘क. नविन’बाट स्थानीय नवतरङ्ग साप्ताहिकमा ‘नयाँ फड्को निजीकरणको सवालः पूँजीवादी हर्कतको भद्दा प्रारम्भ’ शिर्षक दिएर एक भण्डाफोर लेख प्रकाशित भयो । वर्गउत्थानवादीहरूको पूजीवादी हर्कतको जग भत्काउनको लागि बुद्धिजिवी सङ्गठन लगायत पार्टी पङ्तीसँग उक्त लेख मार्फत अपिल समेत गरिएको थियो । साथै बुद्धिजिवी सङ्गठन, दोलखाले पनि जिल्ला सेक्रेटरी क. हिमालको विशेष उपस्थितिमा बैठक बोलाई पूजीवादी वर्गउत्थानका सबै हर्कत र षड्न्त्रलाई असफल पार्ने कुनै पनि प्रकारको लडाइको अगुवाइ गर्न जिल्ला अध्यक्ष बद्री चौलागाईलाई अख्तियारी दिएको निर्णय भएको पाइयो ।
जनमैत्री अभियानले कम्पनी रजिष्ट्रारको कार्यलयबाट ८०२८७ दर्ता नम्बर रहेको फड्को पब्लिकेशन प्रा.लि. दर्ता गर्दाको बखत तयार पारिएका ल्याप्चे धरी किर्ते हानिएका सम्पूर्ण किर्ते कागजातका प्रमाणित स्क्यान कपि (सफ्ट कपि) आफ्नो अधिनमा लिन सफल भएको थियो ।
बुद्धिजीवी सङ्गठनका अध्यक्ष बद्री चौलागाईले आवश्यक कार्वाही प्रक्रिया अघि बढाउनको लागि एनेकपा (माओवादी)लाई यी सम्पूण सामग्रीहरू हस्तान्तरण गर्नु भएको समेत बाहिर आएको थियो । स्मरणीय छ कि जनमैत्री साप्ताहिकले तथ्यसहित यो समाचार छापेकै कारण उक्त समुहले चरिकोट बजारमा वितरित जनमैत्री साप्ताहिक सबै कब्जामा लिएर जलाएको थियो ।
आफ्नो योजना असफल हुने भएपछि उक्त कम्पनीले हाम्रो नयाँ फड्को भनेर अर्को पत्रिकाको २ अंक प्रकाशनमा ल्यायो । तथापि, किर्ते र जालसाजिसपूर्ण उद्देश्यमा जेलिएको उक्त कम्पनी बन्द गर्नुको विकल्प थिएन । कम्पनी खारेज गर्ने निर्णय सम्बन्धी तत्कालिन एनेकपा (माओवादी) दोलखाका सहसेक्रेटरी तथा फड्को पब्लिकेशन प्रा.लि.का अध्यक्ष विशाल खड्काले २०६८ असार ३२ गते सार्वजनिक गर्नुभएको (२०६८ भदौको अङ्क नयाँ फड्को वर्ष १ अङ्क ९ मा प्रकाशित) प्रेस विज्ञप्ति यस प्रकार थियोः
का.जि.प्र.का.द.नं. १५८/६७/६८ मा दर्ता भई फड्को पब्लिकेशनको नाममा प्रकाशन हुँदै २ अंकसम्म हाम्रो नयाँ फड्को मासिक पत्रिका प्रकाशन भएको सर्वविदितै छ । स्मरण रहोस् दो.जि.प्र.का.द.नं. १४/६४/६५ मा दर्ता भई बद्रीकुमार चौलागाईं सम्पादक रहेको नयाँ फड्को मासिक पत्रिका एनेकपा (माओवादी) दोलखा जिल्ला पार्टीले मुखपत्रको रुपमा नेपाल राष्ट्रिय बुद्धिजीवि सङ्गठन दोलखालाई प्रकाशक बनाई सञ्चालन गरिरहेको अवस्था हो ।
म अध्यक्ष भएको सो फड्को पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित हाम्रो नयाँ फड्को पत्रिकाले समाजमा सुचना सम्प्रेषण र विचारको प्रवाह गर्नुको अतिरिक्त थप आशङ्का, भ्रम, अन्तरविरोध सिर्जना गर्ने कारक पनि बनेको र जसले गर्दा एनेकपा माओवादी दोलखालाई अनावश्यक समस्या उत्पन्न गराएको स्थितिप्रति गम्भिरतापूर्वक ध्यान पु¥याई फड्को पब्लिकेशन प्रा.लि.ले अतिरिक्त कुनै काम नगर्ने गरी खारेज गर्ने निर्णय भएको कुरा सार्वजनिक गराउँदछु । साथै, हाम्रो नयाँ फड्को मासिक पत्रिका समेत अब प्रकाशन नहुने ब्यहोरा जानकारी गराउँदछु ।
मितिः २०६८ असार २३ विशाल खड्का
यस प्रकारणबारे एनेकपा (माओवादी)का केन्द्रीय सदस्य क.कृष्ण भुजेलले सोही अंकमा लेख्नुभएको छः ‘....फेरी सम्बन्धित कमरेडहरूकै नेतृत्व र सहभागितामा त्यही नाममा निजी कम्पनी दर्ता हुनु र जनमतलाई नै भ्रमित पार्नेगरी यहाँसम्मकी ईमेल ठेगानासमेत उही राखेर झण्डै मिल्दो नाममा पत्रिका समेत २ अंक प्रकाशित हुनुको निहितार्थ के हो ? यो बडो रहस्यमय बनेको छ । त्यसपछि भुसको आगो झैं विस्तारै नकारात्मक चर्चा परिचर्चा र तीब्र रुपले टिप्पणी सुरु भए पश्चात पत्रिका (र कम्पनी) बन्द गर्नुको विकल्प थिएन । .....आफ्नो वैयक्तिक हितलाई केन्द्रमा राखेर सिङ्गो पार्टीको सम्पतीलाई निजीकरण गर्ने जस्तो अत्यन्तै निकृष्ट तरिका जे अपनाइएको छ, त्यो पनि जिल्ला पार्टीका जिम्मेवार नेतृत्व तहबाट, यसले हाम्रो समाजवादी सपना र लक्ष्यमाथिको निष्ठामै शङ्का उब्जाइदिएको छ ... ।’
स्मरणीय के छ भने उक्त कम्पनीका अध्यक्ष विशाल खड्काले विज्ञप्तिमार्फत तत्कालै कम्पनी बन्द गर्ने भन्नुभए पनि उक्त कम्पनी अझै पनि खारेज गरिएको भने छैन !
सहीद रित बहादुर स्मृति प्रतिष्ठानको घडेरी प्रकरणः
जनयुद्धका महान सहीद रितबहादुर खड्काको स्मृतिमा स्थापित प्रतिष्ठानको नाममा चरिकोटको सात दोबाटे चोक नजिकै रहेको बहुमूल्य घडेरी पार्टी कमिटी र सहीद परिवार समाजलाई मात्रै होइन कि प्रतिष्ठानकै सदस्यहरूलाई समेत जानकारी नदिई अनधिकृत रुपमा बिक्री गरिएको थियो । रितबहादुर स्मृति प्रतिष्ठानको नाउँमा मालपोत.कार्यालय, दोलखामा दर्ता श्रेष्ता कायम रहेको तत्कालिन चरिकोट गाविस वडा नं. २ (हाल भिनपा–१) को कि.नं. २१०६ को क्षेत्रफल ००४२० वर्ग मिटर जग्गा कित्ताकाट भई मिति २०६८ साल मंशिर २९ गते बिक्री भएको थियो । जग्गा बिक्री गर्दा कूल क्षेत्रफल ००४२० वर्ग मिटरबाट कित्ताकाट गरी ००२१५ व.मि.बाट नेपाल सरकारको नाउँमा बाटोकायम गरी बाँकी रहने क्षेत्रफलको मूल्य रू.३,३०,०००. (तीन लाख तीस हजार) मा बिक्री भएको ब्यहोरा मालपोत कार्यालयमा अभिलेख छ । जब कि प्रतिष्ठानले सोही जग्गा मेलुङ—३, दोलखा निवासी रेविन्दा गुरुङ (कार्की) सँग उक्त मितिभन्दा ३२ महिना अघि २० लाख रुपैयाँ खरिद गरेको मालपोतमा अभिलिखित छ । ०६६ वैशाख २५ गते रजिष्ट्रेशन नं.२५७६ मा पास गरी लिएको थियो ।
सो जग्गा पास गर्दा प्रतिष्ठानका अध्यक्ष विशाल खड्का आफू स्वयम् मालपोत कार्यलयमा उपस्थित हँुदाहुदै लिखत पास गरिदिनेबारे प्रतिष्ठानमा सदस्यसमेत नरहेका व्यक्ति (घ्याङसुकाठोकरका बद्री पौडेल)लाई प्रतिष्ठानको प्रतिनिधि भनी अख्तियारी दिएर चलानी नं. ३५ उल्लिखित पत्र माल कार्यालयमा दर्ता देखिएपछि वर्गउत्थानको विरुद्ध सक्रिय जनमैत्री अभियानले यसमाथि अनुसन्धान थालेको थियो । त्यसपछि थप अनियमितताहरूको पर्दाफाँस भएको थियो । त्यसबारे विस्तृत रिपोर्ट जनमैत्री साप्ताहिक वर्ष १, अङ्क ६, २०६८ फाल्गुण २२ गते सोमबार प्रकाशित भएको थियो । त्यसपछि बिक्री भएको घडेरी रोक्का गरी दोलखाका मालपोत प्रमुख रातारात रुपन्देहीमा सरुवा मिलाएर हिडेका थिए । प्रतिष्ठानको आर्थिक अनियमितता सम्वन्धि थप विवरण जनमैत्री साप्ताहिकले वर्ष १, अङ्क ७ मा छापेको थियो ।
खाताको अर्कै २२ लाख, कसले पा¥यो क्वाप्प ?
घडेरी बेचेको पैसाधरी प्रतिष्ठानको खातामा जम्मा नभएको स्थितिमा खातामा मौज्दात रहेको सरकारी अनुदान स्वरुप प्राप्त रकम कै बेहिसाव खर्च भएको बुझिएको छ । ०६६ वैशाख २९ गते ३ हजार रुपैयाँ जम्मा गरेर नेपाल बैङ्क लिमिटेडमा खाता नं. १३००००४६४१०१ मा खोलिएको प्रतिष्ठानको खातामा ०६६ जेठ १ गते २० लाख, ०६६ असार ३ गते १२ लाख ५० हजार तथा ०६६ असार २९ गते २ लाख ७० हजार रुपैयाँ प्रतिष्ठानलाई अनुदान प्राप्त रकम जम्मा भएको देखिन्छ । खाताबाट कुमार कार्कीलाई चेक नं.९१९३०२६ मार्फत ०६६ जेठ ४ गते घडेरी जग्गाको भुक्तानी भएको देखिन्छ । हुन त प्रतिष्ठानको नाममा चरिकोट बजारभन्दा तल अरनीको राजमार्गको नजिक इको पार्कको सम्मुख करिब २० रोपनी जग्गा छ । तर उक्त जग्गा कतिपय दान स्वरुप त कतिपय सस्तो मूल्यमा प्रतिष्ठानले किनेको थियो । ‘प्रतिष्ठानले उक्त जग्गा किन्दा यो खाताबाट कति रकम भिकिएको थियो त ?’ भन्ने हाम्रो जिज्ञासामा प्रतिष्ठानका सदस्यसमेत रहेका एनेकपा (माओवादी) दोलखाका पार्टी सेक्रेटरी झम्क प्रसाद पराजुली (हिमाल)ले सहीद पार्कको लागि भनेर लिइएको जग्गा किनेवापत शिर्फ ११ लाख रुपैयाँ भुक्तानी भएको बताउनुभयो । तर वहाँका अनुसार पार्कको लागि किनिएको उक्त जग्गाको ११ लाख रुपैया सहीद रितबहादुर स्मृति प्रतिष्ठानको खाताबाट निकालेर भुक्तानी भएको होइन कि उक्त रकम अन्यत्रै स्रोतबाट (पार्टीले) भुक्तानी गरेको थियो । साथै वहाँले दिएको जानकारी अनुसार सहीद पार्क बनाउनको लागि किनेको उक्त जग्गा सम्याउनको लागि डोजर प्रयोग भएको थियो, त्यसको लागि खर्च भएको दुई—तीन लाख रुपैयाँ चाहीँ प्रतिष्ठान कै खाताबाट खर्च भएको हुनु पर्दछ । यसरी हेर्दा खाताको लगभग एक्काइस÷बाइस लाख रुपैयाँ कहाँ किन खर्च भयो भन्ने देखिदैन । यो रकम मध्ये सर्वाधिक रकम घ्याङ निवासी बद्री पौडेल)का नाममा काटीएका चेकहरू ९१९३०२९, ”३०, ”३१, ”३२, ”३३, ”३४, ”३७, बाट क्रमशः ३ लाख, १ लाख ५० हजार, ५० हजार, ५ लाख, ५ लाख ५० हजार, २० हजार र ५ हजार गरी कूल १५ लाख ७५ हजार झिकिएको छ । त्यस्तै विशाल खड्का लागायत अन्य विभिन्न नाममा चेकमार्फत बाँकी रकम झिकिए पछि प्रतिष्ठानको खातामा ८ हजार रुपैयाँ मात्र मौज्दात छ । आखिर कुन प्रयोजनको लागि झिकियो त सरकारी अनुदानको यत्रो रकम ? सेक्रेटरी हिमालमात्र होइन कि सहीद परिवार समाजका अध्यक्ष शंकर लामा (भिमसेन) यसबारे आफूहरूलाई केही थाहा नभएको बताउँछन् । दुबैको भनाइ छ— सहीद रित बहादुर स्मृति प्रतिष्ठानको नाममा अन्य कुनैपनि काम भएको हामीलाई थाहा छैन ।
तर दोलखाका सहीद परिवारहरू दुखेसो पोख्दै भन्छन्— सहीदको सपना त बेचे बेचे । अब त नाम समेत् पो बेचेर खान थाले ।
जनमैत्री साप्ताहिकको वर्ष १, अङ्क ७ मा प्रकाशित ।
घडेरी बेचेको पैसै बेपत्ताः
सहीद रित बहादुर स्मृति प्रतिष्ठानको नाममा नेपाल बैङ्क लिमिटेड, दोलखा शाखामा बैङ्क खाता (नं. १३००००४६४१०१) रहेको देखिन्छ । यस बाहेक अन्य कुनैपनि बैङ्कमा उक्त प्रतिष्ठानको नाममा खाता सञ्चालनमा रहेको देखिदैन । नेबैलिमा रहेको उक्त खातामा ०६६ असार २९ गतेदेखि ०६८ फागुन १६ गतेसम्म एक सुकोपनि खातामा जम्मा भएको देखिदैन । जबकि ०६८ मंशिर २९ गते प्रतिष्ठानको घडेरी बेचेर प्रतिष्ठानका प्रतिनिधिले रकम बुझेको उल्लेख छ । तर उक्त रकम प्रतिष्ठानको आम्दानी स्वरुप कही कतैपनि बाँधिएको देखिदैन । विधान मिचेर घडेरी बिक्री गर्नु, निर्णय गर्दा प्रतिष्ठानका उपाध्यक्ष, सचिव र सदस्यलाई केहीपनि जानकारी नदिई ‘बैठक’ बोलाउनु तथा निर्णयमा घडेरी बिक्रीको कारण र प्रयोजन उल्लेख नगर्नु, कार्यालय समय सकिएपछि साँठगाँठ मिलाएर घडेरी बिक्री भएको दावी सार्वजनिक हुनु, मालपोत प्रमुखको रातारात सरुवा गरिनु तथा बेचिएको घडेरीको सुकोधरी प्रतिष्ठानको खातामा जम्मा नगरिनुले अनियमितता थप जटिल बन्दै जाने देखिन्छ ।
जनमैत्री साप्ताहिकको वर्ष १, अङ्क ७ मा प्रकाशित ।
जिल्ला पार्टीमा उजुरीको ओइरो :
ढोली खोलाको पहिरो झैं अनियन्त्रित बन्दै गएको आर्थिक अनियमितता र वर्गउत्थानको विरुद्ध जनमैत्री अभियानले निरन्तर हमला गर्न थालेपछि जिल्ला पार्टीमै थप अनियमितता र अपारदर्शीताबारे जानकार सदस्यहरूबाट उजुरी पर्न थालेका थिए । ती उजुरीहरूको विवरणलाई जनमैत्री साप्ताहिकले वर्ष २, अङ्क ३, २०६९ साउन २२ गते सोमबार प्रकाशित गरेको थियो । जसअनुसार, संविधान सभाको चुनाव पछाडि सिप्रिङ खोला जलविद्युत आयोजनाबाट लिइएको ८० लाख रुपैया, हाम्रो रेडियो (एफ.एम.) को भवन निर्माणको आर्थिक आय व्यय पारदर्शी नभएको, शहीद परिवार समाज र प्रताप स्मृति प्रतिष्ठानको आयव्यय रकम पनि पारदर्शी नभएको, डोजर किन्नको लागि पार्टी कोषबाट खटाइएको रकम पनि लावारिस भएको र सो डोजरको स्थिति अहिले दुरुपयोग वा निजीकरण गरिसकेको आशंका गरिएको थियो ।
यसैगरी यार्सागुम्वा किन्ने भनेर लगानी गरिएको ७ लाख रुपैयाको पनि हिसाबकिताब नभएको कुरा उजूरीमा परेको थियो । उपभोक्ता सहकारी पसलको लागि छुट्याइएको ८ लाख रुपैया रकमको पनि हिसाबकिताब नभएको तथा अहिलेसम्म कुनै पनि उपभोक्ता सहकारी पसलको नामनिशान नभएको उजुरी जिल्ला पार्टीमा परेको थियो ।
धेरै बलिदानी र त्यागको अर्थः खबरदारी र सङ्घर्षको धेरै दायित्व हो भन्ने वास्तविकतालाई बुझेर क. नविन दोलखामा माओवादीभित्रको वर्गउत्थान विरोधी संघर्षमा अग्रपङ्तीमा रहनुभयो । उहाँको यो उम्मेदवारी त्यही सङ्घर्षको निरन्तरता हो ।
केही राजनैतिक सवालहरु बारे
जनपक्षीय माओवादी उम्मेद्वार
रेशम राजश्वराज रिमाल ‘क.नविन’का धारणाहरूः
१) पहिलो संविधान सभा असफलताको मुख्य कारण :
पहिलो संविधानसभा असफल हुनु र विघटन हुनुका पछाडि देशीय तथा वैदेशिक कैयौं कारणहरू छन् । ती सबै कारणहरूको बारेमा धेरै चर्चा परिचर्चा भइसकेको छ । आन्तरिक एवम् बाह्य परिस्थितिले दल र नेताहरूको मनस्थितिमा असर पार्नु स्वभाविक हो । तर, दल र नेताहरूको मनस्थितिले संविधानसभाको विधि र प्रणालीमा असरपार्नु अस्वभाविक हो । यो स्थितिमा संविधानसभाको संरचना निर्माणविधि नै त्रुटीपूर्ण भयो भनेर बुझ्नु पर्ने हुन्छ । कस्तो हुनु पथ्र्यो त संविधानसभाको संरचनाको निर्माण विधि ? संविधान निर्माण र संविधानसभाको सार्वभौमिकताका लागि पार्टीको पोलिटब्यूरो तह भन्दा तलका सबै सभासदहरू पार्टी साङ्गठनको सदस्यतासमेत त्यागी स्वतन्त्र हुनु पर्दछ । यस्तो किन त ?
संविधानसभाका महत्वपूर्ण मुद्दाहरू सभासद्को पहुँच नहुने र देशी–विदेशी शक्तिकेन्द्रहरूको पहुँचपुग्ने रिसोर्ट तथा होटलहरूमा हुनथाले । संविधानसभालाई ‘बाहिरबाट आएका’ निर्णयहरूको ‘साँक्षी बस्ने निकाय’ बनाइयो । संविधानसभालाई दलको ह्वीप नलाग्ने स्वतन्त्र र सार्वभौम निकाय भनिएको थियो । तर प्रत्यक्षतर्फबाट विजयी बनेका दलीय उम्मेदवार आआफ्नो पार्टी कमिटीमा आवद्धरहेका हुनाले उनीहरूलाई त्यही पार्टी कमिटी मार्फत नियन्त्रण र निर्देशन गरियो । निर्वाचित सभासद्हरू जनताप्रति उत्तरदायी र सार्वभौम होइनन् कि एउटा निश्चित लम्बाइको धागोले खुट्टा बाँधेर नियन्त्रित भएको चरो जस्तै बन्न पुगे । विदेशीको इसारा र सङ्केतहरूको अर्थ खोज्ने कामलाई सहमतिखोज्ने नामदिएर सार्वभौम भनिएका सभासद्को मताधिकारको चीरहरण गरियो र संविधानसभालाई अनिर्णयको बन्दी मात्र बनाइएन त्यसको हत्यासमेत् गरियो ।
जो कसैले जानेमानेको कुरा के हो भने सहमति गर्नको लागि कुनै प्राधिकार–मत चाहिन्छ । लोकतन्त्रमा जनमतलाई नै त्यस्तो प्राधिकारवाला मत मानिन्छ, जसले कठिनतम् मुद्दामा पनि निर्णय दिन्छ र कार्यान्वयनको लागि सबैलाई सहमत हुने वातावरण निर्माण गर्दछ । यो क्षेत्रबाट जति जना उठेका छन्, सहमतिमा एक जना मात्र छानौंं भनेर प्रयास गरियो भने के त्यो संभव हुन्छ ? असम्भव । तर जनमत लिने वित्तिकै निर्धारित समयमै निर्णय आउँछ, र त्यसैमा सहमति बन्छ ।
यदि जननिर्वाचित सभासदहरू स्वतन्त्र भइदिएका भए उनीहरूले अध्यारा कोठाहरूमा भएका सहमतिको साँक्षी बस्ने होइन कि जनताको मतको प्रतिनिधित्व गर्दथे । संविधानसभा बाहिरका कसरतहरू रोकिन्थे । जे हुन्थ्यो, संविधानसभा भित्रैबाट हुन्थ्यो । जनपक्षीय माओवादी उम्मेदवार रेशम राजश्वराज रिमाल ‘नविन’को उम्मेदवारी यही प्रयोगको लागि दोलखाली जनताको सामु एक अनुरोध र अवसर पनि हो ।
संविधानसभाको सार्वभौमिकतालाई बचाइ संविधान निर्माण गर्नको लागि सक्षम एवम् स्वतन्त्र सभासदलाई मतदान गरेर निर्वाचित गर्नु पर्छ र कुनै पनि पार्टीको पोलिटब्यूरो तहभन्दा तलको जिम्मेवारीमा रहेका निर्वाचित सभासदहरूको हकमा निर्वाचित भएको मितिदेखि संविधान जारी नभएसम्म उनीहरूलाई पार्टी संगठनबाट स्वतन्त्र गरिनु पर्छ । ताकि पार्टीहरूले आफ्ना प्रतिनिधि सभासद्हरू (पोलिट्ब्यूरो तह वा सोभन्दा माथिका सभासद्हरू) मार्फत आफ्नो पार्टीको विचाहरूलाई खुल्ला हिसावले संविधानसभामा राखून र सभासदहरूलाई त्यसमा सहमत गराउने प्रयास गरुन् ।
२) पहिचानमा ध्यान खिच्ने, अधिकारमा सिमा मिच्ने प्रयासप्रति सचेत बनौं :
अहिले सङ्घीयताको सवालमा जातीय पहिचानको मुद्दालाई यति धेरै उछालिएको छ कि जनअधिकारको मुद्दामा ती कसैको पनि ध्यान नपुगोस् । पहिचान जन्मसिद्ध हक हो । पहिचान कसैले दिने वा नदिने भन्ने विषय होइन। कुनै राजनैतिक दल कुनै समुदाय विशेषको पहिचान दिने वा खोस्ने मसिहा बन्न सक्दैन । जहाँसम्म राज्यको नामाकरणको विषयलाई नै पहिचान भन्ने भ्रम दिन खोजिएको छ, यो ठगी हो । कामीडाँडा र बाहुनडाँगी भन्ने स्थानविषेशलाई नै हेरौं । न त कामीडाँडामा नामाकरणकै कारण दलितमुक्ति भएको छ, न त बाहुनडाँगीमा नामाकरणकै कारण जातिय उत्पिडन लादिएको छ । सार्वभौम अधिकार सम्पन्न जाति, जनजाति वा जनताले मात्र देशको समृद्धि तथा राष्ट्रियताको सम्बद्र्धन गर्न सक्छन् । त्यसैले, राज्यहरूको नामाकरणलाई पहिचानको मुद्दा भनेर अथ्र्याउने, त्यसको पक्ष र विपक्षमा समय गुजार्ने, अनि जनअधिकारका सवालहरूलाई पूरै ओझेलमा पारेर संविधान जारी गर्ने चालबाजीको विरुद्ध आवाज उठाउन र संघर्ष केन्द्रित गर्न जरुरी छ ।
जनपक्षीय माओवादी उम्मेदवार रेशम राजश्वराज रिमाल ‘नविन’को उम्मेदवारी यही आवाज र संघर्षको लागि दोलखाली जनताको सामु एक अनुरोध र अवसर पनि हो ।
३) देशलाई फेरि पनि युद्धमा धकेल्ने उन्मादीको भण्डाफोर गरौं :
संविधानका विवादित अन्तरवस्तुमा ‘दलहरूको बीचमा’ एकमना सहमतीको माला जपेर संविधानसभाकै हत्या गरेका दलहरूसँग नेकपा–माओवादीले चुनावको लागि केही मागहरू राखेको थियो । शक्ति पृथकीकरणको सिद्धान्तलाई सुनिश्चित गर्न ‘मन्त्री परिषद्को अध्यक्षले प्रधान न्यायधिसबाट राजिनामा दिनुपर्ने’ जस्तो लोकतान्त्रिक र छुटेको मतदाता नामावली तथा चुनावी प्रक्रियामा आफूहरू पनि सहभागी हुनको निम्ती ‘चुनाबको मिति केही समय सार्नुपर्ने’ उनीहरूको माग व्यवहारिक र जायज दुवै थिए ।
दाउपेचका मसिहा कहलिएका नेताहरूले वैद्यजीका मागहरूलाई नै दाउपेचको संज्ञा दिए । यसको अर्थ के हो ? यसको सिधा अर्थ हो कि वैद्यजी व्यालेटमा अविश्वास र बुलेटमा विश्वास गर्ने नेता भएकोले उनको पार्टीलाई संविधानसभामा तान्ने होइन, युद्धतिरै धकेल्नु पर्छ । यो वैद्यजीको भनाई होइन, अब्बल दर्जाका नेताहरूको विश्लेषण हो । के वैद्यजी चुनावी ढ्वाङ (ब्यालेट)लाई ग्याँस च्याम्बर जस्तै उकुसमुकुसपूर्ण कालकोठरी ठान्नुहुन्छ ? युद्ध नेपाली जनताको चाहना होइन, यो त नेताहरूको भरणपोषण गर्नेवाला कुनै शक्तिको चाहना होला । हो, वैद्यजी विनाको संविधानसभाको चुनाव युद्धको नगरा सरह हुनेछ । यो संविधानसभाको चुनाव हो, जसले एक थान संविधान लेख्ने छ । त्यो बेला जनयुद्धको एउटा ठूलो शक्ति ढोका संविधान निर्माणको ढोका बाहिरै हुनेछ । कसैले फ्यालीदिएको त्यो संविधानलाई ढोका बाहिर कुकुरले हड्डी टिपेझैं नेकपा–माओवादीले स्वीकार्ला त ? असम्भव । अनि, त्यो शक्ति कतिञ्जेल सडकमा गनगन गरेर बस्न सक्ला ? निःसन्देह त्यो दीर्घकालिन युद्धतिरै धकेलिने छ ।
कुन शक्ति नेपालमा फेरी युद्ध चाहन्छ ? अमेरिकी गुरु–योजनामा भारत । किन ? किनभने उसले उदियमान महाशक्ति उन्मुख राष्ट्र चीनको गति र प्रगतिलाई रोक्नु छ । त्यसको लागि चीनको लगभग एक तिहाई भूभाग रहेको तिब्बतमा स्वतन्त्र तिब्बत अभियानलाई मलजल गर्नु उनीहरूको लागि लाभदायक हुनसक्छ । त्यसको लागि नेपालको भूगोल र सत्तामा नवऔपनिवेशिक नियन्त्रण कायम गर्नु जरुरी छ । नेपालमाथिको भारत–अमेरिकी नवऔपनिवेशिक नियन्त्रण कसरी सम्भव छ ? जब नेपालमा एक थान संविधान बन्छ, त्यसपछि दल र विभिन्न गैरसरकारी संस्थाहरूले दीगो शान्तिको लागि आर्थिक समृद्धिको नारा उराल्ने छन् । तब चरम महत्वाकांक्षी योजनाहरू बन्नेछन् र भारतीय–द्धार मार्फत नै लगानी भित्रीने छ । लगानीकर्ताहरूले केही राजनीतिक तथा नोकरशाही यन्त्रलाई प्रलोभनमा पारेर त्यहाँ छुट्टै लगानी गर्नेछन् र आफ्नो वास्तविक लगानीको अधिमूल्यन (बढाइचडाइ मुल्याङ्कन) गराउनेछन् । अर्कोतिर राष्ट्रिय स्वाधिनता र स्वाभिमानको जिमाहा युद्धमा देश धकेलिने छ । युद्धले तिनै भारतीय लगानी र दलालीका केन्द्रमाथि धावा बोल्ने छ । तर विडम्बना, विप्पा सन्धीमार्फत सुरक्षित भारतीय लगानीको क्षति नेपाल सरकारले व्यहोर्नु पर्नेछ । जबकि नेपाल सरकार टाट पल्टिसकेको स्थितिमा हुनेछ । सन्धी बमोजिम नै लगानीकर्ताहरूलाई उक्त क्षतिपुर्ति दिन भारत सरकार अघिसर्र्ने छ । त्यो बेला भारतलाई सुरक्षण प्रत्याभूत गराउनको लागि नेपाल सरकारसँग नेपालको भूगोल, सत्ता र सार्वभौमिकता बाहेक अरु धितो–बन्धकको सामथ्र्य के नै बाँकी हुन्छ र ? ठिक त्यही बेला भारतले नेपालमा कठपुतली–नवऔपनिवेशिक सत्ता स्थापित गर्नेछ । तर, त्यसलाई रोक्न चीनसँग बलियो कुनै आधार हुने छैन । उक्त सत्ताले चीनलाई टुक्र्याउनको लागि सबै प्रकारका प्रयासहरू गर्नेछ । त्यो स्थितिमा नेपाल सम्भवतः अन्तर्राष्ट्रिय कुरुक्षेत्र बन्नेछ या त चीनको हालत विखण्डित रुसकै हालत हुनेछ ।
यो स्थितिलाई समेत लत्याएर ‘दैवको लाठो’ जसरी जबर्जस्त नेपाली थाप्लोमा बजारिएको मंशिर ४ को यो चुनावलाई हेर्दा दलहरूले भन्ने गरेको सहमतिको पाखण्डी पर्दामा ठूलै भ्वाङ परिसकेको छ । जनयुद्धको एउटा प्रभावशाली शक्तिलाई जबर्जस्त युद्धतिरै धकेल्नेगरी भएको यो निर्णय सहमतिको हो कि कुमति हो ? भन्ने स्पष्ट नै छ ।
हिँजो युद्धको नगरा फूक्नेहरूदेखि शिंहदरबारमा बसेर नारी सुर्किनेहरू वा तिनका कुनैपनि सन्तान युद्धको लपेटामा परेनन् । तिनीहरू, जसले हिँजो युद्धको मुनाफा कुम्ल्याए, फेरी यो देशमा त्यस्तै अर्को युद्ध–व्यवसाय चलोस् भन्ने चाहिरहेका त छैनन् ?
निःसन्देह चुनावी गर्मी चर्किएको छ र मैदानमा चाही÷नचाही हामी उफ्रिरहेका छौं । यो प्रचण्ड गर्मीले जमिनमा धाँजा फाटिरहेको मात्र छैन कि कुनै समुन्द्रलाई उमालिरहेको छ र त्यसको वाफ युद्धको कालो बादल बनेर हामै्र शिरमाथि मडराइरहेको छ ।
फेरि पनि हामी युद्ध चाहदैनौं । जनता युद्ध चाहदैनन् । शक्तिकेन्द्रहरूको उन्मादमा शासकहरू चुनावमार्फत युद्ध निम्त्याइरहेका छन् । तर, जनताहरूले चुनाव मार्फत युद्धको निम्तालाई तिरस्कार गर्नु पर्दछ । आफूहरू शान्ति र परिवर्तनको लागि सचेत र तयार भइसकेको सन्देश दिनु पर्दछ । मुलुकका देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई, राष्ट्रियता र जनजीविकाको लागि संघर्षरत व्यक्तिहरूलाई एक्ल्याइएको छ, निःशेध गरिएको छ र आफ्नो भन्ने कोही छैन भन्ने मनस्थिति पैदा गराउन खोजिएको छ । जो कुनै शक्तिकेन्द्रको पिछा लाग्दैन, त्यो निरन्तर जनताको साथमा अघि बढिरहेको हुन्छ । जसलाई साथदिने कुनै शक्तिकेन्द्र हुँदैन, त्यसलाई साथदिने जनता हुन्छन् भन्ने सन्देश पनि जनताले यहि चुनावमार्फत दिन जरुरी छ । जनताले साम, दाम, दण्ड र भेदका पारखी उदण्डहरूलाई बहिस्कार गर्ने तथा देशको लागि बलिदान दिएका जनताप्रति आस्थावान; इमान, जमान र निष्ठावान आफ्ना असली प्रतिनिधिहरूलाई मतदान गरी त्यो सन्देश दिन सम्भव छ । जनताको एउटा सानो मात्र सन्देश यति प्रभावशाली हुनेछ कि जसले शक्तिकेन्द्रहरूको मनस्थिति र राजनीतिक परिस्थितिलाई पुरै परिवर्तन गरिदिन सक्छ ।
जनपक्षीय माओवादी उम्मेदवार रेशम राजश्वराज रिमाल ‘नविन’को उम्मेदवारी यही सन्देशको लागि दोलखाली जनताको सामु एक अनुरोध र अवसर पनि हो ।
४) प्रगतिशील राष्ट्रवाद, जीवन्त शान्ति र जनमुखी समृद्धिको आधारः शक्तिशाली एकीकृत वामकेन्द्रको निर्माण ।
नेपाली कम्युनिष्ट आन्दोलनको प्रारम्भदेखि आजसम्मको उतारचढावको बीचमा अनुभवसिद्ध निश्कर्ष के हो भने न त यथास्थितिवादी राजनीतिले मुलुकको समस्या हलगर्न सक्छ न त यहाँ कुनै चकाचौध क्रान्ति नै सम्भव छ । वामपन्थीहरूले पुरा गर्नसक्ने र गर्नु पर्ने तात्कालिन कार्यभार भनेको प्रगतिशील राष्ट्रवाद, जीवन्त शान्ति र जनमुखी समृद्धिको कार्यभार हो । यसको निम्ती आधारशिला भनेको शक्तिशाली एकीकृत वामपन्थी केन्द्रको निर्माण नै हो ।
यसमा पनि मुख्यरुपमा एनेकपा (माओवादी), नेकपा (एमाले) तथा नेकपा–माओवादी को बीचमा कुनै वामकेन्द्र निर्माणको समझदारी हो । यसको लागि यथास्थितिवादी रुझान तथा चक्काचौध क्रान्तिको आत्मरतिबाट मुक्त हुनु पहिलो आवश्यकता हो ।
मदन भण्डारीका गुणदोसहरूको पुनर्मूल्याङ्कन
विज्ञानको विकासले मानव सभ्यतालाई विकसित बनाउँदै लैजान्छ र सभ्यताको विकासले जनवाद वा स्वतन्त्रताको परिभाषा र प्रयोगलाई पनि विकसित र समृद्ध बनाउने माग गदर्छ । विसौं शताब्दीको जनवादको रुपमा लेनिनद्वारा परिभाषित सर्वहारा वर्गको अधिनायकत्वको प्रस्थापना माओसम्म आइपुग्दा ‘सैयौ फूलहरूलाई फूल्न देऊ’ भन्ने नारामा विकसित बन्न पुग्यो । एक्काइसौं शाताब्दीले डेमोक्रेसी (जनवाद) सम्बन्धी माओको प्रस्थापनामाथि पनि प्रश्न उठाइदियो कि फुलहरूलाई फुल्न दिनेवाला (वा नदिनेवाला) सुप्रिमो चाँही को हो त ? डेमोक्रेसीलाई कसैको विवेकमा भरपर्नु पर्ने अवस्थाबाट विधि र प्रणालीले सुनिश्चित गर्नुपर्ने अवस्थामा पु¥याउने परिभाषाले सत्तालाई जनताको शासकबाट जनताको सेवकमा रुपान्तरण गर्दछ । त्यसैले ‘सैयौ फूलहरूलाई फूल्न देऊ’ भन्ने माओको जनवादी नारालाई आजको विज्ञान र मानव सभ्यताले विकसित गरेर ‘फूलहरूको निम्ती काम गर, प्रकृतिको अध्ययन मनन् गर’ भन्ने स्तरमा पु¥याएको छ । यस सन्दर्भमा माओवादी स्कूलिङले मदन भण्डारीको गुणदोस सहित उहाँको वैचारिक स्पिरिटको पुनर्मूल्याङ्कन गर्नु तथा त्यसको कार्यान्वयनमा एमालेलाई सचेत गराउनु सान्दर्भिक हुनेछ ।
युद्ध, जनयोद्धा र वर्तमान परिवर्तनका कारणहरूको मल्याङ्कन
वर्गशत्रु खत्तम गर्ने झापा विद्रोहका बारेमा विपि नकारात्मक धारणा राख्नुहुन्थ्यो तर विद्रोहीहरूका प्रति विपिले राजनैतिक सम्मान प्रकट गर्नुहुन्थ्यो । वुर्जुवा वर्गको वैचारिक अगुवाइका वावजुद विपिको यो उन्नत राजनैतिक चेत र संस्कार थियो । युद्ध, जनयोद्धा र वर्तमान परिवर्तनको वास्तविक कारणहरूको मूल्याङ्णमा एमालेले आफ्नो धारणाहरूमा समिक्षा गर्नुपर्छ । नेपालमा गणतन्त्रको स्थापना न त केवल शान्तिपूर्ण रुपमा भएको हो, न त शिर्फ रक्तपातपूर्ण युद्धद्वारा भएको हो । नेपालको राजसंस्था विशिष्ट प्रकारले ढलेको छ । राजसंस्थारुपी विशाल वृक्ष आन्तरिक सङ्कटले धोद्रिँदै गएको थियो, त्यसलाई जनयुद्ध नामको हिंशात्मक आरोले तीव्रतामा काटिरहेको थियो र त्यही दिशाबाट जनआन्दोलनको हूरी तुफान चल्यो । परिणामतः त्यो ढल्यो । जबजका परिकल्पनाकार मदन भण्डारी स्वयम्ले इतिहाँसमा बलप्रयोगको भूमिकालाई कहिल्यै पनि (निरपेक्षरुपमा) तिरस्कार गर्नु भएन । एमालेले राजनैतिक घटनाक्रम वर्तमान अवस्थासम्म आइपुग्नमा भएको बलप्रयोगको समुचित भूमिकाको पुनर्मूल्याङ्कन गर्दा भावनाबाट उठेर विचारको जगमा खडाहुन जरुरी छ ।
बलप्रयोगको निरन्तरताः आवश्यकता कि बाध्यता ?
राजनैतिक स्वतन्त्रताको परिभाषालाई विकसित गर्नुपर्ने आवश्यकतामा नेकपा–माओवादीको विमति नहोला । नेपालको विद्यमान् सत्ताको चरित्र जनपक्षधर नभए पनि त्यसको सशस्त्र शक्तिलाई तटस्थ राख्न सकिने स्थितिमा रहेको भन्नेमा पनि विमति नहोला । यो स्थितिमा बलप्रयोगको निरन्तरताको चाहना वा बाध्यता दुवैलाई छिचोल्नै पर्छ । पोखरीका माछा समुन्द्रमा खन्याएर त्यै टिप्नको लागि समुद्रमा हामफाल्ने कुरा कसैको चाहना होस् वा बाध्यता, त्यो कस्तो होला ?
देशभक्त र वामपन्थी शक्तिको बर्चस्व भएको मुलुकको यो राजनैतिक पृष्ठभूमिमा प्रगतिशील राष्ट्रवाद, जीवन्त शान्ति र जनमुखी समृद्धिको आधारको रुपमा शक्तिशाली एकीकृत वामकेन्द्रको निर्माण अहिलेको आवश्यकता बनेको छ । जुन कार्यभार पूरा गर्न राजनैतिक खिचातानीबाट मुक्त भएर अघिबढ्ने युवापनको आवश्यकता छ ।
दोलखाको जनमुखी समृद्धिको निम्ती
दोलखाको समृद्धिको मार्गचित्र तयारगर्दा हामीले जलविद्युतलाई केन्द्रमा राखेर सोच्नु पर्दछ । करिब ३३०० मेगावाट विद्युत क्षमता रहेको दोलखामा तयारीका योजनाहरूमात्र कार्यान्वयन हुने वातावरण बनाउन सक्ने हो भने आगमी दश वर्षभित्रै २२०० मेगावाट विद्युत उत्पादन हुनेवाला छ । व्यवस्थित योजनाको साथ अघि बढ्ने हो भने त्यही १० वर्षको अवधिमा दोलखाको पूरै विद्युत क्षमताको उपयोग गर्न सकिन्छ । स्थानीय जनतालाई न्यूनतम् ५ देखि १० प्रतिशतसम्मको निःशुल्क शेयर सुनिश्चित गरिनु पर्दछ । यसलाई कानुनद्वारा संरक्षण दिइनु पर्दछ । करिब २५०० मेगावाट क्षमता भएको तामाकोशी उपत्यकाका सम्भावित परियोजनाहरूलाई ध्यानमा राखेर चीनदेखि नेपालको तराई हुँदै भारतसँग जोडिने लोकमार्ग निर्माण गरिनु पर्दछ । जुन अन्तर्राष्ट्रिय ब्यापार र पर्यटनको हिसाबले विशेष महत्वको हुनेछ । लामोसाँघु जिरी सडको स्तरोन्नति तथा व्यवस्थित ग्रामिण सडक विकासमा जोड दिनु पर्दछ । विशेषतः लामाबगरबाट फलाक तिब्बत जोड्ने किरिब २० किलोमिटर सडक, नाम्दु–क्षेत्रपा–वेदिङ रोड, जिरी–माली–श्यामा (पाँचपोखरी) जोड्ने रोड, मुडे–मेलुङ–दोरम्बा डाँडाकटेरी रोड लगायतका विभिन्न ग्रामिण वस्तीजोड्ने हाँगे रोडहरूको निर्माण तथा स्तरोन्नती आवश्यक छ । चरिकोटबाट कालिञ्चोक जोड्ने केवुलकार निर्माण गर्न सकिन्छ । पर्यटकीय हिसावले तामाकोशी उपत्यकालाई विकास पर्यटनको केन्द्र बनाउन सकिन्छ भने कालिञ्चोक र शैलुङलाई धार्मिक एवम् ऐतिहासिक पर्यटनको केन्द्र बनाउन सकिन्छ । यस्ता दर्जनौं सम्भाब्यताहरू छन् ।
विद्युत, रोड, पर्यटन र जडिबुटी दोलखाको विकासमा अनिवार्य पक्षहरू हुन् । तर दोलखाको जनमुखी समृद्धिको मूल कडि भनेको वैज्ञानिक भू–उपयोगको नीति नै हो । जमिनको कृषिकरण, कृषिको व्यवसायीकरण, व्यवसायको औद्योगिकीकरण तथा उत्पादनको बजारीकरण गरेर दोलखाको आर्थिक बृद्धिदरलाई गुणात्मक हिसाबले बढाउन सकिन्छ ।
फ्रान्स र जर्मनीमा देखिएका किसान–समस्याका सन्दर्भमा फ्रेडरिक एङ्गेल्सले लेखेका कुरा अहिले हाम्रो सन्दर्भमा धेरै मननीय छन् । “स–साना किसानहरूको स्वामित्व संरक्षण गर्ने प्रयासले उनीहरूको स्वतन्त्रताको संरक्षण नगरेर उनीहरूको दासताको विशेष स्वरुपको मात्र संरक्षण गर्दछ; यसले त्यस्तो स्थितिलाई मात्र लम्ब्याउँछ, जसमा न त उनीहरू बाँच्न सक्छन्, न त मर्नै ।” तर हामी अहिले किसानहरूको जमिन माथिको स्वामित्वको संरक्षण गर्नै पर्ने स्थितिमा छौं । त्यसैले, हामीले निजी खेतिपातिका समस्याहरूलार्ई कसरी हल गर्ने भन्ने बारे ब्यवहारिक र वैज्ञानिक योजना बनाएर कृषि क्षेत्रको विकासमा पहलकदमी लिनु पर्दछ । यस सम्बन्धमा कृषकका लघु तथा लघुतम् निजी खेतिपातीलाई सहकारी व्यवस्थाको सहायताबाट समाजवादी रुप दिने सैद्धान्तिक तथा ब्यावहारिक प्रश्नहरूका प्रमाणिक उत्तरहरू खोज्नु पर्दछ । एङ्गेल्सको भनाईमा “...तर सहकारी खेतीपातीमा सङ्क्रमण गर्दा यो काम बलजफ्ती गुर्नहुँदैन, निम्न कृषकहरूलाई राजीखुसी सहकारी संस्थाहरूमा सम्मिलित गराउनु आवश्यक छ । ... यस उद्देश्यको लागि सामाजिक सहयोग प्रदान गर्नु पर्दछ । निःशन्देह त्यस बेला हामीसित पर्याप्त साधनहरू हुनेछन्, जसद्वारा हामीले निम्न किसानलाई ती लाभहरू देखाउन समर्थ हुनेछौं ।”
दोलखाको कृषि र विकासको विद्यमान अवस्थालाई हेर्दा हामीले तत्कालै उदूम् प्रगतिवादी कृषिनीति अपनाउन सक्दैनौं । कम्युनिष्टहरूबाट सैद्धान्तिक हिसाबले सुधारवादी कार्यक्रमको रुपमा हमेसा आलोचना गरिने (निःसन्देह सहकारी संस्थाहरूको अभ्युदयले पुजीवादी समाजको आधारमाथि कुनै पनि प्रभाव पार्न सक्दैन, उत्पादनका साधनहरू श्रमिक जनताको हातमा नपरेसम्म समाजवादमा सङ्क्रमण असम्भव छ) सङ्क्रमणकालिन ‘सहकारी समाजवाद’ नै दोलखाको लागि तात्कालिन प्रगतिशील कृषि नीति हुनेछ । जसमा हामीले सहकारितालाई राजकीय अर्थतन्त्र तथा लघु कृषि अर्थतन्त्रबीच मूल कडी बनाउन ध्यान र सङ्घर्ष केन्द्रत गर्नै पर्नेछ । त्यसैले, दोलखाका गाँउबस्तीहरूमा निजी खेतीपातीलाई सहकारिताको माध्यमबाट बृहत् सामूहिक समाजवादी कृषि उद्योग (काल्खोज) तिर उन्मुख गर्र्ने नीतिमा विद्युत विकास, सडक विस्तार, पर्यटन प्रवद्र्धन, जडिबुटी उत्पादन एवम् प्रशोधन जस्ता अर्थतन्त्रका आधारभूत अङ्गहरूलाई एकीकृत गरेर गाँस, वास, कपास, शिक्षा, स्वास्थ, रोजगार र सुचना प्रविधिमा पहूच जस्ता जनताका मौलिक हकलाई उन्नत स्तरमा सम्बोधन गर्न सकिनेछ । यो नै दोलखाको जनमुखी समृद्धिको एक ब्यवहारिक तथा वैज्ञानिक नीति बन्नेछ ।
स्थानीय विशेषताका आधारमा दोलखाका सबै गाउँहरूमा विकासका गुरुयोजनाहरू निर्माण र लागू गर्न सकिने छन् । जस्तो कि, तामाकोशी ३ को जलाशय बन्ने स्थाल नाम्दूका ५, ६, ८ र ९ वडा तथा भिमेश्वर नगर पालिकाका केही वडाहरूमा मध्येकालिन विकासका योजनाहरू बन्न सक्नेछन् । जलाशय मार्ग, त्यसमाथि पेटी आकारको जङ्गल क्षेत्र, उत्तर–दक्षिण लोकमार्ग तथा काल्खोज व्यवस्था उन्मुख उत्पादन प्रणालीः जसमा सहकारी कफी खेति, सहकारी कफी प्रशोधन उद्योग, सहकारी पर्यटन उद्योग, गुणस्तरीय कलेज तथा अस्पताल, कालिञ्चोक–चरिकोटसँग जोडिएको चरिकोट–मार्वु केवुलकार तथा रोप–वे, पशु पन्छी तथा माछापालन सहकारीहरू ।
विचार, व्यवहार र जनतासँगको एकिकृत प्रयासले दुनियामा चमत्कार सम्भव छ । चमत्कारमा विश्वास गरौं: हामीले देखेका छौं कि पानीका थोपा निरन्तर खसिरहँदा खोलाको किनारका ढुङ्गामा ठुल्ठूला सुन्दर डोब्किला र प्वालहरू परेका हुन्छन्, छरिएको पानी एउटै डुँडमा गतिशील हुँदा त्यसले करेन्ट पैदा गरिदिन्छ र एउटा वहुउपयोगी उर्जा पैदा हुन्छ । त्यसैले चमत्कार भाग्य र चिठ्ठामा होइन, प्रयासहरूको निरन्तरता र एकीकृत गतिमा छ ।
आदरणीय सचेत मतदाता ज्यूहरू,
तपाईहरूको भोट कसैलाई हराउन वा जिताउनको लागि मात्र होइन । तपाईको भोट तपाई र भोलिका सन्तानको निम्ती सही विचार र आदर्शमा गर्ने लगानी पनि हो । तपाई आफ्नो बारीमा रहेका उत्तिसको बोट र सुन्तोलाको बिरुवामध्ये कुनमा मलजल हाल्नुहुन्छ ? रोजाई तपाईकै हो । तपाई स्वयम्ले राम्ररी बुझ्नु हुन्छ कि कुनमा मलजल गर्दा भोलिको लागि तपाईको हित हुनेछ ?
निश्चितै रुपमा अहिले रेशम राजश्वराज रिमालको उम्मेदवारी उत्तिसको बोटको तुलनामा सुन्तोलाको विरुवा जस्तै कलिलो होला । तर, तपाईको घर करेसामा के फलाउने ? उत्तिस रोपेर झूसिलकिराको तांती हिडाउने वा सुन्तोला फलाउने ? रोजाई तपाईकै हो ।
जनपक्षीय माओवादी उम्मेद्वार रेशम राजश्वराज रिमाल ‘क.नविन’ लाई भोट किन ?
१) जसको रगतको लिपिष्टिक लाएका छन्, तिनीहरूलाई नै थुक्दै हिड्ने माओवादीभित्रको पाखण्डी उदण्डताको बिरोध गर्न । ‘सती’को श्राप परेको यो देशमा चलेको माओवादी आन्दोलनलाई सहीदको श्राप पर्नबाट जोगाउन ।
२) पार्टी सत्ता, भत्ता, डण्डा, गुण्डाको आडमा पार्टी बाहिर र भित्रका सबै इमान्दार, त्यागी, कर्तब्यनिष्ठ तथा सिद्धान्तनिष्ठ नेता कार्यकर्ताहरूलाई षड्यन्त्रमूलक ढङ्गले किनारा लगाउ“दै सिध्याउने ‘दरबारिया’ खेलको बिरुद्ध पार्टी केन्द्रको ध्यानाकर्षण गराउन, त्यसलाई जनताको अदालतमा गएर उजुरी दर्ता गर्न र त्यसको बलमा माओवादी आन्दोलन र पार्टीलाई बलियो बनाउन ।
३) सबै पार्टीभित्र रहेका खराब प्रवृत्तिको भण्डाफोर गर्न, असल र इमान्दारहरूको पक्षमा सम्झौताहिन भएर निरन्तर संघर्ष गर्न ।
४) फेरी युद्ध थोपर्ने प्रयासको बिरोध गर्न । गतिशील राष्ट्रवाद, जीवन्त शान्ति र जनमुखी समृद्धिको आधारको रुपमा शक्तिशाली एकीकृत वामकेन्द्रको निर्माणको लागि आवाज उठाउन ।
५) दोलखामा जनपक्षीय विचार, विकास र सुशासनको संस्थागत विकासको लागि संघर्ष गर्न ।
— चुनाव प्रचार प्रसार समिति, दोलखा ।
No comments:
Post a Comment