जिल्लाको दक्षिणी भागमा रहेको घ्याङ्गसुकाठोकर गाविसको पिपलडाँड गाँउमा केही समय अगाडीसम्म कोही नयाँ मानिस आउँदा बालबालिका परपर तर्कने गर्दर्थे । विद्यालय जानुअघि र फर्किएपछि खाली रहेको समय खेल खेलेर विताउने गर्दथे ।
आजकाल बालबालिकाहरु जोकोहीसंग निर्धक्क कुरा गर्न सक्छन । विद्यालय र विद्यालयवाहिर विभिन्न रचनात्मक कामहरु गर्ने गर्छन । गाँउमा रहेका बालवालिकाहरुले २ वर्ष अगाडी परिवर्तनशिल वालक्लव स्थापना गरेपछि बालवालिकामा यस्तो परिवर्तन आएको हो । क्लवमा आवद्ध बासुदेव भण्डारी भन्छन ‘बालक्लव स्थापना भएपछि समय समयमा विभिन्न सामाजिक क्रियाकलापहरु आयोजना गर्ने गरिन्छ । यस्ता क्रियाकलापहरु आयोजना गर्ने तथा त्यस्ता क्रियाकलापमा सहभागि हुन लागेपछि बालबालिकामा परिवर्तन आएको छ ।’
सुरु सुरुमा बालक्लवले गर्न लागेका कामहरुमा अन्यको सहयोग त परै जाओस आफ्नै समूहमा आवद्ध बालवालिकाहरुको पनि सहयोग पाउन मुस्किल थियो । क्लवले गर्ने काममा क्लवमा .आवद्ध सबै बालवालिकाहरु पनि सहभागि हुँदैनथे । ‘कति हामीले मात्रै काम गर्ने भन्ने आवाज साथीहरुले उठाउने गर्दथे’, भण्डारी सम्झन्छन ।
क्लवमा आवद्ध बालवालिकाहरुले हाजिरीजवाफ, भलिवल जस्ता प्रतियोगिताहरुका साथै स्थानिय मन्दिर तथा बाटाघाटा संरक्षण गर्ने गरेका छन । क्लवका अध्यक्ष मुरारी भण्डारी भन्छन ‘यस्ता कामले गर्दा हामीले स्थानियको सहयोग पनि पाउँदै गएका छौं । पहिला हाम्रा कुरा पनि सुन्न नचाहनेहरु अहिले हामीलाई समय समयमा आर्थिक सहयोग पनि गर्नुहुन्छ ।’
गाउँघरमा समय समयमा वालक्लवले गर्ने क्रियाकलापका कारण स्थानिय विद्यालयमा पनि सकरात्मक असर पारेको छ । कालिका उच्च माध्यामिक विद्यालयका शिक्षक जीवन कार्की भन्छन ‘यसले शिक्षक र विद्यार्थीहरुविचको सम्बन्ध सुमधुर बनाउन पनि सहयोग गरेको छ । आफैंले विभिन्न क्रियाकलाप सञ्चालन गर्न थालेपछि क्लवमा आवद्ध वालवालिकाहरु अनुशासित हुन लागेका छन ।’
अहिले यो बालक्लवको सिको गरेर गाविसका अन्य भागमा बालक्लवहरु स्थापना हुन लागेका छन । क्लवले गरेका कामहरुका बारेमा पनि स्थानिय समुदायले चासो राख्न थालेका छन । ‘गाँउमा रहेका सबै बालक्लवहरुलाई पहिचान गरि समन्वय गर्न सकिए विद्यालय तथा समुदायमा पनि सकरात्मक कामहरु गर्न सकिन्छ भन्ने लागेको छ’, कार्कीले भने ।
स्थानिय युवा विश्वास भण्डारी भ्रमणको सिलसिलामा पर्यटकीय गाँउ घान्द्रुक जाँदा त्यहाँ आमा समुहले गरेका विभिन्न कार्यक्रमबाट प्रभावित भएपछि गाँउमा बालक्लव स्थापना गर्न पहल गरेका थिए । ‘त्यहाँ आमा समुहले त्यत्ति धेरै काम गरेको देखेपछि स्थानिय स्तरमा पनि त्यस्तै प्रकृतिको समुह गठन गर्ने ईच्छा जागेर आएपछि यो बालक्लव स्थापना गर्न पहल गरेको हुँ’, भण्डारीले भने ।
No comments:
Post a Comment