सम्झेको कुरा गलत छैन भने धेरै अघि शिक्षक मासिकमा कार्यालय समयमा पनि मादक पदार्थले लठ्ठ परेर बाटोमा पछारिएका शिक्षकका बारेमा सामाग्री प्रकाशन भएको थियो । नेपालको समाजमा सम्मानित मानिने शिक्षकको यस्तो हालत भएर नै हुनुपर्छ । समाजमा भ्रष्टिकरण दिनानुदिन बढिरहेको छ । नजान्नेहरु त नबुझ्ने नै भए । बुझ्नेहरुले पनि कौडिका भाउमा आफ्नो वौद्धिकता लिलाम गरिरहेछन । कतिञ्जेल गर्ने हुन । त्यतिञ्जेल समाज कता पुग्ने हो । आकलन गर्दा आँखामा भयावह तस्बिर नाच्छ ।
देशमा राजतन्त्र राखेको देशले हामीलाई गणतन्त्र पढायो । आफु एकात्मक भएर विश्वको शक्तिशाली मुलुकको सुचीमा दर्ज गर्न दौडिरहेको मुलुकले संघियता सिकायो । बाईबल छोएर सपथ खानुपर्ने, एउटा शब्द तलमाथि पर्दा सपथ नै दोहोरिने मुलुकले धर्मनिरपेक्षता सिकायो । हामीहरु यन्त्रमानव झैं बडा आज्ञाकारी भएर सिकिरहेका छौं ।
हाम्रा अग्रजहरु साह्रै भ्रष्ट थिए । तिनीहरुको दिमाग नै थिएन । यो नै आज हामीले सिकिरहेको महान मन्त्र हो । यस्तै कुरा अलिक जान्ने ठानिएकाले नजान्ने भनिनेहरुलाई सिकाउनु पहिलो एवं महान कर्तव्य हो ।
१ शताब्दी नपुगेको इतिहासमा फुरुङ्ग पर्नेहरुले हामीलाई त्यसभन्दा अगाडीको इतिहास सराप्न सिकाईरहेछन । हामी सरापीरहेछौं । आजको सन्दर्भमा त्यो नै हाम्रो महान एवं गौरवशाली काम हो । अझै थुप्रै वर्षसम्म अवस्था फेरीने छाँटकाँट छैन ।
हामीलाई जसले बाँदरमा औषधी परिक्षण गर्न हुन्न भनेर अभियान चलाउनका लागि लगानी गरिरहेछ । उसैले केही वर्ष अघि नेपाली सेनामा जनावरमा भन्दा पहिला औषधी परिक्षण ग¥यो । हामीले थाहा पाएनौं । पाएकाहरुले पनि विरोध गर्न आँट गरेनौं । हामीलाई इतिहासका एकलब्यहरुका वारेमा मात्र समालोचना गर्न आँउछ । स्वस्थानी र रामायण पढेकै कारण हामी पछाडी परेका हौं । हाम्रो गतिलो विश्वास यहि हो ।
मुलधारमा चलिरहेका बहसहरु हेर्दा लाग्छ । हिजोसम्म हामी बाँदर युगमा नै थियौं । हामी बाँचेको सभ्यता सभ्यता नै थिएन । हाम्रा पुर्खाहरुले बनाएका चलाएका रीतिथीति परम्परा सबैले हामीलाई पछाडी मात्रै धकेलेको थियो । त्यसै भएर हुनसक्छ हामीले अहिले गर्ने सबैभन्दा प्रमूख काम इतिहास सराप्नु हो । आफ्नो विगत सम्झिएर रुनु हो । आफ्ना पुर्खाहरुलाई धारेहात लगाउनु हो ।
मेरा अग्रज जसले मलाई अत्यन्तै दूखद परिस्थितीमा पनि भविष्यप्रति आशा गर्न सिकाए । परिस्थितीसँग जुधेर काम गर्न सिकाए । अहिले त्यसलाई भाग्यवादका नाममा सत्तोसराप गर्न सिकाँईदैछ । मेरा बा जसले मलाई आफु नपढेर पढाईको महत्व बुझाए । उनैले अक्षर नचिनेका नाममा अहिले म अपमान गर्न सिक्दो छु । असभ्य, गैवार जस्ता पदावली अहिले मैले मेरा बा लगायत अघिल्ला पुर्खाहरुलाई प्रयोग गरिरहेको छु ।
सम्झेर ल्याँउदा बेचैनीको अवस्था हुन्छ । धेरै सन्तान जन्माए भन्दैमा म मेरा बालाई अपमान गरुँ की नगरुँ । जसले मलाई अभावमा पनि अरुलाई दुख दिन सिकाएनन । भविष्यप्रति आशावादी हुन सिकाए । गरि खान सिकाए । बाको त्यो शिक्षा अहिले भाग्यवादमा रुपान्तरण भएको छ । जसका कारण हामी सबैभन्दा पछि परेका हौं । यदि बाले त्यसो गर्न नसिकाएका भए हामी चन्द्रमामा बस्ति नै बसाईसक्थ्यौं ।
विकसित ठानिएका मुलुकहरुका मानिसहरु जत्तिकै हामीले विकास गर्न नसकेको यथार्थ अस्विकार गर्नु पर्दैन । तैपनि हामी चेतना नै नभएका अचेतन प्राणि हैनौं । हामीमा पनि विवेक छ । करुणा छ । मानिसमा हुनुपर्ने सबै गुण छ । अलिकती पढियो । २, ४ देशमा भ्रमण गरियो । अगाडी बढियो भन्दैमा आफ्नै अपमान गर्दै नहिडौं । त्यसले तत्काललाई राम्रै होला । रमाईलै होला । दीर्घकालीन रुपमा भने त्यसले हामीलाई भ्रष्ट बनाँउदै लैजानेछ ।
apawad@hotmail.com
No comments:
Post a Comment