यो देशको मुल कानुनले नै प्रष्ट रुपमा उल्लेख गरिसकेको विषयमा विमति राख्नु धेरै हिसाबमा राम्रो कुरा हैन । संविधान बनेपछि यो देशमा शान्ति, अमनचैन, तथा सम्वृद्धि हुने विश्वास धेरैले गरेका थिए । अझै पनि गरिरहेछन् । संविधानमा आफ्नो वर्ग समुदायका कुरा परेनन् भनेर धेरैले ज्यान गुमाईसकेका छन् । सबै कुराहरु हेर्दा लाग्छ, संविधान यस्तो जिनिस हो, जसले समाजका सबै अभावहरुलाई दुर गर्न सक्ने सामथ्र्य राख्छ ।
धेरैले अग्रगामी भनेको र केहिका नजरमा प्रतिगामी रहेको संविधानले नेपाल संघिय, गणतान्त्रिक र धर्मनिरपेक्ष मुलुक भएको उल्लेख गरेको छ । ‘यो देश संघिय मुलुक बन्न सक्दैन’ भनेर बोल्दाबोल्दा स्वर सुकाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संविधान कार्यान्वयन गर्ने मूख्य जिम्मेवार निकाय सरकारको उपप्रधानमन्त्री पदमा विराजमान छन् । ‘देशले गणतन्त्र धान्न सक्दैन लेखेर राख्नुस’ भन्दै उफ्रने कमल थापा पनि यहि सरकारमा सामेल छन् । सरकारको अहिलेको स्वरुप हेर्दा संविधान कार्यान्वयन क्षणमै भईहाल्ला जस्तै देखिन्छ । सरकारको संरचनाभन्दा बाहिरको अवस्थालाई अध्ययन गर्ने हो भने संविधानमा उल्लेखित विषय कार्यान्वयन हुन असम्भवप्राय छ । हामी सबै अग्रगमनका नाममा पश्चगमनको यात्रामा छौं ।
विषयवस्तुको उठान एक सामान्य घटनाबाट सुरु गरौं । दोलखाको सिङ्गटी बजार केहि समयदेखि तनावमा छ । सरकारले भूकम्पपिडितलाई प्रदान गर्ने राहतको विषयलाई लिएर हैन, एउटा बसको काउन्टर कहाँ रहने भन्ने विषयलाई लिएर । यहि विषयलाई लिएर पटक पटक भएका झडपमा बर्दिमा रहेका प्रहरीहरुमाथि हमला भएको छ । केहि स्थानियहरु पनि सामान्य घाईते भएका छन् । विषय गम्भिर छ । सञ्चारमाध्यमले थाहा पाएका छैनन् वा थाहा नपाएको बहाना गरिरहेका छन् ।
परिणाम जति गम्भिर छ, विषय त्यत्ति गम्भिर देखिन्न । एउटा सामान्य खोलाले छुट्ट्याएको छ सिङ्गटी बजारलाई । एकापटि लादुक अर्कापट्टि लामीडाँडा गाविस । भूकम्पअघि लादुक गाविसपट्टि थियो काउन्टर । भूकम्पका कारण लामीडाँडातिर सर्यो । अहिले लामिडाँडामा नै रहनुपर्छ कि लादुकमा हुनुपर्छ काउन्टर भन्ने विवादले स्थानियहरुको बिचमा पटकपटक झडपको अवस्था निम्त्याईरहेको छ । यसमा स्थानीय राजनैतिक दल, वुद्धिजीवि लगायत बजारका सबै प्रष्ट रुपमा २ कित्तामा उभिएका छन् । काउन्टर रहेको र प्रस्तावित गरिएको दुरिविच मुस्किलले १ सय ५० मिटरको दुरी छ ।
घटनालाई सामान्य रुपमा लिएर यस्तो त भईहाल्छ भन्नेहरुलाई केहि भन्नु छैन । यस घटनाले महत्वपूर्ण सन्देश समाजमा प्रवाह गर्छ । पहिलो समाजको चेतनास्तर धेरै अगाडी बढिसक्यो जो आफ्नो स्थानमा रहेको, उपभोग गर्दै आएको सेवा सुविधा छोड्न राजी छैन । दोश्रो राजनीतिक दलहरुले आफ्नो राजनीति गर्ने क्षमता प्रदर्शन गर्ने यस्ता ठाँउ अति नै उपयुक्त ठाँउ हुन । त्यसैकारण पनि सतहमा सामान्य देखिने मुद्धा वास्तविकतामा धेरै जेलिईसकेको हुन्छ ।
देशका नागरिकको चेतनास्तर यति माथि पुग्यो कि, १ सय ५० मिटर वरपर एउटा सामान्य बसको काउन्टर सार्दा संसारै ध्वस्त होला जस्तै बुझियो, बुझाईयो । मामुली बसको काउन्टर सार्ने विवादमा प्रहरी परिचालन गरेर अवस्था नियन्त्रणमा लिनुपर्ने अवस्था भयो । काउन्टरका कारण दुवै ठाँउमा त्यत्ती धेरै व्यापारिक असर पनि पर्ने देखिन्न । तर पनि दुवै पक्ष काउन्टर आफ्नै स्थानमा नभई नहुने पक्षमा छन् । यसका लागि उनिहरु कम्मर कसेरै लागेका छन् । यस घटनाले गरेको गम्भिर संकेत के हो भने संघियता कार्यान्वयनका क्रममा यो देशमा कति झडप होला ? कतिले ज्यान गुमाउलान ? संविधानले व्यवस्था गरेको प्रदेशको सिमाका लागि चित्त नबुझेर भएको आन्दोलनमा ४ दर्जन बढिले ज्यान गुमाईसकेका छन् । अझै आन्दोलन नसकिएको जिम्मेवारहरुले बताईरहेका छन् । यसैगरि संविधानले व्यवस्था गरेको स्थानिय तहको सिमाङ्कन, नामाङ्कन लगायतका विषय सुरु भईसकेपछि समाजको अवस्था कस्तो होला ? के हामीले चुपचाप यस्ता विषयहरु स्विकार गरौंला ? कुनै पक्षमा लागेर हामी पनि आन्दोलनको अगुवाई पो गरौंला कि ?
नेपालमा राजनैतिक दलहरु जनताको मनमा बस्न सकेका छैनन् । यसले गर्दा भोली आफ्नै गाँउ, अझ घरपायक केन्द्र हुनुपर्छ भन्ने मागहरुमा स्थानीय र त्यसभन्दा माथिल्लो नेतृत्वबीचको सम्बन्ध नराम्ररी खल्बलिन सक्छ । यसले हाम्रोजस्तो अस्थिर राजनीति झनै अस्थिर हुनेछ । यसले हामीलाई विकासको हैन विनाशको बाटोतर्फ लैजाने निश्चित छ । सबै जना विकासका, अग्रगमनका वा अन्य यस्तै कुनै बहानामा धनजनको क्षति चाँहदैनन् । विविध बहानामा आफ्नै घरमा आगो पटक पटक सल्काईनुहुन्न । अझै पनि हामीले विगतबाट सिक्न नसके त्यसले खरानी मात्रै हात लाग्छ । खरानीबाट मात्रै नयाँ निर्माण सम्भव छ भन्दै क्रान्तीका चर्का कुरा गर्नेले पनि यो गलत थियो भन्ने बुझे र हामी यस परिस्थितीमा आईपुगेका हौं ।
नेपाल विकासको गतिमा पछि पर्नुका विभिन्न कारण छन् । विकास नभएका कारण यहि मात्र हो । यसलाई समाधान गर्न सकिए देश विकसित हुन्छ भन्नु मुर्खता मात्रै हो । एक घण्टाको यात्रामा हामी साल, सिसौका रुख हेर्दै धुपी र ठिङ्गुरे हेर्न पुग्छौं । भूगोलमा मात्र हैन नेपाल विविध पक्षमा विविधतायुक्त मुलक हो । नेपालमा विकास हुन नसक्नुका पनि थुप्रै कारणहरु छन् । ईमान्दारीतापूर्वक खोजी गर्ने हो भने त्यस्ता कारणहरु पत्ता लाग्छन नै । त्यसकै आधारमा देशको विकास पनि चाँडै गर्न सकिन्छ । निश्चित समयभित्र परिणाम देखाउनैपर्ने गरि लादिएका कार्यक्रमले नेपालको विकास अहिलेसम्म गर्न सकेनन् । आगामी दिनमा गर्न सक्लान भन्ने गतिलो आधार पनि भेटिएको छैन ।
देशमा गर्न पर्ने कामको लामो चाङ छ । बाँझीएका खेतबारी हरभरा बनाउँनै छ । सुनसान बनेका रोदीघरहरुमा रौनक फर्काउनु छ । गाँउगाँउमा उद्योगधन्दाहरु चलाउनु छ । विदेशमा पसिना चुहाउन हैन, रमाईलो गर्न जाने नेपालीको परिचय बनाउनु छ । यस्ता काम गर्नका लागि हामी आफैंले सुरुवात गर्नुछ । यसो गर्न हामीले संविधानमा के, के शब्द राखिए, कति अक्षरमा संविधान लेखियो भनेर टाउको दुखाउनै पर्दैन । संघियता हुने वित्तिकै हामीले सोचेजस्तो रातारात परिवर्तन सम्भवै छैन । हाम्रा अगुवाहरु फेरिएका छैनन् । उनिहरुले काम गर्ने ढाँचा संविधान संघियता उल्लेख गरेकै भरमा जादु गरेझै फेरिने पनि होईन । हामीले अहिले जुन कुराले गर्दा यो दूख भयो भनेर बुझिरहेका छौं । यस कुरामा संघियता भन्ने चिजले तात्विक अन्तर गर्न सक्दै सक्दैन ।
अन्तमा, केहिदिन अघि हरिवंश आचार्यले संविधानका प्रति व्यक्त गरेको विचार यहाँ उल्लेख गर्नु अति नै उपयुक्त छ । उनिसँग गरिएको कुराकानीमा आधारित अनलाईनमा लेखमा उनले भनेका छन् । ‘संविधान बन्यो भनेर के गर्ने ? संविधान खान भएन । संविधान टन्न खाएर पेट भर्ने भए त हुन्थ्यो । संविधान बालेर उज्यालो हुने भए त हुन्थ्यो !’
apawad@hotmail.com
No comments:
Post a Comment