• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

मावली गाउँ झुलेमा केसीले भनेः आफ्नो त टाउको लुकाउने ठाउँ पनि छैन!

मेडिकल शिक्षामा भएका वेथितीका विरुद्धमा पटकपटक अनसन गर्दै सरकारलाई वेथिति हटाउनका लागि वाध्य पारेका त्रि.वि. शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले  उमेरहदका कारण २७ असोज २०७६ मा  अनिवार्य-अवकास पाएका थिए । भोलीपल्ट २८ असोजमा दोलखा आएका उनले चरिकोटको प्राथमिक स्वास्थ्य  केन्द्रको निरिक्षण पनि गरेका थिए । अस्पताल श्रोतका अनुसार उनले त्यहाँका सबै कोठा तथा प्रदान गरिएका सुविधाहरुका बारेमा चाख राखेर जानकारी लिएका थिए । अस्पतालको भ्रमणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अस्पतालले दिएको सेवा सुविधा सन्तोषजनक रहेको बताएका थिए ।


हेर्नुहोस दीक्षण दैनिकको युट्युबमा रहेको भिडियो । 


चरिकोटपछि उने झुलेतिर लागेका थिए । झुले उनको मावली गाउँ हो । उनले केहि वर्ष झुलेको अमर माविमा पढेका थिए । उनले झुलेमा आफ्ना साथीहरु तथा आफन्तहरु भेटेका थिए । झुलेमा उनको एउटा भेटघाटबारे उनिसँगै रहेका श्रीबाबु कार्कीले एक संस्मरण लेखेका छन् । उनले फेसबुकमा राखेको संस्मरण जस्ताको तस्तै

........
डा. केसीले भने-
तपाईंको त टाउको लुकाउने ठाँउ त छ, मेरो त.......!

-श्रीबाबु कार्की उदास 

त्यतिबेला भीमा भुजेल प्रसन्न थिए । जतिबेला आफ्नो बालापनको साथी प्राध्यापक डाक्टर गोविन्द के. सी. उनको घरमा टुप्लुक्क आइपुगे ।

भीमा भुजेललाई पहिलोपटक केसीलाई चिन्न नै गार्‍हो पर्‍यो । निकैबेर मुखमा हेरिरहे र आश्चर्यसूचक आवाजमा भने -

" .......आम्मै ! गोविन्द बाबु पो ! " -केसीले भीमा भुजेललाई पहिले नै - "भीमा दाइ नमस्कार " भनी सकेका थिए । नमस्कार फर्काउँदासम्म भीमा भुजेललाई नमस्कार गर्ने ब्यक्ति को हुन भन्ने खुट्टयाउन सकिरहेका थिएनन् ।

अक्सर आफैंले नमस्कार गर्न अभ्यस्त भीमा भुजेल निक्कैबेर हात जोडिरहे, आश्चर्यजडित् मुद्रामा केसीकै अगाडि ठिङ्ग उभिरहे । निकैबेर उनीहरूको आँखा एकाकार भइरह्यो ।

भीमालाई यति धेरै आदरकासाथ नमस्कार खान पाउँदा अचम्म मात्रै लागेन, डाक्टर सा'वकाे हार्दिकताप्रति नतमस्तक बन्न पुगे । उपल्लो तहमा पुगेका ब्यक्तिबाट पाएको हार्दिकता भीमा भुजेलको जीवनमै यो पहिलो थियो ।

भुजेलले जीवनमा धेरैसंग उठबस गरे तर यस्तो न्यानो सम्मान पहिलोपटक अनुभुति गर्नपुगे ।

आफुले सानै उमेरमा भान्जाको रूपमा खेली हुर्काएका केसी देशकै अशल डाक्टर बनेकोमा भीमा प्रसन्न थिए । यद्यपि यसरी आफुलाई नाता लगाउँदै घरमा आइपुग्लान भन्ने त कल्पना समेत गरेका थिएनन् । अक्सर आफ्नो पेशागत मुल्यमान्यतामा टाढा दृढ केसी स्वास्थ क्षेत्रका लागि कुसाग्र ब्यक्तित्वका रूपमा स्थापित छन । जागिरे जीवनभर केसीले न नातागोता भने न साथी संगातीलाई नै समय दिन भ्याए । पेशागत मान्यतामा केसी जस्तोसुकै अबस्थामा पनि किन्चित चुकेनन । दिनदुखीको सेवा र स्वास्थ सुधारका लागि उनले जीवनमरणको कसर बाँकी राखेनन ।

यद्यपि गाउँले नातामा भान्जा पर्ने डा. केसी आफ्नो पुराना साथीसङ्गाती, मान्यजन, गुरुहरु खोज्दै मामाघर दोलखाको झुले पुगे । उनको तीनदिने मावली भेटघाटका क्रममा भीमा भुजेल पनि केसीको उच्च प्राथमिकतामा रहे । पुरानो सम्बन्धका भुजेलसंग भेट्न पाउँदा केसीमा खुसीको सीमा थिएन ।

मामाघरका हजुरबुबा स्व. अमरबहादुर कार्कीको स्वर्गाराेहणकाे खबरले आफ्नी आमासंगै मावली गाउँ झुले पुगेका केसी हजुरआमाको आग्रहमा तीनबर्षकै उमेरदेखि मावली बसेका थिए ।

मावली गाउँ झुलेमा बसेका केसीले आधारभूत तहको शिक्षा हालको श्री अमर माध्यमिक बिद्यालयमा लिएका थिए । माध्यमिक शिक्षा भने काठमाडौंको श्री पद्माेदय मा.बि. ,दोलखाको जिरी मा.बि. हुँदै श्री भीम मा.बि.बाट एस.एल.सी. गरेका थिए ।

अध्ययनमा निक्कै मेहनती र मेधावी रहेका केसी सानैदेखि पढ्नमा अब्बल थिए । केसीलाई प्राथमिक तहमा अध्ययन गराउने शिक्षक श्री ढालबहादुर कार्की भन्छन - "गोविन्द बाबु सानै उमेरदेखि डाक्टर बनेर बिरामीको सेवा गर्ने अठाेट राखेर पढ्थे ।"

केसी ठुलो भएपछि आफू जसरी पनि डाक्टर बनेरै छाड्ने र दुखी गरिव मानिसहरुको सेवा गर्ने इच्छा राख्थे । डाक्टरहरु 'मेवाभावले नभएर सेवाभावले' ओत्प्रोत भएर आउनुपर्ने अहिलेसम्म केसीको आदर्श छ । कार्की सम्झछन् -"हुने बिरुवाको चिल्लो पात हुन्छ भन्छन् त्यो गुण सानैदेखि केसीमा थियोे ।"

भुजेलसँग केसिः तस्विर श्रीबाबु कार्कीको फेसबुकबाट
निक्कै लामो समयपछि केसीलाई देखेका भीमा भुजेललाई डा. केसी यति साधरण भेषभुसामा हिंड्छन् भन्ने कल्पना पनि थिएन । भुवा उठेको कालो टोपी, पुरानै जिन्सको पाइन्ट, गोलस्टार जुत्ता र रङ्ग खुइलिएको कालो ज्याकेट लगाएका केसी तीन बीस उमेर कटिसके जस्तो पटक्कै लाग्दैनथ्यो । होचो गाँठ, हस्टपुस्ट शरीर र खुइलिएको तालुका दुबैतर्फ सेताम्य फुलेका कपाल देखेर भुजेल केही क्षण भावुक पनि बने । उनले रेडियोमा धेरै पटक केसीको अनशनका बारेमा सुनेका थिए । अनशन बस्दा-बस्दा केसीको शरीर यत्तिको होला भन्ने भीमा भुजेलले सोचेकै थिएनन । भीमाले हाँस्दै भने - "अनशन बस्दा बस्दै हामीभन्दा बूढो हुनुभयो होला भन्ने लागेको थियो ।"

यता आफ्नो बाल्यकालका प्रिय अभिभावक भीमा भुजेल बिश्वप्रसिद्ध लेखक अल्वेयर कामुले जन्माएको एक दुखी पात्र 'सिसिफस'झैँ आफ्नो अगाडि देख्न पाउँदा डाक्टर केसी मनमनै दुखी मात्रै भएनन् गम्भीरतापूर्वक भुजेललाई नियालीरहेका थिए । उनले भुजेलको स्वास्थ स्थितिप्रति निक्कै चासो समेत राखेका थिए । -अहिलेसम्म खासै औसधि खानु परेको छैन । भीमा भन्दैथिए -" भगवानका कृपाले आजका मितिसम्म कुनै रोग छैन ।" भुजेलको स्वस्थ शरीर र हष्टपुष्ट अनुहार देखेर डाक्टर केसी पनि खुशी थिए ।

छुटने बेला केसीले भीमा दाइको घर चारैतिर हेरे अनि भने भीमा दाइको सानो चिटिक्क परेको घर पनि बनेछ ।
भीमा मुसुक्क मुस्कुराउँदै भने -"हजुर ! सरकारले बनाइदियो ।" केसीले ठट्यौली शैलीमा भने - "तपाईंको त जाडाेमा टाउको लुकाउने ठाँउ त बनेछ । आफ्नो त त्यै पनि छैन ।

झण्डै चार दशक भेटघाट नभएका उनीहरुको त्यो क्षण हेर्नेहरुलाई समेत अचम्मित पारिरहेको थियोे । डाक्टर केसी पटक-पटक आफ्नो खल्तीबाट चकलेट झिक्दै भुजेलको कैले हातमा त कैले खल्तीमा राखिदिन्थे भने कहिले अङ्गगालो हालेर 'नोष्टाजिक' हुन्थे ।

२६ बर्षे सरकारी जागिरे जीवनबाट उमेरहद्का कारण अनिवार्य अबकास पाएको भोलिपल्टै झुले आएका केसीसङ्ग बालपनका धेरै स्मृतिहरुमा पिङ खेलिरहेको भानहुन्थ्यो ।

हिड्ने बेलामा केसीले आफ्नो वालेटबाट केही पैसा झिकेर भुजेलको खल्तीमा राखिदिए । हार्दिकताका साथ अंकमाल गरे । भुजेलले आफ्नो घरमा आएका केसीलाई चिया पिउने आग्रह गरे ।

केसीले बिगत पन्ध्रबर्षदेखि चिया छाडेकाे हुँदा चिया होइन भीमा दाइको हातबाट एक गिलास पानी मात्रै खाएर जाने आग्रह गरे । एकल रहेका भुजेलले आफ्नो नवनिर्मित घरभित्रबाट केसीलाई गिलासमा पानी ल्याएर दिए ।

भुजेलले भर्खरै सरकारी अनुदानमा भुकम्प प्रभावितहरुको कोटामा भतिजाको जग्गामा एककोठे घर निर्माण गरेका थिए । जीवनभर एकल रहेका भीमा भुजेललाई कहिल्यै घरजमको चिन्ता भएन । भुकम्प प्रभावितहरुका लागि सरकारले दिएको अनुदानले नै भीमा भुजेलको घर बन्ने आधार बन्यो ।

गाउँपालिकाले उनलाई सुकुम्बासीमा सूचीकृत गरी घर निर्माण भएको जग्गा खरिद गर्न डेढलाख रुपैयाँ सहयोग गरेको थियोे ।

हेर्दाहेर्दै भुजेलका आँखामा बिगतका रमाइला स्मृतिहरु पिङ खेल्न थाले । झन्डै एक घण्टाको बसाईमा डाक्टर केसी र भुजेलको रमाइलो कुराकानी भए । लाग्थ्यो दुबैको मन एक अर्कासंग छुट्टिन मानिरहेको छैन ।

जहाँ काम गर्‍यो त्यहीँ खानेबस्ने भुजेलको जीवन कहालीलाग्दो छ । जीवनभर संघर्स गरेर हातमुख गर्ने भीमा भुजेल झन्डै चारदशक उमेरको यात्रामा छन् । भुजेल जीवनदेखि कहिल्यै चिन्तित रहेनन । सधैं हाँसीखुशी रहने भुजेल सामाजिक काममा समेत सक्रिय छन । बाटोघाटाे सरसफाइ गर्ने, पुलपुलेसा मर्मतदेखि कयौं सामाजिक काममा भुजेलले हार्दिकताका साथ सहयोग पुर्याउँदै आएका छन । बाटोको ढुङ्गा लड्दा होस् या कुलो भत्किदा भीमा मन थाम्न सक्दैनन् ।

कर्मशील भीमा भुजेलले डाक्टर केसीसंग आफू आफ्नो जीवनसंग खुसी रहेको बताएका थिए ।

ऊनी भन्थे - "हामी भगवानका सन्तान हौं, हाम्रो सुखदुःख हेर्ने भगवानकै जिम्मामा छ ।" डाक्टर केसी उनको आत्मबिश्वास देखेर मुसुमुसु हाँसिरहन्थे ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना