प्रधानमन्त्री सुशिल कोईरालाले आगामी संविधानमा सबै पक्षको अधिकार सुरक्षित गरिने बताएका छन । शुक्रबारबाट सुरु भएको दोलखा महोत्सवको उद्घाटनका क्रममा सदरमुकाम चरिकोटमा भएको कार्यक्रममा उनले अहिलेको अवस्थामा सबै पक्षले कसैको बहकाउमा नलागी संयमित रहनुपर्ने बताए । उनले भने ‘हामीले २०६२/६३ मा पाएका उपलब्धीहरु रक्षा गर्नका लागि सबै जाति भाषा धर्ममा आएको पहिचानसम्बन्धी जागरणलाई अब संस्थागत गर्नुपर्छ ।’
अहिले नेपाल र भारत विचमा भएको विद्युतसम्बन्धी विभिन्न सम्झौताहरुले देशमा जलविद्युत विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै कोईरालाले भने केहीले ‘यसलाई गलत भनेका छन । मैले देश तल पर्ने गरी विगतमा कुनै सम्झौता गरेको छैन र अव पनि गर्दिन ।’ उनले नेपालले विगतमा विभिन्न किसिमका आन्दोलनको सामना गर्न परेको कारण विकासको गतिमा पछि परेकोले सबै चिन्तित भएको उल्ललेख गरे । ‘अन्य देश पनि चिन्तित छन । चिन र भारत उनिहरुले गरेको विकासबाट लाभ लिन नसकेको भनेर चिन्तित छन ।’
देशमा विकास हुन नसकेको कारण दैनिक हजारौ युवा खाडी मुलुकमा गईरहेको र उनिहरुको अवस्था राम्रो नभएको भन्दै प्रधानमन्त्री कोईरालाले नेपालमा विकासका सम्भावना धेरै भएका कारण शान्ती भएमा १० वर्षमा मुलुक कायापलट हुने बताए । ‘नेपालबाट गएका युवाले मरुभूमिलाई हरियाली बनाएका छन । भवन निर्माण गरेका छन । शान्ति भएमा त्यस्तो विकास गर्न हामी पनि सक्छौं ।’ माघ ८ मा सबै दलले गरेको बाचाअनुसार संविधान जारी हुने उनले बताए ।
स्थानिय उत्पादन तथा पर्यटन क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सबमा विभिन्न् ८० ओटा स्टलहरु राखिएका छन । महोत्सबमा माउन्टेन फ्लाईट, प्याराग्लाईडिङ, ¥याफ्टीङ लगायतको व्यवस्था गरिएको आयोजक क्षेत्रिय होटल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए । महोत्सव २९ मंसिरसम्म सञ्चालन हुनेछ ।
No comments:
Post a Comment