चैत्र २७ गते मिर्गे ५ चिलाउनेखर्ककी छलिमाया दाहाल जिल्ला प्रशासन कार्यलयमा निन्याउरो अनुहार लिएर बसिरहेकी थिईन । उनी जिल्ला प्रशासन आउनुको कारण अरु नभएर श्रीमानलाई प्रहरीद्धारा नियन्त्रणमा लिन प्रमूख जिल्ला अधिकारीलाई आग्रह गर्नु थियो । श्रीमानले गाँउमा छिमेकीहरुलाई दूख दिन लागेपछि उनि चरिकोट आएकी थिईन । सबै कुरा सुनिसकेपछि प्रमूख जिल्ला अधिकारीले श्रीमान्लाई पक्राउ गर्न नसकिने बताए । ‘गाँउलेहरु मैसँग कराउँछन । यहाँ हुँदैन भन्छन । कस्तो आपत आईलाग्यो’, जिल्ला प्रशासन कार्यालयबाट बाहिरिँदै गर्दा उनले भनिन् ।
‘गरिबको घरमा मात्र तेरो वास हुने भए हे ईश्वर मलाई दया गरि अझै दूख दे ।’ यो भनाई दाहालले पढ्न पाएकी छैनन् । उनको वर्तमान अवस्था हेर्दा उनले भोगीरहेको जीवनकै लागि यो वाक्य लेखिएको जस्तो भएको छ ।
२०५८ सालमा उनको मागी विवाह भयो । श्रीमान जन्मजात सुन्न र बोल्न नसक्ने अपाङ्गता भएका व्यक्ति थिए । विवाह भएर आएपछि उनी आफैंले सबै व्यवहार चलाउने गरेकी थिईन् । इसारा गरेर लगाएको काम श्रीमानले गर्थे । परिवार राम्रैसँग चलेको थियो ।
विगत २ वर्ष अगाडीदेखि उनका श्रीमान रामप्रसाद दाहालको व्यवहारमा परिवर्तन देखिन लाग्यो । अराएका सबै काम खुरुखुरु गर्ने उनी काम अराउँदा आईलाग्न लागे । परिवारका सदस्यहरुलाई कुटपीट गर्न लागे । मानसिक रोग लागेको आशंकामा उनले श्रीमानलाई पाटनमा रहेको मानसिक अस्पतालमा भर्ना गरिन । १ महिनासम्म राख्दा १ लाखभन्दा धेरै खर्च भयो । ‘डाक्टरले केही पत्ता लगाउन सकेनौं भनेर पठाए’, उनले भनिन । ‘उपचारमा लागेको ऋण खेत बेचेर तिरेँ । बिमार बिसको उन्नाईस भएन ।’
१ छोरी र छोरासहित चारजनाको परिवार । छोरी कक्षा ६ र छोरा कक्षा ४ मा कालिढुङ्गा उमाविमा पढ्छन । विद्यालयमा बालबालिकाको पढाई राम्रो छ । विद्यालयका प्रधानाध्यापक बोमहरी दहाल भन्छन ‘परिवारका कारण बलाबालिकाको पढाईमा असर देखिन थालेको छ ।’
श्रीमान विरामी परेपछि परिवार भताभुङ्ग भएको छ । अलिअलि भएको पैसा उपचारमा नै सकियो । नानीहरुलाई कुनै सामान किनिदिन हातमा पैसा छैन । ‘गोठका गाईबस्तु तथा खेत पनि सकिईसक्यो । कतैबाट सहयोग पाइयो भने उपचार गर्नुपर्ला । नत्र जे जे हुन्छ खप्नैपर्यो ।’
छिमेकी अम्बरबहादुर तामाङ्ग गाँउ नै आतङ्कित भएको बताउँछन । ‘पहिला साह्रै ईमान्दार मान्छे थियो । अहिले के भयो भयो ?’ विहान बेलुका हातमुख जोर्न धौ धौ हुने परिवारले उपचार गर्न नसक्ने अवस्था रहेको उनले बताए ।
No comments:
Post a Comment