• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

के आधारमा भोट माग्दैछ दोलखामा एमाले ?

दोलखा एमालेको बर्चस्व भएको क्षेत्र मानिन्छ। जिल्लामा रहेका २ निर्वाचन क्षेत्रमा २०४६ पछिका ३ वटा संसदीय चुनाबमा २ पटक दुवै क्षेत्र र एक पटक एक क्षेत्रमा एमाले बिजयी भएको थियो।  २०६४ मा भएको संबिधान सभा निर्बाचनमा दुवै क्षेत्रमा  माओबादी बिजयी भएको हो। २०५४ सालमा भएको स्थानीय निकाय निर्बाचनमा पनि एमालेले जिल्लाको ५१ गाविसमध्ये ४९ गाबिस तथा नगरपालिकामा बिजय हासिल गरेको थियो।

यसपटकको निर्बाचनका लागि एमालेले एक समिति नै निर्माण गरेर मतदाता सम्म पुग्नका लागि प्रतिबद्दता पत्र तयार गरेको छ। यसमा जिल्लामा रहेका बिभिन्न सम्भावनाहरु केलाइएको प्रतिबद्धता पत्र लेखन समितिका संयोजक प्रेम प्रसाद अधिकारीले जानकारी दिए।  गत असोज महिनामा नै तयार परिएको यो प्रतिबद्धतापत्र भने अझै मतदाताका हातमा पुगेको छैन।  के छ त् प्रतिबद्धतामा?
 (प्रतिबद्धता पत्रको पूर्ण पाठ)

“बहु पहिचान सहितको सङ्घीयता
सामाजिक सद्भाव सहितको राष्ट्रिय एकता”

दोश्रो संविधानसभा निर्वाचन, २०७०
नेकपा एमाले दोलखाको

प्रतिबद्धता—पत्र





नेकपा एमाले
जिल्ला कमिटी, दोलखा
२०७०

दोश्रो संविधानसभा निर्वाचन, २०७०
नेकपा एमाले, दोलखाको 
प्रतिबद्धता — पत्र

१) विषय प्रवेश
अगामी मंसिर ४ गते संविधानसभाको दोश्रो निर्वाचन हुन गइरहेको छ । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा कुनै एक पार्टीको बहुमत प्राप्त हुन नसकेको र प्रमुख संवैधानिक मुद्दाहरुमा राजनीतिक दलहरुबीच सहमती कायम हुन नसकेको कारण मुलुक पुनः यस ऐतिहासिक घडीमा आइपुगको हो । नेकपा एमालेले संविधानसभा २०७० को लागि अलग्गै घोषणा—पत्र जारी गरिसकेको छ । एमालेको नीति ः एमालेकै नेतृत्व भन्ने मूल नाराका साथ पार्टी निर्वाचनमा होमिइसकेको छ । मुलुकलाई यथास्थितिबाट निकास दिन र लोकतान्त्रिक संविधान निर्माणका लागि किन एमालेको नीति र एमालेकै नेतृत्व भन्ने कुरा पार्टीको केन्द्रीय घोषणापत्रमा आइसकेको छ । 
पार्टीको केन्द्रीय कमिटीले नेपालीसामु जाहेर गरेका प्रतिबद्धताका अतिरिक्त दोलखाको सन्दर्भमा दोलखालीसामु नेकपा एमालेले अगामी ५ वर्षमा गर्ने राजनीतिक, आर्थिक, सामाजिक, विकाससँग सम्बन्धित तथा जनताको रोजगारी र आय आर्जनसँग सम्बन्धित सवालहरुमा पार्टीको दृष्टिकोण सहित यो प्रतिबद्धता जाहेर गरेका छौं । 

२) दोलखाको राजनीतिक नेतृत्वमा एमाले
नेकपा एमालेले २०४६ साल अघिदेखि नै तत्कालीन मालेका रुपमा प्रजातन्त्र प्राप्तीका लागि सङ्घर्ष गर्दै २०४६ सालको जन आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्यो । २०४८ सालको पहिलो आम निर्वाचनमा दोलखाका दुवै सिटमा विजय हासिल गरी दोलखामा एमालेको वर्चस्व भएको इतिहास स्थापित गर्यो । त्यस यता २०५१ तथा २०५६ को आम निर्वाचन, २०४९ तथा २०५४ का स्थानीय निर्वाचन समेतमा नेकपा एमाले र दोलखा एक अर्कामा परिपूरकका रुपमा स्थापित भए । २०६२÷६३ को जन आन्दोलनमा पनि दोलखाको आन्दोलनको नेतृत्व एमालेले नै गर्यो । आन्दोलनरत सबै दलहरुले तत्कालीन एमालेका जिल्ला कमिटी सचिवको संयोजकत्वमा जिल्ला स्तरीय आन्दोलन समिति बनाई आन्दोलनमा होमिएका थिए । यसले राजनीतिक परिवर्तनका लागि सञ्चालन गरिएका जुनसुकै आन्दोलनमा पनि दोलखामा नेकपा एमालेले नै नेतृत्व गरेको छर्लङ्ग हुन्छ । 
२०५४ मा निर्वाचित नेकपा एमाले नेतृत्वको जिल्ला विकास समितिले जिल्लाको विकासको लागि राखेको दृष्टिकोण तथा उक्त दृष्टिकोण अनुसार बनेको जिल्लाकै पहिलो आवधिक जिल्ला विकास योजनाले परिकल्पना गरे अनुसार नै अहिलेसम्म जिल्लामा विकास कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । ‘जलशक्ति, पर्यटन, वन र कृषि बाली ; शिक्षा, स्वास्थ्य, यातायातले समुन्नत दोलखाली’ भन्ने विकास नारा तय गरिएको उक्त आवधिक योजनाले पहिचान गरे अनुरुप नै अहिले दोलखा जल बिद्युतमा मुलुककै पहिलो जिल्ला बन्ने भएको छ भने पर्यटन, वन तथा कृषि क्षेत्र दोलखालीको आर्थिक सम्बृद्धिको आधारको रुपमा स्थापित हुँदैछ । चक्रपथीय अवधारणा अनुसार निर्माण शुरु गरिएको जिल्ला स्तरीय सडकले नै अहिले सबै गाविसहरुमा सडक पुगी वर्षायामका तिन महिना बाहेक अन्य समय यातायात तथा ढुवानीका साधनहरु चल्न सक्ने अवस्थामा छन् । पूर्वाधार विकास, कृषि तथा पशुपालन, शिक्षा तथा स्वास्थ्य, स्वरोजगार तथा आय आर्जन जस्ता विकासका सवालहरुमा सोही दृष्टिकोण अनुसार नै जिल्लामा गतिविधिहरु सञ्चालन भइरहेका छन् । यसले दोलखाको विकास अहिले पनि हिजो एमालेले नै अघि सारेको विकास दृष्टिकोण अनुसार सञ्चालन भइरहेको छ भने भोलिका दिनमा पनि एमालेभन्दा अरु कुनै पार्टीसँग जिल्ला विकासको दृष्टिकोण नरहेको पुष्टी हुन्छ । 

३) जिल्लाको आर्थिक सामाजिक अवस्था  
२०६८ को जन गणना अनुसार यस जिल्लाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ छ । २ वटा संसदीय निर्वाचन क्षेत्र, ११ वटा इलाका, ५१ गाविस तथा एक नगरपालिका रहेका यस जिल्लालाई बीच भागबाट चिरेर तामाकोशी नदी बगेको छ । जिल्ला वस्तुगत विवरण २०५८ अनुसार दोलखामा खस आर्यहरु ४९ दशमलव ८८ प्रतिशत, जनजातिहरु ४३ दशमलव ०३ प्रतिशत र दलितहरु ७ दशमालव ०९ प्रतिशत छन् । दोलखामा १२ किमिसका जनजातिहरु र ४ किसिमका दलितहरुको बसोबास रहेको छ ।
जिल्लाका सबै गाविसमा सडकको पहँुच पुगेको छ । गौरीशङ्कर बाहेक सबै गाविसमा हिउँदको समयमा यातायाताका साधनहरु पुग्छन् । जिल्लामा ८६ वटा माध्यामिक बिद्यालय छन् भने तीमध्ये ४४ वटामा उच्च माध्यमिक तह सञ्चालित छ । जिल्लाका १२ ठाउँमा स्नातकसम्म अध्ययन गर्ने क्याम्पसहरु र २ वटा प्राविधिक शिक्षालयहरु रहेका छन् । सदरमुकाम चरिकोट तथा जिरीमा जिल्ला स्तरीय अस्पताल छन् । जिल्लाका सबै क्षेत्र तथा गाविसमा इलाका स्तरीय तथा गाउँ स्तरीय स्वास्थ्य संस्थाहरु छन् । जिल्ला सदरमुकाम, जिरी, सिंगटी, मैनापोखरी जस्ता ठाँउहरुमा तीब्र शहरीकरण भइरहेको छ । जिल्लाका करीव ८० प्रतिशत मानिसहरु पाइपको खानेपानी उपभोग गर्छन् । जिल्लाका झण्डै ९० प्रतिशत मानिसहरुको जीवन निर्वाहको मूल आधार कृषि हो भने जिल्लाका करीव २५ प्रतिशत जिल्लावासीहरु निरपेक्ष गरीवीको रेखामुनी छन् । रोजगारीका पर्याप्त अवसरहरु जिल्लामा उपलब्ध नहुँदा युवा श्रमशक्तिहरु जिल्ला बाहिर शहरी क्षेत्रमा तथा देशबाहिर पनि श्रम बेच्न बाध्य छन् । प्राप्त भएको रेमिटेन्स लगानीमा भन्दा घरायसी उपभोगमा खर्च भइरहेको अवस्था छ । दोलखालीहरुको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा माथि छैन । समग्रमा जिल्लाको आर्थिक सामाजिक अवस्था सन्तोषजनक छैन । 
२०५४ को निर्वाचनपछि २०५९ को असार मसान्तसम्म नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय निकायहरु सञ्चालन गरेपछि विकासका प्रकृयाहरुले गति लिएको भए पनि त्यस यता कहिले निजामती कर्मचारी र कहिले दलीय संयन्त्र मार्फत स्थानीय निकाय सञ्चालन हुनुले विकासका प्रकृयाहरु सबै अबरुद्ध छन् । अहिले भौतिक पूर्वाधार तथा विकासका अन्य क्षेत्रमा जे जति कार्यहरु हुन सकेका छन्, ती सबै नेकपा एमालेको निर्वाचित जनप्रतिनिधिले विकासमा राखेका दृष्टिकोणका कारणले अगाडि बढेका हुन् ।
जिल्लाको यो अवस्थाबाट जनताको आर्थिक सामाजिक अवस्थामा सुधार गर्न तथा भएका सकारात्मक पक्षलाई उपयोग र परिचालन गर्न एउटा सवल र दृष्टिकोणयुक्त जिल्ला नेतृत्व जरुरी हुन्छ र यो परिवर्तनको आभास जिल्लामा नेकपा एमालेले मात्र दिन सक्छ भन्ने विश्वासका साथ नेकपा एमाले निर्वाचनमा ओर्लेको छ । 

४) प्रमुख राजनीतिक सवालहरु
नेकपा एमालेको नेतृत्वमा बन्ने संविधानमा प्रत्याभूत गरिने जनताका मौलिक हक अधिकारहरु, सङ्घीयताको स्वरुप र प्रान्त÷राज्यहरु निर्माणको आधार र सङ्ख्या, शक्ति पृथकीकरण, मुलुकको शासकीय स्वरुप, स्थानीय निकायको पुनसंरचनाको आधार, केन्द्र, राज्य तथा स्थानीय निकायका बीच अधिकारको बाँडफाँड, परराष्ट्र मामला जस्ता विषयहरुमा आफ्नो स्पष्ट अडान र दृष्टिकोण बाहिर ल्याइसकेको छ । यी राजनीतिक सवालहरुमा जिल्लाको आफ्नै अलग्गै दृष्टिकोण हँुदैन र पार्टीको केन्द्रीय नीति अनुसार जिल्ला पार्टी अगाडि बढ्नेछ।  

५) नेकपा एमाले दोलखाका प्रतिबद्धताहरु
क) राष्ट्रिय सरोकार र जिल्लाको चासोका क्षेत्रहरु
दोलखाका कतिपय विकास आयोजनाहरु राष्ट्रिय महत्वका छन् । माथिल्लो तामाकोशी जल बिद्युत आयोजना, तामाकोशी १, तामाकोशी तेश्रो लगायत जिल्लाभित्र उत्पादन हुने करीव २ हजार ५ सय मेगावाटका बिद्युत आयोजनाहरु, नेपालकै सबैभन्दो छोटो (२१० किलोमीटर) उत्तर—दक्षिण राजमार्ग हुने लामाबगर (फलाक) बाट बर्दीबास हुँदै भिट्टामोड जोडिने सडक, एशियाकै सबैभन्दा ठूलो खरिढुंगाको म्याग्नेसाइट खानीको सञ्चालन तथा व्यवस्थापन, डाङडुङे डाँडामा बन्ने फिल्म सिटी, गौरीशङ्कर क्षेत्र संरक्षण परियोजना जस्ता राष्ट्रिय महत्वका विषयहरुमा नेकपा एमाले दोलखाले हिजो पनि नेतृत्व गरिरहेको थियो र भोलि पनि गरी नै रहने छ । 

ख) विषयगत प्रतिबद्धताहरु
आर्थिक क्षेत्र
आर्थिक क्रान्तिबिनाको राजनीतिक क्रान्ति अपूरो हुने सत्य स्थापित भइसकेको छ । आर्थिक क्रान्तिका लागि निश्चित उद्देश्य र लक्ष्यका साथ उपलब्ध प्राकृतिक तथा मानवीय श्रोत र साधनको उपयोग, यसका लागि आन्तरिक तथा बाह्य लगानी, लगानीको वातावरण, सीप र दक्षताको विकास जस्ता कुराहरुमा नेकपा एमालेले आफ्नो ध्यान केन्द्रित गर्नेछ । दोलखा र दोलखालीको आर्थिक अवस्था सुदृढ गर्नका लागि देहाय अनुसार नीति लिइने छ ।

  • कृषि 

जिल्लावासीको आयस्तर बृद्धि गर्न तथा रोजगारीका अवसर सिर्जनाका लागि कृषि क्षेत्र नै ठूलो सम्भावनाको क्षेत्र हो । कृषि अन्तर्गतका तरकारी, फलफूल, मसलाबाली जस्ता नगदेबाली तथा पशुपालन जिल्लाको लागि आय आर्जनको दिगो श्रोत हुन सक्ने अवस्था छ । हाल जिल्लाको कृषि उत्पादनले जिल्लावासीको माग धान्न सकेको छैन भने स्थानीय बजारमा स्थानीय उत्पादनभन्दा आयातित बस्तुहरुको बाहुल्यता छ । 
जिल्लाका सबै जसो क्षेत्रहरुमा कुनै न कुनै बालीको व्यवसायिक रुपमा खेती गर्न सकिने सम्भावना रहेको छ । यसरी सम्भावना भएका बालीहरुमा आलु, काउली, बन्दा, गोलभेडा, साग जस्ता तरकारी खेती, अदुवा, लसुन, अकबरे खुर्सानी, बेसार जस्ता मसलाबाली, चिराइतो, सतुवा, मुसली, लोठसल्ला लगायतका जडीबुटी, दूग्ध तथा मासु उत्पादनका लागि पशुपालन रहेका छन् । यो क्षेत्रको विकासका लागि नेकपा एमाले दोलखाले देहायका नीतिहरु अबलम्वन गर्नेछः
● एक क्षेत्र एक वस्तु उत्पादनको नीति लिई कृषक सहकारी मार्फत कृषि व्यवसायको लागि युवालाई मध्यनजर गरी सरल कृषि ऋणको व्यवस्था गर्ने, सहकारी स्थापना भइसकेका क्षेत्रका लागि तिनै सहकारीहरुलाई संस्थागत गर्ने र सहकारी नभएका क्षेत्रमा सहकारी गठन गर्ने वातावरण तयार गर्ने, उत्पादित वस्तुहरु सहकारी मार्फत संकलन तथा बजारीकरण गर्ने । 
● जिल्लाका सबैजसो गाविसहरुमा सडकको ट्रयाक पुगेको भए पनि सबै सडकहरु मालबाहक साधन गुड्न सक्ने अवस्थामा छैनन् । कृषि क्षेत्रबाट उत्पादित वस्तुहरु बजारसम्म लैजानका लागि कृषि बाली उत्पादनका लागि पहिचान गरिएका क्षेत्रसम्म सडक पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने र सडक पुगेका स्थानहरुमा कृषि उत्पादन सङ्कलनका लागि सङ्कलन केन्द्रको स्थापना गर्ने । 
● कृषि क्षेत्रको विकास गर्न प्राविधिक तथा तालिमप्राप्त जनशक्तिको आवश्यकता हुन्छ । स्थानीय निकाय तथा स्थानीय सहकारी संस्थाको ऋण वा अनुदान लगानीमा स्थानीय तहमा नै मध्यमस्तरको जनशक्ति उत्पादन गरी उक्त जनशक्तिलाई कृषि क्षेत्रको विकासमा लगाइने । 
● कृषि उत्पादनहरु नाशवान् हुने हुँदा सिजनमा मूल्य कम हुने र अफसिजनमा मूल्य बढ्ने गर्छ । तोकिएको समयभित्र बजारसम्म पुर्याउन सकिएन भने कृषि उपजहरु नासिने हुन्छन् । यसको लागि निश्चित ठाँउमा चिस्यान केन्द्र बनाई भण्डारण गर्न सकिएको अवस्थामा केही समयसम्म भण्डार गर्न सकिने हुँदा यस्ता चिस्यान केन्द्र निर्माणका लागि कृषि सहकारी तथा स्थानीय निकायको लागत साझेदारीमा कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा आवश्यक सङ्ख्यामा चिस्यान केन्द्र निर्माण गर्ने । 
● व्यवसायिक कृषिको लागि सिंचाई अनिवार्य हुन्छ । सम्भावित व्यवसायिक कृषि उत्पादनको क्षेत्रमा सिंचाई सुविधा पुर्याउनका लागि स्थानीय निकाय, कृषि सहकारीहरु, सामुदायिक संस्था र कृषक समेतको लागत सहभागितामा सिंचाई प्रणाली विकास गरी यसलाई दिगो र भरपर्दो बनाइने । 
● कृषि क्षेत्रमा हाल बढिरहेको रासायनिक मलको प्रयोग कम गरी जैविक मलको प्रयोग बढाई क्रमशः प्रागांरिक उत्पादन बढाइनेछ भने रसायनिक कीटनाशक औषधीको प्रयोग कम गर्दै लग्ने ।
● व्यवसायिक फार्म मार्फत दूध उत्पादन गर्ने र मासुजन्य उत्पादनका लागि व्यवसायिक रुपमा पशुपालन गर्ने नीति लिने ।
● पर्यटन क्षेत्रलाई कृषिमा जोडी कृषि पर्यटनको विकास गर्ने ।
  • पर्यटन
दोलखावासीको आम्दानी र रोजगारीको स्तर अभिबृद्धि गर्न पर्यटन क्षेत्रलाई प्रमुख आधार बनाउन सकिने काफी सम्भावना छ । दोलखामा मुख्यत धार्मिक पर्यटन, विकास पर्यटन र मनोरञ्जन पर्यटन गरी ३ किसिमका पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ । यो क्षेत्रको विकासको लागि नेकपा एमाले दोलखाले देहायका नीति लिनेछ ।
धार्मिक पर्यटन  
●धार्मिक पर्यटन सबैभन्दा जव्बर पर्यटन हो । धर्मको लागि जस्तोसुकै कठिन अवस्था पनि पार गर्ने हाम्रो संस्कार छ । दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, त्रिपुरासुन्दरी, महाङ्काल भगवती, शैलुङ महादेव, बेतेश्वर महादेव, बिगु गुम्बा लगायतका अन्य गुम्बाहरु तथा प्रसिद्ध धाम त्रिवेणीलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ । 
● दोलखा भीमेश्वरको दर्शन गर्न आउने पर्यटकको दोलखा बसाई लम्ब्याउने गर प्याकेज  बनाइनेछ । 
● त्रिवेणीधामको प्रसिद्धि, महत्व र त्यहाँको स्थलको उपयुक्ततालाई मध्यनजर गरी जिल्लाको वार्षिक कार्य योजनामा पारी काशी, गया, बद्रीनाथ, केदारनाथ जस्ता धाम यही त्रिवेणीलाई बनाउने गरी उक्त स्थलको विकास गरिनेछ र काशी, गयाको फल यहीँ त्रिवेणीमा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश देशभरि पुर्याई उक्त स्थानलाई पवित्र स्थानको रुपमा विकास गरिनेछ । सोही ठाँउमा सुविधा सम्पन्न बृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालन गरिनाका साथै त्रिवेणी दर्शन गर्न आउने धार्मिक पर्यटकहरुलाई महाङ्काल, भीमेश्वर, त्रिपुरासुन्दरी, सुन्द्रावती समेत दर्शन गर्ने गरी पर्यटकको बसाइ लम्ब्याउने कार्यक्रम निर्माण गरिने छ । 
● शैलुङ क्षेत्र तथा विगु गुम्बाको भ्रमणमा आउने पर्यटकहरुलाई सोही क्षेत्रमा वास बस्न सकिने गरी आधारभूत पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न प्रेरित गरिनेछ ।
मनोरञ्जन पर्यटन 
● मनोरञ्जन र दृश्यावलोकनका लागि दोलखामाा प्रचुर सम्भावना छन् । रोल्वालिङ हिम श्रृङ्खला र यस क्षेत्रको ट्रेकिङ, भर्खरै शुरु भएको गौरीशङ्कर संरक्षण क्षेत्र, उच्च पहाडी क्षेत्रका ट्रेकिङ रुट, शैलुङका सयवटा लुङ (थुम्का), च्छोरोल्पा हिमताल, ऐतिहासिक बाह्रसय पल्टन (ओराङ), आदिवासी जनजातिका संस्कृति र परम्परा आदि जे जस्ता सम्भावनाहरु छन्, ती सबै ओझेलमा परेका छन् । यी ओझेलमा परेका सम्भावनाका क्षेत्रहरुलाई पर्यटन पूर्वाधारको विकास गरी दोलखालाई आन्तरिक तथा बाह्य पर्यटकहरुको केन्द्रबिन्दूका रुपमा विकास गरिनेछ । 
● रक क्लाइम्बिङ, बञ्जी जम्प, प्याराग्लाइडिङ जस्ता साहासिक पर्यटनको सम्भाव्यता अध्ययन गरिनेछ भने भइसकेको कालिञ्चोक केवुल कारलाई कार्यान्वयनमा ल्याउन समन्वय गरिने छ । 
विकास पर्यटन  
● विगत केही वर्षदेखि माथिल्लो तामाकोशी आयोजना लगायत अन्य बिद्युत आयोजना क्षेत्रको अवलोकन गर्न आन्तरिक पर्यटकहरु दोलखा आउन शुरु गरेका छन् भने दोलखामा रहेका अन्य नयाँ बिद्युत आयोजनाहरुको सम्भाव्यताका लागि ठूलो संख्यामा लगानीकर्ता तथा आन्तरिक पर्यटकहरु दोलखा आइरहेका छन् । प्रस्तावित तामाकोशी तेश्रो कार्यान्वयन हुँदा बन्ने बिशाल तलाउ तथा त्यसमा सिर्जना हुने बोटिङ एवम् अन्य विकास आयोजनाहरुले दोलखा निम्त्याउने पर्यटकहरुलाई धान्न सक्ने गरी पर्यटन क्षेत्रको क्षमता विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । 
● दोलखाको चरिकोटलाई काठमाडौमा कार्यरत विकाससँग सम्बन्धित राष्ट्रिय अन्तराष्ट्रिय सङ्घ संस्थाहरुको योजना तर्जुमा गोष्ठी, समीक्षा गोष्ठी, समन्वय बैठक जस्ता कार्यशालाहरु गर्ने थलोको रुपमा विकास गरिनेछ । यसको लागि जिल्लामा आवासीय कार्यशाला सञ्चालन गर्ने सभाहल तयार गरिनेछ भने निजी क्षेत्रलाई सो अनुसारका पूर्वाधार तयार गर्न प्रेरित गरिनेछ । चरिकोटलाई कन्फेरेन्स सिटीको रुपमा विकास गरिनेछ ।
● दोलखा जिल्ला सहकारी क्षेत्रको नमूना जिल्लाको रुपमा विकास भइरहेको छ । देशभरीका सहकारीकर्मीहरु सहकारीको अवलोकन भ्रमणका लागि दोलखा आइरहेका छन् । यसलाई अझ व्यापक प्रचार प्रसार गरी सहकारी कर्मीहरुको गन्तव्य जिल्लाको रुपमा दोलखालाई विकास गरिनेछ ।  
● जिरी विमानस्थललाई स्तरोन्नती पर्वतीय उडान केन्द्रको रुपमा विकास गर्न पहल गरिनेछ ।
● पर्यटनलाई विकासका सबै क्षेत्रसँग जोडी विकास पर्यटन, बिद्युत पर्यटन, कृषि पर्यटन, स्वास्थ्य पर्यटन, वन पर्यटन, सहकारी पर्यटन, शिक्षा पर्यटनको क्रमशः विकास गरिनेछ । 
● सबै किसिमका पर्यटन व्यवसायको लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारी र निजी क्षेत्रको सहभागिता बृद्धि गरिनेछ र यसको नेतृत्व नेकपा एमालेले गर्नेछ ।

  • बिद्युत  
● पछिल्लो समय दोलखा जल बिद्युतको केन्द्र बन्दैछ । दोलखाको जलस्रोतको मुख्य स्रोत भनेको तामाकोशी नदी र यसका शाखा खोलाहरु नै हुन् । दोलखामा साना ठूला गरी बिद्युत उत्पादन गर्न सकिने ६३ वटा खोलाहरु रहेका छन् । दोलखाको तामाकोशी उपत्यकाबाट मात्र २ हजार ५ सय मेगावाट बिद्युत उत्पादन हुन सक्ने देखिएको छ । यो सम्भावनाको खोजी गरी बिद्युत उत्पादनका लागि अझ विस्तृत अध्ययन गराइनेछ । 
● दोलखाको बिद्युतको यो प्रचुर सम्भावनालाई यथार्थमा परिणत गर्न लगानीकर्तालाई उत्प्रेरित गरिनेछ र स्थानीय तहमा सहज रुपमा काम गर्ने वातावरण तयार गरिनेछ ।
● साना जलबिद्युत आयोजनाका लागि समुदायको सहभागितामा स्थानीय लगानी मार्फत प्रबद्र्धन गर्ने नीति लिइनेछ ।
● माथिल्लो तामाकोशी आयोजनाबाट शुरु भएको आयोजनामा स्थानीय वासीको सेयर दोलखामा सञ्चालन हुने सबै आयोजनाहरुमा सुनिश्चित गरिनेछ र सेयर वितरण गर्न बैज्ञानिक आधार तयार गरिनेछ । 
● जल बिद्युतको विकासबाट जिल्लालाई प्राप्त हुने राजश्व साना तथा लघु जल बिद्युत आयोजना विकास गर्नमा र ग्रामीण विद्युतीकरणमा खर्च गरिने नीति लिइने छ ।
● बिद्युत आयोजनालाई पर्यटन क्षेत्रसँग जोडी साथसाथै पर्यटन क्षेत्र समेतको विकास गर्ने नीति लिइने छ । 

  • पूर्वाधार विकास क्षेत्र
● विकासको प्रमुख पूर्वाधारको रुपमा रहेको सडक यातायातको विकासलाई नेकपा एमालेले २०५४ सालदेखि नै प्राथमिकता दिंदै आएको छ । दोलखा जिल्लामा सडकको सञ्जाल विकास गर्नका लागि रिङरोडको अवधारणा ल्याई सडक निर्माण हुन थालेपछि अहिले जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरु तथा सबै गाविसमा ट्रयाक निर्माण भई हिँउदको समयमा गाडी पुग्ने अवस्थामा छन् ।  सुख्खा मौसममा मात्र सञ्चालन हुने अवस्थाका यी सडकका ट्रयाकलाई पुनस्थापना, स्तरोन्नति तथा कालोपत्रे गरी बाहै्र महिना यातायाताका साधन चल्न सक्ने बनाइने छ । साथै सबै सडकमा बाह्रै महिना गाडी चल्न सक्ने बनाउनका लागि आवश्यक स्थानहरुमा मोटरेबल पुलहरु निर्माण गरिनेछ । 
● लामोसाँघु जिरी सडकलाई स्तरोन्नती गरी दोहोरो लेनको बनाउन पहल गरिनेछ ।
● जिल्लामा आवश्यकता परेका सबैजसो स्थानहरुमा झोलुङ्गे पुल बनाउने नेकपा एमालेको नीति अनुसार २०५४ सालदेखि नै बिभिन्न दातृ तथा सरकारी निकायसँग समन्वय गरी झोलुङ्गे पुलहरु निर्माण गरिएका छन् । आवश्यकता भएका स्थानहरुमा झोलुङ्गे पुलहरु क्रमशः निर्माण गर्दै लगिनेछ । 
● प्रमुख पर्यटकीय स्थलहरु, शैक्षिक अनुष्ठानहरु, सार्वजनिक सरोकारका स्थानहरुमा वाइफाइ सहितको इन्टरनेट सेवा पुर्याइनेछ र यसका लागि सम्बन्धित पक्षसँग समन्वय गरिनेछ । 
● बिद्युतीकरण गर्न बाँकी रहेका क्षेत्रहरुमा स्थानीय तहमा उत्पादन गरिने लघु जलबिद्युत तथा राष्ट्रिय प्रसारण लाइन मार्फत बिद्युतीकरण गर्दै लगिनेछ ।

  • सामाजिक तथा अन्य क्षेत्र 
● शिक्षामा सबै पक्षको सहभागिता बृद्धि गरी गुणस्तर अभिबृद्धि गरिनेछ । 
● दोलखा राजधानी काठमाडौबाट नजिक समेत पर्ने भएकोले जिल्लालाई शैक्षिक क्षेत्र (educational zone) को रुपमा विकास गरिनेछ ।
● कृषि, वन, इन्जिनियरिङ, मेडिकल, पर्यटन व्यवस्थापन जस्ता प्राविधिक शिक्षालाई प्राथमिकता दिइ यसको लागि सरकारी र निजी क्षेत्रको सहभागिता बृद्धि गरिनेछ भने पर्वतीय शिक्षा (mountaineering school ) को लागि सम्बन्धित निकायमा समन्वय गरिनेछ ।
● जिल्लाका स्वास्थ्य संस्थाहरुमा उपकरणहरु थप गरी वेड क्षमता समेत बिस्तार गरिनेछ ।
● दोलखालाई स्वास्थ्य पर्यटनको रुपमा विकास गरी कामकाजी मानिसहरुको आराम गर्न आउने र स्वास्थ्यलाभ लिने स्थानको रुपमा विकास गरिनेछ ।
● हाल ८० प्रतिशत दोलखालीले मात्र पाइप लाइनको खानेपानी प्रयोग गरिरहेकोमा १०० प्रतिशत पुर्याइनेछ ।
● जिल्लालाई क्रमशः खुल्ला दिसामुक्त क्षेत्र बनाइदै लगिनेछ र सरसफाइ चेतना अभिबृद्धि गरिनेछ ।
● जिल्लामा भएका वन क्षेत्र तथा निजी जग्गा समेतमा अमूल्य जडीबुटी खेतीको विस्तार तथा प्रशोधन, वनजन्य श्रोतहरुको संरक्षण तथा व्यवस्थापन, वन्य जन्तुहरु तथा जैविक विविधताको संरक्षण गरिनेछ । शैलुङ क्षेत्रको जैविक विविधताको संरक्षणका लागि उक्त क्षेत्रलाई समुदायद्वारा संरक्षण व्यवस्थापन विकास गर्ने नीति लिइने छ ।
● सदरमुकाम चरिकोटलाई आकर्षक पर्वतीय शहरको रुपमा विकास गर्न गुरुयोजना तयार गरिनेछ ।
● दोलखामा बसोबास गर्ने सबै जातिहरुको भाषा, धर्म, उनीहरुको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने नीति लिइनेछ । सीमान्तकृत समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि सङ्ग्राहलय निर्माण गर्ने नीति लिइनेछ ।
● समाजमा भयावह रुपमा देखिएका महिला हिंसा, लैङ्गिक विभेद तथा बालश्रम जस्ता समस्याहरुलाई न्यूनीकरण गर्दै लगिनेछ ।
● छुवाछुत, सामाजिक कुरीति तथा अन्ध विश्वासका कारण सिर्जना हुने विकृती तथा विसङ्गतीहरुलाई न्यूनीकरण गर्दै लगिनेछ । 
● सीमान्तकृत र पछाडि पारिएका समुदाय, महिला, उत्पीडित तथा दलित वर्ग, फरक क्षमता भएकाहरुलाई राज्य निर्माण तथा निर्णय प्रकृयामा सहभागी गराइ उनीहरुमा क्षमता र आत्माविश्वास अभिबृद्धि गरिनेछ । 
● युवाशक्तिमा रहेको बहुप्रतिभाको पहिचान गरी उनीहरुको रुचि र क्षमता अनुसार, अध्ययनशील, उत्तरदायी, जिम्मेवार, सिर्जनशील बनाइनेछ । युवाहरुलाई स्वरोजगार र उद्यमशील बनाउनका लागि सीपमूलक तालिम दिई युवाकोष मार्फत व्यवसायको लागि लगानी गर्ने नीति लिइनेछ । प्रत्येक गाविस र क्षेत्रमा रहेका युवाक्लव मार्फत युवा परिचालन गरी खेलकूद तथा अन्य सिर्जनशील कार्यक्रमहरु सञ्चालन गरी विदेशिने युवाहरुलाई स्वदेशमै उद्यम गर्न पे्ररित गरिनेछ ।
● भ्रष्टाचार विरुद्ध शून्य सहनशलिताको नीति अबलम्बन गरी विकास र प्रशासनमा सुशासन कायम गरिनेछ । 
● शान्ति र संविधानका लागि स्थानीय पहलकदमी बृद्धि गरी अगामी २ वर्षभित्र लोकतान्त्रिक संविधान जारी गरिनेछ । 

मुलुक अहिले ठूलो सङ्क्रमणमा छ । मुलुकका सामु लोकतान्त्रिक संविधान निर्माण गर्ने चुनौती छ । आम नागरिकमा दिगो शान्ति र विकासको प्रत्याभूति दिनुपर्ने चुनौती छ । प्रतिभा पलायन रोक्न सकिएको छैन । यसले शान्ति र विकासमा प्रतिकुलता थपेको छ । यसको लागि दिगो र भरपर्दो सरकार निर्माण गरी सङ्क्रमण कालको अन्त तथा शान्ति र विकासको बाटोमा मुलुकलाई लैजान जरुरी छ । मुलुकवासीको आर्थिक सामाजिक रुपान्तरणका लागि लगानीको वातावरण तयार गरी दुई अङ्कको आर्थिक बृद्धि हासिल गर्न स्थायी सरकारको विकल्प छैन । यो कार्यभार पूरा गर्ने क्षमता नेकपा एमालेसँग मात्र छ भन्ने यथार्थ क. मनमोहन अधिकारीको नेतृत्वमा ९ महिना एकल सरकार सञ्चालन गर्दा व्यवहारबाटै पुष्टी भइसकेको छ । यसको लागि नेकपा एमालेको स्पष्ट बहुमत आवश्यक छ र अगामी निर्वाचनमा दोलखाका दुईवटै क्षेत्रमा नेकपा एमालेले विजयी हुन जरुरी छ । त्यसैले सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका क्षेत्र नं. १ का उमेदवार क. पार्वत गुरुङ र क्षेत्र नं. २ का उमेदवार क. आनन्द पोखरेललाई अत्यधिक बहुमतले विजयी गराउन नेकपा एमाले दोलखा हार्दिक अपिल गर्दछ ।

‘दोलखाको सम्बृद्धि हाम्रो अभियान
सबैको पहिचान सूर्यमा मतदान’

  हार्दिक अभिवादन !
नेकपा एमाले, जिल्ला कमिटी दोलखा ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना