विद्यालयमा भर्ना अभियान सञ्चालन भईरहेको छ । पढाई सुरु नभएपनि विद्यार्थीहरु हरेक दिन विद्यालयमा आँउछन । समूहमा बसेर छलफल गर्छन । आगामी शैक्षिक सत्रमा कस्ता नियमहरु आवाश्यक छन भनेर लेख्छन । सबैले पारित गरेर भित्तामा टाँस्छन ।
दोलखाको काब्रे गाविसमा रहेको हनुमन्तेश्वर उच्च माध्यामिक विद्यालयमा अहिले विद्यार्थीहरु यस शैक्षिक सत्रमा आफ्ना लागि आवाश्यक नीति बनाउन लागेका छन । अघिल्ला वर्षहरुमा शिक्षकहरुले बनाईदिएको नियम विद्यार्थीहरुका लागि प्रभावकारी बन्न नसकेका कारण गत वर्षदेखि यस्तो अभ्यास थालिएको विद्यालयका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठले बताए । उनले भने ‘हामीले विद्यार्थीहरुमा अनुशासनका लागि अपनत्व जगाउनका लागि यस्तो अभ्यास थालेका हौं । यसले विद्यार्थीहरुको शिक्षणसिकाईमा सकरात्मक असर परेको छ ।’
कक्षा ९ कि छात्रा सुस्मिता दाहाल आफैंले नीति नियम निर्माण गर्दा कक्षाकोठामा विद्यार्थीहरु बढि अनुशासित भएको बताँउछिन । ‘नीति निर्माण गर्दा कुनै पनि शारिरिक दण्डको व्यवस्था गरेका छैनौं । आफैंले छलफल गरेर बनाएका नियमहरु मान्न साथीहरुले कुनै आनाकानी गर्दैनन्’, दाहालले भनिन । दाहालका अनुसार कतिखेर विद्यालयमा आउने, कक्षामा छुट्याइएको काम कसरी गर्ने ?, नगरेमा के गर्ने भन्ने लगायतका बुँदाहरु आचारसंहितामा उल्लेख गरिएका छन ।
विद्यार्थीहरु आफैंले गरेको आचारसंहिताले कक्षाकोठामा पठनपाठन गर्न निकै सजिलो भएको अनुभव छ शिक्षकहरुको । शिक्षक प्रभात नेपाल विद्यार्थी आफैं सक्रिय भएर नियम निर्माण गरेका कारण कक्षाकोठामा बालमैत्री शिक्षणसिकाई अपनाउन सजिलो भएको वताँउछन । ‘विद्यार्थीहरुलाई आफुले बनाएको नियम मान्न नैतिक दवाव पर्ने रहेछ । यसले कक्षाकोठमा शिक्षक विद्यार्थी सम्बन्ध पनि सुमधुर बनाएको छ’, नेपालले भने।
कक्षा १० मा अध्ययन गर्दै गरेका राजेश दाहाल आचारसंहिता निर्माणले विद्यालयको शैक्षिक वातावरणमा सकरात्मक योगदान दिन सहयोग गरेको वताँउछन । उनले भने ‘आचारसंहिता निर्माणका बखत शिक्षकहरु पनि सहभागी गराउने गरेका छौ । यसले शिक्षक विद्यार्थी सम्बन्ध सुमधुर बनाएको छ ।’
विद्यालयमा बालमैत्री शिक्षणसिकाईका लागि यो अभ्यास सुरु गरिएको विद्यालयका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठ बताउछन । गत वर्ष केही कक्षामा लागु गरिएको यो अभ्यास यस पटक निम्न माध्यामिक र माध्यामिक तहका सबै कक्षामा लागु गर्ने तयारी गरेको उनले जानकारी दिए ।
No comments:
Post a Comment