दोलखाको दक्षिणी गाविस भेड्पुकी टंकमाया श्रेष्ठ गाँउमा सञ्चालन भईरहेको प्रौढ कक्षामा नियमित जानेमध्येकी एक हुन । पढाईमा उनको जाँगर उल्लेखनीय छ । प्रौढ कक्षाकी स्वयंसेवक रजिता तामाङ भन्छिन ‘उहाँ(श्रेष्ठ)को पढाईप्रतिको मोह गज्जबको छ । दिउँसो बाख्रा चराउन जाँदा पनि किताब लिएर गएको मैले देखेको छु ।’
३ वर्षअघि काठमाण्डौ बस्ने छोरोले किनिदिएको फोनमा अहिले उनि डायरीमा लेखेको नम्बर थिचेर कुरा गर्न सक्छिन । सुरुमा छोरोले उठाउने र काट्ने तरिका सिकाईदिएको थियो । कस्को फोन आयो पत्तै नहुने । आफुले फोन गर्न पनि नसक्ने । ‘मोबाईल खेलाँउदा खेलाँउदै धेरै कुरा सिकियो । प्रौढ कक्षामा आएपछि त नम्बर कापीमा लेखेर राख्न सक्ने भएँ’, श्रेष्ठले भनिन् ।
साक्षरता कक्षाहरु वर्षा लाग्न लागेपछि सञ्चालन हुँदा मन लागेअनुसार पढ्न नपाएको श्रेष्ठको गुनासो छ । ‘केही मानिसलाई जागिर मात्रै दिनेगरि कक्षा सञ्चालन हुन्छ । हाम्रा लागि आउने कक्षा त हिउँदमा आए हुने नि ।’
अक्षर चिनेपछि धेरै कुरा जान्न पाएको उनले वताईन । ‘धेरै कुरा जानियो सर । पढ्नु र नपढ्नु एकै के हुन्थ्यो ?’
जिल्ला शिक्षा कार्यालय दोलखाले अभियानकै रुपमा साक्षरता अभियान सञ्चालन भएपछि अहिले गाँउगाँउमा साक्षरता कक्षाहरु सञ्चालन भईरहेका छन । कम साक्षरता भएका २६ गाविसहरुमा यस पटक सघन रुपमा कक्षा सञ्चालन भईरहेको दोलखाका सहायक जिल्ला शिक्षा अधिकारी नारायणभक्त काशिछुवाले जानकारी दिए । उनका अनुसार यसै वर्षको अन्तसम्म दोलखालाई पूर्ण साक्षर जिल्ला बनाउने गरि कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।
No comments:
Post a Comment