लाकुरीडाँडा गाविसकी ७० वर्षिय धनकुमारी श्रेष्ठ हिजोआज बारीको गहुँ थन्क्याउने काममा व्यस्त छिन । भूकम्पले खण्डहर बनाईदिएको घर नजिकै बनेको छाप्रोमा ५ परिवार बसोवास गर्छ । भत्किएको घरको काठ र जस्ता प्रयोग गरि नयाँ छाप्रो बनाएको उनले बताईन । “१० दिन लगायर बनाईयो गाँउमा काम गर्ने मान्छे छैनन् । ”
गाँउमा विभिन्न किसिमका मानिसहरु आएर सोधिखोजी मात्रै गर्दा स्थानियहरु झर्को मान्न थालेका छन् । भूकम्पसँगै पहिरोको जोखिम बढेपछि पेमडोल्मा तामाङ्गले बारीमा भएको आलु मासेर अस्थायी टहर बनाईन । “अरुलाई पर्खेर बस्दा वर्षामा विजोग हुन्छ”, उनले भनिन । उनका अनुसार गाँउमा सबैले बस्नका लागि अस्थायी घरको निर्माण गरिसकेका छन् ।
सरकारले भूकम्पपिडितलाई अस्थायी आवास निर्माणका लागि वितरण गर्ने भनेको १५ हजार रुपैंया जिल्लामा अझै वितरण हुन सकेको छैन । गाविस सचिवहरुले स्पष्ट कार्यविधी नभएसम्म गाँउमा रकम वितरण गर्न नसकिने भन्दै काम गर्न नमानेका कारण रकम वितरण हुन नसकेको हो ।
१ हप्ताभीत्र तामाकोशीसम्म सवारी सञ्चालन हुने ।
भूकम्पका कारण क्षतिग्रस्त भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनासम्म पुग्ने सडक १ हप्ताभीत्र सञ्चालनमा आउने भएको छ । आयोजनाले आयोजनास्थलदेखी भोर्लेसम्म सडकमा आएको पहिरो हटाईसकिएको कारण १ हप्तासम्ममा बाटो खुल्ने जानकारी दिएको हो । “सबैभन्दा ठूलो भोर्लेको पहिरो १ हप्ताभित्र हटाई सकिन्छ । त्यसपछि आयोजनास्थलसम्म सवारीका साधनहरु पुग्नेछन्”, आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार सडक मार्ग खुलेपछि मात्र आयोजनाको भएको क्षति विवरण संकलन हुनेछ ।
No comments:
Post a Comment