• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सिसडोलको शंका र संघियता

केहि समयअघि एक राष्ट्रिय दैनिक पत्रिकामा तस्विरसहितको समाचार प्राथमिकतासाथ छापियो । काठमाण्डौको फोहोर थन्क्याउने नुवाकोटको सिसडोलमा पाखा रसाएर कालो पानी बग्दै गरेको देखिन्थ्यो तस्विरमा । सोहि बारेमा थियो समाचार पनि । यसले त्यहाँको वातावरणको वर्तमान अवस्थालाई प्रष्ट पार्छ । यस्तो अवस्थाका बारे यसअघि कुनै पुर्वानुमान गरिएकै थिएन भन्दा पनि हुन्छ । अझै सुरुमा त ल्याण्डफिल साईटको उद्घाटन नै धुमधामसँग भएको थियो रे । उद्घाटन कार्यक्रममा बालबालिकाहरुलाई लहरै उभ्याएर फोहोर लैजाँदै गर्दाको तस्विर अझै सुरक्षित होलान यस क्षेत्रमा काम गर्नेहरुसँग ।

सिसडोल एउटा गतिलो उदाहरण हो नेपालमा कसरी हचुवामा काम हुन्छ भनेर । सिसडोलमा थुप्रने फोहोरका बारेमा सुरुवातमा नै गम्भिर छलफल भएको भए त्यसले अहिले पहाडमा पानीको मुल फुट्नको सट्टा कालोपानी आउँदैनथ्यो । स्थानीयले पटक पटक फोहोर बोकेका गाडी रोक्नु पनि पर्दैनथ्यो होला । अहिले यस्तो समस्या भोग्नुपर्छ भन्ने लागेको भए उनिहरुले सुरुमा फोहोर बोकेर गएका गाडीहरुलाई फुलमालाले स्वागत गर्ने पनि थिएनन् होला । सुरुमा ल्याण्डफिल साइट बन्दा हुन सक्ने समस्याका बारेमा स्थानीयलाई जानकारी गराइएको भए उनिहरुले अहिलेसम्म त्यसबाट बच्ने उपायहरुका बारेमा विकल्पहरुको खोजी गरिसकेका हुन्थे । फोहोर बोकेर गएका गाडीहरु रोकेर काठमाण्डौलाई दुर्गन्धित बनाउन पक्कै लाग्दैनथे ।

नेपालमा विगत हेरेर सिक्ने चलन छैन नै । वर्तमानमै पनि ठेस खाइसकेपछि पनि वुद्धि नीतिनिर्माताहरुमा आउने गरेको छैन । सिसडोलबाट धेरै कुरा सिक्न सकिन्थ्यो । कसैले सिकेकै छैन भन्दा पनि हुन्छ । छिमेकीहरुले प्रगतिको शिखर चुम्दा पनि अझै गाँउमा बोक्सी आरोपमा मान्छे मारिएको त्यसै हैन नि !

पछिल्लो समयमा नेपाली राजनीतिमा अनौठो विशेषता हावी हुँदै गएको छ । राजनैतिक दलका नेताहरु नै अलमलमा रहेका विषयहरुमा हामी संवैधानिक व्यवस्था नै गर्छौं । संविधानमा उल्लेख नै गरिएका विषयमा समुदायमा छलफल गर्न निशेध नै गरिएको हुन्छ । त्यसको सकरात्मक पक्षका बारेमा जयजयकार गर्नु मात्रै बहस हो भन्ने बुझाई छ । केन्द्रमा रहेका नेतृत्वमा पनि यसका बारेमा कर्मकाण्डी बहस मात्रै भएको देखिन्छ । यसले गर्दा जव त्यो सर्वसाधारणहरु कहाँ छलफल हुने अवस्थामा पुग्छ । यसपछि मात्रै यसका पक्ष विपक्षमा वहस हुन लाग्छ । यो बहस त्यसबेलामा भएको हुने गरेको छ जव हामी त्यसवाट पछि फर्कनै नसक्ने अवस्थामा पुगिसकेका हुन्छौं।

नेपालका राजनीतिक मुद्धाहरु मात्रै हैन सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रका मुद्धाहरुको अवस्था पनि त्यस्तै छ । विकास गर्ने भनेर गरेका कामहरु पनि समयक्रममा विनाश प्रमाणित भएका छन् । नेतृत्वमा रहनेहरुको अदुरदर्शिताका कारण एउटै रकममा हुन सक्ने विकासका काममा दशौंगुणा वढि बजेट खर्च भैसक्दा पनि त्यसको नतिजा हात परेको हुँदैन । काठमाण्डौको ढल र सडकको कुरा हेरे पुग्छ नेपालको विकास । देशको राजधानी सहरमा एक साल सडक विस्तारको काम हुन्छ । अर्को साल विद्युत पोल निर्माणको । अर्को साल ढल व्यवस्थापनको । यसले गर्दा एउटा काम एक वर्ष पुरा हुन्छ अर्को सालमा भत्काइन्छ ।

१ दशक पुरा भयो नेपालको संविधानमा संघियता शब्द राखिएको । हामी संघिय व्यवस्था लागु गर्ने चरणमा छौं । यसको सुरुवातमै गम्भिर दुर्घटनाका प्रष्ट संकेतहरु देखा परिसकेका छन् । नेता निषेधित क्षेत्र घोषणा गर्ने, प्रहरी विट जलाउनेजस्ता क्रियाकलापहरुले उज्यालो भविष्यलाई संकेत गर्दैनन् । अझै यो प्रकृया कार्यान्वयनमा गइसकेको छैन । कार्यान्वयन हुँदै गर्दा हुने अझै गम्भिर प्रकारका क्रियाकलापहरुको नेतृत्वले हेक्का राखेको छैनजस्तै देखिन्छ । मनन गर्नैपर्ने विषय चाँहि के हो भने नचिनेर नजानेर छोए पनि आगोले पोल्छ, अझै खेलाँची गरीए परिणाम खरानीमा गएर टुङ्गिन्छ ।

गाडीमा चढेका हरेक यात्रीहरुको हैसियत समान हो । चालक दलको जिम्मेवारी अरुको भन्दा विशिष्ट खालको हुन्छ र धेरै पनि । क्रान्तीकारी हुने नाममा चालकलाई अन्य यात्रीसरह ठान्ने र सो अनुरुप व्यवहार गर्ने हो भने त्यसले निम्त्याउने दुर्घटना मात्रै हो । यत्ति सामान्य समझ हुनका लागि ठूला ठूला ठेली पल्टाइरहनु आवाश्यक छैन । हामीले खोजेको परिवर्तन आजभन्दा खराब अवस्था भोग्नका लागि हैन । सके राम्रो नसके यहि अवस्थामा रहनका लागि हो ।

अन्तमा, सबैले खोजेको प्रगति हो । प्रगति कुनै वाद वा सिद्धान्तका आधारमा निर्धारण हुने हैन । नेतृत्वमा असल नियत र कार्य गर्ने तत्परता भए असम्भव मानिएका योजना पनि पुरा हुन सक्दा रहेछन । गत साल हावादारी योजना भनि उडाइएको लोडसेडिङमुक्त राजधानी कुलमानको कुशल नेतृत्वका कारण यथार्थमा परिणत भयो । देशमा विकास गर्न संक्रमणकाल र संघियता अरु अरु कारणहरुले रोकेको छैन । यत्ति सामान्य सत्यलाई स्विकार गर्न अव यो देशमा के के हुनु पर्छ ? विवेक लिलामी नगरी बहस सुरु गर्न अवेर भएन र ?
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना