• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

टाउको उठाउने प्रयासमा लाङटाङ

१ वर्ष अगाडी भूकम्पले खण्डहर बनाइदिएको घरमा पेमा डोण्ड्रुप तामाङ केहि खोजिरहेका थिए । भग्नावशेषबाट उनले एउटा लुगा निकाले र हेरे । यो उनको ट्राउजर थियो । ट्राउजरजस्तै १ वर्षसम्म नसड्ने सामाग्रीमात्रै भग्नावशेषमा बचेका थिए । बचेका सामाग्रीहरु पनि पुन प्रयोगमा ल्याउन सकिने अवस्थामा थिएनन्, गाह्रोमा भएका ढुङ्गा र नभाँचिएका काठबाहेक ।

२०७२ बैशाख १२ गते आएको भूकम्पले पेमाको गाँउ लाङटाङमा भएका सबै घरहरु खण्डहर बनाइदिएको छ । उनको घर नजिकको एउटा बस्ति त पुरै माटोले पुरिएको छ । भूकम्पको कम्पनले गाँउमा रहेका १ सय ३० मध्ये एउटा घरमात्रै उभिएर रहेको छ । त्यो पनि धराप अवस्थामा ।

रसुवा जिल्लाको लाङटाङ एक पर्यटकिय गन्तव्यका रुपमा परिचित ठाँउ हो । राजधानी काठमाण्डौबाट १ सय २१ किलोमिटरको सडक यात्रापछि स्याफ्रुबेसी पुगिन्छ । यस ठाँउबाट लाङटाङ पुग्न २ दिन पैदल यात्रा गर्नुपर्छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार वर्षमा १३ हजारको हाराहारीमा पर्यटकहरु लाङटाङ पुग्ने गर्दथे । यस ठाँउमा अर्थिक वर्ष २०७१/७२ मा १२२६५, २०७०/७१ मा १२५५२ र २०६९/७० मा १३३७० जना पर्यटक पुगेका थिए ।

भूकम्पमा परेर यस गाँउका स्थानीय वासिन्दा, पर्यटक, नारायण दल गुल्मका सैनिक समेत गरेर ३ सयभन्दा धेरै मानिसहरुको मृत्यु भएको अनुमान गरिएको छ । धेरै मानिसको लास हालसम्म पनि फेला पार्न सकिएको छैन । स्थानीय सुब्बा तामाङका अनुसार भूकम्पका कारण भन्दा पनि भूकम्पका कारण हिमालबाट खसेको हिमपहिरोका कारण यत्ति ठूलो क्षति भएको हो । "भूकम्पले मान्छे मारेको हैन । हिउँले हो," उनले भने ।
 
सुब्बाले बताएको कुरालाइ अध्ययनहरुले समेत पुष्टी गरेको छ । हिमालहरुका बारेमा अध्ययन गर्ने संस्था एकिकृत पर्वतिय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)का अनुसार भूकम्पपछि गएको हिमपहिरोले ७० लाख घनमिटर हिउँ तथा माटो लाङटाङमा थुपारेको थियो । उक्त संस्थाले तयार गरेको रिपोर्टमा रसुवा जिल्लामा ३५ ठाउँमा भूकम्पपश्चात पहिरो गएकोमा लाङटाङमा गएको पहिरो जिल्लाका सबैभन्दा ठुला तीनमध्येको १ हो ।

समुन्द्री सतहबाट ३५६८ मिटरको उचाइमा रहेको लाङटाङ भूकम्पअघिसम्म गुलजार बस्ति थियो । यस ठाउँमा नेपालमै पहिलोपटक याक चिज उत्पादन गर्ने उद्योग स्थापना गरिएको थियो । सन् १९५४ मा स्विस नागरिक इमिल सुल्थेसको सहयोगमा स्थापना भएको यो उद्योग भुकम्पसम्म निरन्तर सञ्चालनमा रहेको सञ्चालक ग्याल्बो तामाङले बताए । "भूकम्पपछि लाङटाङ गाविस नै मानवविहिन भयो । ३ महिनापछि फर्किएर आउँदा उद्योगमा रहेका सबै सामाग्रीहरु बिग्रिइसकेछन् ।"

स्थानीयहरु पुननिर्माणमा जुट्न लागेका छन् । सरकारको तर्फबाट प्राप्त हुने राहतले झनै अप्ठ्यारो पारेको उनिहरुको भनाइ छ । स्थानीय सुब्बा तामाङ भन्छन् "सरकारले गाईलाई नुन दिएजस्तो १५ हजार दिन्छ।" सरकारले पुननिर्माणका लागि गरिरहेको काममा पनि उनको चित्त बुझेको छैन । "२ लाख दिन्छु भन्छ । ४०, ५० लाखको इष्टिमेट छ (उपलब्ध गराएको नक्साको)।"

पुननिर्माणमा सरकारी नीतिनियमको पासोले स्थानीयको घाँटी त अँठ्याएको छ नै । अन्य सरकारी निकायको रवैयाले पनि स्थानीयहरु आजित छन् । गाँउमा २०० रोपनीमा खेती गरिने जग्गा छ । गाँउलेले खेति लगाएका छैनन् । राष्ट्रिय निकुञ्जबाट आउने बँदेलले नष्ट गरिदिने गरेकोले गाँउलेले खेति नगरेका हुन् । "बँदेलले जोतेर दूख दिन्छ । मारे निकुञ्जले चेप्छ", छिमे तामाङले भने । यो ठाँउ लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्दछ । निकुञ्जको वार्षिक प्रतिवेदनमा लाङटाङमा बँदेलले वर्षेनी प्रति परिवारको ४ सय १० अमेरीकी डलर बराबरको क्षति गर्ने उल्लेख गरिएको छ ।

पहिरोले पुरेका घरमा पुरीएर लास निकाल्न नसकेका ठाँउमा वौद्ध परम्पराअनुसार लुङ्दार राखिएको छ । उजाड चउरका छेउमा पानीको सानो पोखरी छ । लाग्छ यो पोखरीमा जम्मा भएको तरल पदार्थ पानी हैन। सरकारी तथा गैरसरकारी उदासिनता र आफन्त वियोगमा स्थानीयले पोखेका आशुँ हो । 
 
इक्वेल याक्सेस नेपालले आयोजना गरेको खोज पत्रकारीता तालिमका सिलसिलामा तयार पारिएको यस समाचारका अधिकांश तथ्यहरु मोहन मैनालीले स्थलगत रुपमा खिचेका भिडियो फुटेज तथा फोटोहरुमा अाधारित छन् । समाचारमा प्रयोग गरिएको तस्विर साउथ एसिया चेक बाट लिइएको हो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना