• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

पराकाष्ठा पाखण्डपनको !

प्रधानमन्त्री खड्गप्रसाद ओली अहिले सबैभन्दा बढि विवादमा छन् । पौष ५ मा संसद विघटन गरेर १२ फागुनमा सर्वोच्चले सो कदम असंवैधानिक ठहर गरेपछि उनीमाथि सबैले नैतिकताको प्रश्न उठाइरहेका छन् । नैतिकताको प्रश्न उठिरहेकै बेला मलाई भने हामी कस्तो समाजमा छौं भन्ने प्रश्नमा घोत्लिन मन लागेको छ । 


सुरुमा केहि आफ्नै कुरा !

एउटा समूहमा काम गर्ने गर्थ्यौं । काम गर्ने कार्यालय, बैठक लगायतका काममा लाग्ने खर्च एउटा संस्थाले दिन्थ्यो । हामी देशका धेरै जिल्लाका साथी त्यसमा संलग्न थियौं । मुलत राजनीतिक उत्तरदायित्वको क्षेत्रमा काम गर्ने गर्थ्यो संस्थाले । समय वित्त्दै गयो । संस्था नेतृत्व गर्ने साथीहरुसँग सम्पर्क पनि पातलो हुँदै गयो । बेला बेला काम गरिरहेका साथीहरुसँग कुरा हुँदा यसको औपचारिक रुपमा दर्ता हुनुपर्छ भन्ने गर्थें । उनीहरु भन्थे हैन यसै ठीक छ । दर्ता गरेर किन झञ्झट बेहोर्नु !

केहि समयअघि मैले थाहा पाएँ । राजनीतिक नेतृत्वको जवाफदेहिता खोजिरहेको संस्था त सुटुक्क ५ वर्षअगाडि नै दर्ता भैसकेको रहेछ । त्यसका नेतृत्वलाई यसका बारेमा सोधेको उनीहरुले त्यसको जवाफ दिन चाहेनन् । संस्थामा खटिएर काम गर्ने साथीहरु अझै संस्था विना दर्ता चलिरहेको छ भन्नेमै थिए । दर्तावाल संस्थाको वेबसाइट हेर्नुभयो भने उसले यो देश बनाउन सबैभन्दा ठूलो सहयोग पुर्‍याएको लेखेको छ । संस्था दर्ता गर्नेहरु नेपालको राजनीति किन बनेन ? नेतृत्व किन जवाफदेहि हुनुपर्छ भनेर विभिन्न सामाग्री राख्छन् । तर उनीहरु चाँही जवाफदेही हुन नपर्ने ? प्रधानमन्त्रीले गलत गरे भन्नेले आफू इमानमा अडिएको छु भन्न चैं नपर्ने हो ? संस्थामा सँगै काम गर्नेलाई गुमराहमा राखेर कदम चाल्नेले त्यस्तै काम गर्ने प्रमको खोइरो खन्न मिल्छ ?

प्रधानमन्त्रीको कदमपछि सामाजिक सञ्जाल धेरै तरङ्गित भयो । फेसबुकमा प्रधानमन्त्री गलत गरे भनेर रोइला गर्नेहरुमा मेरा एक परम मित्र पनि थिए । दाताबाट आएको पैसाले स्थानीय सरकारको जवाफदेहिता खोज्ने उनले नेतृत्व गरेको संस्थाको मूख्य काम थियो । एक दिन उनको संस्थामा बजेट कति आउँछ कसरी खर्च हुन्छ भनेर चिया गफमा सानो जिज्ञासा मात्रै राख्देको । हामीबीचको सम्बन्धै चैट । उनका फेसबुक स्टाटस अध्ययन गर्दा सम्भवत उनले भोली सुशासन अवार्ड हात पार्न बेर छैन । किनभने सामाजिक सञ्जालका रहेका सामाग्रीका आधारमा अहिले मानिस तथा संस्थाको मुल्यांकन हुने गर्छ ।

यस्ता घटनाहरु भोगेपछि लाग्छ । हामी शक्ति पाएका बेलामा सक्दो दुरुपयोग गर्छौं । हामीलाई कसैले औंला ठड्याउन लागे रिस उठ्छ । हामी आफूले जे गरे पनि हुन्छ भन्ठान्छौं । मन परेका मान्छेले मान्छे नै मारे पनि फरक नपर्ने, मन नपर्नेले आँखा तरे पनि अपराध हुने भन्ने जमातले नै ओलीजस्ता नेता जन्माउने हो । जन्माएकै छ । 

ओलीले संविधान मिचेको कुरा प्रष्ट थियो । तर त्यसको विरोध गर्ने कुरामा जुन तरिकाहरु अपनाइए । तिनले फेरीपनि हामीलाई पिरोल्नेछन् भोली पर्सी । पिरोलेनन् भने त हुनुसम्म भइगो । संविधानका धाराको व्याख्या सडकबाट गर्ने, सम्पादकहरुले इजलासमा सोधिएका प्रश्नको उत्तर दिने, नेताहरुले सार्वजनिक मञ्चबाटै छिमेकी देशको सहयोग माग्ने, आकाशै खसेको धर्ती नै फाटिएको जस्तै अवस्था देखाएर सामाग्री दिने, हुँदाहुँदा प्रधानमन्त्रीको कदम सदर भएमा छिमेकी देशले गर्दा हुन्थ्यो भन्नेसम्मका सामाग्री प्रकाशन प्रसारणले भोली कुनै दिन त हामीलाई पोल्ला नै । २०४६ को आन्दोलन सुरु हुने बेलामा भएको चाक्सीबारी भेलामा छिमेकी देशका नेताले गरेको भाषणको ऋण अहिलेसम्म तिर्नुपरिरहेको छ भन्ने अग्रपंक्तिको राजनीति गरिरहेकै नेताबाट सुन्ने गरिएकै छ । 

नेता कस्तो बन्छ भन्ने कुरा तत्कालिन समाजको व्यवहारले निर्धारण गर्छ । साधुहरुको नेता चोर बन्न सक्दैन । बने पनि त्यो समाजमा टिक्न सक्दैन । यसै कारण ओलीलाई हामीले नेता बनाएका हौं । उनको स्वभाव पनि हाम्रैजस्तो छ । हिजो माओवादीको उग्र विरोध गर्दा हामी कसैले उनलाई माओवादी पनि राजनीतिक दल हो । उसलाई यो हदको अपमान गर्नु हुँदैन भन्न सकेनौं । माओवादीसँग सहकार्य गर्ने भन्दा के सिद्धान्तका आधारमा गर्ने ? किन गर्ने ? भनेर कसैले सोध्न सकेनौं । अझ ओलीलाई भगवान बनाउन थाल्यौं । यो सबैभन्दा ठूलो पाखण्ड थियो । अहिले ओली सबैभन्दा गलत । अरु सबै ठीक भनेर जुन धारणा समाजमा बनाइँदै छ । यो अर्को पाखण्ड हो । यस बखतमा एकजना पुराना राजनीतिज्ञले भनेको कुरा यहाँ प्रासङ्गिक हुन आउँछ । व्यवस्था परिवर्तन भएपछि भेट्न गएका पत्रकारलाई उनले भनेका थिए रे 'नेता यिनै हुन, समाज यहि हो, छिमेकी यिनै हुन् । तिमीहरुले ज्यान दिएर फेरेको व्यवस्थाले कसरी काम गर्दो रहेछ हेरौंला न !'

अन्तमा, यसो हेर्‍यो भने समाजमा द्वैध चरित्रको बोलवाला छ । चियागफ र सामाजिक सञ्जालका भित्तामा देश बनाउने महान विमर्श गरिरहेको शिक्षक आफुले विद्यालय नटेकी तलब पाए हुन्थ्यो भन्ठान्छ । पढाउनु परको कुरा । नेतृत्वलाई आदर्श छाँटीरहेको समाजको अगुवा आफुलाई कसैले प्रश्न सोध्न हुँदैन भन्ने मान्यता पालेर बसेको छ । सरकारी कार्यालयमा समयमै र विना झञ्झट काम भयो भने आफुलाई धन्य मान्नुपर्ने अवस्था छ । कमाईको देखिने कुनै श्रोत नहुनेका जीवनशैली हेर्दा अत्यास लाग्छ । सबै सबै कुरा हेरेपछि लाग्छ अहिले हामी पाखण्डपनको पराकाष्ठा भोगीरहेका छौं । यसो हुनुमा राजनैतिक नेतृत्वको जति हिस्सा छ । त्यत्ति नै हिस्सा हाम्रो पनि छ । हामी नसच्चिएसम्म एउटा नेता जालान त्यसका ठाउँमा उस्तै अर्का पाखण्ड नेता आउँछन् । नागरिकको जीवनमा कुनै पनि फरक पर्नेवाला छैन । सर्वसाधारणको जीवन सुधारका कुरा केवल नेताको जनता झुक्याउने कुटिल चाल मात्रै हुनेछन् ।
हामी सबै ‘डबल रोल’ खेल्छौँ अनि नेतालाई मात्र गाली किन ? शिर्षकमा इकागज अनलाईनमा फागुन १९, २०७७ ८:१४ बजे प्रकाशित लेख

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना