• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कुबेलाका कुरा !

कैलेकाँहि बडो विचित्रको अवस्था सिर्जना हुन्छ । जस्तै यो लेख लेख्ने समय ।
 
कोरोनाको महामारीमा राजनीतिक लेख । त्यो पनि अहिले कसैले नाम सुन्न नचाहेका तर हरहमेशा सुन्नु परिरहेका केपीका बारेमा ! त्यसमा पनि विरोध हैन समर्थनको !
 
एक महिनाजति अगाडि काठमाण्डौ पुगेका बेला यो लेख लेख्ने विचार मनमा आएथ्यो । विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको नजिकै पुराना केपीको पोष्टर देखेर । अनामनगर छिर्ने आकाशे पुलमा पोष्टर देखेपछि केहि लेख्नुपर्छ भन्ने लाग्यो । शिर्षक सोचेको थिएँ । ती केपी र यी केपी । तर वहानावाजीमा त्यसबेला लेखिएन । अव नलेखी भएन भन्ने लागेका बेलामा यसको सान्दर्भिकता त्यहि बेला जस्तै नहुन पनि त सक्छ । 

भर्खरैको कुरा, केपीले अन्तराष्ट्रिय समाचार संस्था सिएनएनलाई अन्तवार्ता दिए । उनले नेपालमा कोरोना नियन्त्रणबाहिर गएको छैन भने । उनको यो भनाईलाई लिएर सामाजिक सञ्जाल रमाइलो भएको छ । उनको यो भनाईलाई लिएर विभिन्न सामाग्री बनेका छन्  । जुन हेर्दा, पढ्दा र सुन्दा हाँसो उठ्छ अनि दिक्क पनि लाग्छ । 

आफैं हलुका भएर हो वा के हो प्रधानमन्त्रीलाई गम्भिर रुपमा लिईन्न । अहिलेमात्र हैन नाकाबन्दीका बेलामा भूकम्पले थलीएका बेलामा पनि उनै प्रधानमन्त्री थिए । त्यसबेला पनि अवस्था यस्तै यस्तै थियो जस्तै लाग्छ जस्तो अहिले छ । यहाँ तेल नपाएर गाडी चलाउन पाइएको छैन । प्रधानमन्त्री पानीजहाजका कुरा गर्ने ? मानिसहरुले त्यसबेला यस्तै यस्तै भन्थे । 

प्रधानमन्त्रीकै पक्षमा थप २/४ लाईन । कोरोनामा हामीले सरकारले जसरी काम गर्नुपर्छ भन्ने सोच्यौं, त्यो भएन । तर केहि काम नै नभएका हुन् र ? पक्कै पनि विपदको तयारी यो भन्दा राम्रोसँग गर्न सकिन्थ्यो होला । तर अहिले तयारी नै नभएको हो र ? सामान्यतया औषधीहरुको उत्पादन पनि एउटा प्रक्षेपणका आधारमा गरिन्छ । त्यो प्रक्षेपण नाघेपछी बजारमा सिटामोलजस्तो सामान्य अवस्थामा प्रयोग हुने औषधी पनि पाईंदैन । यो विश्वव्यापी विपदका बेलामा अन्य सामान्य अवस्थाका बेलामा झैं ‍सबैकुरा पाइन सम्भव छ र ? 

घरमा अभिभावकले ल अव म केहि गर्न सक्दिन । जे जे गर्ने हो गर भनेका दिन आँट भएका परिवारका अन्य सदस्यले पनि कुनै काम गर्न सक्दैनन् । देश पनि एउटा परिवार न हो । यसमा हामी भयावह स्थितिमा छौं । परिस्थिति हाम्रा हातबाट बाहिर गइसक्यो भनेर प्रधानमन्त्रीले भनेको भए २४/२४ घण्टा पिपिइमा बाफिएर काम गर्ने स्वास्थ्यकर्मीले के सोच्थे होलान् । शव व्यवस्थापनको जिम्मा लिएको सेनाले के सोच्थ्यो होला । परिवारलाई यहाँ केहि भएको छैन चिन्ता नगरी बस्नु भनेर काम गरिरहेको सुरक्षाकर्मी, कर्मचारीले अवका दिनमा कुन मनोबल लिएर काम गर्थे होलान् ?

हुन त यो बेलामा केपीका बारेमा बोल्नु भनेको ५९/६० सालतिर माओवादीले व्यक्तिहत्या गर्नु गलत भन्नु जस्तै हो । यो भनेको ६५/६६ सालतिर जातिय अग्राधिकारसहितको राज्यका विरोधमा कुरा गर्नु जस्तै हो । तरपनि अर्को अकाट्य सत्य के हो भने राजनीतिमा दाउपेचहरु भैरहन्छन् । जिते हाईहाई, हारे कुनाको बसाई ! जसले केपी ओलीलाई तह लगाउने सामर्थ्य राख्छ उ निधाएको छ वा निधाएजस्तो गरिरहेछ । बल खुट्टैमा भएको खेलाडीले प्रयोग नगरेपछि दर्शकले जतिसुकै ठूलो स्वरमा हुटिङ्ग गरे पनि हुने के नै हो र ! धेरै भए हुटिङ्ग गर्नेकै स्वर बस्ला !

अव अर्का केपीको कुरा गरौं । कृष्णप्रसाद भट्टराई । जसले आफुसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि पार्टीका खिचलोका कारण राजीनामा दिए । त्यसबेला संसदमा दिएको मन्तव्य यहि इकागजले छापेको थियो । त्यसमा उनले भनेका थिए 'मुलुक नसोचिएको संकटको अवस्थामा छ । यो संकटको अवस्थाको कारण कहीँ बाहिर छैन– हामीभित्र नै छ । यसमा पध्दतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ ।'

नेपाली राजनीतिमा सामान्य चासो राख्नेलाई भलिभाँती थाहा छ । त्यसपछि केपीको हालत के भयो । उनले पार्टीमा कुनै ठाउँ पाएनन् । लगभग गुमनाम भए । गाईजात्राका क्यासेटहरुमा उनले चर्चा गरेको मेलम्चीका बारेमा थुप्रै प्यारोडीहरु बनाइए । तर मेलम्ची आएपछि उनलाई जिउँदो छँदा लखेट्ने कांग्रेसीहरुले पनि उनका बडे बडे फोटा राखेर पोष्टर बनाए । पुराना दिनमा बोलेका भिडियो संकलन गरे र भने हेर त हाम्रा नेता कति दुरदर्शी थिए !

अन्तमा, राजनीतिमा समस्या छन् । यसैलाई देखाएर नेपाल पुरै खत्तम छ । सबै व्यवस्था खत्तम छ भन्ने सोच अतिवादी सोच हो । अतिवादी सोचले बहसहरु नियन्त्रण गर्छ । यसले आफुले सोचेजस्तै सबैले सोच्नपर्छ भन्ठान्छ । त्यस्तो नसोच्नेलाई प्रतिगमनकारी देख्छ । 

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै सबैका कुरा सबैले सुन्न सक्ने वातावरण हो । विचारहरुसँग सहमत/असहमत हुनु आफ्नो स्वतन्त्रता । बिट मार्दैगर्दा फेरी केपी कै कुरा 'यसमा पध्दतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ ।'

यो लेख इकागज अनलाईनमा कुबेलामा लेखिएको एउटा लेख ! शिर्षकमा बैशाख २८, २०७८ १८:२३ बजे छापिएको थियो ।  

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना