• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

अराजकताको आगो, इनेगिनेको उकेरा!

लेख्ने कि नलेख्ने दोधारै थ्यो। इकागजले ‘सभामुखलाई हान्न माइक तानें, मौका मिलेन आज टाउको नै फुटाउँथे’ शीर्षकमा समाचार लेखेपछि त लेख्नै परो भन्ने भो। सुरुमा केहि पुराना प्रसङ्गहरु।अलिकति सावधानी गराउँ, यी प्रसङ्गले तपाँइलाई विचलित बनाउन पनि सक्छ।


१.

“......... म १४ वर्षको थिएँ। बुबा सरकारी विद्यालयमा शिक्षक हुनुहुन्थ्यो। बुबा तालिम लिन सदरमुकाम जानुभएको थियो। सदरमुकामबाट फर्किएपछि माओवादी हाम्रो घरमा आए र बुबासंग कुराकानी गरे। त्यसको २ दिनपछि रातको १० वजेतिर माओवादी हाम्रो घर आए र बुबालाई लिएर जान लागे। हामी सबै रुन लाग्यौं। माओवादीले हाम्रा बुबालाई घरबाहिर निकालेपछि हामी पनि पछाडी लाग्यौ। माओवादीले बुबालाई खाँबामा वाँधे। हामी परिवारका सदस्य सबैलाई पनि खाबाँमा बाँधे र कञ्चटमा वन्दुक तेर्साइयो। हाम्रा अगाडी नै बुबाको घाँटी रेटेर हत्या गरियो। मलाई अहिले पनि घटना सम्झेर जीउ काम्छ। बुबाको हत्या भइसकेपछि रात हामीले दाम्लोमा नै बाँधीएर वितायौं। विहान गाँउले आएर हाम्रो दाम्लो खोले। माओवादी त्रासका कारण हामीले बुबाको मलामी पाएनौं। मुस्किलले नौ जना मात्र भए .....।”


२.

मेरा श्रीमान जिल्ला हुलाक कार्यालयमा काम गर्नुहुन्थ्यो। ५८ सालमा कामको सिलसिलामा सरकारी सुरक्षाकर्मीबाट उहाँको हत्या भयो। सेना पुलिसले मार्‍यौं भने। मलाई घटना सम्झँदा अझै डर लाग्छ। त्रासकै कारण मैले श्रीमानको काजक्रिया पनि गर्न पाईन। तँ माओवादीकी स्वास्नी होस। माओवादीले नै दिन्छ भने। राज्यले केही दिएको छैन।


श्रीमान नै गुमेपछि मलाई सुख होला त ? एक छाक नुन किनेर लैजाने क्षमता मसंग छैन। न राज्यले सहयोग गर्छ, न पार्टीले। बसेर बोले सुन्दैनन। उठेर बोले हावाले उडाँउछ। 


तपाँईहरु मलाई यस्ता बैठकमा वोलाउनुहुन्छ। म एक छाक खा’र जान्छु। यसले घरमा भ’का मेरा सासु ससुरा अघाउनुहुन्छ ? 


माथीका २ प्रसङ्ग १० वर्षअघि आयोजित कार्यक्रमहरुमा सुनिएका हुन्। द्वन्दकालिन समयमा प्रत्यक्ष पिडा भोग्ने हजारौं पिडितहरुले यस्तै र अझै योभन्दापनि गम्भिर घटना भोगे। उनीहरुले सार्वजनिक कार्यक्रममा राखेको भनाइबाट उक्त प्रसङ्ग लिइएको हो।  पढ्दै गर्दा पिडकहरुप्रति तपाँइमा घृणा जाग्यो वा त्यो महान बेलाका यस्ता घटना विर्सनुपर्छ भन्ने लाग्यो ! यो लेख यिनै प्रश्नहरुमा आधारित छ।


यसो लाग्छ। अहिले जस्तै फोटो र भिडियो खिच्ने मोबाइल भएका भए माथिका घटनाहरु भिडियो खिचिन्थे। सामाजिक सञ्जालमा भाइरल बनाइन्थ्यो। आफ्नो पक्षका भए ताली र विपक्षका भए गाली गर्थ्यौं हामी। तर पिडितलाई यस्ता कामले झन पिडा हुन्छ। दोषीलाई कारवाही हुनुपर्छ भन्ने त कुरै हुँदैनथ्यो। जसरी सभामुखलाई हातपात गर्छु भन्ने माननीयलाई हाम्रा समाचारमाध्यमले महत्व दिएर समाचार बनाइरहेका छन्। 


अव यसरी सोचौं यो पिडित हामी आफैं भएको भए पिडक समाजमा छात्ती तन्काउँदै हिँड्दा कस्तो अनुभव हुन्थ्यो ? अझ उसैले मैले त्यसलाई यसरी हमला गरें भनेर सञ्चारमाध्यममै भनाई राख्दा कस्तो हुन्थ्यो ? सञ्चारमाध्यमले यसरी पिडितलाई पिडा दिने सामाग्री प्रकाशन वा प्रसारण गर्न कसरी मिलिराखेको छ ?


सभामुखको कुरा केन्द्रको भो। अलिकती छेउछाउका कुरा गरौं। पछिल्लो समयमा भाइरल भएका केहि घटनाहरु। वडाध्यक्षलाई जनताले पोलमा बाँधेर कुटे। बाटो हिलो भएपछी पालिका अध्यक्षको जनताले कठालो समाए। कठालो समाउनेले मिडियामा सगर्व अन्तरवार्ता दिए। मिडियाले पनि कुटाइ खानु नै पर्थ्यो भन्ने एंगलको सामाग्री प्रकाशन प्रशारण गरे। आचारसंहितामा खरो उत्रनुपर्ने मिडियाले उकेरा लगाइदिएपछि पिडकले सामाजिक सञ्जालमा त्यसरी कठालो समातेर मैले गज्जबै गरें भनेर लेखे। तलतिर कमेन्ट गर्नेहरु लगभग उनकै कुरामा ताली लगाइरहेका थिए। समाज अझै जंगलीराजमै छ कि २१ औं शताब्दीमा ! 


राजनीति कुहिएर गन्हाएको छ। सबै कुरामा राजनीतिमात्र जोडेर हामीले समाज अराजक बनाउन उकेरा थपिरहेका छौं। समाजमा वडाध्यक्षलाई पोलमा बाँध्ने र अध्यक्षको कठालो समात्ने व्यक्ती नायक हुँदैछ। सञ्चारमाध्यम यस्तै अराजक भिडलाई नायक बनाएर प्रस्तुत गरिरहेको छ। यस्ता घटनामा राजनीति मिसाइदिएपछी त झन सामसुम। यसैगरी अगाडि बढ्दा हामी पुग्छौं कहाँ ? भोलीको समाज बन्छ कस्तो ?


हुन त इकागजको समाचारमध्ये सभामुख कुट्न खोज्ने माननीयको समाचार नै धेरै पढियो होला। त्यसमा प्रतिकृया जनाउनेले पनि गज्जब भने होलान्। आफुलाई लाग्नेवित्तिकै फैसला गरेर कानुन हातमा लिने कुरा जति गम्भिर अपराध हो। त्यसको प्रोत्साहन उत्तिकै गम्भिर अपराध हो। यस्ता अपराधमा समाजमा अलिक वौद्धिक वर्गको भूमिका बनाएका व्यक्तीहरुकै संलग्नता तथा प्रोत्साहन देख्दा भने अझै पनि हामी तालीवानी शैलीकै सोचमा छौं। जहाँ पिटाइ खानु सामान्य हो अझ यस्तो खाले घटनामा मर्न त मरिएन नि भनेर गौरव गर्नुपर्ने हुन्छ।


अपराध र अधिकारमा ३ अक्षर एकै छन्। ४ अक्षर भएका शब्दमा ३ अक्षर एकै हुनुले यिनिहरुले एकै अर्थ दिन्छन् भन्ने हैन। यि दुई विपरितार्थक शब्द हुन्। अहिलेको नेपाली समाजमा भने यि दुईवटा शब्द पर्यायवाची जस्तै भएका छन्। आफूलाई फाइदा हुने भएपछि धेरैले पर्यायवाची ठानिरहेका छन्। सोहीअनुसार व्याख्या पनि गरिरहेका छन्। तर यसको असर आफैंमा परेपछि भने यो कती गम्भीर विषय हो भन्ने थाहा लाग्नेछ। समस्या यो हो कि त्यो थाहा हुँदा अराजकताले समाज खाइसक्नेछ। 


अन्तमा, अराजकता आगो हो। यो हामीले दैनिक प्रयोग गर्ने आगोजस्तो भने पक्कै हैन। हामीले प्रयोग गर्ने आगोको सहि प्रयोगले हामीलाई जीवन दिन्छ। अराजकताले केही पनि दिँदैन। यसले लिन्छ मात्रै। दिने भनेको एक चिज छ। त्यो हो खरानी। के हामीले अराजकता बढाएर खरानी दिन खोजेको हो ? सोच्नुपर्ने अहिल्यै हो। खरानीका थुप्रामा बसेर सोचेर के नै पो होला र ? सोच्न ढिला भैसकेन र ?


यो सामाग्री इकागजमा पीडकप्रति घृणा कि जे भयो भयो भनेर अब बिर्सने ? शीर्षकमा भदौ २८, २०७८ ९:२७ बजे प्रकाशित भएको थियो ।


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना