• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कृषीमा समृद्धी, होला कसरी ? (भाग २)

समाचारमा छ..

  • गहुँको विउ वितरणमा भएको अनियमितताका कारण सिराहामा किसानहरु आन्दोलनमा । किसानको आन्दोलन हि‌स्रक बन्दै जान थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्‍यो । तराइका अन्य जिल्लामा पनि किसानहरु आन्दोलनमा उत्रिए ।


  • चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ८ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा एक खर्ब रुपैयाँको मात्र निर्यात भयो । आयत हुने वस्तुमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपैयाँको खाद्यान्न भएको भन्सार विभागले जनाएको छ । 


  • सरकारले बाँझो जमिन राख्न नपाइने घोषणा गरेको ६ वर्ष भयो । राष्ट्रिय भूमि नीति, २०७५ स्वीकृत गरेर जमिन बाँझो राख्न नपाउने व्यवस्था पनि गरियो । भू उपयोयसम्बन्धी नियमावली अझैँ बन्न सकेको छैन । 


देशभर अहिले ३० लाख ९१ हजार हेक्टरमा खेती भए पनि १० लाख ३० हजार हेक्टर जग्गा बाँझै रहेको छ । आफूसँग जग्गा नभएपछि अर्काको जग्गामा खेती गर्न चाहने किसानको सङ्ख्या कति छ ? यकिन तथ्याङ्क सरकारसँग छैन । जमिन धेरै भएका साहूहरूको जग्गा बाँझो छ भने गरिबले खेती गर्ने जमिन पाएका छैनन् ।


सामाजिक सञ्जालमा 

पानी पर्‍यो । गहुंका किसानले ठूलो राहत पाए । तर अब सबैलाई मलखाद चाहियो तर कसरी ? खै संघीय कृषि मंत्री त मधेशकै हुन ! बरू सुरक्षाकर्मीहरूलाई पारीबाट एक - दुई बोरा मल किनेर ल्याउनेबाट केरकार गरेर केही झार्ने मौका यही, पारी पनि मल किन्न आधार कार्ड चाहियो रे । समाजवादी हाम्रो देश?



तराईमा रहेर पत्रकारिता गरिरहेका अग्रज पत्रकार हुन चन्द्रकिशोर । उनले सामाजिक सञ्जालमा राखेको माथिको भनाइ तराईको मात्रै हैन, देशकै सम्पूर्ण किसानहरूको आवाज हो । किसानलाई कृषि कर्म गर्न राज्यले कसरी प्रोत्साहन गरिरहेको छ, चन्द्रकिशोरकै भनाईबाट छर्लङ्ग हुन्छ !


सामाजिक सञ्जालमा आक्कलझुक्कल कृषिका कुरा हुन्छन् । कृषि अझै पनि बहसको विषय हैन । सञ्जालमा हुने बहसका विषयहरु: उत्तर कोरियामा हाँस्न नमिल्ने नियम बन्यो । भूतसँग मानिसले साक्षात्कार गर्‍यो । फलानो नेताले आज यसरी अर्को नेतालाई गाली गर्‍यो । फलानो पार्टी सरकारमा भए वा फलानो सरकारबाट हटे देश बन्छ । यस्तै विषयमा छन् । ट्विटरमा योगनाथ पौडेलले लेखेको तलको भनाइले पनि हाम्रो नेतृत्वको कृषिप्रतिको धारणा बुझाउँछ । 


कृषिमा अनुदान (Farm Subsidy) को भारत नेपाल वीच तुलनात्मक अध्ययन गरे व्यावसायिक कृषि किन मृतप्राय भयो बुझिन्छ। के कुरा गर्ने, आधा दर्जन अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य देख्ने देशमा एउटा रासायनिक मल कारखाना छैन। यसैले बुझौ प्राथमिकता क्रम के छ भन्ने !


घुमघाममा 

राजधानी नजिकैको जिल्ला । तराइ जोड्ने प्रमूख मार्ग छोडेर १ घण्टा पैदलमा पुगिने ठाउँ । 


गाउँमा वाँदरले दूख दिन लागेपछी किसान मिलेर घरेलु हतियार बनाएर वाँदर तर्साए । भोलीपल्टै प्रहरी टोली आयो । गाउँलेहरू जम्मा गरेर घटनाका बारे सोधपुछ गर्‍यो । हिड्ने बेलामा भन्यो `वाँदर मार्दा कानुन लाग्छ । एक पटकलाई छोडिदियौं । यस्तो काम दोहोरिए समातेर लान्छौं ।´


गाउँको छेउमा सामुदायिक ढुंगाखानी चलिरहेको थियो । जसले खेतमा लाने तीनवटा सिञ्चाई कुलो भत्काएको थियो । यसका कारण नजिकैको खेतमा प्रयोग भएका सबै सिञ्चाइ प्रणाली विग्रिएका थियो । कुलो भत्काएपछि किसानहरू थुप्रैपटक प्रहरीकोमा गए । भोलीपर्सी आउँला भनेको प्रहरी आएन । सडकको छेउमै रहेको खानीनजिकैबाट धेरैपटक प्रहरी पैदल र गाडीमा हिंडे । खानी र त्यसले गरेको क्षति प्रहरीले देखेन/देख्न चाहेन । यो विषयमा चैं कुरा भएन ? गाउँलेहरुको जवाफ थियो, ‘हाम्रो कुरा कसले सुन्छ र ? खानीमा पैसा छ । हामीसँग छैन ।’


गाउँमा बुबा भैंसी पालेर दुध बेच्छन् । महिनाको ३० हजारजत्तीको कमाई हुन्छ । छोरा शहरमा १० हजारको जागिर खान्छ । बेलाबेला छोरालाई पकेट खर्च पनि पठाईदिने गर्छन् गाउँबाट । छोरालाई गाउँमै बोलाएर काम लगाए त धेरै कमाइन्थ्यो नि ! ‘शहरमा पढेको छोराले पनि यहाँ आएर गोबर सोहोर्छ त । गाउँलेले हेपीहाल्छन् नि !’


चिया गफमा 

हिमाली जिल्लामा बस्ने किसानको जिविकोपार्जन सुधारका लागी एडिबीको सहयोगमा हिमाली योजना सञ्चालन भयो । किसानको २०% र परियोजनाको ८०% लागत साझेदारीको विधी तय गरियो । एकजना कृषिमा काम गरिरहेका व्यक्तीलाई मैले सोधें । तपाँइले हिमाली परियोजनाको सहयोग पाउनुभएन । किसानले मुन्टो हल्लाए । किन त भन्ने मेरो प्रश्नमा उनले भने ‘उत्पादन भएपछि कस्ले किन्छ त्यो पनि कागज ल्याउनु भने । यो कागज कसरी बनाउँनु ?’ त्यो कागज योजनाका लागि अनिवार्य थियो । 


किसानले कागज बनाउन सकेनन् । मूख्य कागज नै नभएपछि सहयोग पाउन सम्भव थिएन/ पाएनन् । कागज बनाएर सहयोग लिएका ८०%भन्दा धेरै योजनाहरु अहिले बन्द छन् । योजनाको अवधी सकियो । किसानका योजना पनि थन्किए । अनुदान पाउने किसानहरु कहाँ छन् ? के गरिरहेका छन्? खोजी भएको छैन । यो योजनालाई नजिकबाट नियालेका तत्कालिन कृषि कार्यालयका कर्मचारी भन्छन् `योजनामा राम्रा हैन हाम्रा छान्न लागेपछि योजना कसरी सफल हुन्छ ?´


भोगाईहरु 

कृषिमा उद्यम गर्नेलाई ८०% अनुदानमा मेसिन सहयोग गर्ने  सुचना निकाल्यो सरकारले । छिमेकीले त्यसका लागि चाहिने कागजात बुझाए सदरमुकाममा पुगेर । सामान दिने कार्यालयले भन्यो तपाँइले खोजेको सामाग्री यहाँ रैनछ राजधानीबाट ल्याउनुस । अनुदानको सामाग्री आउँदा गाउँमा वितरण भएको विजुलीको करेण्टमा चल्नै नसक्ने रहेछ । 


८०% अनुदानमा पाएको सामाग्रीको २०% बेहोर्दा झण्डै २ तिहाई मूल्य तिरे । मेसिन ल्याउँदा खानुसम्म हण्डर खाएपछि छिमेकीले भने ‘८०%को लोभमा मेरो सय प्रतिशत हिँड्यो । यो अनेकन् दूख गर्नुभन्दा त बजारबाट किनेको भए आफूले खोजेजस्तो र रोजेजस्तो सामाग्री त पाईन्थ्यो !’ त्यसको केहि दिनमा उनको छोराले सामाजिक सञ्जालमा लेखेको देखें “सरकारी कर्मचारीले कमिसनमा कुरा मिल्यो भने भँगेरा मार्न किसानलाई तोप भिडाउँछन् ।”


किसानलाई सहुलियत दरमा कृषि ऋण दिने सुचना रेडियोमा बज्यो । गाउँलेहरु प्रकृयाका बारेमा बुझ्नका लागि बैंक गए । बैंकका कर्मचारीले यसका बारेमा जानकारी नै दिएनन् । बल्लतल्ल अलिकति कुरा गरेपछि सोधे तपाँईहरुको धितो के ? किसानहरुले आफुले खेती गरेको जग्गा देखाए । बैंक कर्मचारीले भने त्यो जग्गा धितो राखेर ऋण कसरी दिने र ?


राष्ट्र बैंकले सुचना जारी गर्‍यो । सहुलियत दिइएको व्याजको रकम र सुविधा लिने कम्पनीको । अधिकांश कम्पनी काठमाण्डौका, बाँकि देशका अन्य ठूला शहरका । जहाँ अव कृषि गर्ने जग्गा लगभग सबै घडेरी !  


अन्न उब्जने रोपनी वा विघाका विघा क्षेत्रफल भएको जमिन सम्पत्ती हुँदैन । मुस्किलले एउटा घर अट्ने जग्गा चैं सम्पत्ती । अझ त्यो घरमा कौसीखेती गर्नेलाई पनि पो अनुदान !


समस्याको जरो 

अरु खेती गर्दा बाँदरले नराख्ने । गाउँमा सबैले बेसार खेती गर्ने सजिलै विक्छ भने । गाउँलेले वेसार फलाए, किन्न कोही आएनन् । त्यसपछी किसानले कुनै खेती नै गर्न छाडे । खेती गर्नुभन्दा रुख हुर्काउनु सजिलो काम भो । पैसा पनि सजिलै पाइने ! उत्पादन गरेर के गर्ने दूख मात्रै !   


किसानका लागि दिइने अनुदान र सामाग्री सहयोग किसानको अनुकुल छन् छैनन् ? किसानलाई चाहिएको एउटा पाएको अर्को पो भैरहेको छ कि ! कृषि औजार सहयोग गाउँघरमा सुनिने उखान झिकिदे गाँड भन्दा थपिदे गाँड जस्तै त भाछैन ?


किसानसँग भएको सामाग्रीको सुरक्षा छ ? उसले दशनंग्रा खियाएर लगाएको बाली प्रकृति वा वन्यजन्तुले नोक्सान गरे मेरो भाग्य नै यस्तै भनेर बस्नुपर्ने ? पालेका पशुपन्छी मरे वा जंगली जनावरले खाए टाउकोमा हात राखेर बस्नुपर्ने ? किसानको सम्पत्तीको अनिवार्य सुरक्षाको प्रत्याभुती छ ? कृषिमा समृद्धी ठूला ठूला फर्महरुको सुरक्षाबाट मात्र सम्भव छैन । देशभर छरिएर रहेका किसानको सुरक्षाबाट सम्भव छ । 


उज्यालो पाटो 

कोरोनाले विश्वकै अर्थतन्त्र तहसनहस बनायो । नेपाल यसबाट अछुतो रहन सम्भव थिएन । यसले कृषिमा भने एउटा गम्भिर सन्देश छाडेर गएको छ । आफुले गरिखाने ठाउँ चाहिने रैछ । धेरै मानिसको रोजगारी गुम्दा पनि यहि कृषि क्षेत्रले धेरथोर भरथेग गरेको थियो । बन्दाबन्दी (लकडाउन) का बेलामा धेरै वर्षसम्म बाँझो रहेका जमिनमा खेतीपातीको काम भयो । महाव्याधीले हामीलाई थोरै भएपनि उज्यालो छाडेको छ । 


किसानलाई गाउँमै राख्न स्थानीय तहहरुले विभिन्न काम गर्न सक्छन् । गाउँमा कृषिजन्य पदार्थको आयात कति छ? यसलाई कसरी घटाउन सकिन्छ ? स्थानीय चियापसलमा हुने बहसमा यस्ता विषय प्रवेश हुने वातावरण निर्माण गर्न स्थानीय नेतृत्व लाग्नुपर्छ । यो सजिलो छैन, असम्भव हैन ।


गाउँगाउँमा वस्तीवस्तीमा सडक पुगे । गाउँमा सामान लिएर आएका सवारी खाली पठाउनु हुन्न भन्ने अभियानहरु सञ्चालन गर्नुपर्छ । सडकको फाइदा कसरी लिने भन्नेमा बहस चलाउन पर्छ । खाली रहेका जग्गामा उत्पादनको हिसाबले कम लागतमा धेरै उत्पादन हुन योग्य बालीहरु फलाउन उत्प्रेरित गर्न सकिन्छ । खाली रहेका जग्गामा फलफूल खेती लगायतका ठूलो मात्रामा खेतीका कामहरु बढाउन सकिन्छ । यसका लागि हामीसँग स्थानीय सरकार छ । संघियताको सफल कार्यान्वयन यस्तै अभियानबाट मात्रै सम्भव छ । 


तत्कालै गर्नुपर्ने र गर्न सकिने केही कामहरू । 

सरकारी निकायले किसानलाई दिने सहयोग नगदमा हुनुपर्छ । नगद हिनामिना गरे कारवाही गर्ने चुस्त दुरूस्त निकाय बनाउनुपर्छ । जंगली जनावरको संख्या नियन्त्रण गर्नुपर्छ । किसानलाई राज्यका सेवा प्रवाहमा पहिलो प्राथमिकतामा राखिनुपर्छ ।


स्थानीय सरकारले जग्गाका बारेमा काम कारवाही गर्न पाउने भनेर स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख छ । यसलाई कार्यान्वयनमा लैजान आनाकानी भैरहेको छ । यसमा स्थानीय तहलाई पुरै अधिकार दिएर काम गर्न सकिए यसले पनि कृषिमा सुधार गर्न सकिन्छ । 


किसानलाई परिचयपत्र दिने कुरा तत्कालै सुरू गर्ने र यसमा सहि व्यक्तिका लागि मात्रै पुग्ने वातावरण वनाउन सकियो भने यो आशा गर्न सक्ने अर्को ठाउँ हो ।


किसान किन गाउँमा बसेको छैन कारण खोज्नपर्छ । शिक्षा र स्वास्थ्यमा कि‍सानको पहुँच बढाउनुपर्छ । कृषि पेशा हेलामा परेको छ । संकटमा भएको क्षेत्रलाई विशेष सहुलियत दिनुपर्छ । किसानलाई विशेष सहुलियत नदिए कृषि अझै संकटमा जान सक्छ ।  


धान झारिसकेपछि मेरा बडाबा धानको राशमा ढोग्नुहुन्थ्यो र भन्नुहुन्थ्यो `हे अन्न तिमी नभए म रहन्न ।´ यसको अर्थ ज्यादै व्यापक रहेको कुरा म बुझ्दैछु । यसलाई सबैमा पुर्‍याउनुपर्छ । यसैले हाम्रो कृषि र कृषकप्रतिको दृष्टिकोण फेरिन्छ । यसैले कृषिको उत्पादन क्षमता बढाउन सक्छ ।


अन्तमा

माथि उल्लेख भएका तथ्य/तथ्यांक तथा उदाहरणबाट भन्न सकिन्छ, कृषिको सुधार एक पक्ष लागेर सम्भव छैन । यसका बहुआयामिक पक्षहरू छन् । सबै पक्षलाई साथमा लिएर मात्रै कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर हुन सक्छौं । महिनामै उत्पादन हुने तरकारी त छोटो समयमै फल्ला तर कृषि भनेको तरकारी मात्रै हैन । फलफूल हो, खाद्यान्न हो । यसलाई त कम्तिमा वर्ष देखि लिएर ५/७ वर्ष लाग्छ । लगानी गरेर ५/७ वर्षमा उत्पादन लिन किसानलाई लगानी सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।


सबैको विकल्प छ। खाद्यान्नको छैन । खाना त खानु नै पर्‍यो । भातमात्रै खाना हो भन्ने बुझाई पनि हाम्रो एउटा समस्या हो। जोसँग जग्गा छ । उसले खेती गर्न किन छाडेको छ भन्ने खोजी गरे समस्या कहाँ छ बुझिन्छ । समस्या बुझे समाधान भेटिन्छ । समस्या खोज्न नै थालिएको छैन। समाधान त अझै पर छ ! तैपनि त्यहाँ नपुगे हाम्रो कृषि समृद्धिको यात्रा उल्टै हुनेछ । सुल्टाउने दायित्व हाम्रै हो। अझै प्रष्ट शब्दमा भन्दा राज्यको हो। भन्छन् नि सुनारको सय चोट, लोहारको एकै चोट!


यो सामाग्री अनलाईनखबरमा २०७८ पुष १८ गते १४:३३ मा कृषिमा समृद्धि होला कसरी ? भन्ने शिर्षकमा प्रकाशित भएको थियो । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना