• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

के सोच्थें पैले, के भयो ऐले !

नेपालको राजनीति मात्रै यस्तै हो कि ! अरुतिरको पनि यस्तै हुन्छ ! नेपालमा भने यो आकलन बाहिर छ । नत्र १ वर्ष वित्दा पनि हामी हिजोकै ठाउँमा छौं । 


यो लेख ठ्याक्कै १ वर्ष अगाडि लेखेको दैनिकिमा आधारित छ । देशमा अहिले एमसिसीको पक्ष/विपक्षमा माहोल तातेको छ । राजनीतिमा कति परिवर्तन आयो । गत वर्ष यो बेलामा के के भएको थियो । सुरुमा त्यस दिनको दैनिकी । यसलाई मैले गत वर्ष एक वर्षपछि आफै‌ प्रकाशन हुने गरि ब्लगमा लेखेको थिएँ । 


२०७७ साल फागुन ११ गते । 


नेपालको संवैधानिक ईतिहासमा एक विशेष दिन । यहि पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संविधान विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गर्‍यो । 


मेलुङ गाउँपालिकामा थियौं हामी । गाउँमा भएका योजना हेर्न गाउँपालिकाका उपाध्यक्ष कल्पना भण्डारी र अन्य मानिसहरु थिए । मेलुङको ५ नं. वडामा भएका विकासे योजनाको अनुगमनपछि हामी गाडीमा हाँसीमजाकका साथ फर्कँदै थियौं । बुद्धचोक कट्नेवित्तिकै कल्पना म्याडमले भन्नुभयो ‘आज धेरै ठूलो कुरा भयो नि ? थाहा पाउनुभयो ?’ मलाई थाहा थियो आज नै ओलीको जन्मदिन हो । मैले ख्यालठट्टा गर्दै भनें 'के ओली विते ? कि संसद पुनर्स्थापना भयो ? अदालतमा स‌सद विघटनको मुद्धाबारे बहस भैरहेको थियो । भण्डारीको कुरा त्यता लक्षित छ कि भनेर मैले फेरी थपें ‘संसद पुनर्स्थापना भएर के भो त ? ओली छन् भने त खेलीहाल्छन् नि ! अव बालकोटमा गएर घाम तापेर बस्ने हैनन ?'


जहाँ कुराकानी भएकाे थियो । त्यहाँ इन्टरनेटको पहुँच थिएन । बेलुका फर्केपछि ल्यापटप खोलेर समाचार हेरें । प्रतिनिधिसभा विघटनका विरुद्द अदालतले फैसला दिएको रहेछ । १५ पेजको संक्षिप्त फैसलासमेत आइसकेको रहेछ । फैसलाले भनेको रहेछ संविधानको धारा ७६(१) मात्र हैन २,३, ४ लगायत सबै पुरा गरेर मात्र जनतामा जान पाइन्छ । नत्र पाइन्न । 


प्रतिनिधिसभा विगठन भएपछि केपी ओली गलत देखाउन भएका प्रयासहरुले सामान्य नैतिकताको समेत ख्याल गरेका छैनन् । पूर्व प्रधानन्यायाधिसले सडकमै संविधानको व्याख्या गरेका छन् । राजनीतिमा राखिने सामान्य शिष्टाचारसमेत तोड्नेहरु हिरो भएका छन् । मुलधारका मिडियाहरु जनयुद्धकालमा माओवादीले चलाएको रेडियो जनगणतन्त्र ९४ मेगाहर्जजस्तै भएका छन् । यसले भोली हामीलाई कति क्षति गर्ने हो ? त्यो भोलीकै दिनले देखाउला नै । 


मैले गरेको राजनीतिक अनुमानहरु धेरै मिल्दैनन् नै । २०७० को निर्वाचनमा मलाई माओवादी दोश्रो दल होला भन्ने लागेको थियो । दोलखा जिल्लामा पनि । पुरै देशमा पनि । २०६४ मा दोलखामा पनि उसैले जितेको थियो । देशभर प्रत्यक्षतर्फ भारी बहुमत सिट जितेको थ्यो । मेरो अनुमान हावा भो । माओवादी तेश्रो दल भो । 


कोरोनाकाल २०७७ कार्तिकमा पोजेटिभ भएर शित्तलीको क्वारेन्टाइन बस्दा फेसबुकमा समाचार हेरेर साथीहरु भन्थे । नेकपा फुट्छ कि क्या हो ? मैले उनीहरुलाई जवाफ दिन्थें 'पहिलो कुरा फुट्दैन । किनभने फुटेर जाने ठाउँ छैन । १५ महिनादेखी रहेको यस्तो ङ्यारङ्यार अझ केही समय चल्छ । त्यसपछि चुनावमा जाँदा सबै मिलेर जान्छन् । फुटी नै हालेछ भने पनि एमाले र माओवादी छुट्टिन्छन् ।' 


राजनीतिको आकलन त्यसैमा सामेल हुनेलाई पनि हुन्न होला । सायद आजको दिन आउँछ भन्ने भएको भए जनयुद्ध नै हुन्नथ्यो होला । जनयुद्ध गर्ने माओवादी आज अस्तित्वमा नै छैन । त्यहि भएर लाग्छ राजनीतिमा रमिता हुन्छ । 


अव केहि भोलीका बारे अनुमान गरौ‌ । यो ब्लग आजभन्दा १ वर्षपछि प्रकाशित हुनेछ । कति अनुमान मिले कति मिलेनन् त्यसैका बारेमा अर्को छुट्टै ब्लग लेखौंला  । 


अनुमान १ः ओलीले संविधानले भनेको धारा ७६ का बाँकी प्रावधानहरुको परिक्षण गर्नेछन् । यसका लागि उनलाई कांग्रेसको साथ हुनेछ । कांग्रेसलाई नेकपा विवादकै बेलामा चुनावमा जाँदा धेरै फाइदा छ । बाँकी प्रावधान सकिएपछि ओलीले आफूलाई सहि सावित गर्नेछन् । 


अनुमान २ः दाहाल नेपाल समुहले अगुवाइ गरेर सरकार बनाउनेछ । ओलीलाई बदनाम तथा गुमनाम बनाइनेछ । 


अनुमान ३ः ओलीले कांग्रेससँग मिलेर सरकार बनाउनेछन् । सत्ता नभएपछि दाहाल नेपाल समूह कमजोर हुनेछ । ओली फेरी केहि नेतालाई ठेगान लगाएर पुन एकपटक बलियो नेता हुनेछन् । 


अहिलेलाई यत्ति नै । यो कुरा कत्तिको मिल्दोरैछ । अर्को ब्लगमा कुराकानी गरौंला । 


ठ्याक्कै १ वर्षपछि 


२०७८ फागुन ११


१ वर्षमा तामाकोसी नदीमा धेरै पानी बगिसकेको छ । मैले गरेको पहिलो अनुमानअनुसार ओलीले अन्य धारा परीक्षण गरेर दोश्रोपटक पनि संसद विघटन गरे । पौष ५ बाटै आलोचनाको भुमरीमा परेका ओली झनै विवादित भए ।  ओली हटेका दिन नेपालीका दुखका दिन सकिन्छन् भन्ने भाष्य मिडियाले बनाइदियो । दोश्रोपटक असार अन्तिममा अदालतले नै प्रधानमन्त्री तोकेर पुन संसद पुनर्स्थापना गर्‍यो । फैसला गर्ने प्रधानन्यायाधिस सहितको इजलासको हाइहाइ भो । 


त्यत्तिमात्र हैन देशको संविधान जोगिएको र संसदले राखेकै मनसाय अदालतले व्याख्या गरेको भनेर संसदमा हर्षोल्लास भो । अव सरकार कसरी चलाउनुपर्छ नमुना देखाइदिने उद्घोष भो । यसरी कुरा बुझाइयो मानौं त्यो फैसलाले मात्रै देश जोगियो नत्र सबै खरानी हुनेवाला थियो । 


आज प्रधानन्यायाधिसमाथि महाअभियोग दर्ता छ । अहिले मिडियाले प्रधानन्यायाधिस सबैभन्दा खराब पात्र भनेर सामाग्री प्रकाशित गरिरहेका छन् । ओली जाँदा देशले सहि बाटो समात्छ भन्ने भाष्य छाडेर मुलधारका सञ्चारमाध्यम चोलेन्द्र हटेपछि न्यायालयमा यस्तै हुन्छ भनेर लागेको छ । 


न्यायालयपछि अहिले एमसिसीमा देश रुमल्लिएको छ । विवाद सल्टाउन देउवा ओलीको नियमित रुपमा भेटघाट छलफल भैरहेको छ । एमालेबाट टुक्रिएको समाजवादी र अदालतले छुट्याइदिएको माओवादी कसरी अव आउने चुनावमा आफ्नो अस्तित्व जोगाउने भनेर गठबन्धनको रटानमा छन् । स्थानीय चुनावको मिति तोकिएको छ । यसमा कसरी लड्ने भन्नेमा मिलेर सरकार बनाएका दलहरुको विचमा एकै खालको बुझाइ छैन । 


गलहत्याएर बालकोटबाट बार्दली पुगेपछि केपीको राजनीति ओरालो लागेको धेरैको अनुमान थियो । ५ दलले मिलेर सरकार बनाएका थिए । यो ५ दलिय गठबन्धन अहिले संकटमा देखिन्छ । ओली अहिले राजनीतिको केन्द्रमा छन् । १ वर्षअगाडी रटान लगाइएको सहि बाटोको गफ लगभग गलत सिद्ध भएको छ । अहिले अमेरिकी सहयोग पाए हामी भारतलाई विजुली बेचेर चकाचक हुन्छौं भन्ने भाष्य स्थापित गर्न सबै तह तप्का कम्मर कसेर लागेका छन् । 


हुन त जान्ने बुझ्नेहरु महाकाली र एमसिसीबिचमा कुनै तुलना हुन्न भनिरहेका छन् । तैपनि महाकाली र एमसिसीमा समानता छन् नै । दुवैमा विजुलीको कुरा छ । विजुली छिमेकी देशलाई बेचेर पैसा कमाउने कुरा छ । धनी हुने कुरा छ । महाकालीमा देशलाई कुनै पनि हालतमा घाटा हुन्न भन्नेहरु अहिले पनि सक्रिय राजनीतिमै छन् । प्रतिनिधीसभामा ठूलो बहुमतले पास गरेको सन्धी भएको २५ वर्ष पुरा भयो । विजुली बेचेर कति पैसा आयो छर्लङ्ग छ । 


अन्तमा, राजनीतिले जनता लडाउने काम गरिरह्यो । गरिरहेकै छ । जनतालाई बानेश्वरमा भिडाएर नेता स्काई क्याफेमा शयर गरिरहेका छन् । भोली पनि गरिरहने छन् । हामी कुनै देशको विरोध गर्न उहि देशबाट मसी कलम किन्नुपर्ने हरितन्नम अवस्ठामा छौं । अनि त्यो लेखाई मेट्न पनि मसी उहि देशबाट आउँछ । उसको ब्यापारमा हाम्रो रमिता !


एक वर्षपछि यिनै कुरा कस्ता देखिएलान् । यसै भन्न गाह्रो छ । जस्तै गत वर्ष अदालतको फैसला आएपछि मैले लेखेथे‌ ।


झण्डै झण्डै द्वन्द्वकालमा माओवादीले चलाएको रेडियो जनगणतन्त्र ९४ मेगाहर्जको बाटोमा हिँडेका मुलधारका मिडिया (?)को जित भो।

.

आफ्नो पदिय मर्यादा थाहा नपाएर उफ्रनेहरुको पनि 

.

अनि

.

केहिथान नेताहरुको पनि जित नै भयो।

.

देश र जनताले जिते कि जितेनन् भन्ने चैं अहिल्यै थाहा हुन्न। १/२ वर्ष लाग्छ। त्यसपछि समिक्षा होला ।



यो लेख इकागज अनलाईनमा फागुन १७, २०७८ ९:२० बजे के सोच्थेँ पहिले, के भयो अहिले ? शीर्षकमा प्रकाशित भएको थियो । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना