’अर्जुन ‘अपवाद
दलित र छुवाछुत बारेमा समाजमा धेरै बहस हुने गर्दछ । धेरैले धेरै किसिमका तर्कहरु गर्ने गर्छन । यो समस्या निम्तनुमा हिन्दु संस्कार जिम्मेवार रहेको धेरैको बुझाई छ । हिन्दुहरुले मान्दै आएका ग्रन्थ पुराणमा भने यो छुवाछुतका बारेमा कतै उल्लेख गरिएको भने पाँइदैन ।
फोटो :- वेब साइट बाट |
विश्वको सबैभन्दा ठूलो महाकाव्य तथा हिन्दु धर्मको एउटा महत्वपुर्ण ग्रन्थ महाभारतमा समाजका विभिन्न पक्षहरुका बारेमा सामाग्रीहरु रहेका छन । यसमा घरव्यवहार देखि राज्य सञ्चालन, जनता देखि नेतृत्व वर्ग अनि दैनिक व्यवहार सञ्चालनका बारेमा प्रशस्त रुपमा व्याख्या तथा विश्लेषण गरिएको छ । यसमा दलितको कुरा पनि उठाइएको छ । तर छुवाछुुतका बारेमा यसले कतै केहि उल्लेख गरेको छैन । महाभारतको वनपर्वमा भएको कथाका अनुसार अगस्त्य ऋषिलाई पाल्की बोकाएका बेलामा नहुष राजालाई परेको श्रापका कारण नहुष सर्पको भेषमा जंगलमा थिए । पाण्डवहरु बनवासमा रहेका बेला एक दिन भिमसेनलाई सो सर्पले पक्रेर राखेको थियो । भिमसेन आश्रममा नआएपछि खोज्दै गएका युधिरिष्ठिरले भाईलाई सर्पले बेरिराखेको भेटेपछि उनले सर्पलाई भाइलाई छोडिदिन आग्रह गरे । सर्पले उनलाई आफ्नो जवाफको चित्तबुझ्दो जवाफ दिएमात्र छोड्ने नत्र खाइदिने कुरा गरेपछि सर्पले उनलाई ब्राह्मण को हो ? भन्ने प्रश्न गर्छ । यसमा युधिरिष्ठिरले साँचो बोल्ने, बिद्घान, असल चरित्रमा रहेको, समाजलाई धार्मिक विषयमा ज्ञान प्रदान गर्न सक्ने जस्ता गुण भएको व्यक्ति ब्राह्मण हुने भन्ने जवाफ दिन्छन । त्यसपछि सर्पले त्यसो भए दलितसँग यो गुण भएमा उ ब्राह्मण हुन सक्छ त भन्ने जिज्ञासा राखेपछि युधिरिष्ठिरले ब्राह्मणको जति क्षमता हासिल गर्न सके दलितहरु पनि ब्राह्मण हुन सक्छन भनि जवाफ दिन्छन ।
हिन्दु संस्कारमा युधिरिष्ठिरलाई धर्मात्मा तथा सत्यवादी भनेर चिनिन्छ तर उनले बोलेको कुरालाई किन मानिँदैन ? उनले बोलेको कुरालाई अध्यन गर्दा समाजमा गरिएको वर्गिकरण जन्मको आधारमा नभइ क्षमता र योग्ताका आधारमा गरिएको बुझ्न सकिन्छ ।
त्यस्तै हिन्दु संस्कारमा अत्यन्तै श्रद्घापुर्वक लिइने अर्को ग्रन्थ गिता हो । गितामा कृष्णले अर्जुनलाई संसारका विभिन्न विषयमा ज्ञान प्रदान गरेका छन । यो पुस्तकमा कृष्णले मानिसहरु सत्वगुणि तमोगुणि तथा रजोगुणि गरि तिन प्रकारका गुणले युक्त भएका हुन्छन । मानिसहरुलाई उनिहरुको गुणका आधारमा छुट्याउन सकिने भन्ने कुरा उनले बताएका छन । मानिसहरुको खानपान तथा जिवनशैलिले उनिहरुको गुण निर्धारण गर्ने कुरा पनि उनले बताएका छन ।
"मानिस कस्तो हुने भन्ने कुरा वातावरण तथा जिवनशैलिमा निर्भर रहन्छ "
उनको भनाइअनुसार कुनै पनि मानिस कस्तो हुने भन्ने कुरा वातावरण तथा जिवनशैलिमा निर्भर रहन्छ । उनले कतै पनि छुवाछुत तथा जातपातका बारेमा बोलेका छैनन । तर समाजमा यिनै भगवानका नाममा जातिय छुवाछुत जारी छ ।
पुराणहरुको अझै गहिरिएर अध्यन गर्ने हो भने आफूले गरेको कामका कारण धेरै ऋषिमुनि भएका उदाहरण पाइन्छ । वशिष्ठ ऋषि क्षत्रिका छोरा हुन तर पछि अध्यन अनुसन्धान पश्चात उनि ऋषि बन्न सफल भए । सम्पुर्ण ग्रन्थहरुको रचना गर्ने वेदव्यास पनि माझीका छोरा हुन । ऋषिहरुका गुरु सुतपौराणिक पनि बाबुआमा ठेगान नभएका बालक भन्ने कुरा शास्त्रहरुमा उल्लेख छ । त्यस्तै शास्त्रहरुमा धेरै उल्लेख भएका नारद ऋषि पनि दासीका छोरा थिए ।
तत्कालीन समाजलाई सहज रुपमा सञ्चालन गर्नको लागि त्यतिखेर विद्घान (ऋषिमुनि) हरुको सहयोगमा बिभिन्न आचारसंहिताहरु निर्माण गरिएका थिए । सो नियम उल्लंघनकर्ताहरुलाई दण्डस्वरुप समाजबाट एक्लो बनाउने काम भएको र सो नै छूवाछुतको रुपमा विकास भएको भन्न सकिने धेरै आधारहरु छन । अझै पनि समाजमा जघन्य अपराध गर्नेलाई समाजले बहिष्कार गर्ने तथा उसले छोएको पानी समेत नखाने प्रचलनको अवशेषहरु भेट्न सकिन्छ । क्षेत्रि ब्राह्मणको थर केहि दलितहरुले निकै अगाडी देखि नै प्रयोग गर्नु यसको अर्को आधार हो ।
छुवाछुत समाजको कलङ्क हो । यसलाई अन्त गर्न समाजका हरेक तहमा सार्थक बहस हुन जरुरी छ । हरेकको दिमागमा गाढिएको छुवाछुतको जरा उखेल्न केहि समय त लाग्छ नै तर असम्भव छैन । मुहान नै सफा नभए खोला सफा हुन सम्भव छैन त्यसैकारण अब खोज्न सुरु गरौं छुवाछुत कहाँबाट सुरु भयो जुन हामीले भन्दै आएको धार्मीक ग्रन्थमा भेटिंदैन ।
apawad@hotmail.com