अर्जुन अपवाद
किशोर अवस्थामा
घरै अगाडीको हिमाल हेरेरएउटा चित्र कोरेको थिएँ
भित्तामा झुण्डिएर त्यो
अझै हासिरहेकै छ ।
चित्र कोरेका बखत
हिमालको रङ्ग सेतो थियो
मेरो कपालको रङ्ग कालो थियो
हरिया थिए छेउछाउका डाँडाहरु
निलो थियो घर मुनिको तामाकोसी
आलै छ सम्झना
साथीभाइसँग रमाउदै पौडी खेलेको
विस्तारै फेरियो समय
कपाल कालोबाट सेतो भयो
हिमाल पनि बुढो भयो क्यारे
शिरको हिउँ निख्रिएर
सेतोबाट कालो भइसक्यो
फुस्रा भए डाँडाहरु
धमिलो भो तामाकोसी
त्यस बखत हिउँदमा
वर्षमा एक दुई पटक
मेरो घर वरपर
सेताम्य हिउँ खस्थ्यो
सबै साथीहरु मिलेर
हिउँ छ्यापाछाप गरेको
सम्झना आइरहन्छ
अहिले पनि
यसबखत
नाती जिज्ञासा पोखिरहेछ
के को तस्विर हो त्यो भित्तामा झुण्डिएको ?
हिमाल पनि सेतो हुन्छ र !!
हिमाल हिउँले भरिएको थियो
तामाकोसिमा मैले पौडि खेलेको थिएँ
वरपरको वातावरण हरियो थियो
मेरा विगत उ पत्याउदैन
मैले भोगेका यथार्थ
उसलाई कल्पना लाग्छ
मैले गरेको कुरालाई
उ दन्त्यकथा सम्झन्छ ।
र पनि
सत्य सत्य नै हुन्छ ।
हिजो हिमाल सेतो थियो
आज हिमाल कालो छ ।
मिर्गे –५,चिलाउनेखर्क दोलखा
apawad@hotmail.com
No comments:
Post a Comment