समाजशास्त्रि सुरेश ढकालको लेख पुस्तक नभए जीवन कान्तिपुरको कोसेलीमा (२०६९ आश्विन १३) प्रकाशन हुनु अगाडी हामी दोलखाको जिरीमा थियौं । केहि दिन अघि देखि नै हामी एउटा विषयमा गम्भिर रुपमा छलफल गर्दै थियौं । एकजना सवलाङ्ग नारीले जानाजान अपाङ्गता भएका मानिसलाई साथ दिएर जीवन व्यतित गर्ने निर्णय सहि हो वा गलत भन्ने विषयमा । विषयमा पक्ष विपक्षबाट तर्क गर्ने क्रम जारी थियो दुवै पक्ष नदिको २ किनार जस्तै रुपमा आफ्नो विषय राखिरहेका थियौं । कुनै सम्झौतामा पुग्न नसकिने गरि ।
एकजना समाजशास्त्रिको लेख र जिरीविचमा के सम्बन्ध छ र यहाँ यस्ता कुरा आईरहेका छन भन्ने लाग्न सक्छ । त्यो स्वभाविक पनि हो । यो कुरा किन अन्तरसम्बन्धित गर्न खोजियो लेखमा खुलाउने प्रयास गरेको छु । त्यसभन्दा अगाडी म त्यस बहसमा उठेका केही सवालहरु उल्लेख गर्न चाहन्छु ।
दोलखाको एक गाँउमा एक नारी छिन जसलाई म महान भन्न कुनै अप्ठ्यारो मान्दिन । उनका वारेमा मैले सुरुमा अलिकति उल्लेख गरेँ । उनि शारिरिक रुपमा सवल छिन यद्यपी मानसिक रुपमा पनि । नत्र उनको बिबाहको १ दशक पुरा हुन यसैगरि सक्थ्यो कि सक्दैनथ्यो यसै भन्न गाह्रो छ । हाम्रो समाजमा शारिरिक असक्षमता भएका मानिसहरुलाई हेर्ने दृष्टिकोण नकरात्मक नै छ । उनिहरुलाई परिवारमा नै पनि आत्मसम्मानपूर्ण जीन्दगी जिउन कत्तिको सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा थाहा पाउन झमक घिमिरेको आत्मवृतान्त समेटिएको पुस्तक जीवन काँडा की फुल प्रयाप्त छ । यस्तो अवस्थामा एक नारी जसले अपाङ्गता भएका व्यक्तिलाई साथ दिने निर्णय गर्छिन भने त्यो उनको महानता हो । महानताको कसी भनेको ठाँउ परिस्थिती अनुसार फरक हुन सक्नुपर्छ । त्यसो नभए महानता पनि व्यापारिक हुन पुग्छ । दैनिक १० रुपैंया कमाइ हुनेले कसैको हितमा ५ रुपैंया दान दिनु र महिनाको ६ अंकमा तलव खानेले २, ४ लाख प्रदान गर्नु एकै हुन सक्दैन । परिमाणमा हेर्ने हो भने व्यापारीको दानले धेरै काम गर्न सकिला यसका आधारमा उ महान गनिन सक्छ तर परिस्थितीको अवलोकन गर्ने हो भने ५ रुपैंया दान दिने महान ठहरिनु पर्छ । यसका आधारमा मैले महिलालाई महान ठानेको हुँ । (महिलाका वारेमा म पछि सम्पूर्ण जानकारी दिनेछु ।)
साथीहरु बिचमा छलफल हुँदै गर्दा महिलाको पढाईका बारेमा कुरा उठ्यो । उनले औपचारिक रुपमा पढ्न पाइनन । एक साथीले कुरा उठाए, उनले औपचारिक रुपमा पढिनन कुनै कुरा जानिनन् त्यसकारण उनको निर्णय परिपक्व भएन र उनले विवाह गरिन । यसकारण उनि महान छैनन । मैले उनलाई प्रतिवाद गरें पढ्नुले मात्र बौद्धिकता जनाउदैन । बौद्धिकता जाँच्नका लागि पढाई आवाश्यक कुरा हैन त्यो कुरा व्यवहार हो । मेरो कुरामा उनले चित्त बुझाउन सकेनन । उनि काठमाण्डौ फर्कंदासम्म पनि यो कुरामा दुवै पक्ष दुवैका कुरामा सहमत हुन सकेनौं ।
मैले यो लेखमा सुरेश ढकालको प्रसङ्ग सुरुमा उल्लेख गरेको छु । त्यहि लेखमा भएको एक प्रसङ्ग उठाउन चाहन्छु । कोसेली पत्रिकामा निरन्तर प्रकाशन हुने एक स्तम्भमा किताब नभए जीवन कस्तो होला भन्ने प्रश्न सोधिंदै आइएको छ र त्यसमा जवाफ दिंदै साहित्यकार सरुभक्तले भनेका रहेछन सायद आदिम ढुङ्गेयुगको जीवन होला कि, अभिव्यक्ति शून्य, आविष्कार शून्य ! लेखमा ढकालले यसमा असहमति जनाएका छन । उनको तर्क छ, मानिसको विकासक्रलाई पुस्तकले सहज वनाएको छ । यदि पुस्तक नहुँदा विकासक्रम नै ठप्प हुन्छ भनेर सोच्न मिल्दैन । जतिखेर यो समाजमा पुस्तकको विकास भएको थिएन त्यसबेलामा पनि मानिसहरुले विभिन्न किसिमका आविस्कार गरेका थिए ।
लेख पढ्दै गर्दा म साथीहरुसंग भएको बहस सम्झँदै थिएँ । के औपचारिक पढाई मात्र मानिसको बौद्धिकता मापन गर्ने कसि हो ? मानिसले गर्ने हरेक निर्णयमा प्रमाणपत्रहरुको कति हात रहन्छ ? मेरो समाजमा म अलि धेरै प्रमाणपत्र हात पारेको व्यक्ति, यसको अर्थ मेरो समुदायका अन्य मानिसहरु मजत्ति बौद्धिक छैनन् ? प्रमाणपत्र अभावमा उनिहरुको बौद्धिकता दरिद्र छ ? यस्तै प्रश्नहरुका जवाफ मैले सोच्दा जवाफ नकरात्मक आँउछ । साथी सहमत भएनन ।
तथ्याङ्क हेर्ने हो भने नेपालका अझै धेरै मानिसहरु लेखपढ गर्न जान्दैनन् । विकसित देशमा लेखपढ नगर्ने मानिस पाउन कठिन छ । प्रमाणपत्रले बौद्धिकताको कसी नाप्ने हो भने विकसीत मुलुकमा हाम्रो धर्मग्रन्थले कल्पना गरेको रामराज्य हुनुपर्ने हो । त्यहाँका न्यायालय, अस्पताल बन्द गरिनुपर्ने थियो तर त्यस्तो त भएको छैन । नेपालका कम साक्षरता भएका स्थानमा अपराधको दर धेरै हुनुपर्ने हो । तर त्यो त धेरै शिक्षालय भएको शहरमा नै बढि छ । हिटलरले पढेका थिए । यहुदीहरुलाई ग्यास च्याम्बरमा मार्ने निर्णय गर्ने उनै हुन । ग्यास च्याम्बर वनाउने पढेका नै थिए होलान । हिरोसिमा र नागासाकीमा बम विस्फोट गर्न प्लेन उडाउने पनि प्रमाणपत्रधारी नै थिए होलान । नेपालमा मान्छे मारेर टुक्रा टुक्रा बनाउनेहरुले राम्रै अंक प्राप्त गरेको प्रमाणपत्र हात पारेका थिए । सबै कुरा सम्झँदा लाग्छ प्रमाणपत्रले विवेकतामा विर्को त लगाँउदै छैन ।
यो लेखको अर्थ औपचारिक पढाईको विरुद्ध छैन । प्रमाणपत्र मात्रै ज्ञान हो भन्ने विचार राख्नेहरुसंगको असहमति मात्रै हो । यत्ति कुरा लेखिसक्दा म के कुरामा दृढ छु भने मेरा जत्ति प्रमाणपत्र हासिल नगरेकाहरु नजान्ने छैनन ।
apawad@hotmail.com