| तस्बिर : मुरारी दुलाल |
केही समयअगाडी नेपाल क्रिकेटमा विश्वकप खेल्न योग्य भयो भन्ने समाचार सुन्दा दोलखा सदरमुकाम चरिकोटसँग जोडिएको जीलु गाँउकी वसन्ती मल्ल खुसी भईन । क्रिकेट बुझेर हैन । नेपाल अन्तराष्ट्रिय स्तरसम्म पुग्यो भनेर मात्रै । विद्यालयमा पुग्दा साथीहरु नेपालका खेलाडीहरुले खेलेको खेलको चर्चा गर्दै थिए । सबैको चर्चा सुनेपछि उनलाई लागेको थियो क्रिकेट पनि राम्रै खेल हो क्यार ।
मध्यम वर्गीय परिवारमा हुर्कँदै गरेकी उनले नेपाल विश्वकप जाँदा भएका खेलहरु हेर्न पाइनन् । घरमा टेलिभिजन थिएन । ढिलो गरेर विद्यालयमा पुग्ने पत्रिकामा समाचार पढेर क्रिकेट खेलको प्रगतीका बारेमा उनले जानकारी हासिल गरेकी थिईन । घरमा टिभी हेर्नेहरु विद्यालयमा गफगाफमा चौका र छक्काको कुरा गर्थे । “त्यही सुनेर मिठो कल्पना गर्थेँ । त्यसभन्दा बाहेक क्रिकेटका बारे कुनै कुरा थाहा थिएन”, मल्लले भनिन ।
साथीभाईहरुसँग सुनेको यो खेलका बारेमा जिल्लास्तरिय प्रतियोगिता हुने खबर उनको विद्यालयमा पुग्यो । शिक्षकहरु जिल्लास्तरिय खेलकुद हुँदै छ को को खेल्न इच्छुक छौ भनेर नाम टिप्न आउनुभयो । विद्यालयको टोली तयार भएपछि क्रिकेट प्रशिक्षण सुरु भयो । राकेश जंग शाह कोचको रुपमा उनीहरुलाई क्रिकेट सिकाउन लागे । त्यसपछि मात्रै उनले क्रिकेट थाहा पाईन । चौका छक्का बुझिन । प्रशिक्षण्का क्रममा उनको लगावलाई हेरेर विद्यालयले टोलीको क्याप्टेन वनाईदियो । “नजाने पनि सिकिन्छ भनेर मैले भाग लिएको थिए । विजेता भईयो”, उनले खुसी व्यक्त गरिन ।
जिलुको सर्व माध्यामिक विद्यालयमा कक्षा १० मा पढ्दै गरेकी मल्लको कक्षामा ३७ जना विद्यार्थी अध्ययन गर्छन । १५ वर्षिय मल्लको पढाई पनि राम्रो रहेको विद्यालयका शिक्षक मुरारी दुलालले बताए । “मेधावी विद्यार्थी हुन । विद्यालयमा हुने अन्य क्रियाकलापहरुमा पनि उनको सक्रिय सहभागीता रहने गर्छ ।” दुलालले अगाडी थपे ।
सर्व माध्यामिक विद्यालय जिलुले पहिलो दोलखा जिल्लास्तरिय मावि महिला क्रिकेट प्रतियोगाताको उपाधी हात पारेपछि क्याप्टेन मल्ल खुसी साट्दै थिईन । जिल्लामा क्रिकेट खेल नै नयाँ रहेका बेला सिपार्ड दोलखा र रेष्टलेस नेपाललले दोलखामा महिला क्रिकेट प्रतियोगिता आयोजना गरेका थिए ।
मल्लको नेतृत्वमा भएको फाईनल खेलमा सर्व माध्यामिक विद्यालय जिलुले भीम उच्च माध्यामिक दोलखाले दिएको ७० रनको लक्ष्यलाई ५ ओभरमा २ विकेटको क्षतीमा पुरा गरेको थियो । प्रतियोगितामा जिल्लाका विभिन्न १२ विद्यालय सहभागी भएको आयोजकले जानकारी दिएको छ । एक हप्तादेखी चलेको प्रतियोगिता आईतवारबाट सम्पन्न भएको छ ।
No comments:
Post a Comment