• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सडकको सकस


वर्षाको समय । छिनमा घाम लाग्छ । छिनमा पानी पर्छ । सदरमुकाम चरिकोटको सातदोबाटो चोक नजिक ओम नमः शिवाय होटलका मालिक डिल्लसिं बस्नेत पानी पर्न लागेपछि उदास मन लिएर सडकमा निस्कन्छन । वरपरको जमिनसँगै भासिंदै गएको आफ्नो घर हेर्छन । ‘सर्वस्व सकिने भयो । घर भत्कियो भने उठिबास हुन्छ’, उनले भने । 

यही घरको चिन्ताले १ हप्तादेखी उनलाई राम्रोसँग निन्द्रा परेको छैन । घाम लागेको दिन मन अलिकती उज्यालो हुन्छ । आकाशमा कालो वादल देखा पर्न लागेपछि मन डराउन लाग्छ । 


१८ वर्ष अगाडी चरिकोटमा सडकमा जोडेर घर बनाँउदा उनलाई सडककै कारण आजको दिन आउला भन्ने कल्पनामा थिएन । ३० वर्षदेखी चरिकोटमा बसिरहेका उनले यहि घरमा होटल सञ्चालन गरेर ७ जनाको परिवारको पालनपोषण गरिरहेका थिए ।

३५ वर्षअगाडी स्विस सरकारको सहयोगमा निर्माण गरिएको लामोसाँघु जिरी सडक एक लेनको मात्रै थियो । एक लेनको सडक साँघुरो भएको आवाज उठ्न लागेपछि डिभिजन सडक कार्यालयले सदरमुकाम चरिकोटको आसपासमा २ लेन सडक बनाउन काम थाल्यो । सडक चौडा बनाउन स्काई विल्र्डस कन्ट्रक्सन प्रालिले ठेक्का पायो । 

असारको अन्तिममा उनको घर अगाडी सडक विस्तार गर्न काम थालीयो । विस्तारका क्रममा सडकछेउको पानीको नाला पुरीयो । असारको अन्तिम दिनको रात चरिकोटमा घनघोर वर्षा भयो । टाढादेखी नालैनाला आएको पानी उनको घर नजिक निर्माण गरिएको सडकको पर्खालमा पस्यो । सडक निर्माण गर्दा पर्खालमा हालिएको माटोले गलेर पर्खाल चर्कियो । पर्खालसँगै घर बनेको जमिन भासियो । घर पनि जमिनसँगै भासियो र चर्कियो ।

भासिएको घर खतरापूर्ण स्थितीमा छ । उनले अर्को ठाँउमा कोठा लिएर आफू त्यता सुत्न जान लागेका छन । ‘सामाग्री कुनै सार्न पाएको छैन । घर बनाँउन कम्ता दूख गरिएन । ३० वर्ष इण्डियामा भाँडा माझेर जोगाएको पैसाले यहाँ एउटा घर ठड्याइएको थ्यो । त्यो पनि सकिने भो । कोही क्षतीपुर्ती दिने कुरा पनि गर्दैनन् ।’

बस्नेतको जस्तै अन्य ५ वटा घर पनि पहिरोको जोखिममा छन । बस्नेतका छिमेकी सुरज केसीले पनि घरमा राती बस्न छोडिसके । ‘अन्य घरहरु पनि सरेका छन । हामी यहाँ बसेको थुप्रो समय भईसक्यो । यो वर्ष मात्रै यस्तो समय आएको हो,’ केसीले भने । 

जोखिममा परेका सबै पिडितले नगरपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका छन । नगरपालिकाका प्रवक्ता माधव सुवेदीका अनुसार कार्यालयबाट पटक पटक निरिक्षण गरिएको छ । सडक विस्तारको काम समयमा नसक्दा यस्तो अवस्था आईपरेको हो । 

पहिरोको जोखिममा घरहरु परेपछि जिल्लामा रहेको दैविप्रकोप उद्धार समितिले डिभिजन सडक कार्यालयका इञ्जिनियर रमेश दृष्टिको संयोजकत्वमा समिति बनाएर अध्ययन सुरु गरेको छ । समितिमा जिल्ला प्राविधिक कार्यलय, भीमेश्वर नगरपालिकाका प्राविधिक तथा दोलखामा सक्रिय ४ राजनैतिक दलका प्रतिनिधिहरुसहित १० जना सदस्य रहेका छन । जिल्ला दैविप्रकोप उद्धार समितका अध्यक्ष एवं प्रमूख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले जोखिममा परेका घरहरुलाई अन्यत्र सर्न आग्रह गरिएको वताए । ‘अध्ययन टोलीको कुरा आईसकेपछि मात्रै के गर्ने टुंगो हुन्छ’, पोखरेलले भने ।

पहिरोका कारण चरिकोटको द राईजिङ स्टार एकेडेमी स्कुल आकस्मिक रुपमा ३ दिन बन्द गरिएको थियो । घरहरुको तल्लापट्टि रहेको विद्यालयका भवनहरु पहिरोको जोखिममा परेपछि ५ सय विद्यार्थीलाई हिम्स एकेडेमीमा स्थानान्तरण गरेर पठनपाठन गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले जानकारी दिए ।  

अध्ययन समितिको प्रतिवेदनले ठहर गरेअनुसारको कारवाही अगाडी बढाउने डिभिजन सडक कार्यालयका इञ्जिनियर अरुणकुमार श्रीवास्तवको भनाई छ । ‘प्राविधिक टोलीले के रिपोर्ट दिन्छ त्यसपछि मात्रै कसको गल्ती हो भन्न सकिन्छ,’ श्रीवास्तवले भने । 

पिडित घरधनीहरु भने आफुहरुले गल्ती नगरेको वताँउछन । ‘सडक सिमाबाट १५ मिटर छोड्नका लागि त्यतिखेर गाविसमा निवेदन दिएको थिएँ । उसले देखाईदिएको सिमा भन्दा केही वाहिर नै घर बनाएको हुँ,’ पिडित डिल्लीसिं बस्नेतले भने । 

ताराबहादुर महतको सहयोगमा

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना