केन्द्रमा सत्तापक्षिय र विपक्षी दलबिचमा जुहारी चलिरहँदा दोलखा जिल्लामा भने सत्तापक्षिय र विपक्षी दलका नेता एकै कामका लागि जुट्ने वचनवद्धता व्यक्त गरेका छन । सबै दल मिलेर जिल्ला सदरमुकाम चरिकोटमा सार्वजनिक शौचालय निर्माण गर्ने भएका हुन ।
बुधवार सदरमुकाम चरिकोटमा आयोजना गरिएको जिल्ला खानेपानी तथा सरसफाई स्पच्छता समन्वय समितिको बैठकमा दलहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन । सदरमुकाम चरिकोटमा सार्वजनिक शौचालय नभएकोले जिल्लाको पहिचानमा नै संकट परेको अनुभव गर्दै दलहरुले यस्तो निर्णय गरेको बैठकमा सहभागी नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार शौचालय निर्माण गरिने जग्गा र डिजाईन नगरपालिकाले उपलब्ध गराउनेछ । जिल्लामा रहेका ४ पार्टीहरु नेपाली कांग्रेस नेकपा एमाले, एकिकृत नेकपा माओवादी र नेकपा माओवादीले लागत खर्च उपलब्ध गराउनेछन ।
“यसले जिल्लामा राजनैतिक दलको मेलमिलापलाई झल्काएको छ”, भीमेश्वर नगरपालिकाका इञ्जिनियर सुरेश राउतले भने । बैठकमा सहभागी भएका एकिकृत माओवादीका प्रतिनिधी ईश्वर थापाले पार्टीहरुले संयुक्त रुपमा काम गर्दा यसले सबैतिर सकरात्मक सन्देश प्रवाह हुने बताए । कांग्रेसका प्रतिनीधि दुर्गा काफ्ले र नेकपा माओवादीका प्रतिनीधिले पनि शौचालय निर्माणको काममा सहभागी हुने प्रतिवद्धता गरेका छन । बैठकमा अन्य दलका प्रतिनीधिहरु उपस्थित थिएनन् ।
दोलखा जिल्लालाई २०७१ चैत्र २४ गतेसम्ममा खुल्ला दिसामुक्त गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई सफल पार्न जिल्लाका सबै सरकारी तथा गैरसरकारी निकाय, राजनैतिक दलका प्रतिनिधीहरु लगायतले प्रतिवद्धता जाहेर गरेका छन ।
No comments:
Post a Comment