स्नातक तहको पढाई पुरागर्दासम्म मैले २ दशक वर्षहरु विद्यालय तथा क्याम्पसमा विताईसकेको छु । यस क्रममा मलाई औपचारिक शिक्षा प्रदान गर्ने गुरुहरुको संख्या १ सय नाघ्छ । यसमा धेरै गुरुहरुले मलाई धेरै खालको प्रभाव छाडेका छन । यसमा पनि केही गुरुहरु जसको प्रभाव औसत गुरुहरुको भन्दा भीन्न रह्यो यस संस्मरणमा उल्लेख गरेको छु । आलेखमा नामहरु उल्लेख गरेको छैन । उल्लेखित घटनाहरु व्यक्तिगत भन्दापनि प्रवृत्तिगत समस्या हुन । गुरुपुर्णिमा २०७२ को अवसरमा सुरु गरेको यो लेखको आसय गुरुहरु ईमान्दार भईदिए समाज सप्रन समय लाग्दैन भन्ने नै हो ।
अल्छि गुरु
उमेर सानै थियो । सम्झना धेरै चहकिलो छैन । तथ्यहरु तोडमरोड भएका हुन पनि सक्छन । गाँउमा विद्यालय बन्न लागेको थियो । गाँउका अलि जान्नेहरुले चौरमा राखेर क ख पढाउँथे । विद्यालय भवन बनिसकेपछि एक गुरु आए । उनि पढाउन त्यत्ति जाँगर गर्देनथे । कक्षाका अलि ठुला विद्यार्थीहरुसँग गफ गरेरै दिन कटाँउथे । विद्यार्थीहरुप्रति उनि अलि कडै व्यवहार देखाउँथे । यसै कारण हुन सक्छ, पखाला लागेको बेला कक्षाबाहिर जान नदिएकाले पाईन्टमा नै दिशा चुहिएको थियो । त्यहि वर्ष मैले कक्षा पनि दोहोर्याउनु परेको थियो ।
अवसरकर्ता गुरु
विद्यालयमा त्यसपछि अर्का शिक्षक आईपुगे । उनिचाँही विद्यार्थीहरुलाई अवसर दिनुपर्छ भन्ने मान्यता राख्दथे । विभिन्न ठाँउमा हुने आन्तरिक क्रियाकलापहरुमा उनले हामी कक्षामा अनुतिर्ण भएका विद्यार्थीहरुलाई पनि भाग लिने अवसर दिए । प्रतियोगितामा हामीले जित्न सकेनौं । तर पनि उनले प्रतियोगितामा लैजान छाडेनन् । प्रतियोगिता सकेपछि उनले हामीलाई राम्रो गर्यौ भनेर हौस्याउँथे । माटोको ड्याङबाट विद्यालयको नाम लेखेर फूलबारी वनाँउन हामीले सँगै काम गरेका थियौं । ढुंगाका टुक्रा जम्मा गरेर अक्षर लेख्न पनि उनैले सिकाएका थिए । विद्यार्थीलाई हासखेल गरेर पढाईदिँदा विद्यार्थीले पढाईमा ध्यान दिएका थिए भन्ने लाग्छ ।
लापरवाह गुरु
प्राथमिक तहमा पढ्दा नै एक गुरु थिए । जसले कक्षाकोठामै बुङबुङ्ती चुरोट उडाँउथे । धुमपान स्वास्थ्यका लागि हानीकारक छ भन्ने पनि उनैले सिकाउँथे । चुरोट खानु पनि त्यतिबेला ईज्जत नै ठानिन्थ्यो कि जस्तो लाग्छ । रेडियो नेपालले पनि गैंडा ब्राण्डको चुरोटको विज्ञापन नै गथ्र्यो । विज्ञापनको गित थियो गैडा हे गैडा चुरोट हो यो गैंडा । भाग्यमानी भन्नुपर्छ मैले मध्यपानका कारण लर्बरिएको स्वर धर्खराएको शरिर भएका शिक्षकहरुबाट शिक्षा लिनुपरेन । आसपासमा त्यस्तो भएको पनि सुनिन्थ्यो ।
अर्काखालका शिक्षकहरु थिए रमाईलोका नाममा विद्यार्थीलाई पिडा थपिदिने । कक्षामा यिनीहरुको प्रेम प्रसङ्ग चलेको छ भनेर कक्षामा विद्यार्थी उडाउने । कुनै कुरा पढाउनुपर्दा पनि विद्यार्थीहरुलाई असर गर्ने प्रसङ्ग निकालिदिने । यस्ता कुरा पाएपछि कक्षाका अरु विद्यार्थीहरुका लागि गतिलो मसला भईहाल्थ्यो । यसले गर्दा अनावश्यक तनाव भने थपिदिन्थ्यो नै ।
बेईमान गुरु
गुरुहरुका कारण एकवर्षको परिक्षा नै छुटेको छ मेरो । स्नातक तहमा एक विषय वाँकी थियो । परिक्षा दिने क्याम्पसबाट २ जना थियौं । म चरिकोटमा भर्खरै आएको मात्र थिएँ, अर्को साथी गाँउमै बस्थे । मैले आफैंले परिक्षाको तालिका हेरेको थिईन । फोन गरेर एक गुरु सँग परिक्षाको मिति सोधें । अर्को साथीसँग पनि कुरा भयो । साथीले पनि गुरुसँग सोधेछन् । उनले र मैले पाएको परिक्षाको मिति एउटै थियो । ढुक्क भएर गुरुले भनेको परिक्षाको मितिमा परिक्षा दिन गईयो । परिक्षा केन्द्र बाहिर टाँसिएको सिट प्लानमा हामी दुवैको सिम्बोल नं. भेटिएन । हामीले केन्द्राध्यक्ष भेट्यौ । उनलाई भेटेपछि हामी छाँगाबाट खसेजस्तै भयौं । उनले भने तिमीहरुको परिक्षा त ३ दिन अगाडी नै सकियो । म मौन रहें । साथी रुन लागे ।
पछि क्याम्पसमा पुगेको दिन यस विषयमा गुरुहरुसँग जिज्ञासा राखेको थिएँ । जवाफ आयो स्नातक पढ्ने मान्छेले त आफैं पो हेनुपर्छ त पत्रिका । परिक्षा कुन दिन पर्छ आफैंले थाहा पाउनुपर्छ नी । मैले जवाफ फर्काएँ । सर, मलाई प्रहरीले यो जिल्लामा शान्तिसुरक्षा छ भन्यो भने म पत्याँउ कि नपत्याउँ । तपाँईले भनेको कुरा आधिकारीक हुँदैन र । गुरुसँग पनि प्रष्ट जवाफ थिएन । मैले पनि विषय लम्ब्याईन । किनकी विवाद गरेर कुनै फाईदा थिएन । एक वर्ष मेरो पढाई पछाडी धकेलिई सकेको थियो ।
No comments:
Post a Comment