चौतारीमा वर हैन समि ता
संघियताले देखायो रमिता’
संघियताले देखायो रमिता’
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर के.सी को यो भनाई एक अन्तर्वातामा प्रस्तुत हुँदा धेरैजना मज्जाले हाँसे । कार्यक्रमका सहभागि तथा दर्शक, श्रोता पनि । पहिलो संविधानसभामा निर्वाचित भएदेखि नै संघियता यो देशका लागि उपयुक्त हुन सक्दैन भन्ने उनका कुरामा धेरै मान्छेहरु गम्भिर छैनन । धेरैले उनले गर्ने तर्क, प्रस्तुत गर्ने प्रमाणहरुलाई मनोरञ्जनको रुपमा मात्रै लिने गर्दछन् । पहिलो संविधानसभा ताका उनलाई आफ्नो विचार राख्नका लागि प्रयाप्त ठाँउ थिएन । अहिले स्थिती अलिअलि सुधार भएको छ । सन्तुलन गर्नैपर्ने भएका कारण पत्रकारिताले उनको भनाईलाई ठाँउ दिँदै आएको थियो । अहिले भने थोरै मात्रामा सहि उनको एजेण्डामा छलफल हुन लागेको छ ।
नेपालमा विचार सुनिन तथा त्यसबारे बहस हुनका लागि चिटिक्क परेको ज्यान हुनुपर्छ । कुरा सुन्ने जमात ठूलै हुनुपर्छ । अझ उठाइएको मुद्धामा दाताहरुको सहयोग पनि भयो भने त्यो चाँडै देशभर फैलन्छ । कसले कुन मुद्धा कसरी बोकेर हिँडिरहेको छ ? त्यस्ता मुद्धाका कारण समाजमा हाल तथा भविश्यमा कस्तो असर पर्छ ? कसैले सोच्दैन । सोच्न आवाश्यक ठान्दैन । जो त्यो विश्लेषण गर्ने क्षमतामा छ । उ आफैंले त्यस्तो परियोजना हात पारेको हुन सक्छ । वा त्यस्तै काम गरेर जिविका चलाईरहेको होला !
चित्रबहादुर केसीका कुरा नसुनिनुका कारण छन । पृथ्वि गोलो छ भन्दा ग्यालिलियोलाई चर्चमा माफि मगाईएकै थियो । मानिसको पूर्खा बाँदर भन्ने सिद्धान्तमा लामो समयसम्म छलफल गर्न नै रोक लगाइयो । कालान्तरमा सत्य प्रमाणित भयो । विगतदेखिको राजनीतिक विकासक्रम हेर्दा नेपालमा संघियता चाहिन्न भन्दा ज्यान मार्ने धम्की खेपेका केसीको यात्रा ग्यालिलियोकै तर्फ जारी छ । यो तथ्यले नेपालका मूख्य राजनैतिक दललाई संकोच लाग्नुपर्ने हो । तर नेपाल यस्तो देश हो जहाँ नांगाहरुलाई लुगा लगाएर लाज छोप भन्नेहरुलाई नै सावर्जनिक बेईज्जतीको मुद्धा लगाईने सम्भावना ज्यादा छ ।
पहिलो संविधानसभाताका जातिय राज्यका लागि पैसाको खोलो बगेकै हो । त्यस मुद्धालाई राजनीतिक रुपमै एउटा पार्टीले बोकेर हिँडेको थियो । उसले जमात जम्मा गर्दै जातिय राज्यको घोषणा गर्दै हिँडेको थियो । नाटकका कलाकारले जस्तै केही घण्टाका लागि जातिय पोशाक लगाएर देवनागरि लिपीमा लेखिदिएको स्थानिय भाषाको सम्बोधन गर्नु र देश तथा समाज चलाउनु फरक कुरा हुन भन्ने उसले अहिले आएर बुझ्न लागेको छ । बुझनैपर्ने कुरा के हो भने समय परिवर्तनशिल छ ।
केसीले संघियताले रमिता देखाएको गित गाएकोे भोलिपल्ट कैलालीको टिकापुरमा राज्यका रक्षाकर्मीहरुमाथी शान्तिपुर्ण भनिएको आन्दोलनका सहभागिहरुले हतियारसहित आक्रमण गरे । १ बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान गयो । आन्दोलनकारीहरुको ज्यान गएको कुराको हालसम्म औपचारिक रुपमा बाहिर आएको छैन । त्यसपछि पनि तराईमा आन्दोलन जारी छ । आन्दोलनमा मृत्यु हुने आन्दोलनकारीको संख्या २ दर्जन नाघिसकेको छ ।
त्रिभूवन विश्वविद्यालयका प्रोफेसरहरुलाई समेत भाडा तिरेर पहिचानसहितको संघिय राज्यको वकालत गर्न लगाउने एक जमानाको चर्चित संस्थाको अचेल कार्यालय नै फेला पर्दैन राजधानीमा । तिनै संस्थाहरुले काठमाण्डौका जाँगरिला पत्रकारहरुलाई संघियताका पक्षमा जनमत तयार गर्न विदेश लाने तथा मोटो रकम खर्च गरेकै हुन । महंगा होटलका कार्यक्रममा अरबौं खर्च गरिएकै हो । कार्यालय बन्द भएपनि तिनीहरुले गरेका प्रकाशनहरु अझै पनि राजनीतिमा चासो राख्नेहरुका कोठामा भेटिन्छन । अझै अगाडी भन्नुपर्दा यो परियोजनाका लागि सबै देशमा शान्ति कायम राख्न अग्रसर रहनुपर्ने जिम्मेवारी पाएको अन्तराष्टिय निकाय नै लागेको थियो । संघियता जनताको मुद्धा भन्नेहरुले यो कुरा नबुझेका छैनन् । नबुझेझैं गरिरहेका छन् ।
यो आलेख लेख्दै गर्दा तराईमा बन्द भएको ३ हप्ता पुग्न लागेको छ । परस्पर विरोधी माग लिएर तराई जल्दै गर्दा काठमाण्डौं संविधान जारी गर्ने हतारोमा छ । कुन कुरा सुन्ने कुन नसुन्ने भन्नेमा शासक अझै निष्कर्षमा पुग्न सकेको छैन । उ निष्कषमा पुगुन्जेल कति नागरिकको ज्यान ज्याने हो आकलन गर्न सक्ने अवस्था छैन ।
मानिसको अन्तस्करणमा रहेको विचार मेटिन सम्भव रहन्न । जीवनभर राम र रहिम एकै हुन भनेर थाकेका गान्धीको मुखबाट अन्तिम आवाज हे राम भन्ने निस्कियो । नेपालमा पनि अहिलेसम्म सबैले धैर्यता छोडिसकेका छैनन् । समुदायहरुका विचमा लामो समयसम्म आरोप प्रत्यारोप चलिरहने हो भने त्यसले समस्या सामाधानको नेतृत्व गरिएकाहरु पनि आफ्नै समुदायको पक्षमा उभिन सक्छन । त्यतिपरको अवस्था आउन नदिन वातावरण बनाउने काम मूलत राजनैतिक नेतृत्वकै हो । त्यसमा समाजका सबै पक्षले सहयोग गर्नुपर्छ ।
संघियताकै नाममा एउटा समुदायका मानिसलाई अर्को समुदायले सार्वजनिक बेईज्जती गरिरहेका छन् । कतै अरुले धम्कि दिएर, कतै विनाधम्की नै मानिसहरु आफ्ना थातथलो छाड्ने स्थितिमा पुगिसकेका छन् । वर्षौदेखि समुदायमा संघर्ष गरिरहेको मानिस थातथलो छाडेर पलायन हुने अवस्था आउनु सामान्य कुरा हैन । सामान्य सुझबुझले अवस्था सामान्यतर्फ फर्कन सक्ने अवस्था छैन । नेतृत्व समयमै गम्भिर हुनु जरुरी छ ।
अन्तमा, संघियता सबै समस्याको अचुक रामवाण हुँदै हैन । विभिन्न पक्षहरुले संघियता भनेको रामवाण नै हो भनेर ठोकुवा गरिदिएका कारण समस्या निम्तिरहेको हो । गलत निर्णय भएमा त्यसैलाई पच्छ्यार हिँडिदैन । निर्णयले पार्ने प्रभावहरुका बारेमा गम्भिर मनन गरिन्छ र निर्णय सच्याईन्छ । नेतृत्वको चाहना नराम्रै परिणाम आएपनि एकपटक संघियतामा जाऔं, फर्कनुपरे पछि फर्कौँला भन्ने देखिन्छ । संघियतालाई समाजले अति नै धेरै ठूलो विषयको रुपमा वुझेको छ । समस्या यसैकारण आएको हो । नागरिकको एकमात्र चाहना स्वतन्त्रता र सहजतापूर्वक जीवनयापन हो । यत्ति कुराका लागि देशमा रगत हैन पसिना बग्नुपर्छ । समाजमा बसिरहेका समुदायहरुविच शंकाको नभई सहयोग र विश्वासको वातारण बन्नुपर्छ । जुन कुरा संघियता नभएपनि सम्भव छ ।
No comments:
Post a Comment