• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

ठप्पा लगाउने पुस्तक

“७२ को विस्मय” सक्नेवित्तिकै मलाइ आमिर खान निर्देशित चलचित्रको पिकेको याद आयो। चलचित्रको एक दृश्यले भन्छ मुसलमान केटाले धोका दिएको थिएन। धोका त उप्रति बनाइएको पूर्व धारणाले दिएको थियो। त्यो धारणा विकास गर्न सहयोग गर्नेहरुचाँहि धर्मको ठेक्का लिने धर्मगुरुहरु थिए।

नकार्न पर्दैन; नेपालमा गरिबी छ, अशिक्षा छ, देशमा काम नभएर दैनिक थुप्रै युवा अरबमा पसिना बगाउन जान्छन्। केहिले अलिअलि पैसा लिएर आउँछन्। केहि कफिनमा बन्द भएर आउँछन्।

यी सबै समस्या किन छन्?  समस्या नियतमा कि नीतिमा छ? अहिलेसम्म कसैले मसिनो गरेर केलाउनु नपरेको प्रश्न वा सवाल यहि हो! नेतृत्वसँग सधैं तयार जवाफ छ गर्न त खोजेकै हो तर..... संविधानसभाबाट संविधान जारी हुनुअघि, जनताका प्रतिनिधीले बनाएको संविधान नभएर; राजा हुनुअघि, गणतन्त्र नभएर; प्रजातन्त्र आउनुअघि, प्रजातन्त्र नआएर; बहानाहरु अनेक छन्। अहिलेको मुद्दा भनेको संविधान संसोधन नभएर र मधेस र पहाड जोडिएका प्रदेश बनाएर। जवाफ यस्तै यस्तै सुनिँदै आइयो। अव पनि यस्तै जवाफ सुनिँदैछन् ।
  
करिब ५ सय दिन मधेस (जनकपुर) बसेपछि मधेसका बारेमा मेरा आधारभुत धारणाहरु परिवर्तन भएका छन्। मधेसका बारेमा चासो बढेको छ। त्यहाँ हुने क्रियाकलापमा अनि जनजीवनमा। धेरै मधेसीहरुलाई लाग्छ, यो राज्यले पहाड र पहाडीयालाई मात्र हेर्‍यो। त्यहाँमात्र विकास गर्‍यो। मधेसबाट मात्र कर लियो। यस्तै यस्तै। त्यस्तै लाग्छ पहाडीलाई पनि! विकास गर्न प्रशस्त सम्भावना हुँदा हुँदै पनि मधेस किन पछाडि? साविकका गाविसमा गएको सरकारी रकमको देखिने खालको काम भएन किन होला? सबैभन्दा ठूलो विडम्बना भनेको न कुनै पहाडीले मधेसका गाँउ घुमेको छ न मधेसीले पहाडका वस्ति! यसैले गर्दा भ्रमको खेती गजबैले चलेको छ।

मधेस बिटमा काम गर्ने पत्रकार बसन्त बस्नेतले पुस्तक लेखे ७२ को विस्मय। संविधान, मधेस र नाकाबन्दी मुख्य तीन क्षेत्रका बारेमा केन्द्रित रहेर। संयोगबस पुस्तक विमोचनमा पुगियो। मोहना अन्सारी, महन्थ ठाकुर, बाबुराम भट्टराई, सुवास नेम्वाङ र रामवरण यादवले पुस्तकबारे बोलेको सुनियो। सबैका आफ्नै तर्क थिए पुस्तकबारे।

पुस्तकले एकै घटनामा पहाडी र मधेसीबिचमा हुने बुझाइलाई समेट्दै गएको त छ, तर निष्कर्षमा भने मधेसी दोयम दर्जाकै नागरिक भएको जिकिर गर्छ। यस सन्दर्भमा उठाउनै पर्ने सवाल भनेको १९१० मा जारी भएको मुलुकी ऐनमा कार्की, खड्का, बस्न्यात तथा राणाजीहरुको धेरै पटक नाम दोहोरीन्छ। त्यसका कारण आज देशका कार्की, खड्का, बस्न्यात तथा राणाजीहरुले केहि विशेष सुविधा प्राप्त गरेका छन् र? अहिले निजी तथा सरकारी उच्च ओहोदामा रहेकाहरु त्यसकै कारण त्यहाँ पुगेका हुन् र?

११ अध्यायको यस पुस्तकले मधेसका बारेमा हालसम्म लेखिँदै/बोलिँदै आएका तर्क तथा तथ्यका साथै केहि नयाँ तथ्यहरु पनि बोल्छ। मधेसले खोजेको के? भन्ने प्रश्नबाट सुरु भएको यो पुस्तकले खोजेकै चाँहि के भन्ने बारे मधेसी नेतामा भएकै जस्तो गोलमटोल जवाफ दिन्छ। सिंहदरबारमा पहुँच। पहाड नजोडिएका बढिमा २ प्रदेश, आफुले काम लिने सबै कार्यालय अड्डामा आफ्नै जात अनुहारको कर्मचारी? सुन्दा बहुतै गजब सुनिने यी सवाल साँच्चीकै पुरा गर्न सम्भव छन्? लोकतान्त्रिक व्यवस्थामा अब्बल मानिने राष्ट्रमा असन्तुष्टी छन् वा छैनन्। तर के यो पुस्तकमा जिकिर भएका सबै विषय यथार्थ हुन् वा यसलाई देखाएर कसैको धन्दा भैरहेका कारण यसो भैरहेको छ। प्रष्ट हुन बाँकि नै छ।

म मधेस आन्दोलनको केन्द्र जनकपुरमै थिए। तत्कालिन जिल्ला विकास समितिमा स्थानिय विकास अधिकारीहरु फेरिइरहन्थे। सुरुमा ब्राह्मण क्षेत्रि, त्यसपछि मधेसी र त्यसपछि पहाडी दलित समुदायका व्यक्ति स्थानीय विकास अधिकृत भएर आए। स्थानीय विकास अधिकारीमा त्यतिखेर कार्यकारी अधिकार थियो। अहिले पनि उनिहरुसँग काम लिएकाहरु ब्राह्मण क्षेत्रि र पहाडी दलितले मधेसीको भन्दा राम्रो सेवा दिएको बताउँछन्। हामीले खोजेको चाँहि के हो सबै टेबलमा आफ्नै जात गोत्रका मानिसहरु हो कि राम्रो सेवा प्रवाह म अन्यौलमा छु।

देशमा लोकतन्त्र छ। यसको अर्थ हामीले सबैलाई मन पर्ने वा नपर्नेलाई सुन्छौं। उनको बहिष्कार गर्दैनौं। मधेस आन्दोलनताका मधेसमा एमाले हुन निषेधित थियो। धेरै एमाले नेता कार्यकर्ताको आस्थाकै कारण घरसम्पति तोडफोड गरियो। उनिहरुमाथि आफ्नो जन्मस्थानमा जान पनि रोक लगाइयो। शान्तिपुर्ण आन्दोलन बन्दुक बोकेका माओवादीको भन्दा बढि आक्रामक थियो। प्रमूख निर्वाचन आयुक्तका घरमा भएको आगजनीबारे कुनै शब्द पुस्तकमा छैनन्। संभवत लेखक यसलाई पनि जायज नै देख्छन्, जुन बिडम्बना हो।

मान्छेका आफ्ना आफ्ना भोगाइ र दृष्टिकोणअनुसारको संसार हुन्छ। नेपाली समाजमा नहेपिने सायद नै होलान। राजधानीका बासिन्दाले इतरकालाई हेप्छ। धनिले गरिबलाई। सत्ता र शक्त्तिमा हुनेले नहुनेलाई। कतिपय सन्दर्भमा हामीले बनाइदिएका धारणाहरुले पनि त्यसमा मलजल गरेकै होलान्। गरिबको नाममा माओवादीले आफ्नो आन्दोलन चलायो। मधेस हेपिएको छ भनेर मधेसवादी दलले। तर पनि एउटा कठोर यथार्थ के हो भने यो राज्यसंयन्त्रले सर्वसाधारण भन्दा कुलिनतन्त्रको सेवा गर्छ। झण्डै २ सय वर्षअघि मुलुकी ऐन बनाउँदाको समय र अहिलेको समयमा फरक आइसकेको छ। त्यसबेला जातका आधारमा कानुन नै फरक थियो। आजको अवस्था त्यहि हो र? निर्मला पन्तको कुरा आम हो, अपवाद होइन।

मिडियामा आएका कुरामा कति विश्वास गर्ने नगर्ने त्यो अर्कै कुरा हो। लेखकको जन्मथलोतिर लिम्बुवानको आन्दोलन चर्कँदा लेखककै जातिहरु थातथलो छाडेर बसाइ सरे। बसाई सर्नु भनेको रहर हो भनेर तर्क गर्नेहरुका कुरा एकातिर होलान्। सामान्य अवस्थामा मानिसले थातथलो हम्मेसी छोड्दैन। भूकम्पले थिलथिलो परेका बेला हाम्रा ठाँउमा आउला भनेर उफ्रने मधेसी नेतृत्व सहि देख्न लागेपछि तर्क बहसका कुरा सकिन्छन्।

मिडियाको कक्षामा मलाई एक प्रशिक्षकले सुनाएथे तटस्थता भन्ने कुरा कक्षाको कुरा मात्रै हो। समाचार लेख्न बस्दा कुनै विषयमा पुर्वानुमान गरेको पत्रकारले सोहिअनुसारका समाग्री र तथ्याङ्क जुटाउँछ र समाचार लेख्छ। “७२ को विस्मय”मा यहि सुत्र लगाइएको जस्तै बुझिन्छ। सुरेन्द्र लाभ मधेसमा बसेर मधेसबारे लगातार बोल्ने लेख्नेमध्येमा पर्ने गर्छन्। पुस्तक तत्कालिन रुपमा लेखक आवद्द सञ्चारमाध्यमले गरेको हुलाकी राजमार्ग यात्राको कुरा गर्छ। सोहि सन्दर्भमा लिइएको लाभको अव देश जोड्ने कनेक्टर चाहिएको छ भन्ने अन्तर्वार्ता विर्सन्छ। उनि बसोबास गर्ने जनकपुरका बारेमा पटकपटक चर्चा गर्छ। उनको विचारलाई १ शब्द स्थान दिँदैन। सायद उनले पहाड मधेस मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् भनेर पो हो कि!

तथ्यहरु त जे का लागि पनि उपलब्ध छन्। मधेस स्वतन्त्र देश भनेर आवाज उठाइरहेका सिके राउत पनि सहि भएरै उनका पछाडी जमात लागेको हो। नेपाल देश नै नभएको भए सुख पाइन्थ्यो भन्ने पनि ठूलै जमात छ। त्यसले दिने तर्क पनि जायज नै होलान्। तर तर्कहरुको व्याख्या कसरी र कुन नियतले गरिन्छ भन्ने प्रश्न मूख्य हो। “७२ को विस्मय”ले अन्तत अतिवादलाई पश्रय दिन्छ। जुन नेपाल र नेपालीका हितमा छैन। तर्कहरु त जसरी पनि गर्न सकिन्छ। अदालतमा भएका ज्यानसम्बन्धी फैसलाहरु हेरेर बाबुले छोरा, छोराले बाबु मार्छ भन्ने निष्कर्शमा पुग्न नसकिने हैन तर त्यो आम कुरा हैन।

अतिवादले कसैको भलो गर्दैन। यसको सबैभन्दा जल्दोबल्दो उदाहरण कांग्रेस नेता विमलेन्द्र निधी हुन्। जनकपुरमा आफ्नो बाबुको समेत विरासतमा राजनीति गरिरहेका विमलेन्द्र निधी मधेसवादी दलले उठाएका मागका एक योजनाकार थिए (पृष्ठ १७४)। उनले नै मधेसवादी दलको आन्दोलनका कारण आफ्नो जन्मथलोमा बसेर मधेसको सबैभन्दा महान पर्व छठ मान्न पाएनन्(पृष्ठ ८३)। यहि कुरा एक टेलिभिजनमा स्विकार गरेको भिडियो मधेसमा २०७४ को प्रदेश तथा संघिय चुनावमा व्यापक रुपमा प्रचार भयो। यसैले गर्दा उनले मधेसवादी नेता राजेन्द्र महतोसँग चुनाव हारे।

हाम्राबीचमा समस्या नभएका होइनन्, प्रशस्तै छन्। तिनको व्याख्या तथा विश्लेषण गर्ने क्रममा थोरैमात्र गल्ति भएमा त्यसको परिणाम घातक हुन्छ नै। २०६४ मा भएको आन्दोलनले गर्दा पहाडी विस्थापन भएको हुँदा पछिल्लो आन्दोलनमा मधेसका धेरै स्थानमा आन्दोलनका साथसाथै पहाडी समुदायसँग अन्तरक्रिया गरिएको थियो। एकाध घटनालाई लिएर सम्पूर्ण जमातको धारणा भनिदिनु वौद्दिक बेइमानी हो। राजेन्द्र महतोको घर देखाउने सन्दर्भमा भनेको कुरालाई गरेको व्याख्या बेइमानीकै एक रुप हो।
  
अन्तमा नागरिकलाई चाहिएका धेरै कुरा छैनन्। थोरै मात्रामा सहि पुस्तकले त्यसलाई ठाउँ दिएको छ। हामीलाई बस्, अरु केहि चाहिएन, काम गरेर खान पाए पुग्यो, नेपालगन्ज ५ का ३६ वर्षिय मुजिर अहमद चुन्नान(पृष्ठ २४५) को भनाइ नै अहिलेको नागरिकको वास्तविक चाहना हो। नागरिकबीचमा खाडल नखने, त्योभन्दा म असल गज्जब नभने नेपालमा धेरैको धन्दा चल्नेवाला छैन। त्यो नेपालगन्जका अब्दुल लतिफ शौककै भनाइबाट प्रष्टिन्छ हामीलाई हाम्रो पहिचानले होइन राजनीतिले लडाएको थियो.. (पृष्ठ २४५)। लेखकले नजरअन्दाज गर्नु छुट्टै कुरा हो।

लेखकको भनाई.....

@apawaad

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना