२०७५ फागुन १६ मा चरिकोटमा जम्ने गरि हिउँ पर्यो । यसरी चरिकोटसम्म हिउँ केहि दिन अघि पनि परेको थियो । जम्नेगरि मज्जैले परेको थिएन । १६ गते परेको हिउँले भने धेरैले हिउँ परेको हेर्ने रहर पुरा गरेको छ । धेरै तस्विरहरु सामाजिक सञ्जालमा सजाइएका छन् । यो हिमपातले मलाई भने १२ वर्षअगाडि भएको हिमपात सम्झाएको छ ।
..............
फागुन १ मा जनयुद्ध दिवस मनाउँथ्यो माओवादीले । २०५२ सालमा यहि दिनबाट उसले जनयुद्ध सुरु गरेको सम्झनामा । अहिले नेकपामा परिवर्तित भएपछि पनि उसले दिवस त मनायो तर अरुले थाहा पाउलान् कि जसरी । यसैबीचमा सरकारले भने यहि दिन रोजगार दिवस मनाउने प्रस्ताव गरेको छ । भविष्यमा जनयुद्ध दिवस मनाइएला वा नमनाइएला । त्यसको जयजयकार गरिएला वा आलोचना गरिएला त्यो भविष्यकै गर्भमा छ ।
२०६३ सालको जनयुद्ध दिवसमा माओवादी अध्यक्ष प्रचण्डले काठमाण्डौको विशाल सभालाई सम्वोधन गर्ने कार्यक्रम बन्यो । यसका लागि गाउँगाउँबाट मानिसहरु काठमाण्डौ लाने बसहरु व्यवस्था गरियो । प्रचण्डका बारे कुरा सुनेको र भर्खरै मात्र शान्ति प्रकृयामा आएको हुनाले प्रचण्डको सभामा जाने मेरो पनि रहर थियो । प्रचण्ड पनि २५ वर्षपछि पहिलो पटक सार्वजनिक आमसभामा भाषण गर्दै थिए । यस्तैमा मलाई सुनिल दाहालले काठमाण्डौ जाने प्रस्ताव गरे । हामी काठमाण्डौतर्फ बसमा लाग्यौ । त्यो रात भक्तपुरको राधे राधेको हलमा हामी गएको बसका सहभागीलाई सुत्ने व्यवस्था गरिएको थियो ।
भोलीपल्ट राधे राधेबाट जुलुस सुरु भयो । हामी जुलुसमा त लागेनौ । खुलामञ्चमा विभिन्न जातिय संस्कारका झाँकिहरु प्रस्तुत गरिए । प्रचण्डले सभालाई सम्वोधन गरे । उनले सभामा के बोले भन्ने मलाई अहिले याद छैन ।
सभा सकिएपछि हामीलाई खरिपाटीको विद्युत प्राधिकरणको हलमा खाने र बस्ने व्यवस्था गरिएको थियो । बेलुका कमरेड कृपाश्वरले माओवादी कार्यकर्ताहरुलाई कुन कुन ठाउँबाट आएका मानिसलाई कुन कुन बसमा फर्काउने भनेर बनाएको योजनाअनुसारको निर्देशन दिए । उनले मोबाइलमा कसैलाई फोन गरे । फोन गरेका मानिस नजिकै रहेछन् । त्यसपछि उनले भने 'अव त जमाना पनि कानमा फोन राख्ने अनि यता आउ भनेर हातले इसारा गर्ने आएछ !'
म सिङ्गटी जाने बसमा चढें । चरिकोटसम्म आउने योजना थियो । त्यहाँबाट बस फेर्ने सोच थियो होला । बसमा क्रान्तीकारी गफ गर्ने जमात थियो । मुडेमा आईपुग्दा हिउँ परिसकेको थियो । बस जाने कि नजाने भन्ने दोधारमा पर्यो । बसका कसैले बाटो खोल्ने काम भैरहेको बताए । बस आहालेसम्म आयो । त्यसपछि बस अगाडि जान पनि सकेन । न पछाडी फर्कन सक्यो । हिउँ परिरहेको थियो । अगाडि डोजरले हिउँ पन्छाइरहेको भन्ने कुरा त यात्रुहरुबाट सुनिएको थियो । थुप्रै बसहरु हिउँमा फसेका थिए । हाम्रा बसमा चढेका केहि व्यक्तिहरु माओवादी जनयुद्धको समर्थनमा गीत गाईरहेका थिए जुन हिउँमा बस रोकिँदासम्म जारी थियो ।
हिउँ पर्न रोकियो । चिसोले मुटु काप्न लाग्यो । राती बसमै विताउन सकिने अवस्था पनि थिएन । केहि यात्रुहरु मुडेतिर फर्के । होटल खोजि गर्न । मसँग त पैसा पनि थिएन । चरिकोट जाने यात्रु भेटेपछि म पनि उनिहरुसँगै चरिकोटतिर लागें । जुत्ताभित्रै चिसो पसेको थियो । हामी अगाडि बढिरहेका थियौं । एकजनाले सिकाए खुट्टामा प्लाष्टिक लगाएर जुत्ता लगायो भने ठिहिर्याउन कम हुन्छ । त्यो सहि उपाय रहेछ ।
अँध्यारो भैसकेको थियो । मान्छे हिडेको हुनाले बाटो पत्ता लगाउन समस्या थिएन । सडक पुरै घुम्नुभन्दा छोटो बाटो हिँड्ने हुँदा हिउँमा चिप्लिएर धेरै लडिन्थ्यो । तर हिउँ बाक्लै परेका कारण चोटपटक भने लाग्न पाएन ।
बाटोमै एकजना माओवादी कार्यकर्ता भेटिए । उनिसँग कुरा गर्दै आइयो । उनले रामेछापतिर घर भएको बताए । माओवादीहरु पुरा ठेगना बताउन मान्दैनथे त्यसबेला । उनिसँग अलिकति पैसा पनि रहेछ । उनले बाटोमा भएका पसलमा केहि खानेकुरा किन्नका लागि पसलेहरुलाई बोलाए । बत्ति बलिरहेको पसलमा पनि मान्छे बोलाउन लागेपछि बत्ति निभ्थ्यो । बत्ति निभेका पसलमा त झन कुरै भएन ।
चरङ्गे खोलाको नजिकै आउन लागेका थियौं । सडकको छेउमा एउटा टहरो भेट्यौं । केहि खानेकुरा किन्न पाइएला कि भनेर हामीले बोलायौं । टहरोको ढोका खुल्यो । एकजना ५० आसपासका व्यक्तिले ढोका खोले । उनलाई हामीले केहि खान पाइएला कि भनेर सोध्यौं । उनले हामीलाई घरमा लगे । परिवारका सदस्यलाई उठाएर मकै भुट्न लगाए । उनले आफू प्रहरीको पेन्सनवाला भनेर बताए । एसएलसीको तयारी गरिरहेकी उनकी छोरीले मकै भुटेर खुवाइन् । हिउँ परेर दाउरा चिसा भएका कारण आगो राम्रोसँग बलेको थिएन । रामेछापका मसँगै आएका साथीले पैसा पनि दिन खोजे जस्तो लाग्छ उनले लिएनन् ।
गोजीमा मकै हालेर हामी चरिकोटतर्फ लाग्यौं । माओवादी कार्यालयमा खाना तयार गरेका रहेछन् । चिसो भैसकेको खाना पनि खायौं । सुत्ने ठाउँ कतै पाइएन । एउटा थोत्रो मेच रहेछ । त्यसैमा निदाइयो ।
अहिले पनि काठमाण्डौ जाँदा म त्यो घर खोज्छु पत्ता लगाउन सक्दिन । बाटोको मुनितिर भएको त्यो घर भेटें भने भन्न मन छ 'व्यापारीहरुले धर्म छाडेका बेला तपाँईले हामीलाई धर्म गर्नुभो । त्यो एकघान मकैको भारा मैले कसरी तिर्न सक्छु बुबा !'
No comments:
Post a Comment